दस्तावेज सोमबार, जेठ १९, २०७७

कसले मार्‍याे राजा वीरेन्द्रलाई ?

कनकमणि दीक्षित

कसले मार्‍याे राजा वीरेन्द्रलाई ?
राजा वीरेन्द्र । तस्वीर: गेट्टी इमेज

नारायणहिटी हत्याकाण्डको हकमा लोकतान्त्रिक गणतन्त्र नेपालमा फेरि पनि एउटा औपचारिक अनुुसन्धान र खोजी जरूरी छ, जसले नारायणहिटीको भूतबाट हामीलाई राम्ररी छुटकारा दिलाओस् र जनताले पनि तथ्यपरक बुझाइको आधारमा यो काण्डलाई आफ्नो मनबाट पन्छाउन सकून् ।

कनकमणि दीक्षित

१९ जेठ २०५८ रातको पहिलो प्रहर बादलले काठमाडौं उपत्यका ढपक्कै ढाकेको थियो । एउटा हेलिकप्टर विमानस्थलबाट उड्यो र मेघको घेरालाई तोडेर बारम्बार पश्चिमतर्फ जाने कोशिश गर्दागर्दै असफल भयो अनि अँध्यारोमा झिपिक्–झिपिक् बत्ती बाल्दै विमानस्थलतिरै फर्कियो ।

नारायणहिटी दरबारमा विध्वंसकारी घटना भएको यसअघि नै थाहा भइसकेको थियो । न्यूरोसर्जन डा. उपेन्द्र देवकोटालाई सेनाको जीपले थापाथली नर्भिक अस्पतालबाट हतार–हतार छाउनीस्थित सैनिक अस्पताल पुर्‍यायो । त्यहाँ पुग्दा उनले लामबद्ध लासहरूको थुप्रो देखे । खरानी वर्ण भइसकेको एक लासको छातीमा साईबाबाको लकेट झुण्डिएको थियो । डा. देवकोटाले दोहो¥याएर हेर्दा पो थाहा पाए, त्यो लास राजा वीरेन्द्रको रहेछ । श्रुतिको सास भने अझै बाँकी थियो । यसैबीच डा. देवकोटा माथि शल्यकक्षमा पुगेर युवराज दीपेन्द्रलाई बचाउन जुटे र आफ्नी पत्नी डा. मधु देवकोटा (दीक्षित) लाई मोबाइलमा फोन गरी यो कुरा बताए । केही समयपछि नै मधुको फोन आयो–

पुस्तक: देखेकाे मुलुक ।

“कनक, बर्बाद भएछ, एभ्रीबडी इज् डेड् !”

“के भनेको ?”

“नारायणहिटीमा रोयल फ्यामिली का सबै जना डेड् !”

याे पनि हेर्नुहाेस्– यस्तो थियो राजदरबार हत्याकाण्डको ‘यथार्थ विवरण’

यसरी थाहा भयो– मधुमार्फत राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, अधिराजकुमार नीराजन लगायत राजपरिवारका आठ जनाको मृत्युको कुरा । दीपेन्द्रको देहावसान पर्सिपल्ट भयो ।

राति उडेको त्यो हेलिकप्टर अधिराजकुमार ज्ञानेन्द्रलाई लिन पोखरा जान खोजेको रहेछ । मोटरबाटोबाटै काठमाडौंका लागि हिंडेका ज्ञानेन्द्रलाई भोलिपल्ट बिहान मात्र हेलिकप्टरले गजुरीबाट उपत्यका उतार्‍यो ।

आजसम्म पढिएका, सुनिएका र प्राप्त भएका विवरणका आधारमा युवराज दीपेन्द्रले आफ्ना पितालगायत अरू सबैलाई गोली हानेको प्रष्ट हुन्छ तर, विशेषगरी ज्ञानेन्द्रको परिवारका सबै सदस्य बचेको र पारसको ज्यादतीपूर्ण अतीतका कारण भोलिपल्ट बिहानैदेखि ‘षड्यन्त्र’ का कुरा मात्र सुनिन थाले । नारायणहिटीभित्र वीरेन्द्रको परिवारबीचको तनाव, अन्तद्र्वन्द्व तथा ‘खान्दानी’ परिवेशभित्र भएको कानेखुसीबारे प्रायःजसो सबै जनता अनभिज्ञ नै थिए ।

त्यसैले पनि यत्रो हत्याकाण्ड भएपछि षड्यन्त्र भएको वा रचिएको हल्ला पत्याउन धेरैलाई गाह्रो भएन भने युवराज दीपेन्द्रलाई दोष लगाउँदा धेरैले नपत्याउनु पनि स्वाभाविक थियो ।

भूमिगत अवस्थामा रहेको माओवादी भने ‘षड्यन्त्रको खेत’ मा पानी लगाउन व्यस्त बन्यो । उता रातारात उत्पन्न परिस्थितिका माझ हत्याकाण्डमा ज्ञानेन्द्रको संलग्नता रहेको किटानीका साथ शुरू भएको भयानक षड्यन्त्रको ‘सुझाव’ विपरीत रहेका प्रमाण, विवरण परिस्थितिका आधारमा तार्किक रूपमा आफ्ना भनाइ राख्न र खण्डन पेश गर्न सक्ने अधिकांश जानिफकार तथा बुद्धिजीवीहरूले मौन व्रत लिए र आजसम्म लिएकै छन् ।

पढेलेखेका ठहरिने नेपाली समाजका प्रतिनिधिहरूले प्रमाण नपुगेको र साधारण विश्लेषणले पनि अपूर्ण बनाइदिने यस षड्यन्त्रको कथालाई मान्यता र बढावा दिए । उता नेपाली बौद्धिकले मान्यता दिइसकेपछि संसारभर यही षड्यन्त्रको कथा फैलिने मौका पायो ।

