जाजरकोटका युवाको रुकुममा हत्या, ६ जना बेपत्ता
रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट शनिबार राति जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । उनीसँगै गएका अरु ६ युवा बेपत्ता छन् ।
जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठका अनुसार कुटपिटमा संलग्न भएको आशंकामा १२ युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ ।
मृतक नवराज विक र सोतीकी सुष्मा मल्लबीच लामो समयदेखि प्रेम थियो । सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएका थिए । उजुरी दिएपछि दुवै समूहबीच छलफल भएको थियो ।
सुष्माकै आग्रहमा नवराजले १९ जना युवा लिएर शनिबार बेलुकी सोती गएका थिए । उनी सुष्मालाई भगाउन युवासहित त्यहाँ पुगेका हुन् । तर, उनीहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँले जम्मा भएका थिए ।
गाउँलेको कुटपिटबाट नवराजको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिए । गाउँहरुले कुटपिट गर्न थालेपछि भागेका अन्य ६ युवा बेपत्ता भएको उनको भनाइ छ ।