अन्तर्वार्ता/विचार शनिबार, जेठ १०, २०७७

बर्रे संघर्षका कमाण्डरको बयानः पहिलो फायरपछि नै आक्रमणकारीहरू पछि हटे

मुकेश पोखरेल

बर्रे संघर्षका कमाण्डरको बयानः पहिलो फायरपछि नै आक्रमणकारीहरू पछि हटे
तस्वीर: मुकेश पाेखरेल

केन्द्रीय कारागारमा झापा आन्दोलन र अर्घाखाँचीको बर्रे संघर्षका नेताहरू थियौं। गोलघरमा झापा आन्दोलनका मोहनचन्द्र अधिकारी, केपी शर्मा ओली र राधाकृष्ण मैनालीलाई राखिएको थियो । बाहिर बर्रे संघर्षका म लगायत अन्य नेता थियौं।

२०३४ सालमा एक दिन कारागारमा दिल्लीबाट निस्कने ‘स्टेट्सम्यान’ पत्रिका आयो । त्यहाँ भारतीय पत्रकार गिरिलाल जैनको ‘स्टार्ट अफ डिउ माओलाइजेसन इन चाइना’ भन्ने लेख थियो । त्यो लेख पढेपछि मैले पत्रिका मोहनचन्द्र अधिकारीलाई दिएँ ।

लेखमा चीन माओ विचारधाराबाट विस्तारै पछि हट्ने उल्लेख थियो । अहिले चीनमा माओकालीन स्थितिमा भन्दा परिवर्तन भइरहेको पनि उल्लेख थियो । पत्रिका दिंदा मैले यो कुरा पनि भनेको थिएँ । मोहनचन्द्र ‘पढेर आउँछु र छलफल गरौंला’ भन्दै भित्र गए । त्यसपछि लेखको बारेमा ओली र राधाकृष्ण मैनालीलाई पनि बताएँ । मैनाली अंग्रेजी पढ्न सक्दैनथे । तर, ओली भने ढिलो–ढिलो गरी पढ्थे ।

ओलीले लेख पढेपछि त्यसको आशय मैनालीलाई पनि भने । दुवै रिसले आगो भए । ‘यो हुनै सक्दैन’ भन्थे उनीहरू । लेखको समर्थन गर्ने मोहनचन्द्रलाई लडाएर छातीमा चढेर ओली र मैनालीले नै पिट्न थाले ।

उनीहरूले मसँग पनि झगडा गरे । “कहाँ यस्तो हुन्छ ? यस्तो नचाहिने कुरा गर्ने ?” भनेर ओली म विरुद्ध खनिए । “पढ्न जान्दैनौ र ? वास्तविक कुरा यही हो” भनेर बुझाउने प्रयास गरें ।

त्यतिवेला ओली कडा र उग्र मान्छे थिए । तर, यिनी अहिले आफूलाई सच्चा प्रजातन्त्रवादी भन्छन् । म आफैं अचम्म पर्छु । मानिस समय, परिस्थिति अनुसार गज्जबले परिवर्तन हुँदोरहेछ ।

मेरो कुरा कहाँ मान्थे र उनीहरू । उनीहरूको आँखामा त म संशोधनवादी थिएँ । किनभने उनीहरूले पुष्पलाललाई गद्दार घोषणा गरेका थिए ।

त्यतिवेला ओली कडा र उग्र मान्छे थिए । तर, यिनी अहिले आफूलाई सच्चा प्रजातन्त्रवादी भन्छन् । म आफैं अचम्म पर्छु । मानिस समय, परिस्थिति अनुसार गज्जबले परिवर्तन हुँदोरहेछ ।

जेलमा नेपाली कांग्रेसका र झापा संघर्षमा पक्राउ परेका थुप्रै नेता, कार्यकर्ता थिए । सबैको उद्देश्य पञ्चायत फाल्ने थियो । तर, पनि झापा आन्दोलनमा पक्राउ परेका साथीहरू चाहिं आफूहरूलाई अलि फरक ठान्थे । उनीहरू उग्र र चर्का कुरा गर्थे । उनीहरूमा नक्सलाइटको प्रभाव थियो । म शुरूदेखि नै व्यक्तिहत्याको विरोधमा थिएँ । त्यसकारण पनि झापालीसँग विचार मिल्दैनथ्यो ।

अब म अलिकति बर्रे संघर्षको कुरा गर्छु । यो अर्घाखाँचीको पश्चिम, तत्कालीन सिद्धधारा गाउँ पञ्चायतका शोभाखर बेलबासेको घरमा भएको घटना हो ।

