ब्लग शनिबार, जेठ ३, २०७७

धामीझाँक्रीलाई डाक्टरको सुझाव : औषधिमा मन्त्र फुकेर खान दिनुस्

भैरव रिसाल

धामीझाँक्रीलाई डाक्टरको सुझाव : औषधिमा मन्त्र फुकेर खान दिनुस्

कतिपय कुरा सामान्य लाग्ने तर महत्वपूर्ण हुन्छन्। ३०/३५ वर्षअघि मुटुरोग विशेषज्ञ डा.मृगेन्द्रराज पाण्डेसँग स्वास्थ्य र आहारविहारबारे भएका सामान्य कुराकन्था अझै पनि सम्झनामा ताजै छन्।

डा. पाण्डे वीर अस्पतालमा बिरामी हेर्दै थिए। मैले स्वास्थ्यका लागि कस्ता खानेकुरा खाने, के बार्ने भनेर जिज्ञासा राखें। उनले भने, “भैरवजी, तपाईंको स्वास्थ्यको डाक्टर तपाईं आफैं हो। जे जे खाँदा फाइदा हुँदैन त्यो नखाने, मीठो लागे पनि नखाने। जे जे खाँदा फाइदा हुन्छ, त्यो खाने, तर मीठो भो भन्दैमा धेरै नखाने।”

भैरव रिसाल

यस्ता कुरा त्यतिवेला सुन्दा साधारण लागे। धेरै वास्ता पनि गरिएन। अहिले आफ्नै अनुभव हेर्दा खानपानबारे डा. पाण्डेको सुझाव त स्वास्थ्य सूत्र नै रहेछ। बिरामीले के खाने, के नखाने भनेर सोध्दा अरु वरिष्ठ चिकित्सकहरूले पनि प्रायः यस्तै जवाफ दिने गर्दा रहेछन्।

फाइदा नहुने अर्थात् असर पार्ने केही वस्तु पनि नखाएपछि बिरामी हुने प्रश्न नै आएन। अर्को सूत्र, फाइदा हुने वस्तु पनि धेरै खाएपछि अहित गर्छ। यति सरल सूत्र अपनायो भने हत्तपत्त स्वास्थ्य समस्या नै नपर्ने।

धामीझाँक्रीको सहभागितामा आधुनिक औषधोपचार !

डा. पाण्डे चिकित्सा कर्मको आफ्नो सक्रिय समयमा जनतामाझ पुगेर सेवा गर्ने रुचि राख्थे। काठमाडौं जिल्लाको काँठ क्षेत्रतिर उनको ध्यान तानिएपछि २०३२ सालदेखि सुन्दरीजल क्षेत्रमा स्वास्थ्य शिविर चलाए। फर्पिङ भेगका केही गाउँमा पनि नियमित स्वास्थ्य परीक्षण सेवा दिए।

काठमाडौंको काँठ क्षेत्रमा त्यसवेला खासगरी गैरतागाधारी कतिपय समुदायका मानिसहरू बिरामी हुँदा ओखती नै नखाने रहेछन्। ग्रामीण भेगतिर औषधि उपलब्ध नहुने समस्या पनि छँदै थियो। त्यो स्थितिमा स्थानीयहरूले डाक्टरलाई होइन, धामीझाँक्रीमा बढी विश्वास गर्थे। उनीहरूले औषधि खानुपरे पनि धामीझाँक्रीको अनुमति नलिई नखाने। पुर्खादेखि गढेको त्यो अन्धविश्वास हटाउन सजिलो त थिएन।

त्यस्तो अवस्था देखेपछि डा. पाण्डेले बिरामीको उपचार प्रभावकारी बनाउन अनौठो जुक्ति सोचेछन्। उनले स्थानीय धामीझाँक्रीसँग भेटे। परम्परादेखिको पेशा अँगाल्दै आएका उनीहरूलाई यस्तो गलत प्रथा छाड्न आग्रह गर्दा भड्किन सक्थे। डा. पाण्डेले धामीझाँक्रीलाई खुशी पार्दै बिरामीसम्म औषधोपचार पुर्‍याउने बीचको उपाय निकालेछन्।

उनले धामीझाँक्रीलाई भनेछन्, ‘हामी डाक्टरलाई आफ्नो कामप्रति निष्ठा भए जस्तै तपाईंहरूलाई पनि आफ्नो पेशाप्रति लगाव हुनु स्वाभाविक हो, त्यसैले हामी मिलेर काम गरौं। तपाईंहरूले आफ्नो सेवा गर्दा हाम्रो औषधिमा तन्त्रमन्त्रले फुकेर खान दिनुस्।’

