बन्दाबन्दीमा नियमित अन्तराष्ट्रिय उडान रोकिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वरुप नै परिवर्तन भएको छ । विमानस्थलको धावनमार्ग बढाइएको छ भने अन्तर्राष्ट्रिय विमानस्थल पार्किङ लगायत अन्य क्षमता विस्तार र सौन्दर्यीकरण पनि गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ३०० मिटर विस्तार गरी तीन हजार ३०० मिटर कायम गरिएको छ। धावनमार्गको दक्षिण कोटेश्वरतर्फ (रनवे जिरो–टु) विस्तार सकिएको विमानस्थलले जनाएको छ।
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग विस्तार गरेको हो। आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले धावनमार्ग विस्तारपछि उडान अवतरणमा सहजता आउनाका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको मापदण्ड पूरा हुने बताए।
अब अन्तर्राष्ट्रिय उडानका जहाजलाई उडान अवतरणमा सहजता हुने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए। उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलको यो चौथोपटक धावनमार्ग विस्तार गरिएको हो।
अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जम्बो जेट, बोइङ ७४७, एयरबस ए–३३० लगायत जहाज सहजै उडान अवतरण गर्छन्।
यो विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।
धावनमार्ग विस्तारका लागि मूल्य अभिवृद्धि करबाहेक रु ८० करोड बजेट खर्च भएको आयोजनाका सूचना अधिकारी श्रेष्ठले बताए। परियोजनाको कालिका तुण्डी जेभीलाई निर्माण ठेक्का दिइएको थियो।
चैत ११ देखि जारी बन्दाबन्दीसँगै आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका नियमित उडान अवतरणमा प्रतिबन्ध गरिएपछि बेलुका ६ देखि बिहान ६ बजेसम्म १२ घण्टा धावनमार्ग विस्तारको काम गरिएको थियो। धावनमार्ग विस्तार गरी कालोपत्र गर्ने काम सकिएकाले अब ‘रनवे लाइट’ र ‘एप्रोच लाइट’ राख्न मात्रै बाँकी रहेको आयोजनाले जनाएको छ।
आयोजनाअन्तर्गत विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल भवनको नयाँ ‘स्टेरायल हल’ निर्माण पनि सकिएको छ। यो काम पनि बन्दाबन्दीकै समयावधिमा भएको हो।
एक हजार २०० सिट क्षमताको हल बनाइएको छ। अहिले सोही भवनको पुरानो स्टेरायल हल भत्काउने काम भइरहेको छ।
त्यसैगरी अन्तर्राष्ट्रिय विमानस्थलको दुवैतर्फ पार्किङ वे विस्तार गरी १५ इन्टरनेशनल एयरक्राफ्ट अट्ने क्षमताको बनाइएको छ।
विमानस्थलको पश्चिमतर्फ चार र उत्तरपूर्वतर्फ दुई ठूला जहाज अट्ने गरी पार्किङ क्षमता विस्तार गरिएको हो।
यसअघि विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा नौवटा मात्रै जहाज पार्किङ क्षमता थियो । अब १५ वटा ठूला जहाज सहजरुपमा राख्न सकिने महाप्रबन्धक केसीले बताए।
‘‘पार्किङ वे’ विस्तारको काम विमानस्थल आफैँले गरेको हो। विमानस्थलको आन्तरिक टर्मिनलको उत्तरतर्फ पनि क्षमता विस्तार गरी नयाँ हल बनाउने काम भइरहेको छ। बेल्ट थप्ने योजना पनि छ।
अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्ने काम पनि धमाधम भइरहेको छ। विमानस्थलको भित्री भागको साजसजावटको काम सकिएको छ।
अब अन्तिम काम अन्तर्राष्ट्रिय टर्मिनल बाहिरपट्टि ‘क्यानोपी’ राख्ने काम पनि शुरु भएको छ। क्यानोपीको संरचना बनिसकेको छ।
विमानस्थलमा बन्दाबन्दीको अवस्थामा रात्रिकालीन उडानका लागि नोटाम जारी गरिएको भए पनि दिउँसो नियमितजसो अन्तर्राष्ट्रिय उडान (दैनिक कम्तीमा पनि एक उडान) भएको विमानस्थलका महाप्रबन्धक केसी बताउँछन् । बन्दाबन्दीको अवधिमा विमानस्थल विस्तारको काम एक दिन पनि नरोकिएको विमानस्थलले जनाएको छ।