नेपाललाई आधुनिक र परिपक्व मुलुकमा परिणत गर्दै वास्तविक विकसित राष्ट्र बनाउनु छ भने बाटो, पुल, अस्पताल र जलविद्युत्को योजना बनाउनुभन्दा पहिले फराकिलो सोचाइका साथ गम्भीर चिन्तन गर्ने बानीको शुरूआत गर्नु जरूरी छ । विश्लेषण र प्रमाणविना कुनै पनि घटना या घटनाक्रमको सन्दर्भमा अन्धाधुन्द टिप्पणी गर्ने र ‘षड्यन्त्र’ भएको निष्कर्षमा पुग्ने बानी छुटाउनु जरूरी छ ।

तथ्य र तर्कमा आधारित रहेर निष्कर्षमा पुग्ने र परेका वेलामा मनमा लागेका र देखेका कुरा स्पष्टसँग बोल्ने आँट पनि चाहिएको छ । नत्र त कहाँ नै रह्यो र आत्मसम्मान ?

आज पनि काठमाडौंका धेरैजसो पढेलेखेकालाई दरबार हत्याकाण्डका बारेमा सोध्यो भने उनीहरूले ‘षड्यन्त्र भएको’ नै ठोकुवा गर्छन् तर कसले, कसरी र किन षड्यन्त्र गर्‍यो ? भन्ने प्रश्नको उत्तर भने चपाएर दिने गर्छन् । उनीहरू न त त्यस सम्बन्धी विस्तृत विवरणमा छिर्न र त्यसका विषयमा सोधखोज गर्न जरूरी ठान्छन् न त प्रष्टसँग बोल्न नै चाहन्छन् ।

ज्ञानेन्द्रले नै षड्यन्त्र गरेको भन्न चाहन्छन् तर सो कुरालाई ओकल्ने आँट भने गर्दैनन् र ‘थाहा छैन’ भनेर पन्छिन खोज्छन् । यसखाले प्रवृत्तिले एउटा खास पंक्तिको बौद्धिक चरित्रको प्रतिनिधित्व गर्छ — थोरै दिमागी कसरत गर्ने, सस्तो अडान लिने तर त्यही अडान पनि निर्धक्कसँग पेश गर्न नसक्ने ।

नारायणहिटी दरबार । आर्काइभ

पाठक महोदयले आफैं यो प्रश्नको जवाफ दिइहेर्नुस्, “राजा वीरेन्द्रलाई कसले मारेको होला ?” तपाईंको जवाफ के हुन्छ कुन्नि, तर मेरो निष्कर्ष भने मैले पेश नगरी हुँदैन — आजसम्म उपलब्ध प्रमाण तथा तर्कको आधारमा यो भन्न सकिन्छ कि नारायणहिटी विध्वंस युवराज दीपेन्द्रबाट रचिएको थियो । भोलि नयाँ प्रमाणले अर्कै तथ्य दर्शाए म मेरो ठम्याइ बदल्न तयार छु ।

षड्यन्त्रको खेती गर्ने परम्परा एउटा आधुनिक युगभित्र रहेको अविकसित समाजको चिह्न हो जस्तो लाग्छ । जतिवेला विश्लेषण गर्नका लागि बौद्धिक जगतमा पर्याप्त पढाइ या सोच पुग्दैन तथा तथ्य संकलनको लागि सूचनाको अभाव पनि हुन्छ, त्यतिवेला षड्यन्त्रकारी मस्तिष्कले खेल्ने ठाउँ पाउँछ । आँखा अगाडि नै हाजिर भएका प्रमाण र विवरण तौलने क्षमता नपुगेपछि षड्यन्त्रको तलतलमा डुब्नु नै सजिलो र प्यारो लाग्ने गर्छ । मानसिक कसरत गर्न कन्जुस्याइँ गरिन्छ र अपरिपक्व सोचाइ तथा मान्यताहरूको विकास हुन्छ ।

शायद, नेपालमा बुद्धिजीवी भनिनेहरूमध्ये राम्ररी समाजशास्त्र पढेका थोरै भएकाले होला, यहाँ तर्कको प्रयोग कम हुने गर्छ र षड्यन्त्रको भुमरीमै बढी रमाउने गरिन्छ । यस्तो बौद्धिक क्षेत्रले समाजलाई नेतृत्व दिन सक्ला र ? साँच्चै भन्नुपर्दा हामीकहाँ राजनीतिक क्षेत्रबाट आएको प्रचारवाजीलाई साहसका साथ नकार्न सक्ने ‘सार्वजनिक बुद्धिजीवी’ (पब्लिक इन्टलेक्चुअल) को खडेरी नै छ । र, बुद्धिजीवीले आफ्नो दायित्व निर्वाह नगर्दा जनता रनभुल्लमा पर्दछन् र राजनीतिक गतिरोध निम्तिन्छ ।

जब प्राप्त सूचनाको आधारलाई पर्वाह नै नगरी नारायणहिटी हत्यामा ज्ञानेन्द्रको हात भएको कथनमाथि शंका गर्दै प्रश्न गरिंदैन र षड्यन्त्रको तलतलको दलदलमा बौद्धिक वर्ग आफैं फस्दछ, बाँकी समाजलाई के नै भन्न सकिन्छ र ?

