समाचार आइतबार, जेठ ११, २०७७

शुरु भयो चिनियाँ कार्गो रेल सेवा, नेपाललाई यस्तो लाभ

रमेश कुमार

शुरु भयो चिनियाँ कार्गो रेल सेवा, नेपाललाई यस्तो लाभ
चीनको सिआनबाट काठमाडौंका लागि शुरु गरिएको कार्गो रेल सेवा । तस्वीरहरु : सिन्ह्वा समाचार एजेन्सी

चीनको सिआनबाट साताको एक पटक नेपाललक्षित कार्गो रेल सेवा शुरु भएपछि भारतीय बन्दरगाहको सट्टा नेपालले चिनियाँ बन्दरगाहको प्रयोग गरी अन्य मुलुकसँग व्यापार गर्न सजिलो हुन्छ।

चिनियाँ रेशममार्गको प्रस्थानविन्दु मानिने सिआनबाट नेपालका लागि नियमित कार्गो रेल सेवा शुरू हुँदैछ। शुक्रबार पहिलो कार्गो रेल चीनको सिगात्सेतर्फ प्रस्थान गरेको छ। चीनको प्राचीन राजधानी सिआनबाट दक्षिण एशिया लक्षित कार्गो रेल सेवा शुरु गरिएको यो पहिलो पटक हो।

सिआनबाट युरोप, मध्य एशिया, पश्चिम एशियाका नियमित कार्गो रेल सेवा सञ्चालनमा छन्। पल्लो सान्सी प्रान्तको केन्द्र सिआनले दक्षिण एशिया लक्षित कार्गो रेल सेवा शुरु गर्दै नेपालतर्फ पहिलो कार्गो पठाएको हो। तर, यो रेल चीनकै सिगात्सेसम्म मात्र आउँछ, सिगात्सेबाट ट्रकमा सामान ढुवानी गर्नुपर्छ ।

सम्बन्धित समाचार- चीनबाट काठमाडौंका लागि रेल्वे-सडक कार्गो सेवा शुरु

चीनका लागि कार्यवाहक नेपाली राजदूत सुशील लम्सालका अनुसार, साताको एक पटक सिआनबाट नेपालका लागि मालमत्ता बोकेको कार्गो रेल सञ्चालन हुनेछ। तर, यो नेपाली व्यवसायीहरूको मागमा आधारित हुनेछ। यसअघि पनि चीनका विभिन्न शहरबाट नेपाललक्षित कार्गो रेल सेवा शुरु गरिएको घोषणा भएपनि नेपाली व्यवसायीको माग नहुँदा नियमित भएका थिएनन् । त्यसैले, चीनतर्फको व्यापारका व्यवधान नहटाएसम्म यो कार्गो रेलको निरन्तरतामा पनि संशय छ । त्यसैगरी लान्चौबाट पनि शुक्रबार नै नेपालका लागि लक्षित अर्को कार्गो रेल हिंडेको छ।

२०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि नेपालले चिनियाँ बन्दरगाह हुँदै अन्य मुलुकसँग व्यापार गर्न पारवहन सम्झौताको प्रक्रिया शुरु गरिएको थियो। अहिले भारतसँग सीमाका विषयमा तनाव बढेका वेला फेरि संयोगवश कार्गो रेल सेवा शुरु भएको छ।

चाइना रेल्वे सियान ग्रुप, सिआन इन्टरनेशनल ट्रेड एण्ड लजिस्टिक पार्क तथा निम्बो फक्स सिपिङ एजेन्सीको सहकार्यमा विभिन्न निजी कम्पनी तथा नेपालस्थित चिनियाँ कम्पनीका निर्माण सामग्री, कपडा, स्वास्थ्य सामग्री आदि बोकेको कार्गो रेल सिआनबाट प्रस्थान गरेको हो। त्यस्तै, लान्चौबाट १३ लाख डलर बराबरको ३ सय ९० टन सामग्री बोकेको अर्को कार्गो रेल नेपालतर्फ हिंडेको छ।

यसअघि नै चीनका विभिन्न शहरबाट नेपालतर्फ कार्गो रेल सेवा शुरु गरिएका थिए। सन् २०१६ को मे महीनामा कान्सु प्रान्तको लान्चौबाट नेपालमा सामान भित्र्याउन पहिलो कार्गो रेल सेवा शुरु गरिएको थियो। सन् २०१६ को डिसेम्बरमा क्वाङ्चौबाट पनि नेपालमा कार्गो रेल मार्फत सामान भित्र्याउन सेवा थालिएको थियो। तर, ती कुनै पनि नियमित हुन सकेनन्।

