खेलकुद मंगलबार, जेठ १३, २०७७

ह्याप्पी बर्थ डे साम्बा !

निरञ्जन राजवंशी

ह्याप्पी बर्थ डे साम्बा !

नेपाली महिला फुटबलमा यति छिट्टै कमैले भेट्टाउने कीर्तिमान बनाइसकेकी सावित्रा भण्डारी ‘साम्बा’ले आजको दिनसम्म आइपुग्न गरेको संघर्षको कथा भने लामो छ ।

निरञ्जन राजवंशी

सावित्रा भण्डारी उर्फ ‘साम्बा’ आज (मंगलबार) बिहानदेखि नै व्यस्त भइन् । नेपाली महिला फुटबलकी सेलिब्रेटी उनको २३ औं जन्मदिनको शुभकामना दिन सामाजिक सञ्जालहरुमा ओइरो नै लाग्यो ।

न प्रशिक्षण, न प्रतियोगिता न त सशस्त्र प्रहरी बल (एपीएफ)को ड्यूटी नै । लकडाउनले नमज्जाले खलबलिएको दैनिकी माझको फरक दैनिकीमा मख्ख साम्बा भन्दै थिइन्– “व्यस्तै भइयो आज त !”

भौतिक दूरी कायम गर्नुपर्ने र ड्युटीमा ‘स्टयान्ड बाई’ बस्नुपर्ने हुनाले एपीएफकी यी खेलाडीले जन्मदिन चाहिँ मज्जाले मनाउन पाउनेछैनन्।

भन्छिन्– “परिस्थिति नै यस्तो छ । जन्मदिन भन्दा ठूलो विषय कोरोना संक्रमण भइहाल्यो । यसपालि त सचेत नै हुनुपर्ने भएको छ । लकडाउन खुलेपछि बाँकी जिन्दगी त छँदैछ नि ।”

छोटो समयमा राष्ट्रिय अन्तर्राष्ट्रिय फुटबलमा चर्चा कमाएकी साम्बाले राष्ट्रिय टोलीबाट ३८ गोल गरेर अरुलाई भेट्टाउन गाह्रो पर्ने कीर्तिमान बनाइसकेकी छिन् । र, उनको यो यात्रा जारी नै छ।

लमजुङमा जन्मेकी साम्बाको फुटबल जीवन भने उत्तिकै संघर्षले भरिएको देखिन्छ ।

जन्मदिनमा उनले गरेको फुटबल संघर्षलाई एकपटक फर्केर हेरौं।

साम्बाको संघर्ष
राष्ट्रिय फुटबल टोलीको अग्रपंक्तिकी खेलाडी साम्बा, घरेलु बन्धन र सामाजिक परिधि नाघेर आफूलाई स्थापित गर्ने नेपाली खेलकुदका पछिल्ला चर्चित महिला पात्र हुन्।
उनले गरेका गोल, खेल कौशलता र गोलको खुशी मनाउने शैली, कपाल पाल्ने तरिका सबै चर्चित छन् । 

एकपछि अर्को गोल गर्न व्यस्त साम्बाले अन्तर्राष्ट्रिय गोल संख्या ३८ पुर्‍याइसकेकी छन् । छोटो समयमै उनको यो कीर्तिमान अरुलाई अरुलाई भेटन सहज देखिन्न । र, यो रोकिने संभावना पनि देखिएको छैन । नेपाली खेलकुदमा थोरै खेलाडीहरुले मात्र यो रफ्तारमा प्रगति गरेका छन्।

सफलताको शिखरमा छिटो पुगे पनि त्यस निम्ति उनले गरेको संघर्षको समय भने छोटो होइन । सावित्राले घरदेखि गाउँ र सशस्त्र प्रहरीको एपीएफ क्लबदेखि राष्ट्रिय टोलीको ढोका खोल्ने क्रममा संघर्षको लामो यात्रा तय गरेकी छिन् ।

एउटी महिलाको रुपमा गाउँमा उनी नमूना बनेकी छिन् । खेलाडीको रुपमा राष्ट्रिय टोलीसम्म आइपुग्दा बेग्लै परिचय बनाएकी छिन् । तर, उनको यो यात्राले विगतमा महिला खेलाडीहरुले गर्ने विषम परिस्थितिमा अहिले कमी आए पनि पूरै फरक भने भइसकेको छैन।

साम्वा: सशस्त्र प्रहरी र खेलाडी पाेशाकमा ।

हलोसँगै
गाउँमा सावित्रा हलो जोत्थिन् । आली लगाउँथिन् । चार दिदीबहिनीमध्ये साइँली उनलाई घरमा दिने भूमिका पुरुष पात्र बराबर थियो । स्वभाव पनि त्यस्तै थियो । छोटो कपाल पाल्ने, कुर्ता सारी नलाउने, न लाज मान्ने न धक नै ।

सावित्राको यिनै स्वभाव खेलकुदसँग जोडिने आधार बन्यो । सामान्यतः खेलाडी बन्न त्यस्तै स्वभाव चाहिन्छ । शारीरिक रुपमा बलियो, हिम्मतिलो, हार नमान्ने बानी ।
उनले खेलको शुरुआत एथलेटिक्स र भलिबलबाट गरिन् । तर, उनको रुचि भने फुटबलमा थियो । फुटबल खेल्ने आफ्नो हठ पूरा गर्न उनले धैर्यको लामो परीक्षा पार गर्नुप¥यो । “महिलाको टीम थिएन । खेल्न असाध्यै मनपर्ने । अनि, पुरुषसँगै खेल्थ्यौं । उनीहरुसँगै झगडा गथ्र्यौं”, सावित्रा सम्झिन्छिन्।