षड्यन्त्रका कथाहरूको आड लिंदा र यीमाथि भरोसा गर्दा क्षणिक सन्तुष्टि पाइन्छ तर त्यसले समाजमा भने अन्योल मात्र निम्त्याउँछ । हल्लाहरूको प्रभावबाट उम्कन पढेलेखेकाहरूबाट चिन्तन र इमानसहितको विश्लेषण क्षमता चाहिन्छ किनकि उसले बाँकी नागरिकलाई सुसूचित गर्न सकोस् ।

यस अर्थमा नारायणहिटी हत्याकाण्डबारे सामाजिक नेतृत्व गर्ने वर्ग, राजनेता, प्राध्यापक, पत्रकार, विश्लेषक, नागरिक अगुवा आदिले तथ्य र तर्कको माग पूरा गर्न सकेनन् । युद्धले त्यसै पनि जर्जर बनाइरहेको तत्कालीन परिस्थितिमाझ आइपरेको गम्भीर र कहालीलाग्दो नारायणहिटी हत्याकाण्डको प्रत्यक्ष तर दीर्घकालीन असर नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्न गयो । अपत्यारिलो षड्यन्त्रको सुझाव सर्वत्र छाइदिंदा हत्याकाण्डको असर झन् गहिरो हुन पुग्यो ।

कसैले भित्री मनमा ज्ञानेन्द्रले आफ्नै दाइ र सन्तानको हत्या गर्ने योजना बनाएको र कार्यान्वयन गरेको विश्वास भएको भए त्यस्तो व्यक्तिले हत्याकाण्डकै सेरोफेरोदेखि ज्ञानेन्द्रलाई कुनै पनि हालतमा राजा मान्नुहुँदैनथ्यो । त्यस्तो व्यक्तिले देशव्यापी रूपमा त्यस्ता ‘पापी’, ‘हत्यारा’ को विरुद्ध निरन्तर वैचारिक आन्दोलन चलाउनुपथ्र्यो ।

हिंस्रक क्रियाकलापद्वारा नभई वैचारिक आन्दोलनद्वारा नयाँ राजालाई मान्यता नदिने अठोटका साथ ज्ञानेन्द्रको सूर्य नउदाउँदै अस्ताउन बाध्य तुल्याउनुपर्दथ्यो । तर राजनीतिक मैदानमा हत्याकाण्डको फाइदा लिन तम्सेको माओवादीले बाहेक कसैले या कुनै समूहले ज्ञानेन्द्रका विरुद्धमा सामान्य वक्तव्यवाजी गर्न समेत रुचाएन । मात्र कोठे बहसमा षड्यन्त्रको सुझावको मलजल गरियो ।

लेखकको भनाइ यति मात्र हो — ‘समाजको नेतृत्व गर्छु’ भन्नेहरूमध्ये कसैको मनको कुनै कुनामा पनि ज्ञानेन्द्रले वीरेन्द्र मार्ने षड्यन्त्र गरेको भन्ने दह्रो विश्वास नभएकाले नै उनीहरूले हल्का रूपमा जे भने पनि ज्ञानेन्द्रका विरुद्ध कुनै अभियान नचालेका हुन् । हत्यारा भनेर जान्दाजान्दै भयका कारण उनीहरूले त्यस्ता हत्यारालाई राजा बन्नसम्म दिन्छन् भन्ने कुरा म पत्याउँदिनँ ।

राजा वीरेन्द्र, रानी एश्वर्य, अधिराजकुमारी श्रुति, युवराज दीपेन्द्र र अधिराजकुमार निराजन । पाँचै जनाकाे हत्या १९ जेठ २०५८ मा भएकाे थियाे ।

जहाँसम्म प्रमाणको कुरा छ, त्यसका लागि नारायणहिटी हत्याकाण्ड हुँदा त्यहाँ रहेका २४ जनामध्ये मर्ने ९ जना बाहेक बाँचेका १५ जनालाई सोधे पुग्नुपर्ने हो । हत्याकाण्डबारे जान्न चाहनेहरूका लागि सो घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनमा उनीहरूले दिएको विवरणको हुबहु ‘ट्रान्स्क्रिप्ट’ हाजिर छ । त्यही अन्तर्वार्ताको भिडियो एकताका नेपाल टेलिभिजनको अधीनमा थियो, त्यो पनि अनुसन्धान गर्न चाहनेले पत्ता लगाउन सक्नुपर्ने हो ।

उदेकलाग्दो कुरा त के छ भने हत्याकाण्डका प्रत्यक्षदर्शी बालबच्चाहरूको बयानलाई समेत विश्लेषकहरूबाट त्यति वजन दिइएन र विश्वास गरिएन । के उनीहरूको बयान पनि षड्यन्त्रकै पाटो थियो ? राजनीतिक रूपले उनीहरू पूर्वाग्रही पक्कै थिएनन् होला । मलाई लाग्छ — नेपालको परिस्थिति त्यति त्रासजनक छैन, जहाँ ‘हत्यारा ज्ञानेन्द्र’ को डरले हत्याकाण्डका प्रत्यक्षदर्शीले आज वर्षौंपछिसम्म पनि केही नभनून् वा भन्न नचाहून् । तर सोध्न र जवाफ सार्वजनिक गर्न किन कोही अग्रसर छैन ?