"सिआनबाट शुरू कार्गो रेल सेवाले भविष्यमा चिनियाँ बन्दरगाह हुँदै गरिने व्यापारको परीक्षण गर्नेछ। सिआन नेपालले प्रयोग गर्न पाउने चार चिनियाँ समुद्री बन्दरगाहको नजिकको शहर हो, अहिलेको कार्गो रेल सेवाले भविष्यमा ती बन्दरगाह हुँदै अन्य देशमा व्यापार गर्ने सम्भावना देखाउँछ।"

- नवराज ढकाल, सह–सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

२०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि नेपालले चिनियाँ बन्दरगाह हुँदै अन्य मुलुकसँग व्यापार गर्न पारवहन सम्झौताको प्रक्रिया शुरु गरिएको थियो। अहिले भारतसँग सीमाका विषयमा तनाव बढेका वेला फेरि संयोगवश कार्गो रेल सेवा शुरु भएको छ। २०७२ चैतमा नेपालले चीनसँग चिनियाँ भूमि हुँदै ढुवानी गर्न पाउने व्यवस्थासहितको पारवहन ढुवानी सम्झौता गरेको थियो। त्यसलगत्तै चिनियाँ शहरबाट नेपालतर्फ कार्गो रेल सेवा शुरु गरिएका थिए।

चीनबाट सामान आयात गर्दा प्रतिकन्टेनर ढुवानी खर्च र समयको हिसाबले सांघाईबाट कोलकाता पोर्ट र त्यहाँबाट वीरगन्जसम्म रु. २ लाख ६० हजार तिर्नुपर्छ र करीब ३५ दिन लाग्छ। तर, चीनबाट सिगात्सेसम्म रेल र त्यहाँबाट ट्रकमा रसुवागढीसम्म सामान ल्याउँदा प्रतिकन्टेनर रु. २ लाख ७० हजार लाग्छ र भारतीय बन्दरगाह हुँदै ल्याउँदाभन्दा २५ दिन छिटो अर्थात् १० दिनमै आइपुग्छ।

२०७६ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका दौरान पारवहन सम्झौता कार्यान्वयनका लागि आवश्यक प्रोटोकलमा हस्ताक्षर भएको थियो। सन्धी अनुसारको प्रोटोकल १ जनवरी २०२० (गएको पुस) बाट लागू भएको थियो। यो प्रोटोकल अनुसार, नेपालले चिनियाँ बन्दरगाह हुँदै अहिलेसम्म अन्य देशसँग व्यापार गरेको छैन।

अहिले सियानबाट शुरू गरिएको रेल सेवालाई सोही प्रोटोकलको परीक्षणका रुपमा हेरिएको छ। चिनियाँ शहरहरुमा नियमित कार्गो रेल सेवा भए चिनियाँ बन्दरगाह हुँदै अन्य देशसँगको व्यापार अगाडि बढ्नसक्छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सह–सचिव नवराज ढकाल सिआनबाट शुरू कार्गो रेल सेवाले भविष्यमा चिनियाँ बन्दरगाह हुँदै गरिने व्यापारको परीक्षण गर्ने बताउँछन्। “सिआन नेपालले प्रयोग गर्न पाउने चार चिनियाँ समुद्री बन्दरगाहको नजिकको शहर हो, अहिलेको कार्गो रेल सेवाले भविष्यमा ती बन्दरगाह हुँदै अन्य देशमा व्यापार गर्ने सम्भावना देखाउँछ”, उनी भन्छन्।

“समयका हिसाबले भारतीय बन्दरगाह हुँदै नेपाल ल्याउनभन्दा अहिले नै चिनियाँ बन्दरगाहको प्रयोगबाट सामान छिटो हुने देखिएको छ, लागत पनि सस्तो पर्ने देखिए भविष्यमा चिनियाँ बन्दरगाहको प्रयोग बढ्नसक्छ।”

