समाचार आइतबार, जेठ ४, २०७७

जबर्जस्ती नेपाल छिर्न खोज्ने भारतीयलाई रोक्न झापामा हवाई फायर

रासस

झापाको कचनकबल–१ घेराबारीस्थित भारतसँगको सीमानाकाबाट शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।

सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति साढे ९ बजेतिर घरेलु हतियारसहित डेढ सयको सङ्ख्यामा भारतीय नागरिक सीमामा आएका थिए। उनीहरु १२५(१० नम्बरको सीमास्तम्भ नजिकबाट नेपाली सुरक्षा चौकीमा हुलहुज्जत गर्दै नेपाल पस्न खोजेपछि रोक्नका लागि एक राउण्ड हवाई फायर गरिएको उनले जानकारी दिए ।

हवाई फायरपछि उनीहरु तितरवितर भएका थिए । भारतीय नागरिकले नेपाली भूमिमा लगाएको मकैबाली उठाउन उनीहरु जबर्जस्ती घुस्ने प्रयास गरेका हुन् । सीमा क्षेत्रमा नेपालतर्फ लगाएको बाली उठाउन आउने प्रयासमा नेपाली सुरक्षा चौकीमा भएको यो तेस्रो आक्रमण प्रयासको घटना हो ।

एक साताअघि झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीमा १३१ नम्बरको सीमास्तम्भ नजिक पनि नेपाली सुरक्षा चौकीमा भारतीय नागरिकले हुलहुज्जत गर्दा दुई राउण्ड हवाई फायर भएको थियो । भारतीय पक्षबाट सो घटनाका बारेमा माफी माग्दै अबदेखि सीमामा हुलहुज्जत नगर्ने प्रतिबद्धता व्यक्त भएको थियो ।

प्रतिकृया दिनुहोस