रिपोर्ट आइतबार, जेठ ४, २०७७

संक्रमित सैनिक उच्चअधिकारीसँगै एउटै कार्यक्रममा सहभागी थिए, प्रदेश-२ का मुख्यमन्त्री र मन्त्री

दीपक खरेल

संक्रमित सैनिक उच्चअधिकारीसँगै एउटै कार्यक्रममा सहभागी थिए, प्रदेश-२ का मुख्यमन्त्री र मन्त्री
मुख्यमन्त्री राउत उद्यानकाे शिलन्यास गर्दै ।

कोभिड–१९ को संक्रमण पुष्टि भएका नेपाली सेनाको मध्यपूर्वी पृतनाका  उच्च अधिकारी र चिकित्सक सहभागी एक कार्यक्रममा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल पनि रहेको कुरा 'कन्टयाक्ट ट्रेसिङ'का क्रममा खुलेको छ । यही कार्यक्रममा सहभागी भएका पर्साका एकजना पत्रकारमा संक्रमण पुष्टि भएसँगै ती सैनिक अधिकारीको जाँच भएको थियो ।

प्रदेशका एक स्वास्थ्य अधिकारीका अनुसार मुख्यमन्त्री राउत र मन्त्री सोनल २७ बैशाखमा जितपुर नगरपालिका, बारामा भएको एउटा उद्यान शिलन्यास कार्यक्रममा ती सैनिक अधिकारीसँगै सहभागी थिए । सेनाले नेपाल एकिकरणका क्रममा भएको अग्रेजसँगको युद्धको सम्झनामा निर्माण गर्न लागेको एकिकरण स्मृती उद्यानको शिलन्यास कार्यक्रममा मुख्यमन्त्री र मन्त्री, जिल्लाका सुरक्षाकर्मीसहित स्थानिय राजनीतिकर्मी र प्रदेश सरकारका अधिकारीहरु सहभागी भएका थिए ।

उच्च सरकारी स्रोतका अनुसार मुख्यमन्त्री राउतले केही दिन अघिमात्र काठमाडौंमा कोभिड–१९ को पीसीआर जाँच गराएको दाबी गरेको छ । उनको रिपोर्ट के भयो खुलाईएको छैन। करिब ६० जना उच्च अधिकारी र जनप्रतिनिधी सहभागी यो शिलन्यास कार्यक्रमबाट संक्रमण सरेको आशंका गरिएको छ ।

सेनाले बाराको जितपुर सिमरा उपमहानगरपालिकामा केन्द्र सरकार र प्रदेश–२ सरकारको सहयोगमा उद्यान बनाउन लागेको हो । यो औपचारिक कार्यक्रम बन्दाबन्दीबीच किन आयोजना गरियो, भन्नेमा सेना र सरकारी अधिकारीहरुले केही बताउन चाहँदैनन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पृतनाका अधिकारीमा संक्रमण पुष्टिसँगै त्यो क्षेत्र सिल गरिएको बताए । उनले संक्रमित अधिकारी र चिकित्सक कहाँ–कहाँ गए भन्ने खोजी भइरहेको बताए ।

"उहाँ कहाँ जानु भयो, क–कसलाई भेटनु भयो खोजिरहेका छौं," प्रजिअ खत्रीले भने “कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आफ्नो कार्यक्षेत्रका विभिन्न जिल्लामा जानु भएको थियो भन्ने बुझेका छौं ।”

पृतना स्रोतका अनुसार संक्रमित अधिकारीको नियमित स्वास्थ्य जाँचमा खटिएका चिकित्सक पनि अर्का संक्रमित भएका हुन् । ती चिकित्सक विभिन्न समयमा कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका तर्फबाट स्वाब संकलनमा जाने गरेका थिए । उनीबाट ती उच्च अधिकारीमा संक्रमण सरेको वा उद्यान शिलन्यासमा गएका बेला ती उच्च अधिकारी संक्रमित भएर उनमा स¥यो भन्ने खोजीको बिषय बनेको छ ।

उद्यान शिलन्यासमा सहभागी एक प्रहरी अधिकारीका अनुसार कार्यक्रम छोटो थियो । उपस्थितहरु सबै सचेत र सजग थिए । सामाजिक दुरी कायम गरिनुका साथै सबैलाई मास्क अनिबार्य गरिएको थियो । “त्यो कार्यक्रममा प्रदेश–२ का हामी धेरै उपस्थित थियौं,” ती प्रहरी अधिकारीले भने, “हामी पनि जाँच गराउने प्रकृयामा छौं ।”

मध्यपूर्वी पृतनाका जिम्मेबार ब्यक्तिलाई संक्रमण भएपछि सेना समेत सतर्क भएको छ । कोभिड–१९ बाट आफु जोगिएर अरुलाई बचाउने जिम्मेबारीमा रहेको सेनाले एउटा टिम बनाएर कहाँ कसरी चूक भयो खोजि गरिरहेको छ ।

संक्रमित सैन्य अधिकारी सहभागी काभ्रेकाे एउटा कार्यक्रम । 

संक्रमित काभ्रेमा २ दिन

बारा अघि २३–२५ बैशाख सेनाका ती उच्च अधिकारी काभ्रेमा थिए । कोभिड–१९ बिरुद्धको काम कारबाहीमा भइरहेका गतिविधीको अवलोकन र आवश्यक निर्देशनका लागि काभ्रे आएका उनी ब्यारेकमा बसेका थिए ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानिय सरकार तथा जिल्ला समन्वय समितीका प्रतिनिधी, स्वास्थ्य कार्यालयका अधिकारी, सुरक्षा अधिकारी, चिकित्सकसहित स्थानिय क्वारेन्टिन क्षेत्रको उनले स्थलगत अवलोकन गरेका थिए । जसमा प्रमुख जिल्ला अधिकारी, प्रहरी र सशस्त्रका जिल्ला प्रमुख सहित धुलिखेल अस्पतालका अधिकारी समेत सहभागी थिए ।

 

अग्रपंक्तिमा खटिने दोब्बर सचेत

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नीतिगत तहदेखि तल्लो तहसम्म रहेका अधिकारीहरु दोब्बर सचेत र सजग रहन आवश्यक रहेको महोत्तरीको घटनाले देखाएको छ । सेनाका संक्रमित अधिकारी प्रदेश–२ मा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि योजना निर्माण तहमा थिए ।

उनी नीतिगत निर्णय तहमा रहेका जनप्रतिनिधी र उच्च अधिकारीसँग नियमित सम्पर्क र छलफलमा बस्नुपर्थ्यो । यस्तै उनी तल्लो तहका अधिकारी र क्षेत्रमा खटिने स्वास्थ्यकर्मीसँग समेत नियमित भेटघाटमा रहन्थे ।

सीसीएमसीले अहिले उनको सम्पर्कमा रहेका सबैको पहिचान गरेर उनीहरुको पीसीआर जाँच गरिरहेको छ । आईतबारसम्म उनको सम्पर्कमा रहेका अन्य कोहीमा संक्रमण पुष्टि भएको छैन् ।

“माथिल्लो तहमा बसेर काम गर्नेहरु थप सचेत र सजग रहने र उहाँहरुलाई राख्ने ब्यवस्था आवश्यक देखियो,” मुख्यमन्त्री राउत निकट एकजना अधिकारीले भने, “मुख्यमन्त्री आफै सचेत हुनुहुन्छ, तर पनि थप सुरक्षाका उपायहरुका बिषयमा छलफल भइरहेको छ ।”

प्रतिकृया दिनुहोस