ब्लग विहीबार, जेठ १५, २०७७

के अन्तरजातीय प्रेमको अर्थ मृत्यु हो ?

शुष्मा बराली

के अन्तरजातीय प्रेमको अर्थ मृत्यु हो ?

अन्तरजातीय प्रेम गरेकै कारण जो मारिए, उनीहरूलाई हेक्कै भएन– विभेदले मान्छेहरूबीचमै पर्खाल उभ्याएको यो समाजमा उनीहरूको जातले प्रेम गर्नु भनेको मर्नु हो !

भनिन्छ, प्रेमको कुनै नियम हुँदैन। तर फेरि एक पटक यो आदर्श भनाइ गलत साबित भएको छ। जात, वर्ग आदिको संकुचित नियमले प्रेममा भाँजो हाल्ने विभेदको शृंखलामा अर्को बर्बर घटनाले सभ्य र आधुनिक भनिने मानव समाजलाई कलंकित बनाएको छ।

घटना हो, गएको शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीको। घटनाको कारण थियो, प्रेम। अन्तरजातीय प्रेम गरेकै कारण एक दलित युवकसहित चार जनाको मृत्यु भयो, दुई जना अझै बेपत्ता छन्।

वर्ण व्यवस्था शुरू भएको ३ हजार ५ सय वर्षयता आजका दिनसम्म एउटा समुदायले जातीय विभेदका क्रूर र अमानवीय व्यवहार निरन्तर भोग्दै आएका छन्। जसले समाजमा मानिस हुनुको अस्तित्व खोज्दा पाइलैपिच्छे विभेद, अपमान र अन्यायको सामना गर्नुपर्छ, कतिले त रुकुम पश्चिमको घटनामा झैं जीवन नै गुमाएका छन्।

हजारौं वर्षदेखि अछुत बनाइएको समुदाय यसबीचमा कसरी बाँच्दै आयो होला, यो विभेदको राप भोग्नेहरूले बाहेक अनुमान मात्र गर्न सक्ने विषय हो।

कथित उच्च जातिबाट आफू अनुकूल नियम दलित समुदायमाथि लादिन्छ। आफूमाथि भएको अन्यायको लागि लड्दा, न्याय माग्दा समाजबाट तिरस्कृत हुनुपर्छ।

जाजरकोटको भेरी नगरपालिकाका नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ की मल्ल थरकी एक युवतीसँग केही वर्षयता प्रेममा थिए। यी दुई प्रेममा कति खुशी थिए भन्ने उनीहरूको फेसबुक वालमा देख्न सकिन्छ।

शनिबार उनीहरूको प्रेमलाई विवाहमा परिणत गर्ने प्रयास पहिलो भने थिएन। बुझिए अनुसार यो जोडीले पहिले भागी विवाह गर्न बनाएको योजना विफल पारिएको थियो। शनिबारको घटनामा भने युवतीकै अनुरोधमा उनलाई लिन गएका नवराज जीवित फर्केनन्, भेरी नदी किनारमा शव भेटियो।

शहर बजारका शिक्षित व्यक्तिहरूले समेत ‘अहिलेको दुनियाँमा जातीय विभेद, छुवाछूत कहाँ छ र, सबै कुरा समान भइसक्यो’ भन्ने गरेको बाक्लै सुनिन्छ। विभेद कोही दोस्रो व्यक्तिले विश्लेषण र तर्क गर्ने, निष्कर्ष सुनाइदिने विषय होइन, यो त भोग्नेले नै महसुस गर्ने उच्चतम पीडाबोध हो।

समाचार सुन्दा मन भक्कानियो। बन्दाबन्दीको वेला बन्द कोठाभित्र छु। आँखामा नवराजको अनुहार बसेको छ, र बसेको छ उनका बा–आमाको तस्वीर। रातको १ बजिसक्दा पनि आँखामा निद्रा छैन। मानवीयता थोरै मात्र रहेका जोकोहीलाई यो घटनाले स्तब्ध पारेको छ। फेरि एक पटक हाम्रो जातिवादी समाजको कुरूप अनुहार देखियो, जसले समानताको खोक्रो आवरण भिरेको छ।