२०२५ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको तेस्रो सम्मेलनपछि म केन्द्रीय सदस्यमा चुनिएँ । लुम्बिनी अञ्चलको इन्चार्ज थिएँ । त्यस्तै राप्तीका दाङ्ग, सल्यान र प्यूठान जिल्ला पनि मेरो जिम्मामा थिए ।

तेस्रो सम्मेलनले पारित गरेको नयाँ जनवादी कार्यक्रम अनुसार अञ्चल पार्टीको निर्णयमा लुम्बिनीभर किसान आन्दोलन चलाइएको थियो । बनारसबाट पर्चा छपाएर ल्याएका थियौं । जताततै पर्चा–पम्प्लेट वितरण गर्‍यौं । पर्चामा ‘राजनीतिक दमन बन्द गर !’ ‘राजबन्दी रिहा गर !’ जस्ता नारा लेखेका थियौं ।

सबैभन्दा ठूलो आन्दोलन २६ कात्तिक २०३० मा भएको थियो । साबिक लुम्बिनी अञ्चलका ६ जिल्लामा किसानहरूको सहभागितामा ठूलो जुलूस प्रदर्शन भयो । सबैतिर धरपकड र दमन भयो ।

अर्घाखाँचीको बर्रे गाउँ ।

दमनबाट डराए त आन्दोलन झन् कमजोर हुन्थ्यो । त्यसकारण साहू सुदखोरलाई ठेगान लगाउने अभियान चल्यो । सोही अनुरूप अर्घाखाँचीको तत्कालीन सिद्धधारा गाउँ पञ्चायतका शोभाखर बेलबासेको घरमा मेरो नेतृत्वमा कार्बाही गर्ने निर्णय भयो ।

उक्त कार्बाहीमा वेदुराम भुसाल, पीताम्बर भुसाल, देवराज भार, बुद्धि रायमाझी, नेत्रप्रसाद ढुंगाना लगायत १५ जना सहभागी भयौं । यो घटना २८ फागुन २०३० को हो ।
शोभाखरले जिल्लाभरका किसानमाथि चर्को ब्याजमा ऋण लगाउँथे । अझ नक्कली तमसुक बनाएर शोषण गर्थे । उनी पञ्चायतका कार्यकर्ता पनि थिए । उनले हाम्रा साथीहरूलाई प्रशासन लगाएर दुःख दिएका थिए ।

त्यतिवेला गाउँका ठूलाबडाहरूले बन्दूक पनि राख्थे । हाम्रो सूचनामा उनीसँग बन्दूक थिए । हामीमाथि आक्रमण हुनसक्ने ठानेर हामीले पनि हतियारसहित तयारी गरेर गएका थियौं ।

हामी धनचौरको पाँकुबाट सिद्धधाराका लागि हिंड्यौं । यो आक्रमण गर्नु एक दिनअघिको कुरा हो । २८ फागुनको दिनभर हामी शोभाखरको घर नजिक बितायौं । साँझ उनको घरमा गएर घर घेरा हाल्यौं ।

घर नजिकै विवाह रहेछ । हामीले घर घेरा हालेपछि विवाहमा आएका जन्ती समेत हल्ला गर्दै आए, हाम्रो समूहमाथि एक्कासी फायर खोले । त्यो विवाहमा शोभाखरका वुबा रविलाल पनि गएका रहेछन् । उनी नै सबैको नेतृत्व गर्दै आएका थिए ।

त्यसपछि हाम्रोतर्फबाट मैले पहिलो फायर खोलें । हाम्रो योजना अनुसार हतियार भएका साथी बाँडिएका थियौं । यसो गर्नुको कारण हाम्रो समूह ठूलो र बलियो छ भनेर उनीहरूलाई भ्रममा पार्नु थियो ।

याे पनि हेर्नुहाेस्– जसले मदन भण्डारीविरुद्ध अन्तर्वार्ता दिंदा चुनाव हारे

आक्रमण भएकाे शोभाखर बेलबासेकाे घर ।

मैले फायर खोलेपछि हामीमाथि आक्रमण गर्न आएको समूह पछि हट्यो । हामीले एक घण्टाभित्रमा त्यहाँ भएका सम्पूर्ण तमसुकहरूमा आगो लगाएर नष्ट गर्‍यौं । अब आइन्दा किसानमाथिको शोषण, दमन र चर्को ब्याज असुली बन्द गर्ने शर्तमा शोभाखरलाई माफी मगायौं ।

