रिपोर्ट बुधबार, वैशाख ३१, २०७७

बन्दाबन्दीमा घरभाडा छुटः भयो त कार्यान्वयन ?

नुनुता राई

बन्दाबन्दीमा घरभाडा छुटः भयो त कार्यान्वयन ?

आर्थिक अवस्था कमजोर भएका घरबेटीलाई सरकारले आर्थिक सहयोग गर्नुपर्ने, तीन महीनाको ब्यांकको ऋणको ब्याज मिनाहा हुनुपर्ने र घरबेटीले तीन महीनाको भाडा छुट दिनुपर्ने भाडावाल सरोकार समाजको माग छ ।

अहिलेसम्म नेपालभर करीब १५ सय घरबेटीले कम्तीमा एक र बढीमा दुई महीनाको घरभाडा छुट गरेको समाजका अध्यक्ष विष्णुजंग बस्नेत बताउँछन् । सरकारले बन्दाबन्दीपछि घरभाडा छुट दिन गरेको आग्रह अनुसार ती घरधनीले यस्तो घोषणा गरेका हुन् ।

कोरोनाभाइरस संक्रमण रोक्न सरकारले ११ चैतदेखि बन्दाबन्दी घोषणा गरेपछि अधिकांश क्षेत्र ठप्प छन् । यो समय ज्यालादारी मजदुरले मात्र नभई अन्य कतिपयले पनि रोजगारी गुमाए । कतिपयको मासिक पारिश्रमिक कटौती भयो । त्यहीकारण सरकारले घरधनीहरुलाई भाडा छुट दिन आग्रह गर्‍यो ।

१६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले भाडा छुट दिने घरधनीलाई बहालकर नलिने निर्णय पनि गरेको छ । सरकारले घरधनीहरुलाई चैत महीनाको भाडा छुट दिन अनुरोध गरेपछि केहीले घरभाडा नलिने घोषणा गरे । कतिपयले एक महीनाको भाडा मात्रै छुट दिएका छन् भने कतिपयले दोस्रो महीनाको पनि दिइसके ।

भाडावालाहरु भने कम्तीमा तीन महीनाको भाडा छुट दिनुपर्ने माग गरिरहेका छन् । तर, सरकारले घरबेटीलाई भाडा छुट दिन गरेको अनुरोधसँगै घरबेटीहरुले भने गुनासो गर्न थालेका छन् । उनीहरुले घर बनाउँदा ब्यांकबाट लिएको ऋणको ब्याज मिनाहा गरिदिए मात्रै भाडा छुट दिन सकिने बताउँदै आएका छन् ।

भाडावाल सरोकार समाजका अध्यक्ष बस्नेतका अनुसार शहरी क्षेत्रमा निर्मित घरहरुमध्ये करीब ८० प्रतिशत ब्यांकबाट ऋण लिएर निर्माण गरिएका छन् । भाडावाल सरोकार समाजले त्रिपक्षीय समझदारीको आधारमा अघि बढ्नुपर्ने जनाएको छ ।

बस्नेत भन्छन्, “आर्थिक अवस्था कमजोर भएका घरबेटीलाई सरकारले आर्थिक सहयोग गर्नुपर्छ, घरबेटीलाई तीन महीनाको ब्यांकको ऋणको ब्याज मिनाहा हुनुपर्छ र घरबेटीले तीन महीनाको भाडा छुट दिनुपर्छ ।” भारतको दिल्लीमा आर्थिक अवस्था कमजोर भएका घरबेटीलाई सरकारले सहयोग गर्ने र भाडावाललाई तीन महीनाको भाडा छुट दिने निर्णय भइसकेको छ ।

घरभाडाबाट नै जीविकोपार्जन गर्ने घरबेटीलाई राज्यले हेर्नुपर्ने अध्यक्ष बस्नेतको भनाइ छ । उनी भन्छन्, “तीन महीनाको भाडा छुट दिँदा नै घरबेटीहरु आर्थिक रुपमा टाट पल्टिन्छन् भन्ने छैन । तर, केहीले घरभाडाबाट नै जीवन गुजारा गरिरहेका छन् । उनीहरुलाई राज्यले हेर्नुपर्छ ।”

शान्तिनगरमा घर भएका प्रदेश ५ का मुख्य न्यायाधीश रमेश पोख्रेल दम्पती।

जसले घरभाडा छुट दिए
प्रदेश ५ का मुख्य न्यायाधीश रमेश पोख्रेलले काठमाडौंको शान्तिनगरस्थित आफ्नो घरमा भाडामा बस्नेलाई चैत र वैशाख दुई महीनाको भाडा छुट दिएका छन् । बन्दाबन्दी शुरु भएपछि उनले चैतको भाडा नलिने निर्णय गरेका थिए । तर, बन्दाबन्दी लम्बिदै ५ जेठ पुगेपछि वैशाखको भाडा पनि नलिने निर्णय गरेका छन् । अहिले उनको घरमा एउटा परिवार भाडामा बस्छ ।

पोख्रेल भन्छन्, “म पनि घरभाडामा बसेर नै पढेँ । घरभन्दा टाढा भाडामा बस्नुको दुःख थाहा छ । त्यसैले छुट गरेको हुँ ।” घर भाडा उठाएरै खानुपर्ने अवस्था नरहेकाले दुई महीनाको भाडा छुट दिने निर्णय गरेको उनी बताउँछन् ।

उनका छोरा, बुहारी पनि जागिरे छन् । पोख्रेल भन्छन्, “मलाई घरभाडाबाटै खानुपर्ने अवस्था नभएकाले छुट दिएँ । मेरो घरमा बस्ने बहिनीको बच्चा सानो छ । यस्तो बेला केही नसके पनि भाडा नलिएर सहयोग गरौं भनेर हो ।”