कसले मार्‍यो त राजा वीरेन्द्रलाई ? जवाफका लागि केही परिस्थितिजन्य प्रमाणलाई नियाल्नुपर्ने हुन्छ किनकि त्यो त्रिभुवन सदनका मूल पात्र वितिसकेका छन् भने बाँचेकाहरूको बयानलाई विश्वसनीय मानिएको छैन । हत्याकाण्डताका युवराज दीपेन्द्र मानसिक तनावमा थिए भन्ने ठम्याइ उनीसँग नजिक रहेकाहरूको छ ।

काका धीरेन्द्रलाई समेत पदच्युत गर्न सक्ने आमा ऐश्वर्यले छोरालाई देवयानी राणासँग विवाह गर्नका लागि निषेध गरेकी थिइन् । जुद्धशमशेरको परिवार (रानी ऐश्वर्य) तथा चन्द्रशमशेरको सन्तान (देवयानीका बाबु पशुपतिशमशेर राणा) बीचको पुरानो प्रतिस्पर्धा र कुण्ठाले वर्तमानसम्म असर पारेको रहेछ । भारतको रवाफी ग्वालियर घरानाकी पुत्री (देवयानी राणाकी आमा) बारे ऐश्वर्यको नकारात्मक सोचले पनि दीपेन्द्रको रोजाइ स्वीकार्य नहुनुमा भूमिका खेलेको देखिन्छ ।

बूढानीलकण्ठ स्कूलमा पढेका तर खासै केही इलम नगरी मात्र ‘युवराज’ को पद बोकेका दीपेन्द्रमा देवयानीलाई विवाह गरे श्रीपेच हरण हुने आमाको धम्कीले ठूलै तनाव उत्पन्न भएको हुनुपर्छ । फेरि, बाबु वीरेन्द्रले राम्रो नियन्त्रणमा नराखेका दीपेन्द्रमा रक्सी तथा चरेस लिने आदत बसेको र साथीभाइको जस्तो व्यवहार गर्ने अंगरक्षकहरूले पनि यो लतका विषयमा कुनै कदम नचालेको बुझिन्छ ।

सानैमा पेस्तोल उपहार पाएर चलाउन सिकेका दीपेन्द्रलाई बन्दूक मोह त थियो नै । त्यतिवेला माओवादीसँग लड्न सेनाका ‘कर्णेल–इन–चिफ’ भएका नाताले उनले तीन–तीन अत्याधुनिक स्वचालित बन्दूकको निरीक्षण गर्दै थिए र ती अस्त्र आफ्नै ‘खोेपी’ को ¥याकमा सुसज्जित थिए ।

दीपेन्द्रले हत्याकाण्डको केही दिन अगाडि योजनाबद्ध हिसाबले सबैलाई रात्रिभोजमा डाकेका थिए – चितवन र पोखरा भ्रमणमा रहेका काका ज्ञानेन्द्र र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत विशेष आग्रहका साथ । प्रधानमन्त्रीले ‘पारिवारिक भेलामा आउँदिन’ भनेर इन्कार गरेका थिए । नारायणहिटी प्रांगणभित्र दीपेन्द्रकै वासस्थान त्रिभुवन सदनमा त्यो १९ गतेको कालरात्रिमा बाबुआमा, काका–काकी, बहिनी–ज्वाइँ, बच्चाबच्ची आदि भेला भए । छलफल र ड्रिङ्स चल्दैथियो । दरबारभित्र नितान्त पारिवारिक समारोह भएकोले अंगरक्षकहरू छुट्टै कोठामा बसेका थिए ।

प्रत्यक्षदर्शीबाट सार्वजनिक भएको सूचना अनुसार अलि मात लागेको जस्तो देखिएपछि दीपेन्द्रलाई अरूको आडमा माथि ‘बेडरुम’ मा पठाइएको थियो तर एकैछिनमा मिलिटरी पोशाक लगाई तीन बन्दूक भिरेर उनी तल ओर्लिए । छुराले एकजनालाई मार्ला अरूले नियन्त्रणमा ल्याउन कोशिश गर्दागर्दै पेस्तोल हुनेले दुईजना, तर मिनेटमा दर्जनौं राउण्ड फायर गर्न सक्ने स्वचालित बन्दूकले एकैछिनमा नौ जना मार्न असम्भव थिएन ।

पाकिस्तान भ्रमणका बेला हतियार अवलाेकन गर्दै तत्कालीन युवराज दीपेन्द्र ।  तस्वीर: गेट्टी इमेज

यस घटनाका विषयमा बौद्धिक वर्ग नबोल्नुको कारण बौद्धिक जमातमाझ ज्ञानेन्द्रको आक्रोशको डर नभई जनतामाझ ज्ञानेन्द्रद्वारा नै षड्यन्त्र भएको छ भन्ने विश्वास बढ्न गएकोले, त्यस विश्वासको खिलाफ अड्न नसक्नु हो । अधिराज पारसको हकमा दीपेन्द्रको विध्वंस शुरू हुँदा उनले त्यो कोठाको एक भागमा रहेका बच्चाबच्चीलाई बचाउन ‘दाइ नमार्नोस्’ भन्दै हात फिंजाएको जानकारी ती नातेदार बालकहरुले दिएका छन् ।

दीपेन्द्रको जस्तै अनुहार भएको मुकुण्डो लगाएर कसैले गोली चलाएको भन्ने आशंका भने बढी हिन्दी फिल्म हेर्नेको बुझाइ मात्र हो । वास्तवमा कसैको अनुहार दुरुस्त हुने गरी प्रयोग गर्न सकिने रबर ‘मास्क’ कतै बन्दैन, सिवाय बलिउड सिनेमामा । ठूलो पर्दामा विशेष गरी खलनायकबाट ‘मास्क’ को प्रयोग भएको जसरी देखिन्छ त्यो त फिल्म सम्पादनको तरक्की मात्र हो । तर यो कुरा नबुझ्नेका लागि दीपेन्द्रको अनुहारको मुकुण्डो लगाएर अरू कसैले गोली चलाएको हो भन्ने ठोकुवा पत्याउन सजिलो भइदियो ।

