रिपोर्ट मंगलबार, जेठ ६, २०७७

बेरोजगार भए घरेलु कामदार

नुनुता राई

बेरोजगार भए घरेलु कामदार

बन्दाबन्दी पछि धेरै घरेलु कामदार बेरोजगार भएका छन् । कतिपयलाई भने कामको बोझ थपिएको छ । तर, कति घरेलु श्रमिक समस्यामा छन् भन्ने तथ्याङ्क कुनै निकायसँग पनि छैन ।

कमला शर्मा १३ वर्षदेखि काठमाडौंमा घरेलु सहयोगीको काम गर्छिन् । तीनवटा घरमा समयतालिका मिलाएर काम गर्न जान्थिन् । तर, दुई महीनादेखि बेरोजगार छिन् ।
बसुन्धारामा उनको डेरा छ । ४ र ९ कक्षामा पढ्ने दुई छोरीको लालनपालन र रोगी श्रीमान्को उपचार खर्च उनैले जुटाउनुपर्छ । काम गर्ने घरहरू डेराबाट नजिकै भए पनि सबैले बन्दाबन्दीमा नआउन भनेका छन् ।

“तीन घरमा काम गर्दा समेत खर्च धान्न मुश्किल थियो, अब त आम्दानी नै छैन ।”

एक रोजगारदाताले वडामा समन्वय गरेर श्रीमान्को औषधि र खाद्यान्न राहत मिलाइदिए । तरकारी किन्ने खर्च पनि दिलाइदिए । आयस्रोत नभएपछि घर चलाउन मुश्किल भएको उनी बताउँछिन् । उनी भन्छिन्, “तीन घरमा काम गर्दा समेत खर्च धान्न मुश्किल थियो, अब त आम्दानी नै छैन ।”

सुशीला चौलागाईं मैतीदेवीमा टिनले बारेको कोठामा बस्छिन् । उनले घरेलु सहयोगीको काम गर्न थालेको २५ वर्ष भयो । श्रीमान् पनि घरेलु श्रमिक नै छन् । दुवै जना खाना पकाउने, लुगा धुने, घर सफा गर्ने गर्छन् । छोरीको बिहे भइसक्यो । छोरा स्नातक पढ्दैछन् ।

बन्दाबन्दी शुरू भएपछि चौलागाईं दम्पतीको आम्दानी घटेको छ । तीन घरसम्म काम गरिरहेकी सुशीला अहिले एउटामा मात्र गर्छिन् । दुई घरमा काम गर्ने श्रीमान्को पनि एउटामा मात्र काम छ । त्यस घरमा एक्लै रहेकी ७० वर्षीया वृद्धाको स्याहार गर्नुपर्छ । उनका विदेश भएका छोराछोरीले तलब पठाउँछन् । तर, बन्दाबन्दीपछि विदेशबाट पैसा पठाउन नपाउँदा आम्दानी घटेको छ ।

काम शुरू गरे यता लामो समय बेरोजगार हुनुपरेको यो पहिलो पटक हो । सुशीला भन्छिन्, “काम शुरू गरेदेखि कहिल्यै कामको खाँचो भएन । त्यसैले छोराछोरी पढाउन, छोरीको बिहे गर्न सकियो । बन्दाबन्दी खुलेपछि पनि काममा बोलाउने हुन् कि होइनन् भन्ने पीर छ ।”

केन्द्रीय तथ्यांक विभागको श्रमशक्ति सर्वेक्षण २०७४/७५ अनुसार नेपालमा २ करोड ७ लाख ४४ हजार काम गर्न सक्ने उमेर (१५ देखि ५९ वर्ष) समूहका मानिस छन् । तर, ७९ लाख ९४ हजार मात्रै श्रम गरिरहेका छन् । तीमध्ये औपचारिक क्षेत्रमा १५.४ प्रतिशत र अनौपचारिक क्षेत्रमा ८४.६ प्रतिशत कार्यरत छन् ।

अन्तर्राष्ट्रिय घरेलु श्रमिक महासंघकी सदस्य ज्ञानु केसी नेपालभर करीब दुई लाख जना घरेलु सहयोगीको रूपमा कार्यरत रहेको बताउँछिन् । महासंघमा संगठित भने पाँच हजार जना छन् ।

