रिपोर्ट बुधबार, वैशाख ३१, २०७७

पर्यटक यातायात व्यवसायीको पिरलो : थपेको लगानी खेर गयो, कसरी धान्ने व्यवसाय ?

राजु बास्कोटा

पर्यटक यातायात व्यवसायीको पिरलो : थपेको लगानी खेर गयो, कसरी धान्ने व्यवसाय ?

कोरोनाभाइरस महामारीले पर्यटन क्षेत्र ठप्प हुँदा पर्यटक सवारीसाधन सञ्चालन गर्ने व्यवसायीहरूको अर्बौं रकम संकटमा परेको छ।

पर्यटन व्यवसायी तथा स्विफ्ट होलिडेका प्रबन्ध निर्देशक मिलन नेपालले १५ वटा पर्यटक सवारी साधन सञ्चालन गर्दै आएका थिए। सन् २०२० को नेपाल भ्रमण वर्षलाई दृष्टिगत गरी व्यवसाय विस्तार गर्न उनले रु.२५ करोड लगानी गरेर २० वटा गाडी थप गरे।

तर, पर्यटक आउने सिजनमै कोरोनाभाइरस (कोभिड—१९) को असरका कारण विश्वभरकै पर्यटन ठप्प भयो। पर्यटकीय गतिविधि सुनसान भएर व्यवसाय शिथिल भएपछि उनको रु.२५ करोडको लगानी मात्रै डुबेन, तीन वटा वाणिज्य ब्याङ्कबाट लिएका ऋणको मासिक रु.३६ लाख किस्ता तिर्न सकेका छैनन्।

उनी भन्छन्, “व्यवसाय नै ठप्प छ, कहाँबाट ल्याएर किस्ता तिर्नु ? भएका ४७ जना कर्मचारीलाई पनि तलब खुवाउन नसकेर बिदा दिएँ।” व्यवसाय भर्खरै शुरू गरेका कारण ६ महीनाभन्दा कम समयदेखि कार्यरत कर्मचारी हुँदा सबैलाई बिदा दिएर पठाउन सकिएको नेपाल बताउँछन्।

"९९ प्रतिशत विदेशी पर्यटकमा निर्भर पर्यटक यातायातको आम्दानी नै शून्य भएकाले अवस्था सामान्य नहुँदासम्म यस क्षेत्रका व्यवसायी र मजदूर बाँच्नै गाह्रो छ । यसैले सरकारले यो क्षेत्रको लागि उचित राहत तथा सहजीकरण गर्नुपर्छ ।"

- रामहरि शर्मा, अध्यक्ष, नेपाल पर्यटक यातायात व्यवसायी संघ 

ठमेल ट्रान्सपोर्ट सर्भिसका प्रबन्ध निर्देशक गोविन्द पाठक पनि पर्यटक यातायातमा नयाँ व्यवसायी हुन्। जम्मा तीन वटा सवारी साधानबाट यो व्यवसायमा प्रवेश गरेका पाठकले पनि भ्रमण वर्षलाई नै लक्षित गरेर थप ३ वटा पर्यटक सवारी थप गरेका थिए। एउटा गाडीको लागि रु.७० लाख खर्चेका उनले यसका लागि ब्याङ्कबाट लिएको ऋण वापत मासिक रु.७२ हजार किस्ता बुझाउनुपर्छ।

मासिक सञ्चालन खर्च रु.२ लाख ५० हजार रहेको अवस्थामा गुजारा कसरी चलाउने र ब्याङ्कको ऋण तथा अत्यावश्यक खर्च टार्ने भन्ने समस्याले पिरोलिरहेको पाठक बताउँछन्।

कोरोनाभाइरस महामारीका कारण पर्यटन व्यवसायमा दीर्घकालीन असर पर्ने भएकाले कम्तिमा एक वर्ष पर्यटक आगमन हुने देखिंदैन। त्यतिवेलासम्म ब्याङ्कले ब्याजको पुनर्तालिकीकरण गर्नुपर्ने पर्यटन व्यवसायीहरू बताउँछन्। अहिले १३ प्रतिशतभन्दा कम ब्याजदरमा व्यवसायीले ऋण पाएका छैनन्। पर्यटन क्षेत्रको आम्दानी नै शून्य भएकाले ब्याजलाई दुई प्रतिशत घटाउँदा पनि किस्ता तिर्न सक्ने अवस्था नरहेको यस क्षेत्रका व्यवसायी बताउँछन्।

नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरि शर्मा ९९ प्रतिशत विदेशी पर्यटकमा निर्भर पर्यटक यातायातको आम्दानी नै शून्य भएकाले अवस्था सामान्य नहुँदासम्म यस क्षेत्रका व्यवसायी र मजदूर बाँच्नै गाह्रो पर्ने बताउँछन्। यसैले सरकारले यो क्षेत्रको लागि उचित राहत तथा सहजीकरण गर्नुपर्ने उनको भनाइ छ। ५५ वटा पर्यटक सवारी सञ्चालन गर्दै आएका संघका अध्यक्ष तथा महालक्ष्मी भेइकल सर्भिसका प्रबन्ध निर्देशक शर्माले भ्रमण वर्षका लागि मात्रै सात वटा गाडी थपेका थिए।