यस्तै उक्त रात कैयन् सुरक्षाकर्मी गायब गरिएको र लासलाई ट्रकमा लगेर जलाइएको हल्ला अझै जीवित छ तर त्यति धेरै मान्छेहरु मारिंदा पनि परिवार वा आफन्तबाट उनीहरुको खोजी किन भएन ? आजसम्म धेरैले मान्दै र भन्दै आएको ‘प्रमाण’ का आधार ज्ञानेन्द्रको वर्तमान निरंकुश स्वभाव र पारसको विगतको क्रियाकलापबाट मात्र जन्मिएको जस्तो देखिन्छ ।

नारायणहिटी हत्याकाण्ड दीपेन्द्रले नै रचेका हुन् भन्ने प्रत्यक्षदर्शी छन् र दिवंगत दीपेन्द्रको मनस्थिति र आन्तरिक तनावबारे पनि परिस्थितिजन्य प्रमाण हाजिर छन् । राजा ज्ञानेन्द्रको हकमा हत्याकाण्डको वेला उनी पोखरामा रहेको तथ्य कसैले इन्कार गर्दैन । उनको निजी परिवारका सबै सदस्य बाँचेकोमा उनीमाथि शंका गरिएको छ । तर उपलब्ध प्रमाणको सामु यो तथ्यले आफैंमा धेरै वजन पाउँदैन ।

यस सन्दर्भमा के कुरा पनि सम्झन जरूरी छ भने घटनामा ज्ञानेन्द्रको परिवारका सदस्य मात्र बचेका थिएनन्, बरु त्यो कोठामा रहेका आधाभन्दा बढी परिवारजन पनि बाँचेका थिए । आयोगको ‘ट्रान्स्क्रिप्ट’ ले दिएको सूचना अनुसार पनि उक्त घटनामा बाँच्नेहरुको विचार जनतासामु ल्याउन कुनै अनुसन्धानकर्ताको काम हुन सक्दछ ।

यस घटनाका विषयमा बौद्धिक वर्ग नबोल्नुको कारण बौद्धिक जमातमाझ ज्ञानेन्द्रको आक्रोशको डर नभई जनतामाझ ज्ञानेन्द्रद्वारा नै षड्यन्त्र भएको छ भन्ने विश्वास बढ्न गएकोले, त्यस विश्वासको खिलाफ अड्न नसक्नु हो । अधिराज पारसको हकमा दीपेन्द्रको विध्वंस शुरू हुँदा उनले त्यो कोठाको एक भागमा रहेका बच्चाबच्चीलाई बचाउन ‘दाइ नमार्नोस्’ भन्दै हात फिंजाएको जानकारी ती नातेदार बालकहरुले दिएका छन् ।

उता, ज्ञानेन्द्रको परिवारलाई मात्र किन केही नभएको त भन्नेको जवाफ छ — रानी कोमललाई जाँच्ने डाक्टरको भनाइमा कोमलको छाती नै पूरा छेड्ने गरी गोली पसेको थियो र ‘रिब’ का हाडहरुलाई पनि चोट लागेको थियो । मुटु अलिकति मात्र छल्दै गोली फोक्सो छेडेर पछाडि ढाडबाट निस्केको थियो । गोली अलिकति यताउता भएको भए रानीको पनि आफ्ना जेठाजु, दिदी र अन्य परिवारजनसँग देहावसान निश्चित थियो ।

प्रमाण र प्रत्यक्षदर्शीको कुरा त एउटा भयो अझ फराकिलो परिप्रेक्ष्यबाट पनि षड्यन्त्रको सम्भावना न्यून भएको अड्कल लगाउन सकिन्छ । २१औं शताब्दीको युगमा पनि के शक्तिशाली बन्न खोेजे होलान् ?

राजा भइसकेपछि देखिएको ज्ञानेन्द्रको मूख्र्याइँ र निरङ्कुशता लाद्ने चेष्टा गरेको भरमा उनलाई दाजु मार्ने योजना रचे भन्न मिल्छ ? षड्यन्त्रपूर्ण हत्या गर्ने योजना बनाउँदा र एउटा राजालाई आफ्ना आफन्तसामु मार्न खोज्दा देखिने असङ्ख्य ‘भेरियबल्स्’ (नियन्त्रण भन्दा बाहिरका विभिन्न सम्भावनाहरु) का जोखिम मोलेर कसैले त्यस्तो हत्याकाण्ड रच्थ्यो होला ।

हालसम्म प्राप्त प्रमाण, प्रत्यक्षदर्शी तथा नजिक रहेकाहरुको भनाइ, तर्क तथा बृहत् पृष्ठभूमिको आधारमा जसरी र जताबाट हेर्दा पनि ज्ञानेन्द्रले उनका दाइलाई मार्ने योजना बनाएको होइन भनेर ठोकुवा गर्न सकिन्छ । जत्तिकै असहमत भए पनि एकैछिनलाई मेरो यो विश्लेषण मानिदिनुस् र सोच्नुस् — यदि ज्ञानेन्द्र आफ्नो दाइ र अन्य परिवारको हत्याकाण्डमा बेकसुर रहेछन् भने उनीमाििथ कत्रो भयंकर आरोप लाग्न गयो त ।

फेरि अरू पनि मर्ने सम्भावना हुँदाहुँदै सपरिवार उपस्थित भोजको बीच अरू कसैलाई लगाएर दाइको हत्या गर्न लगाउनु मूख्र्याइँ हुँदैनथ्यो ? ती अन्य षड्यन्त्रकारीले कुनै वेला आफ्नो सहभागिताबारे बक्लान् भन्ने सम्भावना पनि हेर्नु प¥यो । ईष्या, लोभ र पापपूर्ण पूर्ण कार्य गरेको भनिएका ज्ञानेन्द्रको मस्तिष्कमा जो कोहीले आफैंलाई राखेर हेरुन् र प्रश्न गरुन् यो सब पत्यार लाग्ने कुरा हो ?