- सुशील लम्साल, चीनका लागि कार्यवाहक नेपाली राजदूत 

पारवहन सम्झौता अनुसार, नेपालले चीनका थियान्चिन, शनचेन, लियाङ्वुइङ्गाङ, चानच्याङ गरी चार समुद्री बन्दरगाह प्रयोग गर्न पाउँछ। सिआनबाट कार्गो रेल मार्फत नेपाल ल्याउँदा समय र लागत सस्तो पर्ने देखिए भविष्यमा चिनियाँ बन्दरगाह हुँदै अन्य देशसँगको व्यापार विस्तार अगाडि बढ्नसक्ने चीनका लागि कार्यवाहक राजदूत लम्सालको आकलन छ। अहिले सिआनबाट शुरु कार्गो सेवा आठ दिनमा चीन–नेपाल सीमामा आइपुग्ने बताइएको छ। “समयका हिसाबले भारतीय बन्दरगाह हुँदै नेपाल ल्याउनभन्दा अहिले नै चिनियाँ बन्दरगाहको प्रयोगबाट सामान छिटो हुने देखिएको छ, लागत पनि सस्तो पर्ने देखिए भविष्यमा चिनियाँ बन्दरगाहको प्रयोग बढ्नसक्छ” लम्साल भन्छन्।

सिआनबाट नेपालको सीमासम्म ल्याइने कार्गो रेल सेवाको ढुवानी लागत प्रतिकन्टेनर १६ हजार आरएमबी (करीब रु. २ लाख ७० हजार) तोकिएको छ। सिआन र लान्चौबाट रेलमा ल्याइने सामान चीनको सिगात्सेसम्म रेलमा र त्यसपछि ट्रकमा हालेर नेपाल–चीन सीमामा पुर्‍याइनेछ।

"चीनबाट सोझै सडकमार्ग मार्फत सामान ल्याउँदा भारतीय बन्दरगाहको तुलनामा छिटो हुने भए पनि लागतको भने तुलना गरेर हेर्नुपर्छ। लागत पनि सस्तो हुने देखिए भविष्यमा चिनियाँ बन्दरगाहको प्रयोग बढ्नसक्छ।"

- राजेशकाजी श्रेष्ठ, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श

सिआन र लान्चौबाट सिगात्सेसम्मको रेलमार्गको दूरी क्रमशः करीब २ हजार ९ सय र २ हजार ४ सय किमी छन्। तिब्बतको सिगात्सेसम्म आइपुग्न चीनको एकमात्र रेलमार्ग छ, जुन छिङहाई प्रान्त हुँदै लामो दूरी पार गरेर आउँछ। चीनको सिचुवान प्रान्त हुँदै ल्हासासम्म दोस्रो रेलमार्ग निर्माणाधीन छ, जुन सन् २०२१ मा निर्माण सम्पन्न हुने अपेक्षा राखिएको छ। यो रेलमार्ग निर्माणपछि चीनका प्रमुख बन्दरगाह पुग्ने दूरी करीब एक चौथाइले घट्नेछ, जसले ढुवानीको लागत पनि घटाउनेछ।

अहिले चीनबाट भारतीय बन्दरगाह हुँदै नेपाल सामान ल्याउन ३५ दिनभन्दा बढी समय लाग्छ। नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ चीनबाट सोझै सडकमार्ग मार्फत सामान ल्याउँदा भारतीय बन्दरगाहको तुलनामा छिटो हुने भए पनि लागतको भने तुलना गरेर हेर्नुपर्ने बताउँछन्। उनका अनुसार, लागत पनि सस्तो हुने देखिए भविष्यमा चिनियाँ बन्दरगाहको प्रयोग बढ्नसक्छ।

अहिले चीनबाट नेपाल भित्र्याइने अधिकांश सामान समेत भारतको कोलकाता बन्दरगाह हुँदै आउँछन्। नेपाल फ्रेट फरवार्ड एशोसिएसनका अध्यक्ष प्रकाशसिंह कार्की अहिले नै चीनबाट भारतीय बन्दरगाह हुँदै सामान नेपाल ल्याउँदा र चीनबाट सोझै रेल र सडकमार्ग प्रयोग गरी ल्याउँदाको लागत झण्डै उस्तै पर्ने बताउँछन्।

