रिपोर्ट विहीबार, जेठ ८, २०७७

के आम्फान चक्रवातबीच शिखर पुग्ला त सगरमाथा नाप्न हिंडेको चिनियाँ टोली ?

राजु बास्कोटा

के आम्फान चक्रवातबीच शिखर पुग्ला त सगरमाथा नाप्न हिंडेको चिनियाँ टोली ?
सगरमाथा (तिब्बती भाषामा चोमोलोङ्मा) मापन गर्न खटिएको चिनियाँ आरोहण टोली तिब्बततर्फको आधार शिविरमा । तस्वीरः सिन्ह्वा

सगरमाथाको उँचाइ मापनमा खटिएको चिनियाँ टोलीलाई आम्फान चक्रवातले अवरोध नगरे नेपाल र चीनबीच विश्वको सर्वोच्च शिखरको संयुक्त उँचाइ घोषणा गर्ने सहमति नजिकिनेछ।

पूर्वनिर्धारित योजना अनुसार, सगरमाथा (तिब्बती भाषामा चोमोलोङ्मा)को उँचाइ नाप्न खटिएको १२ सदस्यीय चिनियाँ आरोहण दलले शुक्रबार शिखर चुम्नेछ । तर, के चिनियाँ टोलीले सफलता हात पार्ला ? धेरैले संशय व्यक्त गरेका छन् ।

यो संशयको कारण अरु केही नभई मौसम हो । मौसमविद्हरुका अनुसार, हाल बंगालको खाडीबाट विकसित भइरहेको आम्फान चक्रवात शुक्रबार नै सगरमाथाको उत्तरपूर्वी भागमा आइपुग्ने अनुमान गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातकै कारण अबका दुई दिन सगरमाथा क्षेत्रमा हिमपात हुने र ठूलो हावाहुरीको सम्भावना देखिएको छ । तर, चीन सरकारले भने मौसमको प्रतिकूलताले असर नपार्ने भन्दै आरोहण जारी राखेको छ ।

कोभिड–१९ महामारीका कारण चीन र नेपाल दुवैले यो सिजनका सम्पूर्ण व्यावसायिक सगरमाथा आरोहण दुई महीनाअघि नै स्थगित गरिसकेका छन् । तर, सगरमाथाको उँचाइ नाप्ने आफ्नो पूर्व योजना कार्यान्वयन गर्न भन्दै चीनले आफ्ना प्राविधिक, विज्ञसहितको टोली त्यसतर्फ पठाएको हो ।

बिहीबार जारी गरिएको आम्फुन चक्रवातको प्रभाव चित्र । तस्वीरः एक्सप्लोरर्सवेब

सगरमाथा आरोहणमा निस्किएको यो चिनियाँ टोली यो सिजनकै एकमात्र टोली बनेको छ ।

महामारीकै बीचमा चीन किन सगरमाथाको उँचाइ नाप्ने योजना बनाइरहेको छ त ? यसको घुमाउरो जवाफ भने नेपालसँगै जोडिएको छ ।

८ जेठ २०७६ मा नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतम संयोजकत्वको एक टोलीले सगरमाथाको सफल आरोहण गर्यो । टोलीको उद्देश्य थियो– सगरमाथाको उँचाइ मापन ।

नेपाल सरकारले पहिलोपटक सगरमाथाको उँचाइ आफैंले नाप्ने अभियानअन्तर्गत नापी विभागको टोली शिखर पुगेको थियो । अहिले टोली संकलित तथ्यांकलाई प्रशोधन गर्ने र उँचाइ निकाल्ने कामको अन्तिम चरणमा पुगेको छ ।

यसबीच २५ असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सगरमाथालाई नेपाल—चीन मित्रताको प्रतीक मान्दै यसको उँचाइ संयुक्त रूपमा घोषणा गरिने सहमति गरियो । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार, द्विपक्षीय सहमति अनुसार, सगरमाथाको संयुक्त उँचाइ घोषणा गर्न सकिने आधार पनि तयार भइसकेको छ । ‘‘नेपालले अन्तिम तयारीमा पुर्याइसकेको उँचाइ मापनको नतिजालाई चीनको नतिजामा पर्खनुपर्ने पनि हुनसक्छ’’, जोशी भन्छन् ।

यसबाट के पनि अनुमान लगाउन सकिन्छ भने नेपालले आफ्नो उँचाइ नतिजा सार्वजनिक गर्नुअघि नै चीन पनि उँचाइबारे आफ्नो नतिजा जान्न चाहन्छ ।

