रिपोर्ट विहीबार, जेठ ८, २०७७

विद्युतीय शवदाह गृह: बन्दाबन्दीमा झनै उपयुक्त

शुष्मा बराली

विद्युतीय शवदाह गृह: बन्दाबन्दीमा झनै उपयुक्त
विद्युतीय शवदाहगृह ।

बन्दाबन्दीमा उपयुक्त र सजिलो बनेको विद्युतीय शवदाहगृहलाई यसैगरी प्रयोगमा ल्याउने हो भने वातावरण स्वच्छ हुने मात्र होइन, हाम्रो जीवनशैली पनि साँच्चिकै आधुनिक बन्नेछ।

३ जेठमा कोभिड–१९ महामारीबाट नेपालमा पहिलोपटक सिन्धुपाल्चोककी एक सुत्केरीको मृत्यु भयो । काभ्रेस्थित धुलिखेल अस्पतालमा निधन भएकी सिन्धुपाल्चोककी उनको पशुपति मन्दिर परिसरस्थित विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरियो।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले ११ चैतदेखि घोषणा गरेको बन्दाबन्दी अहिलेसम्म जारी छ । किनभने, बन्दाबन्दीमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन मात्र होइन, व्यक्ति–व्यक्तिबीच भौतिक दूरी समेत अनिवार्य गरिएको छ।

महामारीका बेला सामान्य अवस्थामा झैं आफ्नो धार्मिक मान्यता अनुसारको अन्तिम संस्कारको कर्मकाण्ड पनि प्रभावित भएको छ । र, यो बेला दाहसंस्कारको उपयुक्त स्थल बनेको छ, विद्युतीय शवदाहगृह।

तर, ३ जेठपछि यन्त्र स्यानिटाइजेसन गर्ने क्रममा देखिएको प्राविधिक समस्याका कारण अहिले तत्कालका लागि विद्युतीय शवदाहगृहको सेवा बन्द गरिएको छ । पशुपति विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा प्राविधिक समस्या समाधान भएलगत्तै शवदाहगृह पुनः पहिलेजस्तै सञ्चालन हुने बताउँछन्।

विद्युतीय शवदाहगृहकाे अग्रभाग ।

याे पनि हेर्नुहाेस्– विद्युतीय शवदहन-आधुनिक विकल्प

महामारीमा झनै सहज
बन्दाबन्दीकै बीच गत १० वैशाखमा लेखक/साहित्यकार पिटर जे. कार्थक (७७) को निधन भयो । कार्थक इसाई थिए तर उनले जीवनकालमै आफ्नो मृत्युपछि दाहसंस्कार पशुपतिनाथमै होस् भन्ने इच्छा परिवारमा जाहेर गरेका रहेछन् । त्यसैले छोरा जिमी पशुपतिको घाटमा पुगे । तर, त्यहाँ सबैले यस्तो बेला घाटमा जलाउनु भन्दा विद्युतीय शवदाह यन्त्र उपयुक्त हुने सल्लाह दिए।

“हाम्रो संस्कार अनुसार त शवलाई माटोमै अत्येष्टि गर्ने हो तर बुबाको इच्छा र सबैको सल्लाहमा विद्युतीय शवदाह गृहमै अत्येष्टि गर्‍यौं”, जिमी भन्छन् । उनका अनुसार, विद्युतीय यन्त्रमा सीमित स्रोतसाधन र समयमै अन्त्येष्टि विधि सजिलोसँग सम्भव भयो।

सामान्य अवस्थामा परिवारका सदस्यले परम्परा, सहजता वा मृतकको इच्छाअनुसार आर्यघाट वा विद्युतीय शवदाहगृहमा दाहसंस्कार गर्ने गर्छन् । तर, पशुपति विकास कोषका कार्यकारी निर्देशक डा.खतिवडाको भनाइमा महामारी सिर्जित यो बन्दाबन्दीमा भने धेरैले विद्युतीय शवदाहगृह नै राजेका छन्।

खतिवडाका अनुसार, बन्दाबन्दी भएको ११ चैतदेखि चैत मसान्तसम्म २ सय ५२ शव विद्युतीय शवदाहगृहमा दहन गरियो । यो अवधिमा पशुपतिको भष्मेश्वर र राजकीय घाटमा २ सय ६६ वटा शव जलाइएको छ।

“बढ्दो चेतनाले होस् वा बाध्यताले पहिलेको तुलनामा महामारीमा विद्युतीय शवदाहगृह प्रयोग गर्नेको संख्या बढेको छ”, डा.खतिवडा भन्छन्।

