रिपोर्ट शुक्रबार, जेठ ९, २०७७

बन्दाबन्दीमा सहारा बन्दै वैकल्पिक व्यापार

शुष्मा बराली

बन्दाबन्दीमा सहारा बन्दै वैकल्पिक व्यापार
तस्वीरहरु: शुष्मा बराली

वर्षौंदेखि गर्दै आएको व्यापार–व्यवसाय कोरोनाभाइरस रोकथामका लागि लगाइएको बन्दाबन्दीका कारण बन्द भएपछि नयाँ अवसर खोज्दै वैकल्पिक व्यापार अँगाल्नेहरूको संख्या बढ्दो छ।

मकवानपुर कुलेखानीका विक्रम र मैयाँ बलामी दम्पतीले ललितपुरको नखबहिलमा ३३ वर्षदेखि मःमः व्यापार गर्दै आएका थिए। तर, कोरोनाभाइरस रोकथामका लागि सरकारले ११ चैतमा बन्दाबन्दी लागू गरेपछि उनीहरूको व्यापार पनि बन्द भयो। त्यसयता उनीहरूको दैनिकी नै बदलिएको छ।

गुजारा चलाउने उपायका लागि उनीहरूले काम नै फेरेर तरकारी व्यापार गर्न थालेका छन्। बिहान सबेरै उनीहरू लगनखेलको तरकारी बजार पुग्छन् र दैनिक रु.१ हजार बराबरका तरकारी ल्याएर बिक्री गर्छन्।

मैयाँ भन्छिन्, "नयाँ कामबाट जीवन नधाने पनि यसो चिया–खाजा खाने बाटो चाहिँ भएको छ।" तरकारी बेचेर भाडा तिर्न र घरव्यवहार टार्न भने अझै संघर्ष गरिरहेको उनको भनाइ छ।

बन्दाबन्दी लागू भएको झण्डै दुई महीना पुग्न लाग्दा विभिन्न व्यापार–व्यवसाय गर्नेलाई गुजारा चलाउन समस्या परिरहेको छ। सानो लगानीबाट शुरू गरेको व्यापार–धन्दा बन्दाबन्दीले चौपट हुँदा कतिपयले नयाँ अवसर खोज्दै वैकल्पिक व्यापार शुरू गरेका छन्। नयाँ काममा कतिपयले बिक्रम–मैयाँ दम्पतीले झैं संघर्ष गर्दैछन् भने केहीले राम्रै आम्दानी गरिरहेका छन्।

तरकारी पसलमा बदिलएकाे मैया बलामीकाे मःमः पसल ।

गर्दै, सिक्दै

पाटनमा हस्तकलाको व्यापार गर्थे, निर्मल ताम्राकार। व्यापार बन्द भएपछि फ्रोजन मःमः बनाएर बिक्री गर्ने काम शुरू गरेका छन्। घरमा नै तीन/चार जना साथी मिलेर तयार गरिएको मःमः बेच्न बिहान ६ बजे नै मंगलबजार आइपुग्ने उनले बताए। यो नयाँ काम थाल्नुका पछाडि उनको आफ्नै समस्याले काम गरेको रहेछ।

ताम्राकारले भने, “बन्दाबन्दीको वेला घरमा बसिरहँदा बच्चाहरू र आफैंलाई पनि मःमः खान मन लागे पनि वरपर कतै पाइएन। यो वेला मःमः खोज्ने अरु पनि त होलान् नि भनेर आफैंले बनाएर बेच्ने जुक्ति निकाल्यौं।”

उनले मःमः बिक्री गर्न थालेको तीन साता भइसकेको छ। बन्दाबन्दीमा घरमा व्यस्त पनि भइने र यो वेला दुई–चार पैसा आम्दानी पनि भइरहँदा उनी खुशी छन्।

बन्दाबन्दीमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुका पसल मात्र निश्चित समय तोकेर खोल्न अनुमति दिइएको छ। त्यस बाहेकका व्यापार गर्नेहरूले आर्थिक उपार्जनका लागि नयाँ काममा हात हाल्ने क्रम बढेको छ।