नेपालको उत्तरी र चीनको दक्षिणी सीमामा रहेको सगरमाथा साझा सीमास्तम्भ भए पनि उँचाइबारे दुवै देशको फरक मत रहँदैआएको छ । नेपालले ८८४८ मिटरलाई सगरमाथाको उँचाइ मान्दै आरोहीलाई सोही अनुरुपमा प्रमाणपत्र जारी गर्दै आएको छ भने चीनले चार मिटर कम अर्थात् सगरमाथाको उँचाइ ८८४४.४३ मिटर मात्र रहेको दाबी गर्दै आएको छ ।

एक सगरमाथा, अनेक उँचाइ
सन् १९५२ देखि १९५४ सम्म भारतीय सर्भे विभागका बीएल गुलाटीको नेतृत्वको टोलीले सगरमाथाको उँचाइ ८८४८ मिटर रहेको निष्कर्ष सार्वजनिक गरेको थियोे । र, हालसम्म नेपाल, भारतसहित विश्वले यही उँचाइलाई नै मान्यता दिइआएको छ ।

उसो त सगरमाथाको उँचाइबारे १९ औं शताब्दीदेखि नै एकमत छैन । ब्रिटिशकालीन भारतले सन् १८४७ मा सगरमाथा ८७७८ मिटर र १८५० मा ८८४० मिटर उँचाइको फरक फरक नतिजा सार्वजनिक गरेको थियो ।

सर्भे अफ इन्डियाले सन् १८८० र १९०२ मा पनि दार्जिलिङबाट सगरमाथाको उँचाइ अध्ययन गरेको थियो । कर्णेल बुर्राड नेतृत्वको टोलीले गरेको उक्त अध्ययनमा सगरमाथाको उँचाइ ८८८२ मिटर पनि भनिएको थियो ।

सन् १९६६ देखि १९६८ मा चीनले पनि सगरमाथा मापन कार्य अघि बढाएको थियो । सगरमाथाको उँचाइ ८८५० मिटर देखिएको उसको निष्कर्ष थियो ।

सन् १९७५ मा चिनियाँ स्टेट ब्यूरो अफ सर्भेइङ एण्ड म्यापिङ (एसबीएसएम)ले पुनः सगरमाथा नाप्ने क्रममा उँचाइ ८८४८ मिटर भएको प्रतिवेदन सार्वजनिक गर्‍यो ।

अमेरिकाको बोस्टन संग्रहालयका प्राध्यापक ब्राडफोर्ड वाशबर्नले सन् १९९९ मा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) र राडार प्रविधि प्रयोग गरेर सगरमाथाको उँचाइ ८८५० मिटर रहेको घोषणा गरे । समुद्र सतह गहिरिंदै जाँदा हिमालको उँचाइ बढेको भन्ने आधारमा तयार पारिएको यो उँचाइलाई नेपाल सरकारले भने मान्यता दिएन ।
चीनले आफूले मान्यता दिएको ८८४४.४३ मिटर उँचाइ भने उसले सन् २००५ मा गरेको अध्ययनको निष्कर्ष हो, जसमा सगरमाथाको चट्टानी उँचाइलाई आधार बनाइएको छ ।

नापी विभागका अनुसार, चीन, भारत, अमेरिका र इटालीले सातपटक भन्दा बढी सगरमाथाको उँचाइ नापिसकेका छन् । तर, अहिलेसम्म चीन बाहेकले ८८४८ मिटरको उँचाइमा मान्यता दिंदै आइरहेका छन् ।

तिब्बतको दक्षिणपूर्वबाट सगरमाथा । तस्वीरः सिन्ह्वा

नेपालको उँचाइ छिट्टै
सगरमाथाको उँचाइ विवादलाई निरुपण गर्न पनि नेपालले आफैं सगरमाथाको उँचाइ नाप्ने निधो गरेको सरकारको दाबी छ ।

तर, नापी विभागले ६ महीनाभित्र उँचाइबारे अन्तिम प्रतिवेदन तयार पार्ने बताए पनि एक वर्ष बितिसकेको छ । विभागका निर्देशक तथा सूचना अधिकारी दामोदर ढकाल चैतभित्रै अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गरेर उँचाइ सार्वजनिक गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित गर्नुपरेको बताउँछन् ।

आरोहण टोलीका संयोजक तथा नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतम मापनका विधि धेरैवटा भएकाले पनि केही बढी समय लागेको बताउँछन् । जस्तो कि, परिशुद्ध समतलन विधिबाट सगरमाथा नाप्दा समुद्र सतहबाट एक पटकमा बढीमा ५० मिटर नाप्न सकिन्छ । त्यसैले पनि टोलीले २४८ पटक मापन गर्नुपरेको गौतम बताउँछन् ।

२९ मे १९५३ मा नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एड्मन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका हुन् । त्यसयता नेपालतर्फबाट मात्रै ६६०० जनाले सगरमाथा आरोहण गरिसकेको पर्यटन विभागको तथ्यांक छ ।

प्रतिकृया दिनुहोस