सावित्रा पुरुष टोली खेलेको पोष्ट पछाडि बसिरहन्थिन्, एउटा बल प्रहार गर्न पाउँँछु कि भन्ने आशामा । कक्षा ८ सम्म मात्र पढाइ हुने स्कूलपछि नयाँ स्कूल छान्दा सावित्राले फुटबल खेल्ने चौर भएको अमर उमावि रोजिन् ।

उनलाई याद छ– छिमेकी गाउँ घनपोखरामा महिला फुटबल हुँदैछ भन्ने थाहा पाएपछि रातारात त्यहाँ पुगेको । सृजनशील युवा क्लबबाट खेलेको र पहिलो पटक फुटबल बुट लगाएको । अनि, एक्लैले ५ गोल गरेको।

त्यो एक अवसर
२०७२ वैशाखमा घले गाउँमा भएको महिला फुटबल प्रतियोगिताले उनको खेल जीवनले नयाँ मोड लियो । अरु सामान्य खेलाडी भन्दा भिन्न ‘केटा जस्तै खेल्ने’ छरिती साम्बाको खेल रेफ्री बनेका शुक्र लामाको आँखामा प¥यो । लामाले फोन नम्बर माग्दै सोधे, “काठमाडौं बोलाए खेल्न आउँछौ ?”

प्रश्न भुईंमा खस्न नपाउँदै सावित्राको जवाफ थियो– “आउँछु’’ । नभन्दै असारमा एपीएफबाट उनलाई काठमाडौंमा खेल्ने निम्तो आयो ।

तर, गाउँ छोडेर एपीएफ आउँदा भने उनले सामाजिक अवरोधको सामना गर्नुप¥यो । “शहरमा एक्लै नजा बिग्रेलिस् ।” “छोरी मान्छेले एक्लै घर छाड्नुहुन्छ ?” जस्ता प्रश्न उनी माथि उठेका थिए । 

तर, सावित्रा यस्ता कुरा मान्ने पात्र कहाँ थिइन् र ! “हलो जोत्न दिने । अनि फुटबल खेल्नलाई भने अप्ठेरो कसरी हुन्छ । मैले कसैको सुनिनँ”, हक्की स्वभावकी साम्बा भन्छिन् ।

वास्तविक परीक्षा
मासिक ५ हजारको करार जागिरमा सावित्रा एपीएफमा आबद्ध भइन् । महिला फुटबलको सशक्त मानिने एपीएफमा छिरेपछि बल्ल उनको वास्तविक खेलाडी बन्ने यात्रा शुरुआत भयो ।

“अहो ! फुटबल त मैले केही जानेकै रहेनछु । एपीएफ मैदान पुगेर बल्ल चाल पाएँ”, शुरुआती दिन सम्भिंmदै उनी भन्छिन् । शारीरिक र मानसिक शक्ति बोकेकी सावित्राले एपीएफमा आफूलाई व्यावसायिक शैलीमा ढाल्ने ज्ञान बटुलिन्।

त्यतिबेला एपीएफमा राष्ट्रिय टोलीका जल्दाबल्दा खेलाडी जमुना गुरुङ र अनु लामाको जगजगी थियो । अधिकांश खेलाडीहरु राष्ट्रिय टोलीका सदस्य । साम्बाले चितवनको राष्ट्रिय लिग खेल्ने मौका पाइन् ।

जमुना घाइते हुनु तथा अनु लामा मिशनका लागि विदेश गएपछि साम्बाले अग्रपंक्तिको जिम्मेवारी पाइन् । यो उनको उदयको अवसर बन्यो । लिगमा ८ गोल गरेपछि उनको राष्ट्रिय टोली छिर्ने ढोका खुलिहाल्यो।

तेस्रो साफ च्याम्पियनसिपका लागि उनलाई राष्ट्रिय टोलीमा बोलाइयो । लामो समयको सपना पूरा भएको उक्त प्रतियोगिताको भूटान विरुद्धको डेब्यु खेलमा नै सावित्राले ८ गोल गरिन् । राष्ट्रिय टोलीमा यो भन्दा राम्रो आगमन अरु के नै हुन सक्थ्यो र ।

देशकी कीर्तिमानी सावित्राले माल्दिभ्समा व्यावसायिक फुटबल खेलिसकेकी छिन् । भारतीय महिला लिगमा तहल्का मच्चाइसकेकी छिन् । आफ्नो टोलीलाई उपाधि दिलाउने क्रममा हरेक खेलमा निर्णायक गोल गरेर करिअरमा नयाँ अध्याय थपिसकेकी छिन्।

परिपक्वताको यात्रा
कतिपयले साम्बामा अझै फुटबल परिपक्वताको अभाव देख्छन् । यसका लागि उनीसँग करिअरको लामो समय बाँकी छ । “आफू राम्रो खेल्नु त छँदै छ, पूरा टीमको अवस्था बुझेर जिम्मेवार बन्ने कला विकसित भएपछि साम्बा बल्ल परिपक्व खेलाडी बन्नेछिन्”, एपीएफका फुटबल व्यवस्थापक प्रेम श्रेष्ठ भन्छन् ।

साम्बा यही यात्रामा छिन् । आवश्यक परेको बेला देशकै लागि लड्नुपर्ने एपीएफको जागिरे भएकाले पनि उनमा जिम्मेवारी र परिपक्वता खारिंदै आएको छ।
थप अर्को जिम्मेवारी पनि छ, घरपरिवार । र, त्यो जिम्मेवारी पनि उनले सम्हालिरहेकी छिन्।

 

प्रतिकृया दिनुहोस