जस्तै, सांघाईबाट कोलकाता पोर्टसम्म प्रतिकन्टेनर पानीजहाजको ढुवानी दर करीब ७ सयदेखि १ हजार डलर (करीब औसत रु. १ लाख) सम्म पर्छ। त्यस्तै, कलकत्ताबाट वीरगन्जसम्मको प्रतिकन्टेनर भाडा दर १ लाख भारु (१ लाख ६० हजार नेपाली रुपैयाँ) पर्छ। यी दुबै भाडा दर जोड्दा चीनबाट भारतीय बन्दरगाह प्रयोग गरी वीरगन्जसम्म एक कन्टेनर सामान ल्याउँदा ढुवानीका लागि रु. २ लाख ६० हजार तिर्नुपर्छ भने समय करीब ३५ दिन लाग्छ।

तर, चीनबाट सिगात्सेसम्म रेल र त्यहाँबाट ट्रकमा रसुवागढीसम्म सामान ल्याउँदा प्रतिकन्टेनर रु. २ लाख ७० हजारजति लागत लाग्छ र १० दिनमै आइपुग्छ। अर्थात् भारत हुँदै सामान ल्याउनभन्दा समय करीब २५ दिन छिटो हुन्छ। यसको अर्थ, ९ सय किमी टाढाको कोलकाता बन्दरगाहबाट भन्दा करीब ४ हजार किमी टाढाको लियाङ्वुइङ्गाङ बन्दरगाहसम्म सामान ओसारपसार गर्दा झण्डै उस्तै लागत पर्छ।

"भविष्यमा लागत र समय दुबै हिसाबले चिनियाँ बन्दरगाहको प्रयोग हुँदै व्यापार बढ्नसक्छ। तर चीनबाट एक सातामै रसुवागढी सामान आइपुगे पनि नेपालतर्फ भन्सारमा अनेकौं व्यवधान खडा गरेर सामान छिराउन दिइँदैन, दलाल खडा गरेर भइरहेको यस्तो झमेला हटाउनु आवश्यक छ।"

- प्रकाशसिंह कार्की, अध्यक्ष, नेपाल फ्रेट फरवार्ड एशोसिएसन 

फ्रेट फरवार्ड एशोसिएसनका अध्यक्ष कार्की भविष्यमा लागत र समय दुबै हिसाबले चिनियाँ बन्दरगाहको प्रयोग हुँदै व्यापार बढ्नसक्ने देख्छन्। तर, त्यसका लागि नेपालतर्फ नै व्यवधान खडा गरिएको उनको बुझाइ छ। “चीनबाट एक सातामै रसुवागढी सामान आइपुगे पनि नेपालतर्फ भन्सारमा अनेकौं व्यवधान खडा गरेर सामान छिराउन दिइँदैन”, उनी भन्छन्, “दलाल खडा गरेर भइरहेको यस्तो झमेला हटाउने हो भने चिनियाँ बन्दरगाहको प्रयोग हुँदै अन्य मुलुकको व्यापार पक्कै बढ्छ।”

चीनका सयौं किमी टाढाका शहरबाट केरुङसम्म सामान ल्याउनभन्दा केरुङबाट काठमाडौं ल्याउन महँगो भाडादर छ। दशैंका वेला त केरुङ–काठमाडौं प्रतिकन्टेनर भाडादर रु.३/४ लाखसम्म पुग्ने कार्की बताउँछन्। उनका अनुसार, ढुवानीको कार्टेलिङका कारण भाडादर महँगो परेको हो। “ढुवानीमा यस्तो मनपरी र रु. २० हजार घुस लिन करोडौंको सामान अड्काउने खेलोका कारण चीनबाट सोझै आउनसक्ने सामान पनि भारतीय बन्दरगाह हुँदै ल्याउनुपर्ने स्थिति छ”, कार्की भन्छन्।

भन्सारलाई सरल र झन्झटरहित बनाउने, अतिरिक्त लाभ खोज्ने दलाललाई हटाउने तथा काठमाडौं–रसुवागढी सडकमार्गको स्तरोन्नति गर्ने हो भने, भारतीय बन्दरगाहको सट्टा चिनियाँ बन्दरगाहको प्रयोग हुँदै अन्य मुलुकसँगको व्यापार बढ्नसक्छ। तर, नेपालतर्फको बाटोको स्तरोन्नति हुन नसक्दा वर्षायामभरि बाटो अवरुद्ध हुन्छ। कार्की अहिले सुचारु गरिएको कार्गो रेल सेवा नियमित राखेर सोझै व्यापार गर्न नेपालतर्फका व्यापारका यस्ता व्यवधान हटाउनुपर्ने बताउँछन्।

प्रतिकृया दिनुहोस