हालसम्म प्राप्त प्रमाण, प्रत्यक्षदर्शी तथा नजिक रहेकाहरुको भनाइ, तर्क तथा बृहत् पृष्ठभूमिको आधारमा जसरी र जताबाट हेर्दा पनि ज्ञानेन्द्रले उनका दाइलाई मार्ने योजना बनाएको होइन भनेर ठोकुवा गर्न सकिन्छ । जत्तिकै असहमत भए पनि एकैछिनलाई मेरो यो विश्लेषण मानिदिनुस् र सोच्नुस् — यदि ज्ञानेन्द्र आफ्नो दाइ र अन्य परिवारको हत्याकाण्डमा बेकसुर रहेछन् भने उनीमाििथ कत्रो भयंकर आरोप लाग्न गयो त ।

एक व्यक्तिमाथि अन्याय भयो कि भएन ? आफ्ना भाइ–बहिनी, अन्य नातेदार गुमाउनु र त्यसै क्षणदेखि सबैको हत्याको दोष पनि कहिल्यै नमेटिने गरी आफैंमाथि बर्सिनुको पीडाको लेखाजोखा गर्दा कति दुःख हुन सक्छ ? के दुःखको पीडा महसूस गर्न पनि नपाउँदै हत्याराको आरोप तेर्सिनुको पीडा र मर्म हामीले बुझ्न सकौंला ? ज्ञानेन्द्र निर्दाेष रहेछन् भने मानवताको दृष्टिकोणबाट उनीमाथि लागेको कलङ्क र अमानवीय व्यवहारको अनुमान आफैं लगाउनुस् ।

एक त कानूनी शासनको मान्यता विपरीत अपराधी ठहर नभएसम्म निर्दाेष मान्नुपर्ने सभ्य समाजको मान्यता अनुसारको व्यवहार भएन, अर्काे हामीमाझ रहेको गैरमानवीय प्रवृत्ति पनि संसारसामु छताछुल्ल भयो, जुन कुरा खतरनाक पनि हो । जब सोच, आँट र मानवीयताको अभाव हुन्छ र पूरै समाज तहसनहस हुन्छ, तब त्यो कमजोरीको फाइदा लिन इमान र संस्कृति नभएको कुनै पनि शक्तिले आफूलाई अगाडि सार्न सक्तछ । माओवादी पनि यस्तै शक्ति थियो, जसले एकातिर राजसंस्थालाई कमजोर तुल्याउने षड्यन्त्रको खेती गर्‍यो भने अर्काेतिर त्यही राजसंस्था अन्तर्गत राजा भएका ज्ञानेन्द्रसँग साँठगाँठ गर्दै अन्य राजनीतिक दलहरूलाई पाखा लगाउने योजना बुन्न पनि पछि हटेन ।

याे पनि हेर्रनुहाेस्- त्यो दरबार, यो दरबार

१९ जेठ २०५८ मा भएकाे दरबार हत्याकाण्डमा राजा वीरेन्द्रकाे वंश नाशपछि राजामुकुट पहिरिंदै ज्ञानेन्द्र शाह । तस्वीर: मीनरत्न बज्राचार्य

ज्ञानेन्द्रको अधिनायकवादी चरित्रलाई दाइ र परिवारका अन्य सदस्यको हत्याको दोषी ठहर्‍याउने प्रमाण र आधारको रूपमा लिन सकिंदैन । यी दुई अलग–अलग विषय हुन् — एक, हत्याकाण्डको तथाकथित रचयिता, दुई ‘असोजतन्त्र’ र ‘माघ १९’ का रचयिता । ज्ञानेन्द्रले १८ असोज २०५९ पश्चात् र १९ माघ २०६१ म जे–जस्ता क्रियाकलापहरू गरे ती श्रीपेच खोस्न पर्याप्त कारण र आधार बनिसकेका थिए । तर निरङ्कुश र अधिनायकवादी हुँदैमा ज्ञानेन्द्र नै नारायणहिटी हत्याकाण्डको रचयिता पनि थिए भन्ने सुझाव त कुतर्क मात्र हो ।

आजसम्मका प्रत्यक्षदर्शीको विवरणको आधारमा त्रिभुवन सदनको बैठक कोठाभित्र ६ जनाको हत्या गर्ने दीपेन्द्र नै थिए भन्न सकिने अवस्था छ । बाहिर दुई जना (ऐश्वर्य र नीराजन) लाई पिछा गरेर गोली चलाउने पनि दीपेन्द्र नै थिए पनि भन्न सकिन्छ । दीपेन्द्र स्वयंको मरणको हकमा भने यसै हो भन्न मुश्किल छ — या त उनले बायाँ हातले आफैंले पिस्तोल चलाए या त हत्याको शृङ्खला रोक्न त्यहाँ आइपुगेका कसैले उनीमाथि गोली चलायो ।

विज्ञानको विकास नभएको तथा जनतामा पर्याप्त चेतना र सूचना नपुगेको समाजमा रुढिवादीपन र अन्धविश्वासको राज हुने गथ्र्याे । विज्ञानले धेरै कुरा बुझाएपछि अन्धविश्वास, कर्मकाण्ड र कतिपय धार्मिक पक्षलाई ओझेलमा परिदियो । विज्ञानको अभावमा दर्शनले पनि कर्मकाण्डलाई ठाउँ दिएको थियो, संसार र समय बुझाउने माध्यमको रूपमा । वैज्ञानिक युगमा सबैले तथ्य र तर्कको आधारमा आफ्नो बुझाइ बदल्छन् भन्ने कुराचाहिं होइन रहेछ ।