शहर बजारका शिक्षित व्यक्तिहरूले समेत ‘अहिलेको दुनियाँमा जातीय विभेद, छुवाछूत कहाँ छ र, सबै कुरा समान भइसक्यो’ भन्ने गरेको बाक्लै सुनिन्छ। विभेद कोही दोस्रो व्यक्तिले विश्लेषण र तर्क गर्ने, निष्कर्ष सुनाइदिने विषय होइन, यो त भोग्नेले नै महसुस गर्ने उच्चतम पीडाबोध हो। विभेद कहाँ छ र भन्नेहरूका लागि रुकुम घटना पछिल्लो उदाहरण मात्र हो।

प्रेम गरेका थिए नवराजले। उनको जातमा समस्या देखिएको थियो भने सोतीका गाउँलेहरूले कानूनी प्रक्रिया अपनाउन सक्थे। तर होइन, सामूहिक आक्रमणमा उत्रिएर कुटेर, लखेटेर मारियो।

दशवर्षे सशस्त्र विद्रोहकालमा दलित समुदायका हजारौं मानिस आफूले भोगिरहेको विभेद र उत्पीडन अबका दिनमा भोग्नु नपरोस्, मानवले पशु सरह बाँच्नु नपरोस् भनेर युद्धमा सामेल भएका थिए। तीमध्ये कैयौंले युद्धमै जीवनको आहुति दिए।

तर अपसोच, पटकपटकका आन्दोलन र परिवर्तनपछि पनि समाज भने बदलिन सकेन। सिङ्गो दलित समुदायले जातकै कारण विभेद र अन्याय भोगिरहेको छ। अन्तरजातीय प्रेम र विवाह गरेकै कारण नवराज जस्ता युवायुवतीले मृत्युवरण गर्नुपरेको छ।

समाजको ‘जातीय दूरी’ को शिकार भएर मारिने नवराज पहिलो पात्र होइनन्। कथित उपल्लो जातकी केटीसँग प्रेम गरेकै कारण हत्या गरिएका काभ्रेका अजित मिजारको शव चार वर्षदेखि त्रिवि शिक्षण अस्पतालमै छ। अन्तरजातीय प्रेम गरेकै कारण जो मारिए, उनीहरूलाई हेक्कै भएन– उनीहरूको जातले प्रेम गर्नु भनेको मर्नु हो !

दलित समुदायमाथि जानीजानी गरिएको यस्ता घटनालाई राजनीतिकरण गरेर अर्कै रूप दिन बाँकी राखिन्न। कति अमानवीय घटना दबाइन्छ, लुकाइन्छ। केही सीप नचल्ने देखे दबाबमा पारी मिलापत्र गराइन्छ। रुकुम पश्चिमको घटनामा पनि सत्य छोप्ने र तोडमोड गर्ने बहस र विश्लेषण सामाजिक सञ्जालमा आइरहेकै छन्।

उँचनीच जातको सीमारेखा कोरेर विभेदलाई निरन्तरता दिने कथित उपल्ला जातका मानिसहरूले दलितलाई पशुलाई भन्दा तुच्छ ठानिदिए। ‘पानी नचल्ने’ जातका मानिसभित्र पनि आफूमा जस्तै रगत, सास र भावना चल्छ भन्ने सोचिदिएनन्।

२१ वर्षका नवराज विकले सपनामा पनि सोचेका थिएनन् होला, प्रेमिकालाई लिन जाँदा ज्यान भेरीलाई चढाउनुपर्छ भन्ने। यदि समाजमा जातीय विभेदबाट यो हदको मूल्य चुकाउनुपर्छ भनेर उनले थोरै मात्र छनक पाएका हुन्थे भने सायद प्रेम गर्ने ‘दुस्साहस’ नै गर्दैनथे।