तर, पाँच वर्षअघि १० माघ २०७२ मा पहिलोपटक शवदाहगृह सञ्चालनमा ल्याइँदा आजको जस्तो सहज अवस्था थिएन । स्थानीयमा मात्र होइन, मन्दिरका पदाधिकारीबीच नै घाटको विकल्प विद्युतीय शवदाहगृह हुनै नसक्ने भन्दै विरोध गरिएको थियो । कतिपयले यसलाई हिन्दू धर्मको दाहसंस्कारको पद्धति विपरीत भएको पनि आरोप लगाएका थिए।

विरोध कतिसम्म थियो भने, शवदाहगृहको उद्घाटनका क्रममा तत्कालीन नागरिक पर्यटन तथा संस्कृति मन्त्री, आनन्दप्रसाद पोखरेलले यी यन्त्र बेवारिसे शव जलाउनका लागि ल्याइएको बताउनुपरेको थियो । त्यसैले पनि शुरु शुरुमा यो शवदाहगृहलाई बेवारिसे शव अत्येष्टिको काममा मात्र लगाइयो । तर, विस्तारै घाटमा हुने दाहसंस्कारले वागमती नदी र वायुमण्डलमा भइरहेको प्रदूषण, वन विनाशलगायतको वातावरणीय सचेतनाका कुरा स्थानीयले बुझ्न थाले।

“त्यसैले पनि यो वर्ष थप तीनवटा विद्युतीय शवदाह यन्त्र थप गर्ने योजनामा छौं”, कोषका कार्यकारी निर्देशक खतिवडा भन्छन्, “बन्दाबन्दीपछि यसलाई कार्यान्वयनमा ल्याउनेछौं।”

पशुपति विकास कोषका पूर्व सदस्य सचिव डा.गोविन्द टण्डन वातावरणीय विनाश रोक्न मात्र होइन, आर्यघाटको तुलनामा समय, खर्च र जनशक्ति पनि कम लाग्ने भएकाले विद्युतीय शवदाह यन्त्रको प्रयोग बढेको बताउँछन् । “अब प्रत्येक प्रदेशका मुख्य शहरमा अनिवार्य रुपमा विद्युतीय शवदाह यन्त्र स्थापना गर्ने बेला भइसकेको छ, पशुपतिकै अनुभवले पनि यो कुरा सिकाउँछ”, उनी भन्छन्।

विद्युतीय शवदाह यन्त्रमा सामान्यतया ३५ देखि ४० मिनेटभित्र शव जलेर भित्रैबाट अस्तु जम्मा हुन्छ । र, यसलाई कलशमा सजिलै संकलन गर्न सकिन्छ । घाटमा शवदहन गर्दा कम्तीमा रु.१० हजार खर्च हुनेमा यहाँ करीब रु. ४ हजारमै सबै काम सकिन्छ । शवदाह यन्त्रको चिम्नीबाट निस्कने धुवाँको पनि व्यवस्थापन गरिएको छ।
“अन्त्येष्टिका सम्पूर्ण पौराणिक विधि आआफ्नो संस्कृति अनुसार गरिने भएकाले सहजताका लागि घाटमा जलाउने वा विद्युतीय यन्त्रमा प्रयोगकर्ताले रोज्न सकिने व्यवस्था गरिएको हो”, पशुपति विकास कोषका पूर्व सदस्यसचिव सुशील नहाटा भन्छन्।

तीन दशकअघिकै परिकल्पना
पाँच वर्ष अघि मात्र पशुपतिमा विधिवत् रुपमा विद्युतीय शवदाहगृह शुरु गरिए पनि यसको परिकल्पना भने २०४५ सालमा पशुपति विकास कोषको गुरुयोजना बनाउने क्रममै गरिएको थियो । शवदाहगृह सहितको यस्तो गुरुयोजना बनाएका थिए, प्रा.डा. भरत शर्माले ।

“काठमाडौंको जनघनत्व बढेसँगै आर्यघाटमा शव जलाउनेको संख्या वृद्धि भएको र यसले प्रदूषण बढ्ने, वागमतीको अस्तित्व मासिने भयले विद्युतीय शवदाह यन्त्रको योजना बनाइएको थियो”, शर्मा भन्छन्।

२०४० सालताका काठमाडौंका तत्कालीन प्रधानपञ्च कमल चित्रकारले टेकूकाे पचलीमा बनाउन लगाएकाे विद्युतीय शवदाहको वेवारिसे 'अभन'। तस्वीर: कनकमणि दीक्षित