षड्यन्त्रको खेती आधुनिक युगको कर्मकाण्ड जस्तै हुन पुगेको छ र एक खालको अन्धविश्वासलाई नै यसले मलजल गरेको छ । स्तरीय पठनपाठन गरेका ‘सार्वजनिक बुद्धिजीवी’ को अभाव रहेको समाजमा विश्लेषणबाट कुनै पनि प्रश्नको जवाफ खोज्न झन्झटिलो हुने हुनाले षड्यन्त्रको बाटो हिंड्न नै सबैलाई सजिलो लाग्छ । आधुनिक युगमा अन्धविश्वासको ठाउँ षड्यन्त्रको खेती गर्ने प्रवृत्तिले ओगटेको छ । हुन त विकसित मुलुकमा पनि अन्धविश्वास र अन्य रुढिवादीपन हटेको छैन र षड्यन्त्रको खेती त्यहाँ पनि हुन्छ, मात्रा मात्र हामीकहाँ केही बढी हो ।

आजसम्म पनि अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको सन् १९६३ को हत्या र बेलायती युवराज्ञी डायनाको सन् १९९७ को मरणलाई लिएर नानाथरी अड्कल काटिंदै छन्, यद्यपि दुवैमा कुरा प्रष्टै छन् । कम विकसित मुलुकमा ‘षड्यन्त्र’ का गफ र मान्यताले अझै बढी ठाउँ पाएको देखिन्छ । यस्तो ‘अविकसित’ मनस्थितिले समाजलाई कुनै पनि हिसाबले वैज्ञानिक र आधुनिक राज्यव्यवस्थातर्फ जान टेवा पुर्‍याउँदैन ।

राजतन्त्रको अन्त्य भइसकेपछि नारायणहिटीबाट बहिर्गमनको समय, २९ जेठ २०६५ मा आफ्नो प्रेस वक्तव्य सुनाउने क्रममा पूर्व राजा ज्ञानेन्द्रले करीब ७–८ मिनेट हत्याकाण्डको बारेमा पहिलोपल्ट आफ्नो विचार प्रकट गरे । आफूमाथि लागेको षड्यन्त्रको आरोप अन्यायपूर्ण भएको बताए र यसमाथि आफ्नो पदका कारण बोल्न नसकेको कुरा सुनाए । पत्नी कोमललाई लागेको चोटको विवरण र हत्याकाण्डको प्रत्यक्षदर्शी जीवितै रहेको बारे जानकारी दिए । त्यो एक अनौठो र कारुणिक क्षण थियो अथवा हुनुपर्ने थियो, जहाँ पूर्वराजा आफू दरबार छाड्ने वेला नारायणहिटी हत्याकाण्डामा बेकसुर भएको कुरा सारा जनतालाई सुनाउँदै थिए ।

ज्ञानेन्द्रको नकारात्मक स्वभाव तथा प्रमाणित अधिनायकवादी चरित्रका कारण उनलाई मन नपराउनेहरू उनको प्रतिरक्षामा किन अघि सर्नुपर्दथ्यो र भन्नुहोला । तर, यो त बहु–हत्याको आरोप थियो, आरोप प्रमाणित नभएसम्म ज्ञानेन्द्रलाई निर्दाेष नै मान्नुपर्ने होइन र ?

श्रीपेच गुमाएका ज्ञानेन्द्रले आफ्नो सफाइ यसरी दिंदा र आफू निर्दाेष भएको कुरा मुलुकलाई बताइरहँदा पनि विश्लेषकहरूले सुन्यानसुन्यै गरे । कतैबाट कुनै सहानुभूतिको स्वर पनि उठेन । यस्तो महत्वपूर्ण विषयबारे पनि सीधा समाचार छापिने बाहेकको गम्भीर विश्लेषण सार्वजनिक गर्न कोही अगाडि सरेन, यद्यपि षड्यन्त्र भएकै तर्क पनि पुनः राख्न सकिन्थ्यो । पहिलोपटक मुख्य ‘आरोपित’ बाट सफाइको प्रयास अगाडि आइसकेपछि फेरि फर्केर हत्याकाण्डको ‘सार्वजनिक’ बुझाइ पुनर्मूल्याङ्कन गरौं भन्ने कुरै उठेन । यो एकखालको सामाजिक क्रूरता हुन पुग्यो ।

ज्ञानेन्द्रको नकारात्मक स्वभाव तथा प्रमाणित अधिनायकवादी चरित्रका कारण उनलाई मन नपराउनेहरू उनको प्रतिरक्षामा किन अघि सर्नुपर्दथ्यो र भन्नुहोला । तर, यो त बहु–हत्याको आरोप थियो, आरोप प्रमाणित नभएसम्म ज्ञानेन्द्रलाई निर्दाेष नै मान्नुपर्ने होइन र ? तर बौद्धिक क्षेत्रमा विद्यमान ‘वैचारिक सामन्तवाद’ आएको नारायणहिटी हत्याकाण्डबारेको विवरण गम्भीर भई सुन्नलाई समेत कसैको समय भएन । जसले बौद्धिक क्षेत्रमा विद्यमान ‘वैचारिक सामन्तवाद’ र लाचारीपनको अवस्था उजागर गर्दछ ।

याे पनि हेर्नुहाेस् - देवयानीसँग विवाहबारे दीपेन्द्रले भनेका थिए– मुमा, आफुमुमा सबैले हुन्न भने, आइतबार बुबासँग कुरा गर्छु !