त्यसपछि धामीझाँक्री खुशी भएछन्। यसो गर्दा उनीहरूको व्यवहारमा पनि परिवर्तन आउन थालेछ। उनीहरूलाई निषेध गरेको भए समस्या हुन सक्थ्यो होला। डा.पाण्डेको चलाखीले धामीझाँक्री मार्फत नै आधुनिक औषधोपचार स्थानीय समुदायमा पनि शुरू भएछ।

सेवामा रमेको मन

डा. पाण्डे दक्षिणकाली क्षेत्रतिर छैमले, टल्कु, डुडे चौरतिर पनि पुगे। तामाङ समुदायका बालबालिकालाई छात्रवृत्ति दिएर पढ्न पठाए। सुडेनी तालिम, महिला स्वास्थ्य स्वयंसेविका समूह गठन, धूवाँरहित चुल्हो आदि नयाँ काम थाले। ती कामको प्रभाव विस्तारै समाजमा पर्न थाल्यो।

डा.पाण्डेलाई काठमाडौं र आसपासका मात्र गरेको सेवा पर्याप्त लागेन। उनी दुर्गम कर्णाली भेगको जुम्ला उक्लिए। तिनताका कर्णालीमा बाल मृत्युदर चिन्ताजनक अवस्थामा थियो। बालबालिका झिंगा मरे झैं मर्थे। हजार जना केटाकेटी जन्मेकामा ३ सय ३६ जनासम्म मर्थे रे। अधिकांश बालबालिकाको मृत्युको कारण निमोनिया र झाडापखाला थियो।

त्यो समस्या निराकरण गर्न सरकारी अस्पतालको कामबाट पर्याप्त नहुने देखेर डा.मृगेन्द्रराज पाण्डेले मृगेन्द्र चिकित्सा गुठीमा सेवा गर्न थाले। गुठीले जुम्ला जिल्लाका ३० वटै गाउँ पञ्चायतहरूमा काम गर्न थाल्यो। निमोनियाको बिरामीका लागि गुठीले बाँडेको रातो झोल जुम्ली जनताका लागि रामवाण भयो। बालमृत्यु दर पनि घटेर प्रतिहजार ७० मा झर्‍यो।

डा. पाण्डेले त्यस वेला जुम्लातिर धूमपान गर्नेहरूको अचाक्ली संख्या देखेर एउटा सर्भे गराएछन्। महिलाहरूमध्ये ७१.७ प्रतिशत धूमपान गर्ने भेटिए। १२/१३ वर्षको कलिलो उमेरदेखि नै धूमपान गर्नेहरू थिए।

धूमपानले स्वास्थ्यमा पार्ने असर विरुद्ध जनचेतना बढाउन थालियो। धूमपानको ७१.७ प्रतिशतलाई घटाएर २० प्रतिशतमा ल्याउन सफल भयो गुठी। घरभित्र चुल्हो बाल्दा निस्किने धूवाँ स्वास्थ्यको अर्को शत्रु थियो। धूवाँरहित चुल्हो बनाउन सिकाउने अभियान पनि चलाइयो।

डा. पाण्डेको कार्यक्रमबाट आत्तिएर केही व्यक्तिले विदेशीसँग मिलेर बाल बचाउ कार्यक्रम गर्ने प्रस्ताव उनीसँग राखेछन्। प्रस्ताव माने आर्थिक सहयोग गर्ने र नमाने हालको सहयोग बन्द गर्ने धम्की दिएछन्। तर, मृगेन्द्रराजले त्यो प्रस्ताव अस्वीकार गरे। आफ्नै स्रोत–साधनले जुम्लामा सञ्चालित कार्यक्रम पूरा गराए।

जेठो अस्पतालमा आईसीयू स्थापना

नेपालको सबभन्दा पुरानो अस्पताल हो, वीर अस्पताल। यो अस्पताल राणा प्रधानमन्त्री श्री ३ वीरशमशेरले वि.सं. १९४५ मा शिलान्यास गरी १९४७ साउनमा उद्घाटन गरेका थिए। अस्पतालमा आईसीयू (इन्टेन्सिप केयर युनिट) थिएन। डा. पाण्डेकै जोडबलले नेपालमा पहिलो पल्ट आईसीयू स्थापना भएको हो।

स्वास्थ्य सेवामा अनुसन्धान पद्धति पनि थिएन। डा. पाण्डेकै अग्रसरतामा नेपालमा स्वास्थ्य अनुसन्धान परिषद् स्थापना भएर सञ्चालनमा आयो। स्वास्थ्य र सफाइको लागि सुलभ शौचालय अभियान पनि सञ्चालन गरियो।

समग्रमा नेपालमा चिकित्सकलाई जनतामा पुर्‍याउन र जनतालाई स्वास्थ्य सेवा ग्रहण गर्ने अवस्थामा पुर्‍याउने अगुवा हुन् डा. पाण्डे।

प्रतिकृया दिनुहोस