यी सहयोगीहरू कोही रोजगारदाताको घरैमा र कोही बाहिर बसेर काम गर्छन् । बिहान–बेलुका घरेलु सहयोगीको काम गर्ने र दिउँसो पोते बुन्ने, चुरा बनाउने अथवा निर्माण क्षेत्रमा काम गर्ने पनि छन् । सुत्केरी र बालबालिका स्याहार्ने, वृद्धवृद्धा स्याहार्ने, घर सफा, लुगा धुने, भाँडा माझ्ने लगायतमा अधिकांश महिला श्रमिक छन् । ड्राइभर प्रायः पुरुष छन् । माली र घरको सुरक्षामा भने महिला पुरुष दुवै छन् ।

घरेलु सहयोगीको रूपमा कार्यरत अधिकांश बन्दाबन्दी पछि बेरोजगार छन् । बन्दाबन्दी खुलेपछि पनि अधिकांशको जागिर गुम्ने खतरा बढेको छ । रोजगारदाताको आम्दानी पनि घट्ने हुँदा कामदार कटौतीको संभावना छ । त्यस्तै पुरानो सहयोगी गाउँबाट तत्काल काममा आउन नसक्दा नयाँ राख्ने क्रम पनि बढ्ने सम्भावना रहेको जिफन्टकी श्रम सम्बन्ध सचिव निशा बानियाँ बताउँछिन् ।

“लामो समयको बन्दाबन्दीले अधिकांश रोजगारदाता पनि आयस्रोतविहीन भएका छन् । मध्यम आयस्रोत भएकाहरूले सहयोगी कटौती गर्न सक्छन् ।”

उनी भन्छिन्, “लामो समयको बन्दाबन्दीले अधिकांश रोजगारदाता पनि आयस्रोतविहीन भएका छन् । मध्यम आयस्रोत भएकाहरूले सहयोगी कटौती गर्न सक्छन् ।” शहरी क्षेत्रमा नै बसोबास गरिरहेकाहरू पनि बन्दाबन्दीकै कारण काममा रोजगारदाताले बोलाए पनि जान सकेका छैनन् ।

कतिपयलाई कोरोना संक्रमण फैलने डरले काम गर्न आउन दिएनन् । एकै जना कामदारले धेरै वटा घरमा काम गर्ने हुँदा संक्रमण फैलने डरले रोजगारदाताले बिदा दिन थालेको उनी बताउँछिन् ।

बानेश्वरकी विना पोख्रेलले सात वर्षदेखि घरेलु कामका लागि सहयोगी राखेकी छिन् । बन्दाबन्दीमा भने उनी आफैं श्रीमान्सँग मिलेर काम गर्छिन् । सहयोगीलाई बन्दाबन्दी अवधिभर नआउन खबर गरेकी छिन् ।

एक निजी संस्थामा कार्यरत विनाको रोजगारी पनि खतरामा परेको छ । उनी काम गर्ने संस्थाले लामो समयको बन्दाबन्दीले आर्थिक मन्दी खेप्नुपरेको कारण कर्मचारी घटाउन सक्ने सूचना दिएको छ । उनी भन्छिन्, “म आफैं बेरोजगार हुनुपर्‍यो भने अर्को जागिर नभएसम्म सहयोगी राख्दिनँ । म आफैं गर्छु ।”

कतिपय सहयोगीको भने पहिलाभन्दा कामको भार थपिएको छ । बालुवाटारस्थित एक घरमा विगत ६ वर्षदेखि सहयोगी रहेकी पवित्रा थापा (परिवर्तित नाम) अहिले सामान्य समयभन्दा बढी काम गर्नुपरेको गुनासो गर्छिन् । उनी चार सदस्य भएको परिवारमा काम गर्छिन् । उनी घर सफा गर्ने, भाँडा माझ्ने र लुगा धुने गर्छिन् । बिहानको खाना खाएपछि आमाबुबा कार्यालय र छोराछोरी विद्यालय जान्थे । साँझ फलफूल तथा तयारी खाना खाने हुँदा प्रायः पकाउनु पर्दैनथ्यो ।

तर, बन्दाबन्दीपछि बिहान र बेलुकाको खाना घरैमा पकाउनुपर्छ । उनी भन्छिन्, “अहिले बिहानको खाजा, खाना, दिउँसोको खाजा, साँझको खाना पनि घरैमा हुन्छ । पकाउने काम उहाँहरूले नै गर्नुहुन्छ, मैले तयार पार्ने र भाँडा माझ्नुपर्छ ।”

प्रतिकृया दिनुहोस