व्यक्तित्व शनिबार, जेठ ३, २०७७

सम्झनामा शिक्षकहरुका पनि शिक्षक 'अर्याल सर'

वसन्त महर्जन

सम्झनामा शिक्षकहरुका पनि शिक्षक 'अर्याल सर'
तस्वीर: वसन्त महर्जन

प्रा.अर्याल कसैको चित्तदुखाउन चाहँदैनथे, विद्यार्थीको चित्त बुझाउन नसक्ने नयाँ शिक्षकबारे गुनासो लिएर जाँदा चिन्तित हुन्थे र शिक्षकलाई हतोत्साह नगरौं बरु समय मिलाएर आफूले पढाइदिन्छु भन्थे ।

वसन्त महर्जन

नेपाली इतिहास, संस्कृति र पुरातत्वको अध्ययनका क्षेत्रमा धेरैका लागि श्रोतव्यक्ति थिए, प्रा.डा. मुकुन्दराज अर्याल । स्वदेशी तथा विदेशी विद्यार्थी मात्रै नभएर सबै तह र तप्काका विद्वान्हरू पनि उनीसँग सरसल्लाह लिन पुग्थे । यस क्षेत्रमा कार्यरत कतिपय लब्धप्रतिष्ठित व्यक्तित्व एवं शिक्षकहरूका पनि शिक्षक थिए, उनी । विश्वविद्यालय बाहिर पनि उनी ज्ञानको स्रोत नै थिए । २९ वैशाख राति उनको देहावसान भएको खबरले धेरैलाई झस्काइदियो ।

शिक्षक–विद्यार्थी भन्दा अघि स्रोतव्यक्ति र सञ्चारकर्मीको रूपमा उनीसँग मेरो नाता जोडिएको थियो । २०५२ सालतिर नेपाल सम्पदा संघले सञ्चारकर्मीहरूलाई विभिन्न ठाउँको भ्रमणमा लग्थ्यो । स्रोतव्यक्तिका रूपमा प्रायः प्रा.डा. अर्याल नै आउँथे ।

जुनसुकै प्रश्नको पनि सहजै जवाफ दिने र चित्तबुझाइ दिने काम हुन्थ्यो । कतिपय जवाफमा उनी आफूले देखे–भोगेको वा सुनेको संस्मरण मिसाइदिने गर्थे शायद त्यसैले नितान्त मौलिक हुन्थे ।

वागमती नदीको दुरवस्थाबारे स्थलगत अध्ययन भ्रमणका लागि टेकुनजिकै नदी किनारमा पुग्दा आफ्नो बाल्यवस्थाको परिदृश्य सुनाएका थिए– ‘त्यहाँ मठभित्र ठूलो गोठ थियो, धेरै गाई पालिएको हुन्थ्यो । बाहिरबाट आउने सबैलाई सकेजति दही, मोही पिउन दिन्थे । अनि हामी यहाँ नदीमा आएर पानी पिउँथ्यौं ।’

वागमतीको पानी पिउने कुरा आजभोलि असहज हुन्छ । स्वाभाविक प्रश्न उठ्छ, यस्तो पानी पनि पिउनुहुन्छ ? उनी मुसुक्क हाँस्थे र प्रतिक्रिया दिन्थे– ‘उहिलेको पानी अहिलेजस्तो हो र ?’

उहिले र अहिलेको पानी बीच एउटा इतिहास छ । त्यही इतिहास पढ्ने मौका त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभागमा मिल्यो । त्यतिवेला उनी विभाग प्रमुख थिए भने म जुनसुकै विषयको जिज्ञासा मेट्न उनको सम्पर्कमा पुग्थें ।

विभागीय प्रमुख भन्नु एक हिसाबले प्रशासक पनि हो । विद्यार्थी यूनियन चुनावको वेला थियो, भोटको राजनीति गर्नेहरूलाई भर्ना गर्नुपरेको थियो कि ! के कुरा मिलेन कुन्नि ? विद्यार्थी नेताहरू आएर उनको अनुहारमा कालोमोसो दलेर गएछन् । हामी अलि टाढाको कक्षा कोठामा थियौं । यो घटनाले हामीलाई मर्माहत बनायो ।

विद्यार्थी राजनीतिसँग कुनै सरोकार नभएका हामीले त्यस घटनाप्रति खेद प्रकट गर्दै विज्ञप्ति निकाल्न खोज्यौं तर उनले त्यसो गर्नै दिएनन् । कक्षा कोठामा कहिल्यै नदेखिने तर भोट मात्रै खसाल्ने ती विशेष विद्यार्थीलाई समेत प्रा.डा. अर्यालले आफ्नै पैसा हालेर भर्ना लिएका थिए ।

दुई वर्षको कोर्सभित्र स्थलगत अध्ययन भ्रमण र परीक्षा पनि हुन्थ्यो । काठमाडौं उपत्यकाबाहेक छुट्टै एक महीना तराईका पुरातात्विक स्थलहरूमा लगिन्थ्यो । त्यसक्रममा लुम्बिनी तथा कपिलवस्तु क्षेत्रको अध्ययन भ्रमणमा जाँदा पनि प्रा.डा. अर्याल को सान्निध्य प्राप्त भयो ।

पुरातात्विक उत्खनन्मा संलग्नहरूसँग उनको घनिष्ट सम्बन्ध हुन्थ्यो र अनौपचारिक रूपमा उनीहरुसँग भएका कुराहरू अन्यत्र कतै पढ्न नपाइए पनि प्रा.डा. अर्यालको मुखबाट हामीले सुन्न पाउँथ्यौं।