नगद र सुनचाँदी गरी करीब रु.२५ हजार बराबर धनमाल लियौं र बाटो लाग्यौं । हाम्रो उद्देश्य व्यक्तिहत्या थिएन ।

पछि यो हर्रेबर्रे संघर्षका नामले परिचित भयो । हर्रे र बर्रे एउटै गाविसका दुई गाउँ हुन् । एउटा गाउँबाट अर्कोको दूरी करीब दुई किलोमिटर छ ।

बर्रेको यो काण्डपछि ठूलो हल्लाखल्ला भयो । सबैतिर हाम्रो खोजी हुनथाल्यो । प्रशासनले घटनाको १५ दिनपछि नै हामीलाई पक्राउ गर्न थाल्यो । चैतको दोस्रो हप्तामा मलाई ढिकुरास्थित नारायण खनालको घरबाट पक्राउ गर्‍यो । म पक्राउ पर्ने अघिल्लो दिन नै सेल्टर परिवर्तन गर्ने योजनामा थिएँ । तर, साथीहरूले एउटा बैठकमा सहभागी भइदिनुस् भनेको भएर मात्र बसेको थिएँ । म त्यहाँबाट उम्किन पाएको भए हाम्रोतर्फ त्यति ठूलो क्षति हुने थिएन ।

पछि त वेदुराम, पीताम्बर भुसाल, बुद्धि रायमाझी लगायतका साथीहरू पक्राउ पर्नुभयो । १५ मध्ये नौ जना पक्राउ पर्‍यौं । हाम्रै समूहमा गएका शशिधर आचार्य भन्ने व्यक्तिले पोल खोलेर धेरै जना पक्राउ परेका थियौं । उनी विद्यार्थी फाँटमा काम गर्दथे । जान्छु भनेपछि लग्यौं । तर, जासूस रहेछन् भन्ने पछि मात्र चाल पायौं ।

पछि शोभाखरले हामी विरुद्ध प्रशासनमा डाँका गरेको भन्दै किटानी जाहेरी दिए । त्यतिवेला देवराज भार सिद्धधाराको पार्टी इन्चार्ज हुनुहुन्थ्यो । देवराजलाई शोभाखरले पहिल्यैदेखि चिनेका थिए । हाम्रो कार्बाहीमा देवराज पनि हुनुहुन्थ्यो । शायद देवराजलाई नचिनेको भए पनि उनले किटानी दिन मेसो पाउने थिएनन् ।

हामीलाई पक्राउ गरेर गुल्मीको तम्घास जेल लगियो । अर्घाखाँचीमा कारागार थिएन । तीन वर्षपछि केन्द्रीय कारागार जेल चलान गरियो । करीब सात वर्ष लगातार जेल जीवन विताएर २०३७ सालमा छुटें ।

मलाई छोड्न रातको १२ बजे अञ्चलाधीश कार्यालय लगिएको हो । अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ थिए, जो पछि प्रमुख निर्वाचन आयुक्त भए । उनले मलाई राजासँग दर्शनभेट गरेर अरू साथीहरूलाई छुटाउनुस् भनेका थिए, तर मैले मानिनँ ।

मलाई कागज गरेर छुट्यो भन्ने गलत आरोप लगाइयो । झूट फैलाउन दरबारले खेल्यो । मलाई आममाफी दिइएको हो ।

मलाई छोड्न रातको १२ बजे अञ्चलाधीश कार्यालय लगिएको हो । अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ थिए, जो पछि प्रमुख निर्वाचन आयुक्त भए । उनले मलाई राजासँग दर्शनभेट गरेर अरू साथीहरूलाई छुटाउनुस् भनेका थिए, तर मैले मानिनँ । मेरो व्यक्तिगत निर्णयले गर्ने कुरा थिएन । पार्टीले दर्शनभेट गर्नुस् भनेर भन्छ भने गर्छु मेरो व्यक्तिगत कुरा हुँदैन भनेको थिएँ ।

जेलबाट निस्कनासाथ मैले सबै साथीलाई छोड्नुपर्दछ भनेर विज्ञप्ति पनि निकालेको थिएँ । घटनाको कमाण्डर म भएकाले अरू साथीहरूलाई जेलमा राख्न कुनै औचित्य छैन भनेर मैले नेपालगञ्ज, धनगढी र सुर्खेत लगायतका ठाउँमा भएका आमसभामा खुल्ला रूपमा दरबारको दाउपेचबारे बोलें । तर, अरू साथीहरूलाई छोडेन । नछोडेपछि मैले के गर्ने ?

(मुकेश पोखरेलसँगको कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस