रिपोर्ट सोमबार, जेठ १२, २०७७

सुनसान छन् नदी, १० हजार बेरोजगार

नुनुता राई

सुनसान छन् नदी, १० हजार बेरोजगार
तस्वीर सौजन्यः सरोज बस्नेत

नेपालमा लोकप्रिय भइरहेको ‘वाटर स्पोर्टस’ अन्तर्गत राफ्टिङ, क्यानोइङ र कायाकिङ खेलाउन १० हजार जनशक्ति संलग्न छन् । राफ्टिङ र कायकिङको लागि विश्वमै उत्कृष्ट मानिने तीन नदी कर्णाली, सुनकोशी र भोटेकोशी उत्कृष्ट १० मध्येका गन्तव्य हुन् ।

३५ वर्षदेखि रिभर गाइड गरिरहेका अच्युत गौतम १५ वर्षदेखि स्वतन्त्र रुपमा काम गरिरहेका छन् । २०७२ सालमा भारतले नाकाबन्दी गर्दा दुई महीना बेरोजगार भए । तर, यसपटक बेरोजगार भएको त्योभन्दा बढी भइसक्यो । 

अहिले कोभिड–१९ को महामारी नभएको ‘रिभर गाइड’ हरुलाई भ्याइनभ्याइ हुन्थ्यो । तर, नदीमार्फत हुने पर्यटन ठप्प हुँदा यसमा संलग्न १० हजार जना बेरोजगार भएका छन् । ती रिभर गाइड, कायाकर, क्यानोइङ गाइड लगायत भएको नेपाल राफ्टिङ एसोसियसन अफ एजेन्सीज (नारा) ले जनाएको छ । स्वतन्त्र र कर्मचारीका रुपमा संलग्न रिभर गाईडहरु नै बेरोजगार छन् ।

रिभर गाइड गौतम भन्छन्, “अहिले हाम्रो धेरै कमाई हुने समय हो तर, कोरोनाभाईरसको कारण घरमा थुनिएर बस्नुपरेको छ । नाकाबन्दीमा त खुलेपछि सामान्य हुन्छ भन्ने ढुक्क थियो । अहिले त कहिलेदेखि सामान्य हुन्छ भन्न सकिने अवस्था छैन ।” सरकारले अनुमति दिएको सबै खोलामा विदेशी तथा आन्तरिक पर्यटकलाई गाइड गरिसकेका गौतम खोलाहरुलाई सम्झँदै बस्न बाध्य छन् ।

बन्दाबन्दीले करिब रु.२५ करोड बराबरको कारोबार ठप्प भएको नाराका अध्यक्ष गंगाप्रसाद नेपाल बताउँछन् । यो क्षेत्रमा करीब १० हजार जनाले रोजगारी पाएका छन् । अध्यक्ष नेपाल भन्छन्, “सबैभन्दा पिक सिजनमा कोरोनाभाइरसको कारण बन्दाबन्दीमा जानुपर्‍यो । यसले धेरै जना बेरोजगार भएका छन् ।”

सरकारले १६ वटा खोलामा राफ्टिङको अनुमति दिएको छ । भोटेकोशी, कर्णाली, सुनकोशी, कालीगन्डकी, तमोर, त्रिशुलीलगायत नदी राफ्टिङको लागि लोकप्रिय छन् । नारासँग आबद्ध ७५ कम्पनीले यस्ता खेलकुद खेलाउँछन् । बन्दाबन्दीपछि सबै कम्पनी बन्द छन् ।

बन्दाबन्दीले करिब रु.२५ करोड बराबरको कारोबार ठप्प भएको नाराका अध्यक्ष गंगाप्रसाद नेपाल बताउँछन् । यो क्षेत्रमा करीब १० हजार जनाले रोजगारी पाएका छन् । अध्यक्ष नेपाल भन्छन्, “सबैभन्दा पिक सिजनमा कोरोनाभाइरसको कारण बन्दाबन्दीमा जानुपर्‍यो । यसले धेरै जना बेरोजगार भएका छन् ।”

काेराेनाभाइरसकाे महामारीका कारण सिर्जित बन्दाबन्दीले अहिले नदीमा यस्ताे दृश्य हेर्न पाइने छैन । भाेटेकाेशीकाे राफ्टिङ । तस्वीर: भरतबन्धु थापा 