पोख्रेलको घरमा सुमित्र अर्यालको परिवार पुस २०७४ सालदेखि भाडामा बस्न थालेको हो । उनी एक ब्यांकमा कार्यरत छिन् । १० वर्षदेखि काठमाडौं बस्दै आएकी उनले २०७२ सालको भूकम्प र नाकाबन्दीमा पनि नियमित घरभाडा तिरेकी थिइन् । उनी भन्छिन्, “बन्दाबन्दी शुरु भएपछि घरबेटी आन्टीले म्यासेज पठाएर चैत महीनाको घरभाडा छुट दिएको जानकारी दिनुभयो, वैशाखमा पनि छुट भएको म्यासेज आयो । पैसाभन्दा पनि महामारीमा उहाँहरुले देखाउनुभएको मानवीयताबाट प्रभावित भएका छौं ।”

कीर्तिपुरकी रीनाकुमारी केसीले पनि बन्दाबन्दी शुरु भएपछि चैत महीनाको एकतिहाई भाडा छुट दिएकी छिन् । घरको एउटा मात्रै फ्ल्याट भाडामा दिइएको केसीको घरमा एक परिवार भाडामा बस्छ ।

बन्दाबन्दीपछि उनको घरमा भाडामा बस्नेहरू पनि काममा जान सकेनन् । केसी भन्छिन्, “हामी आफै पनि लामो समय भाडामा बसेका थियौं, घर नहुँदा र बाहिर बस्दा हुने समस्याको अनुभव छ । त्यसैले सकेको भए पूरै छुट दिन्थ्यौं, हाम्रो पनि बाध्यता भएर थोरै छुट दिएका हौं ।” केसी परिवारले घर बनाउँदा ब्यांकबाट लिएको ऋण चुक्ता गर्न अझै बाँकी छ ।

कीर्तिपुरकी रीनाकुमारी केसी र उनका श्रीमान दीपेन्द्र केसी ।

मुकुन्दप्रसाद ढकालले कोटेश्वरमा पसल प्रयोजनका लागि निर्माण गरेका नौ वटै सटर भाडामा छन् । त्यहाँ पसल गर्नेहरुलाई चैत महीनाको भाडा छुट दिएका छन् । उनको कोटेश्वरकै हिमाली मार्गस्थित घरमा बस्ने ६ परिवारलाई पनि चैतको भाडा छुट दिएका छन् । उनी भन्छन्, “पसल खोल्न पाएनन्, व्यापार भएन । घरमा बस्नेहरु पनि काममा जान पाएनन् भनेर स्वविवेकले एक महीनाको भाडा छुट दिएको हुँ ।”

उनले नौ वटा सटर र घरमा गरी करीब रु.१ लाख ३५ हजार बराबर छुट दिएको बताउँछन् । वैशाखको छुट दिन भने मुश्किल भएको उनको भनाइ छ । ढकाल भन्छन्, “आफू पनि खानु प¥यो । त्यसैले एक महीनाभन्दा बढी छुट गर्न मुश्किल छ ।”

ढकालको सटरमा पसल गरिरहेकी अन्जना इछमफूल एक महीनाको सटरको भाडा तिर्न नपर्दा धेरै राहत मिलेको बताउँछिन् । उनी भन्छिन्, “आफैले बुझेर एक महीनाको मात्रै भएपनि छुट दिनु म जस्तो साना व्यवसायीका लागि ठूलो राहत हो ।”

घरबेटीहरुको आफ्नै समस्या
केही घरबेटीले भने बाध्यताले घरभाडा लिनुपरिरहेको गुनासो गरेका छन् । सरकारले दिने घरबहाल कर छुट मात्रै पर्याप्त नहुने उनीहरुको भनाइ छ । भाडा छुट दिनका लागि घर किन्दा वा बनाउँदा ब्यांकबाट लिएको ऋणको मासिक व्याज छुट गर्नुपर्ने उनीहरुको माग छ ।

काठमाडौं मैनमैजुकी मिरा अधिकारीले एक वर्षअघि ब्यांकबाट ऋण लिएर साढे तीनतलाको घर किनिन् । उक्त घरको पहिलो र दोस्रो तलामा पाँच परिवार भाडामा बस्छन् । अधिकारी कार्यालय सहयोगी हुन् । भाडा नलिने हो भने उनले ब्यांकबाट लिएको ऋणको किस्ता चुक्ता गर्न सक्दिनन् । त्यसैले ब्याज मिनाहा नभएसम्म भाडा छुट दिन नक्ने बाध्यता भएको उनी सुनाउँछिन् ।
मोरङ घर भई ललितपुरको सानेपा बस्ने तीर्थबहादुर कार्कीले वैशाखको पनि भाडा बुझाइसकेका छन् । उनी २०७३ सालदेखि अहिले बसिरहेको घरमा भाडामा छन् । घरबेटीले भाडा नमागे पनि आफैले दिएको उनी बताउँछन् ।

एक निजी कम्पनीमा कार्यरत कार्कीले घरबेटीको अवस्था बुझेर समयमा नै भाडा दिने गरेका छन् । साढे एक तलाको घरमा माथिबाट घरबेटी र तल्लो तलामा कार्कीको सहित दुई परिवार बस्छन् ।

घरबेटीको अन्य आयस्रोत नभएकाले आफूले भाडा नदिए अप्ठ्यारो पर्ने उनी बताउँछन् । कार्की भन्छन्, “मेरो घरबेटीले कहिले पनि भाडा माग्नुहुँदैन । आफैले जानेर दिने हो । उहाँहरु दुई जना हुनुहुन्छ । अन्य आयस्रोत छैन । कसरी छुट माग्नु ?”

प्रतिकृया दिनुहोस