राजसिंहासनमा बसेको तीन दशकपछि राजा वीरेन्द्र गद्दी छाड्न चाहन्थे भनेको सुनियो, जुन दरबार हत्याकाण्डसँगै कल्पना र अनुमानको दोसाँधमा विलीन हुन पुग्यो। झण्डै अढाई सय वर्ष राजतन्त्रात्मक शासन व्यवस्था रहेको मुलुकको इतिहास पल्टाउँदा राजाहरूले गद्दी त्यागेका घटना पाइन्छन्। त्यागिसकेको गद्दीमा फेरि बस्ने पनि छन्। राजा रणबहादुर शाह राजगद्दी छोड्ने र फेरि दोहोर्याएर बस्नेमा पर्छन्।
शाहवंशीय दशौं राजा वीरेन्द राजगद्दीमा बसेको तीन दशक पुगेपछि राजपाठ छोड्न चाहन्थे रे। उक्त संवेदनशील कुरो अघिल्लो साता मात्र वीरेन्द्रको नजिक बसेर लामो समय काम गरेका माथिल्लो तहका अधिकृतले भनेका हुन्।
वीरेन्द्रले २०२८ माघदेखि शासन सम्हालेका थिए। त्यस हिसाबले २०५८ सालमा तीन दशक पूरा हुन्थ्यो। तर त्यही वर्षको १९ जेठमा राजदरबार हत्याकाण्डमा उनीसहित वंशकै नाश भयो। त्यस कारण वीरेन्द्रको गद्दी परित्यागको कुरा कल्पना र अमूर्त इच्छामै सीमित भयो।
वीरेन्द्रले राजगद्दी छोडेपछि उनका जेठा छोरा दीपेन्द्र नै राजा हुन्थे। तर, दीपेन्द्रको बिहे भएको थिएन। जबकि, वीरेन्द्र राजा हुँदा उनको ऐश्वर्यसँग बिहे मात्र भएको थिएन, दीपेन्द्र पनि जन्मिसकेका थिए। वीरेन्द्रले अविवाहित छोरालाई शासनभार सुम्पिएर गद्दी छाड्थे भन्ने कुरा तर्कसंगत लाग्दैन। अर्कातिर, त्यसबारे जानकारी दिने स्रोत कुनै हल्काफुल्का नभई परिपक्व र वीरेन्द्रसँग काम गरेका व्यक्ति भएकाले यो फाल्तु हो भन्ने पनि लाग्दैन।
पञ्चायत खारेजीको चर्चा
वीरेन्द्रका पिता राजा महेन्द्रबारे पनि एउटा चर्चा चलेको थियो। राजा महेन्द्र मुटुको व्यथाले २०२८ माघमा नबितेका भए त्यसै वर्षको ७ फागुनमा निर्दलीय पञ्चायत खारेज गरी बहुदलीय व्यवस्थाको घोषणा गर्ने योजना थियो भन्ने चर्चा त्यतिवेला निकै चलेको थियो।
यस्ता कुराको दसी–प्रमाण भने कतै पाइँदैन। यस्ता रहस्योद्घाटन गर्नेहरूले झूटा कुरा गरेका नहोलान्। बितिसकेका राजाहरूका विषयमा झुटो कुरा गरेर कोबाट के पाउनु छ र ? तर, त्यस्तो विषयबारे कतै दुई–चार पंक्ति भए पनि लिखतमा भेटिनुपर्ने। ७ फागुनमा घोषणा गर्ने हो भने त माघसम्ममा घोषणाको मस्यौदा तयार भैसकेको हुनुपर्ने। त्यसको सूत्रसम्म त पत्ता लाग्नुपर्ने। तर, त्यस्तो केही पनि भेटिंदैन।
१०४ वर्ष लामो राणा शासन २००७ सालमा अन्त्य भयो। अन्तमा राजा नै सर्वेसर्वा हुने युग पुनः स्थापित भयो। राजा त्रिभुवनले संवैधानिक राजा भएर बस्ने वचन पालना गर्न सकेनन्। यसो हुनुमा तत्कालीन राजनीतिक दलका शीर्ष नेताहरू पनि शक्तिमा पुग्न मर्यादाहीन राजनीति गर्न लागे। राजाहरूले पनि पार्टीहरूको कमजोरी र नेताहरूको महत्वाकांक्षाको फाइदा उठाउँदै पार्टी गिजोले।
राजा महेन्द्र । तस्वीर: दफेमसपिपुल
राजा त्रिभुवन असमयमै बिते। निर्वाचित जनप्रतिनिधिहरूद्वारा संविधान निर्माण गर्ने २००७ सालको क्रान्ति सन्देश पालना भएन। २०१५ सालमा राजाले दिएको संविधान अनुसार संसदको निर्वाचन भयो।
जनताबाट निर्वाचित भएर प्रधानमन्त्री भएका बीपी कोइराला नेतृत्वको सरकार राजा महेन्द्रले विघटन गरे, संसद् भंग गरे। पार्टी राजनीतिलाई नै प्रतिबन्ध लगाउँदै निर्दलीय पञ्चायती शासन शुरु गरे। १८ महीनाको अबोध प्रजातन्त्रको शिशुको निर्मम हत्या गरेको दोष महेन्द्रलाई लागिरह्यो। नेपालको राजनीतिलाई खूब गिजोले उनले।
अन्ततः १७ माघ २०२८ मा चितवनको दियालो बंगलामा मुटुको व्यथाका कारण राजा महेन्द्र बिते। तब उनका बारेमा अनेकौं कुरा बाहिर आए। एकथरीले उनी २०२८ सालमै बहुदलीय व्यवस्था फिर्ता दिन चाहन्थे भने। त्यससम्बन्धी घोषणा दियालो बंगलामा लगभग तयार थियो रे। घोषणा हुन पाएको भए ७ फागुन २०२८ मै निर्दलीय पञ्चायत अन्त्य हुन्थ्यो भन्ने दरबार नजिककाहरू निकै थिए। तर त्यो आज अनुमान र डेढअक्कलीकै विषय बनेको छ।
राजा वीरेन्द्रले पञ्चायती व्यवस्थालाई निरन्तरता दिए। अन्ततः २०४६ सालमा आन्दोलनको प्रजातन्त्र पुनःस्थापना भयो। २०५८ सालमा वीरेन्द्रको वंश सखाप पार्ने गरी दरबार हत्याकाण्ड भयो। दीपेन्द्र मूर्च्छित अवस्थामै राजा घोषित भए, बिते।
त्यसपछि राजा बनेका ज्ञानेन्द्रले पिता महेन्द्रकै बाटो पछ्याएर सक्रिय शाही शासनमा रुचि देखाए। जसको विस्फोट स्वरूप दोस्रो जनआन्दोलनबाट राजतन्त्र नै बढारियो।