संघमा ९९ वटा कम्पनी आबद्ध छन् भने हरियो प्लेटका पर्यटक गाडी सञ्चालन गर्ने ट्राभल कम्पनीको संख्या करीब २७ सय वटा छ। व्यवसायी मार्फत करीब ५५ सय वटा पर्यटक सवारीसाधन सञ्चालनमा रहेको पर्यटन व्यवसायी बताउँछन्। संघका अनुसार, यस व्यवसायमा करीब रु.३० अर्बको लगानी छ।

जोखिममा लगानी

भ्रमण वर्ष–२०२० मा व्यवसाय बढ्ने अपेक्षाले धेरै व्यवसायीले पर्यटक सवारीको संख्या थप्न लगानी बढाएका थिए। कोरोना महामारीको प्रभावले आफूहरूको लगानी खेर गएको नेपाल पर्यटक यातायात व्यवसायी संघका पूर्व अध्यक्ष रामशरण कार्की बताउँछन्।

अहिलेको संकटले लामो समयसम्म व्यवसाय उठाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ। कार्की भन्छन्, “पर्यटक नआएसम्म सवारी नचल्ने भएकाले बन्दाबन्दी खुले पनि यो व्यवसाय उठ्न सक्ने अवस्थामा छैन।’’

२६ वटा सवारी सञ्चालन गर्दै आएको नेपाल कम्फर्ट टुर्स सर्भिस सञ्चालन गर्ने कार्कीले पनि भ्रमण वर्षलाई लक्षित गरी नौ वटा सवारी थपेका थिए। त्यसका लागि करीब रु.१४ करोड लगानी गरेका उनी सरकारले राहतका प्याकेज ल्याएर यो व्यवसाय बचाउन सघाउनुपर्ने बताउँछन्।

"अहिलेको संकटले लामो समयसम्म व्यवसाय उठाउन नसकिने पक्का छ । पर्यटक नआएसम्म सवारी नचल्ने भएकाले बन्दाबन्दी खुले पनि व्यवसाय अघि बढ्न सक्दैन ।"

- रामशरण कार्की, पूर्व अध्यक्ष, नेपाल पर्यटक यातायात व्यवसायी संघ 

पर्यटक सवारी अन्य सार्वजनिक सवारी जस्तो टिकट काटेर वा अग्रीम यात्रु बुकिङ गरेर कारोबार हुँदैन। ट्राभल, टूर अपरेटर्स वा पर्यटकलाई जुन वेला चाहिन्छ, त्यति वेला मात्रै उपलब्ध गराइन्छ र बिजनेस हुन्छ। हरियो नम्बर प्लेटका यस्ता सवारी साधनमा कार, बस, जीप, भ्यान, माइक्रो बससम्म छन्। सामान्यतया दुई जनाभन्दा माथिको समूहमा आउने पर्यटकलाई एक स्थानबाट अर्को स्थानमा पुर्‍याउन यस्ता पर्यटकीय सवारी प्रयोगमा आउँछन्।

पर्यटक सवारीलाई विभिन्न ट्राभल तथा टूर कम्पनीले पनि सञ्चालन गर्छन्। काठमाडौंबाट पोखरा, चितवनसहितका पर्यटकीय गन्तव्यमा चल्ने रुटका सवारी पनि छन्। ट्राभल कम्पनीमार्फत सञ्चालन हुने यस्ता सवारी ४० वटा रहेको जनाइएको छ।

पर्यटन ठप्प हुँदा यससँग जोडिएका साना व्यवसायीहरू पनि मारमा परेका छन्। पर्यटक सवारीमा आउने विदेशी पर्यटकलाई छिटो–छरितो सेवा दिने गरी धादिङ र चितवनको राजमार्गछेउमा कफी पसल सञ्चालन गर्दै आएका काठमाडौं बालाजुका प्रकाश बास्कोटा अहिले फुर्सदिलो भएका छन्।

लक्ष्मी ब्याङ्कको जागिर छोडेर शुरुआतमा ठमेलमा क्याफे सञ्चालन गरेका उनले पछिल्लो समय धादिङको सिक्रेखोला, टायलघर र चितवनको मुग्लिनमा गरी करीब रु.५० लाख लगानी गरेका थिए। भ्रमण वर्षलाई लक्षित गरेर ६ महीनाअघि मात्रै दुुई वटा आउटलेट खोलेका बास्कोटा भन्छन् “अहिले थलिएको पर्यटन व्यवसाय कहिले पुरानो अवस्थामा फर्किन्छ भन्ने निश्चित छैन, रोजगारीको विकल्प खोज्नुपर्ने अवस्थामा पुगिसकेको छु।”

पर्यटक यातायात संंघका पूर्व अध्यक्ष मनोज श्रेष्ठ भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरेर यो व्यवसायमा करीब २५ देखि २५ नयाँ व्यवसायी थपिएको बताउँछन्। २८ वटा पर्यटक सवारी सञ्चालन गरेका श्रेष्ठले भ्रमण वर्षमा पर्यटक बढ्ने र व्यवसाय फराकिलो हुने भन्दै ५ वटा नयाँ सवारी थपेका थिए।

कोरोना भाइरसको संक्रमण सन् २०२० भित्र नियन्त्रणमा आए मात्रै एक वर्षपछि पर्यटकको अपेक्षा गर्न सकिने उनको बुझाइ छ। “त्यस वेलासम्म पर्यटन क्षेत्र र यस सम्बद्ध व्यवसायी तथा श्रमिकलाई निकै चुनौतीपूर्ण हुने भएकाले विशेष कदम आवश्यक हुन्छ”, उनी भन्छन्।

प्रतिकृया दिनुहोस