समाचार बुधबार, वैशाख ३१, २०७७

भारतबाट एक हजार जनालाई आज भित्र्याइँदै, रेल सञ्चालनपछि नेपालमा समस्या

मुकेश पोखरेल

भारतबाट एक हजार जनालाई आज भित्र्याइँदै, रेल सञ्चालनपछि नेपालमा समस्या

भारतको सुनौली र नौतनवामा क्वारेन्टिन अवधि पूरा गरेका एक हजार नेपालीलाई बुधबार नेपाल भित्र्याइँदैछ। उनीहरुलाई नेपाल ल्याएर जिल्लाका पाँच स्थानमा तयार गरिएका क्वारेन्टिनमा राख्न लागिएको रुपन्देहीका एक अधिकारीले बताए।

उनीहरुलाई सिद्धार्थनगर नगरपालिकाको लिलाराम न्यौपाने उच्च मावि, रोहिणी गाउँपालिकको धकधईस्थित रामनरेश मावि, ओमसोतियास्थित गहुँबाली अनुसन्धान केन्द्र, तिलोत्तमाको मधवलियामा रहेको एक माध्यमिक विद्यालय र २ सय जनालाई छपियामा रहेको एक सरकारी विद्यालयमा राख्ने तयारी स्थानीय प्रशासनले गरेको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने सीमापारि रहेका नागरिकहरुलाई राख्न क्वारेन्टाइन स्थलको व्यवस्था गरेर मात्र ल्याउने बताए। “क्वारेन्टिन अवधि पूरा गरेकालाई ल्याउने तयारी छ, कहाँ कसरी राख्ने भन्नेबारे छलफल जारी छ”, उनी भन्छन्।

कपिलवस्तुको सीमाक्षेत्रमा अलपत्र परेकालाई नेपाल प्रवेश दिइएको छ। विभिन्न समयमा नेपाल आएकाहरुलाई स्थानीय तहले बनाएका क्वारेन्टिनमा राखिएको छ। पछिल्लो एक सातामा ५ हजार जना नेपाल आएका छन्। उनीहरु सबै जनालाई विद्यालय, मदरसामा राखिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाका प्रमुख गिरजेश कुमार पाण्डेय आफ्नो गाउँपालिकाले ७ सय जनालाई क्वारेन्टिनमा राखेको बताउँछन्। उनका अनुसार, विद्यालय भरिभराउ भएका छन्। “अब केही निजी विद्यालय र मदरसा मात्र बाँकी छन्”, उनी भन्छन् “अब बढीमा ५/६ सयभन्दा बढीलाई धान्न सक्ने क्षमता छैन।”

भारतमा रेल सञ्चालन गर्दा नेपालमा जोखिम

भारतले रेल सञ्चालन गरेपछि त्यहाँ रोकिएका नेपालीहरु आउने भएकाले नेपालमा संक्रमणको जोखिम झन् बढेको छ। बन्दाबन्दीका कारण भारतमा रोकिएका नेपालीहरु आउने भएकाले जोखिम बढेको सीमा क्षेत्रमा खटिएका सीमा सुरक्षा अधिकारीहरु बताउँछन्।

“अहिलेसम्म सयौंको संख्यामा आएका थिए, अब यो संख्या हजारौं हुनेछ”, आफ्नो नाम उल्लेख गर्न नचाहने एक सुरक्षा अधिकारी भन्छन्, “अब आउनेहरुलाई कसरी व्यवस्थापन गर्ने अर्को समस्या थपिन्छ।”

हुन पनि, रुपन्देही र कपिलवस्तुमा भेटिएका ४६ जना कोरोना संक्रमित पछिल्लो समय भारतबाट आएका हुन्। भारतले कोरोना संक्रमितबाट बढी प्रभावित भएका दिल्ली, महाराष्ट्र र गुजरातमा रहेका अस्थायी बसोबासी तथा श्रमिकहरुलाई आफ्नो घरमा पठाउने रणनीति अन्तर्गत रेल सेवा सञ्चालन गरेको हो।

मधेश मानवअधिकार गृहका अध्यक्ष रवि ठाकुर भारतले रेल सञ्चालन गर्दा त्यहाँ रोकिएका हजारौं नेपाली भित्रिने र जोखिम बढ्ने देखिएको बताउँछन्।

प्रदेश-५ अन्तर्गतका रुपन्देही र कपिलवस्तु सीमा नजिक रहेका बलरामपुर, गोण्डा, नौगढ, आनन्दनगर र गोरखपुर स्टेशनमा रेल सञ्चालन छ। यी स्थान नेपालको सीमा क्षेत्रदेखि १ सय किलोमिटरको हाराहारीमा छन्।

प्रतिकृया दिनुहोस