गैरदलित युवतीसँगको प्रेम सम्बन्धले नवराज विकको मात्र हत्या भएन, उनीसँग गएका अन्य तीन युवाको समेत ज्यान गयो। कथित तल्लो जातको केटाले कथित उपल्लो जातकी छोरी ताक्नेलाई पूरै गाउँले सबक सिकाउँदा प्रशासन र प्रहरी बुख्याँचा झैं मौन रह्यो।

२१ वर्षका नवराज विकले सपनामा पनि सोचेका थिएनन् होला, प्रेमिकालाई लिन जाँदा ज्यान भेरीलाई चढाउनुपर्छ भन्ने। यदि समाजमा जातीय विभेदबाट यो हदको मूल्य चुकाउनुपर्छ भनेर उनले थोरै मात्र छनक पाएका हुन्थे भने सायद प्रेम गर्ने ‘दुस्साहस’ नै गर्दैनथे।

दलित समुदायको चेलीसँग राजीखुशीले बिहे गरे पनि सम्बन्ध विच्छेद गर्ने, कथित सानो जात भएका कारण घरबाट निकालिने, मार्नेसम्म धम्की दिने, हत्या गरेर प्राकृतिक मृत्युको कथा रच्ने समाजको एक सदस्य म। मन–मगजमा प्रश्नको बाढी उर्लिन्छ– दलितले मानिस भएर बाँच्न कस्तो मूल्य चुकाउनुपर्ने हो ? मानिसका रूपमा व्यवहार पाउन कहिलेसम्म ज्यान दिइरहनुपर्ने हो?

एउटा समुदाय वर्षौंवर्षदेखि आजको वैज्ञानिक युगसम्म आइपुग्दा अत्याचार सहनुपर्ने यो कस्तो बाध्यता? आफूमाथि भएको विभेद र अमानवीय व्यवहारको विरुद्धमा न्याय माग्न जाँदा सामान्य उजुरीसम्म लेखिंदैन, यो कस्तो विधिको शासन र न्यायिक संरचना ?

नेपालको संविधान र कानूनले जातीय विभेद र छुवाछूतलाई अपराध घोषणा गरेको वर्षौं भयो। र पनि त्यस्ता अपराध समाजको घर-आँगनमा भइ नै रहेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्क अनुसार, सन् २०१९ मा मात्रै जातीय विभेदका ६२ वटा घटना भएका थिए। अपसोच के छ, यस्ता जघन्य अपराधबारे गैरदलित समुदायको चासो र चिन्ता अपेक्षित देखिंदैन।

प्रहरी–प्रशासनले पीडकलाई नै साथ र प्रोत्साहन दिने, पीडितलाई थप पीडा दिने प्रवृत्ति अब बन्द हुनुपर्छ। संघीय संरचनासँगै गाउँगाउँमा पुगेको सिंहदरबारले राजनीतिक वर्चश्व जमाउन अन्यायमा आँखा चिम्लिने होइन, न्यायिक कारबाही अगाडि बढाउन पहल गर्नुपर्छ।

आखिरमा लोकतान्त्रिक गणतन्त्रले पनि समता र न्याय दिन सकेन। प्रेमको रक्षा गर्न सकेन। भोग्दै आएको विभेदको पीडा शब्दमा बयान गर्न सकिंदैन। उकुसमुकुस हुन्छ।

उकुसमुकुसले आहत मनले यस्तो सोच्छ- समाज र राज्यले दलितलाई छुट्टै हाते पुस्तिका देओस्, जहाँ ठूला अक्षरमा ‘तेरो जातले प्रेम गर्नु भनेको मर्नु हो’ भनेर लेखियोस्। ता कि हरेक दलितले बुझोस्, उसको जातले प्रेम गर्न सक्दैन। कम्तिमा अकालमै बेकसुर सजाय त भोग्नु पर्दैन।

अन्तरजातीय प्रेम गरेकै कारण दलितको मृत्यु कहिलेसम्म ?

प्रतिकृया दिनुहोस