रामेछापका सन्तोष रसाइलीले पाटनकै पिम्बहालमा मूर्ति बनाउँदै आएका थिए। दिनभरि मूर्तिमा आकार दिने उनका हात बन्दाबन्दीपछि भने तरकारी जोखिरहेका छन्। पाटनका अशोक हल, नखबहिल, पिम्बहाल, गावल परिसरमा बिहानभरि उनी ठेलामा तरकारी डुलाउँदै बेच्छन्।

“श्रीमती पिम्बहाल पोखरी नजिकै पानीपुरी र चटपटे बेच्छिन्, बन्दाबन्दीपछि त्यो व्यापार बन्द भएपछि उनकै ठेला लिएर तरकारी व्यापार गर्न थालेको हुँ”, उनले भने। बिहान र बेलुकी दुई समय तरकारी बेच्न निस्किने उनी यसबाट घर खर्च चलेको बताउँछन्।

पिम्बहालकै डिला मगर ठेलामा चटपटे बेच्थिन्। बन्दाबन्दीपछि उनी पनि तरकारी व्यापारतिर लागेकी छिन्। उनले भने चटपटेमा जस्तो तरकारी व्यापारमा राम्रो फाइदा नहुने अनुभव गरेकी छन्। “चटपटे व्यापारमा भन्दा तरकारीमा जोखिम बढी हुँदो रहेछ, तरकारी कुहिएर खेर जाने भएकाले घाटा खाएर पनि बेच्नुपर्छ”, उनी भन्छिन्।

पाटनकै मूलढोका बस्ने कमला श्रेष्ठले लगनखेलमा कपडा व्यापार गर्थिन्। अवस्था चाँडै सामान्य बन्ला भन्ने आशामा केही समय यत्तिकै बसेकी उनले बन्दाबन्दीको समय लम्बिएसँगै सागसब्जी बेच्न थालेकी छन्। तर, व्यापार खासै नपोसाएको उनी बताउँछिन्।

कमला भन्छिन्, “एक जोडी मोजा बेच्दा पाँच/दश रुपैयाँ नाफा हुन्थ्यो। साग बेच्दा त किनेको मूल्य पनि मुश्किलले उठ्छ, उस्तै परे घाटा खाएर बेच्नुपर्छ।” बन्दाबन्दीमा घरमा खाली बस्नुभन्दा केही गरूँ भनेर यो काममा हात हालेको उनको भनाइ छ।

उनी दैनिक करीब रु.५ सय बराबरको विभिन्न जातका साग, धनियाँको पात, लसुन–प्याजको पात, खुर्सानी किनेर ल्याउँछिन्। बिहान दश बजेसम्म बेच्ने उनी बताउँछिन्। उनका दुई सन्तान छन्। श्रीमान् गाडी चलाउँछन्।

ललितपुर गोदावरीका लक्ष्मण श्रेष्ठले पनि पहिलो पटक काउली व्यापार गरेका छन्। बन्दाबन्दी अघि पानी बोक्ने ट्याङ्करमा काम गर्ने उनी अहिले काउली बेच्न मंगलबजार आइपुग्छन्। “गाउँको काउली किनेर राति ४ बजे नै डोकोमा ल्याउँछु” उनले भने।

क्याम्पस पढ्ने छोराहरूसँग केही समय बस्न भनेर कैलालीकी पशुपति बोहोरा गएको वर्षको मंसीरमा काठमाडौं आएकी थिइन्। बिहान–बेलुका खाना पकाउने र दिउँसोको खाली समयमा पाटन क्षेत्रमा बदाम बेच्थिन्। बन्दाबन्दीपछि भने कृष्णमन्दिर नजिकै साग बेच्न थालेकी छन्।

उनी भन्छिन्, “बदाम बेच्दा मान्छेको हुलमुल हुने भनेर बेच्न दिएनन्, त्यही भएर सागसब्जी बेच्न थालें।"

प्रतिकृया दिनुहोस