स्नातकोत्तर तह पूरा गर्न विद्यार्थीले कुनै पनि विषयमा एउटा शोधपत्र तयार गर्नुपर्ने प्रावधान पनि थियो । मेरो शोध लुम्बिनीको पुरातात्विक उत्खनन्हरूको विश्लेषणात्मक अध्ययन थियो र शोध निर्देशक उनी नै थिए ।

लुम्बिनीको पुरातात्विक अध्ययनमा फिल्ड मार्शल केशरशमशेर जबरालाई खलनायकका रूपमा प्रस्तुत गर्ने गरिन्छ । पुरातत्व सम्बन्धी कुनै ज्ञान नभएको, अवैज्ञानिक ढंगले उत्खनन् गरेको र आफूले गरेको कामको अभिलेख नराखेको आदि दोष उनीमाथि छ ।

अध्ययन गर्दै जाँदा केशरशमशेरका सम्बन्धमा मेरो निष्कर्ष वेग्लै आयो । मेरो निष्कर्षले उनी अलि उत्साहित भए र फिल्ड मार्शलले उत्खनन्को रिपोर्ट पक्कै पनि लेखेको तर प्रकाशित हुन नपाएको महत्वपूर्ण जानकारी दिए । उक्त रिपोर्ट खोज्न पनि सुझाए । रिपोर्ट खोज्न सक्नु ठूलै डिस्कभरी हुन्थ्यो र त्यही लोभमा केशर लाइब्रेरी लगायतका ठाउँहरू चहारियो पनि तर भेटिएन ।

मैले आफ्नो शोध सामग्री परिमार्जन गरी प्रकाशन गरेको पुस्तक ‘लुम्बिनीः ऐतिहासिक तथा पुरातात्विक अध्ययन’ (२०६२) मा शुभकामना मन्तव्यमा प्रयुक्त शब्द ‘मेरो अति स्नेही मित्र शिष्य’ कम प्रेरणादायक छैन । 

प्रा.डा. अर्यालले ‘नेपाल एन इन्ट्रोडक्सन’ नामको पुस्तक सन् १९७४ मा अङ्ग्रेजी, फ्रेन्च र जर्मन भाषामा प्रकाशित गरेका थिए । त्यस्तै ‘लुम्बिनी’ (१९८९) र ‘शङ्खमूलः ए कल्चरल मोनोग्राफ’ (१९८९) पनि प्रकाशित छन् । सहलेखनमा ‘नेप्लिज कल्चरर्स (१९९८), ‘राष्ट्रिय संग्रहालय, बौद्ध कला विभागको वर्णनात्मक विवरण’ (१९९९) छन् । मूर्ति विज्ञानको मौलिक स्रोतको रूपमा रहेको ग्रन्थ ‘धर्मकोश संग्रह’ को नेपाली अनुवाद तथा सम्पादन प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित छन् ।

२ माघ २००० सालमा गैह्रीधारामा जन्मिएका प्रा.डा.मुकुन्दराज अर्याल हिन्दू धर्म दर्शनमा पनि पोख्त थिए । कुरा गर्दै जाँदा निस्कने विविध प्रसंगले उनी रैथाने समाजमा पनि असाध्यै भिजेको थाहा हुन्थ्यो ।

नेपालमा सौर्य सम्प्रदाय र सूर्य–मूर्तिहरू सम्बन्धमा बनारस हिन्दू विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनले ‘नेपाल एन इन्ट्रोडक्सन’ नामको पुस्तक सन् १९७४ मा अङ्ग्रेजी, फ्रेन्च र जर्मन भाषामा प्रकाशित गरेका थिए ।

त्यस्तै ‘लुम्बिनी’ (१९८९) र ‘शङ्खमूलः ए कल्चरल मोनोग्राफ’ (१९८९) पनि प्रकाशित छन् । सहलेखनमा ‘नेप्लिज कल्चरर्स (१९९८), ‘राष्ट्रिय संग्रहालय, बौद्ध कला विभागको वर्णनात्मक विवरण’ (१९९९) छन् । मूर्ति विज्ञानको मौलिक स्रोतको रूपमा रहेको ग्रन्थ ‘धर्मकोश संग्रह’ को नेपाली अनुवाद तथा सम्पादन प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित छन् ।

कनिष्ठहरूसँग मिलेर अध्ययन अनुसन्धान गर्ने तथा सिक्ने र सिकाउने खूबी भएका उनीसँग दुर्लभ पुस्तकहरूको संग्रह लोभलाग्दो नै छ । आफ्नो अध्ययनका सन्दर्भमा वेला वेला म उनको निवासमा पुग्थें र धेरैवेरसम्म उनका कुरा सुनेर मन्त्रमुग्ध हुन्थें ।

लुम्बिनी सम्बन्धी एउटा विवादास्पद पुस्तक भिक्षु सुदर्शनलाई पढ्न दिएको तर देहान्त हुँदा फिर्ता लिन नपाएको बताउँदा झस्स सम्झें, सो पुस्तक भन्तेकै सौजन्यले हेर्न पाएको थिएँ । मिले फिर्ता दिलाइदिन भनेका थिए मलाई, तर सकिनँ ।

कुमारी सम्बन्धी अध्ययन गर्ने क्रममा उनको निवासमै गएका वेला थाहा भयो उनी आफैंले सम्पादन गरेको अंग्रेजी पुस्तिका उनीसँगै रहेनछ । मसँग छ भनेपछि ‘चाहिएको छ एक पटक ल्याइदिनू’ भनेकाले पुर्‍याइदिएँ । पछि कसैले लगेको रहेछ, फिर्ता पाइएन । कसले लगेको सम्झना पनि भएन र त्यत्तिकै भयो । सो किताब पुरानो पुस्तक बेच्ने ठाउँबाट एक रुपैयाँमा किनेको थिएँ ।

प्रतिकृया दिनुहोस