राजतन्त्रको अन्त्य भइसकेपछि २९ जेठ २०६५ मा नारायणहिटीबाट बहिर्गमनअघि प्रेस सम्मेलनमा बाेल्दै पूर्वराजा ज्ञानेन्द्र शाह । तस्वीर: आर्काइभ

राजसंस्था विरुद्ध नेकपा (माओवादी) को चर्काे अभियानको सन्दर्भमा पनि कतिपय विश्लेषकहरू ‘काँतर’ बन्न पुगेको हुनुपर्छ । आफूलाई कसैले ‘राजावादी’ भनिदेला कि भन्ने डर मनमा पलाएका कारण आफूले बुझेको वा देखेको ‘सत्यता’ सँग हिंड्नुको साटो यस विषयलाई यत्तिकै लत्रिन दिएको पनि हुनसक्छ विश्लेषकज्यूहरूले । यदि यसो हो भने तथ्य र सही विश्लेषणको साटो भय, गैर–संवेदनशीलता र काँतरपनका कारण ज्ञानेन्द्रमाथि लागेको अभियोग उल्ट्याउन प्रभावशाली व्यक्ति र नागरिक अगुवा अघि नसरेको भन्न मिल्छ ।

हामीले सही तरिकाले नारायणहिटी हत्याकाण्ड बुझ्न खोजेनौं भने यसको भूतले हामीलाई पछ्याइरहनेछ । नारायणहिटीको भूतले समाजको खुट्टा सधैं अल्झाइदिनेछ र हामीलाई सधैं नै यो ‘षड्यन्त्रको कथा’ भित्र बन्दी बनाइदिनेछ । आम जनतालाई सुसूचित गर्ने जिम्मा लिएका विचार निर्माणकर्ताले नै अर्काले के भन्लान् भन्दै मुखमा सियोधागो लगाउने हो भने यो समाज कहिले माथि उठ्ला ।

तर्सी–तर्सी, छामछुम गर्दै मात्र विचार पोख्नेलाई चुनौती दिनुपरेको छ, शायद । राजसंस्था समेत गाँसिएको इतिहासलाई बुझ्न सिकौं, गणतान्त्रिक नेपाल लोकतान्त्रिक संस्कारको विकास गरौं, जसका लागि वैचारिक साहस नभएसम्म केही हुँदैन । कुनै पनि एक व्यक्तिलाई प्रमाणविना हत्याको दाग बोकिरहन बाध्य तुल्याएर आधुनिक समाजको विकासक्रममा बाधा नपुर्‍याऊँ ।

षड्यन्त्र त राजनीति र बृहत् समाजमा हुन्छ नै, कतै हुँदै हुँदैन भनेको होइन । वेलाबखतमा अकल्पनीय षड्यन्त्रहरू पनि रचिन्छन् । अङ्ग्रेजीको एउटा कथन– ‘फ्याक्ट्स आर अफ्टन स्ट्रेन्जर द्यान फिक्सन’ हामीकहाँ पनि लागू हुन्छ । तर जबर्जस्ती ‘फिक्शन’ बुझ्ने चाहना छ हामीमा । वास्तवमा सुझबुझ नागरिकको दायित्व नै कुनै पनि घटनालाई विश्लेषणद्वारा बुझ्ने चेष्टा गर्नु हुन्छ । परिपक्व अध्ययनद्वारा नै घटनाको सही कारण र तथ्य अगाडि आउँछ ।

याे पनि हेर्रनुहाेस्- अनि सरकारले ‘म भोलि बिहान फोन गर्छु, गुडनाइट’ भनी फोन राखिबक्सियो ! : देवयानी

नारायणहिटी हत्याकाण्डको हकमा लोकतान्त्रिक गणतन्त्र नेपालमा फेरि पनि एउटा औपचारिक अनुुसन्धान र खोजी जरूरी छ, जसले नारायणहिटीको भूतबाट हामीलाई राम्ररी छुटकारा दिलाओस् र जनताले पनि तथ्यपरक बुझाइको आधारमा यो काण्डलाई आफ्नो मनबाट पन्छाउन सकून् ।

विदेशनीतिमा होस् वा आन्तरिक मामलामा, तथ्यको मूल्याङ्कन तथा घटनाक्रम र तर्कको प्रयोगमार्फत पनि कुनै जवाफ वा निर्णय आएन भने त्यतिवेला षड्यन्त्रको खोजी गरे पनि हुन्छ– कतै विदेशी हात, कतै जासूस, कतै को त कतै को भनेर । तर, पहिला तथ्य र प्रमाणको सङ्कलन र त्यसबाट प्राप्त निष्कर्षमा पुग्ने कोशिश हुनुपर्छ ।

जसले पनि विना सिद्धान्त र पूर्वाग्रहग्रसित भएर मात्र काम–कुरा गर्छ भन्ने मान्यता आज नेपालीको राष्ट्रिय चरित्र नै भएको जस्तो छ । कसैले निष्ठा, दर्शन, नैतिकतामा अडेर पनि जीवनयापन गर्छन् भन्ने मान्यता हराउँदा पनि षड्यन्त्रको पोखरीमा तुरुन्तै डुबुल्की मार्न हामीलाई सजिलो भएको छ ।

नारायणहिटी हत्याकाण्डको हकमा लोकतान्त्रिक गणतन्त्र नेपालमा फेरि पनि एउटा औपचारिक अनुुसन्धान र खोजी जरूरी छ, जसले नारायणहिटीको भूतबाट हामीलाई राम्ररी छुटकारा दिलाओस् र जनताले पनि तथ्यपरक बुझाइको आधारमा यो काण्डलाई आफ्नो मनबाट पन्छाउन सकून् ।

(२०६६ सालमा प्रकाशित दीक्षितको पुस्तक 'देखेको मुलुक' मा समाविष्ट 'षड्यन्त्रको खेती' शीर्षकको लेखबाट साभार ।)

 

प्रतिकृया दिनुहोस