त्यसो त काठमाडौं नगर पञ्चायतका तत्कालीन प्रधानपञ्च कमल चित्रकारले २०४० सालताका टेकूको पचली मन्दिरबाट कालोपुल जाने मन्दिरको दक्षिणपट्टि विद्युतीय शवदाहगृह नै बनाउन समेत लगाए (जसको अवशेष अहिले पनि छ) । तर, पर्याप्त पूर्व तयारी नभएको र प्राविधिक त्रुटिका कारण त्यो शवदाहगृह सञ्चालन हुन सकेन।
कोषका पूर्व सदस्यसचिव नहाटाका अनुसार, विद्युतीय शवदाह यन्त्र जडानका लागि त्यसको आठवर्ष अघि नै सरकारले विश्वव्यापी टेन्डर आह्वान गरिसकेको थियो।

“नयाँ टेन्डरको प्रक्रियाका लागि थप समय लाग्ने भएर, आठ वर्ष पुरानो टेन्डरमा नै काम शुरु गर्‍यौं”, उनी भन्छन् । तर, आठ वर्ष पुरानो नक्शा अनुसार डिजाइनमै समस्या देखियो, उत्तर दिशामा शवको टाउको र दक्षिण दिशामा खुट्टा हुनुपर्नेमा उल्टो भयो । “थप आठ लाखको नोक्सानी व्यहोरेर यन्त्र तयार पार्‍यौं”, उनी सम्झिन्छन्।

सौन्दर्य फर्कने आशा
पशुपति विकासको गुरुयोजना बनाएका प्रा.डा. शर्मा पशुपतिको महत्वको रुपमा रहेको वागमतीको संरक्षणका लागि पनि विद्युतीय शवदाहगृहको विकल्प नरहेको तर्क गर्छन् । “पुरानो स्वच्छ वागमतीको स्वरुप फर्काउनका लागि पनि आर्यघाट नभई विद्युतीय शवदहन यन्त्रको प्रयोग गरिनुपर्छ”, उनी भन्छन्।

वागमती प्रदूषण रोकथामका लागि २०५१ सालमै केही अभियन्ताहरुले आफूहरुलाई मृत्यु पश्चात आर्यघाटमा नजलाइयोस् भनी वागमती इच्छापत्र नै सार्वजनिक गरेको पनि शर्मा सम्झिन्छन् । उनको भनाइमा, हप्तै पिच्छे वागमतीको सफाइ अभियान गरे पनि वागमती प्रदूषणको प्रमुख कारण आर्यघाट पनि रहेको कुरा अझ पनि बुझिएको छैन।

वागमती प्रदेशका सभासद् एवम् पशुपति विकास कोषका कोषाध्यक्ष नरोत्तम वैद्य त विद्युतीय शवदाह यन्त्रलाई नै अन्तिम विकल्प मानेर अघि बढ्न ढिला भइसकेको बताउँछन् । उनी भन्छन्, “आर्यघाटमा जलाएर अन्त्येष्टि गर्दा वातावरण, पानी र माटो प्रदूषित मात्र होइन, हाम्रोे संवेदनाको समेत व्यापार भइरहेको महशुस हुन्छ ।” उनको भनाइमा, हिन्दू परम्परा अनुसार घाटमा जलाएर अन्त्येष्टि गर्दा पर्यटनका लागि अचम्मको जात्रा जस्तो भएको र कसैकसैका लागि यो विश्वभर बेचिखाने भाँडो बनिरहेको छ।

“विद्युतीय शवदाह यन्त्रलाई अन्तिम विकल्पको रुपमा अनिवार्य प्रयोगमा ल्याउन सकियो भने पशुपतिको पुरानो स्वरुप फर्काउन सकिने विश्वास छ”, वैद्य भन्छन्।

‘वागमती इच्छापत्र’का हस्ताक्षरकर्ता समेत रहेका वातावरणविद् डा. अजय दीक्षित विद्युतीय शवदहन मानिसको जीवनशैली अनुकूल मात्र नभई प्रकृति संरक्षणमा पनि फाइदाजनक रहेको कुरा बुझ्न र बुझाउन आवश्यक भइसकेको बताउँछन् । “धार्मिक विधि अनुसार शव जलाउनाले पानी, माटो, जंगल, वायुप्रदूषणमा असर पुग्ने कुरा हामीले सबैलाई बुझाउनुपर्छ”, दीक्षित भन्छन्, “यसले प्रदूषित वागमतीलाई सफा बनाउन सक्छ, जुन तीन दशकअघिसम्म हामी देख्थ्यौं ।”

प्रतिकृया दिनुहोस