कम्पनीका रिभर गाईड र अन्य कर्मचारीलाई अहिलेसम्म तलब पाइरहेको नारा महासचिव शिशिर खनाल बताउँछन् । महामारीको हल्ला फैलनेबित्तिकै सबैभन्दा पहिले राफ्टिङ व्यवसाय प्रभावित भएको उनको भनाइ छ । “चिसोमा कोरोना संक्रमण फैलन्छ भन्ने हल्ला फैलियो। त्यसकारण चीनमा कोरोनाभाइरसको संक्रमण बढेसँगै गत जनवरीदेखि नै हाम्रो व्यवसाय प्रभावित भयो”, खनाल भन्छन् ।

उनका अनुसार तीन महिनादेखि राफ्टिङ व्यवसाय ठप्प छ । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै लगानी थपेका व्यवसायीले झनै समस्या भोगिरहेका छन् । तत्काललाई व्यवसाय कसरी टिकाउने र त्यसपछि कसरी उठ्ने भन्ने विषयमा छलफल चलिरहेको महासचिव खनाल बताउँछन् ।

गत वर्ष करीब १० लाख आन्तरिक पर्यटकले राफ्टिङको मजा लिएको नाराको तथ्याङ्क छ । यी खेलकुदका लागि वर्षमा दुई पटक ‘पिक सिजन’ र दुई पटक ‘स्लो सिजन’ हुन्छ । माघ अन्तिमदेखि जेठ दोस्रो हप्तासम्म र भदौदेखि मंसीरसम्म ‘पिक सिजन’ तथा बाँकी समय ‘स्लो सिजन’ हुन्छ ।


गत वर्ष करीब १० लाख आन्तरिक पर्यटकले राफ्टिङको मजा लिएको नाराको तथ्याङ्क छ । यी खेलकुदका लागि वर्षमा दुई पटक ‘पिक सिजन’ र दुई पटक ‘स्लो सिजन’ हुन्छ । माघ अन्तिमदेखि जेठ दोस्रो हप्तासम्म र भदौदेखि मंसीरसम्म ‘पिक सिजन’ तथा बाँकी समय ‘स्लो सिजन’ हुन्छ ।

करिब १० वर्षअघिसम्म काठमाडौं र पोखरामा मात्रै राफ्टिङ, कायकिङ, क्यानोइङ खेलाउने कम्पनी सन्चालित थिए । अहिले भने धरान, मुगु, कैलाली र कन्चनपुरमा समेत यस्ता कम्पनी खुलेका छन् ।

करीब आठ वर्ष यता राफ्टिङ, क्यानोइङ, कायकिङ खेलमा आन्तरिक पर्यटकको आकर्षण बढेको राफ्टिङ रिभरका सन्चालक इन्द्र राई बताउँछन् । उनी भन्छन्, “यी खेलमा सात आठ वर्ष पहिलासम्म विदेशी पर्यटक मात्रै हुन्थे ।”

स्वदेशीको आकर्षणसँगै नदीमा हुने खेल वर्षभरि नै चल्न थालेका हुन् । राफ्टिङ कम्पनीहरुले पर्यटकलाई हरेक वर्ष नयाँ प्याकेज दिने योजना अनुसार पिक सिजनको तयारी गर्दै गर्दा व्यवसाय नै बन्द गर्नुपरेको नाराका सचिव समेत रहेका राई बताउँछन् ।

अहिले नेपालमा करीब ५५० जना रिभर गाइड छन् । रिभर गाइइडले नदीमा खतरा भएको स्थानतिर कायकिङ गर्दै बोटको अवस्था नियाल्नु, कुनै दुर्घटना भईहाले तत्काल उद्वार गर्नु, राफ्टिङ बोटलाई गाइड गर्नु हो । त्यस्तै राफ्टिङ गर्दै जाँदा देखिने, भेटिने स्थानहरुको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक महत्वबारे जानकारी दिनु, विभिन्न स्थानमा पर्यटकलाई सचेत गर्नु गाइडको भूमिका हो ।

नेपालका रिभर गाइडहरु विदेशमा पनि चर्चित छन् । हरेक वर्ष भारत, जापान, दुबई, आयरल्यान्ड लगायत देशमा नेपाली रिभर गाइडहरुको माग हुन्छ । अफ्रिल अन्तिमदेखि सेप्टेम्बरसम्म करिब २५० जना रिभर गाइड कामका लागि त्यता जान्छन् ।

यो वर्ष कोरोनाभाइरस संक्रमणको कारण कोही पनि विदेश जान नपाएको नाराका महासचिव खनाल बताउँछन् । उनी भन्छन्, “विदेश जान नपाएका रिभर गाइडहरुको जिम्मेवारी पनि थपिएको छ । अब कसरी सबैलाई सम्बोधन गर्ने भन्नेबारे बृहत छलफल गरिरहेका छौं ।”

याे पनि हेर्नुहाेस्– छालसँग पौंठेजोरी

प्रतिकृया दिनुहोस