ब्लग सोमबार, वैशाख २९, २०७७

बन्दाबन्दी बन्याे, बुझ्ने र सिक्ने अवसर

रुपा जोशी

बन्दाबन्दी बन्याे, बुझ्ने र सिक्ने अवसर
१५ वर्ष अघि कोट डाँडाबाट खिचिएको अझै हरित काठमाडाैं। तस्वीरहरु: रुपा जाेशी

झण्डै दुई महीनाको बन्दाबन्दीमा मेरो फोक्सोले राहत पाएको छ । घाँटीको खसखस कम भएको छ । सिँगान कालोको सट्टा सेतो भएको छ ।

रूपा जोशी

तुवाँलोको मौसममा पनि आकाश नीलो छ । धूलो नभएको हावा र नियमित वर्षाका कारण बारीमा उम्रेका रैथाने रूखहरूका पात हरियो र चिल्ला छन् । वर्षौंदेखि जमेको मैलो पखालिएको छ । वसन्तको बहारमा फूलले ढाकेका रूखहरूमा यति धेरै मौरी झुम्मिएको नदेखेको धेरै वर्ष भइसकेको थियो ।

धेरैपछि शहरभित्रको मेरो बारीमा चिबे चरो (ड्रङ्गो) ले उड्दै किरा च्याप्प समाउँदै हाँगामा बसेको देख्न पाएँ । सारुङ देख्न छोडिसकेकी थिएँ । किम्बु फलेको बोटमा सारुङहरू काग, जुरेली र अरू चराहरुसित किम्बु खान पल्किएको देख्न पाएँ । दिनभरि परेवा, भँगेरा, काग, सारुङ, धोबीचरा, जुरेली, फिस्टोको बोली सुनिन्छ, अनि कहिले न्याउलीको ‘पिहु पिहु’ पनि सुनिन्छ, अनि कहिले ढुकुरको ‘कुरकुर’ ।

हाम्रो घरलाई पूर्व र उत्तरका अग्ला अग्ला घरले छेक्छ, तर उपत्यकाको दक्षिणतर्फ बस्नेहरूले हिमालको रमणीय दृश्य हेर्न पाएका छन् । तराईबाट पनि हिमाल हाँसेको हेर्न पाएका छन् । आफू शहर घुम्न नपाए पनि फूलले ढाकिएको उपत्यकाको तस्वीरहरु ? सामाजिक सञ्जालमा हेर्न पाइएको छ । प्रकृतिले राहत पाएको बेला, हाम्रो स्वास्थ्यमा पनि अवश्य सुधार भएको छ ।

अब बन्दाबन्दी खुकुलो हुँदै जाँदा, फेरि धुँवा ओकल्ने बस, गाडी र मोटरसाइकलको घुइँचो बढ्दै जान्छ । शहर पुरानै अवस्थामा जाला भन्ने डर छ ।

यो दुई महीनाको सिकाइलाई हामीले खेर फाल्नु हुँदैन । घरभित्रै बस्दा हामीलाई लागेकै छ होला, थोरै सामानले पनि जीवन त चल्दो रहेछ । स्वास्थ्य र परिवारको समीपता कत्तिको महत्वपूर्ण रहेछ भन्ने हामीले बुझ्न पायौँ । अब आ–आफ्नो व्यक्तिगत जीवन हामीले बदल्न सक्छौं र अवश्य गर्छौं पनि । तर, अब सरकारको सोच बदल्ने बेला आएको छ ।

यहाँ देखिएका सबै रूख रैथाने हुन । आफै उम्रेका, हामीले हुर्किन दिएको ।

यो काठमाडौं खाल्डोमा सबैभन्दा पहिले इन्धन बालेर गुड्ने गाडी र मोटरसाइकलको चाप घटाउनु पर्छ । त्यसका लागि नयाँ गाडी झिकाउन कडा गरिनु पर्छ । बिजुलीबाट चल्ने ठूला बस झिकाएर मोटरबाइक र गाडी किन्नु र चढ्नु पर्ने बाध्यता हटाउनु पर्छ ।



वायु प्रदूषण नगर्ने गाडी भित्रिनुअघि सडकमा चाप घटाउन सबै इन्धनवाला पांग्रे सवारीलाई जोर बिजोर गरेर मात्र गुडाउन पाइने नियम लागू गर्नुपर्छ । एक दिन जोर, एक दिन बिजोर । आ–आफ्नाे  कार्यालय वा टोलबाट एकजनाले एउटा गाडी चढेर हिंड्नुभन्दा ‘कार पुलिङ’ गरेर आवतजावत गर्ने बानी बसाल्नुपर्छ ।

‘कोर शहर’ लाई पैदल मात्र हिंड्ने क्षेत्र बनाऔँ । पांग्र्राको नाममा साइकल मात्र छिर्न पाउने गरौं । हिंड्ने मानिसले बढी फुर्सद पाउँछन् पसल चहार्न, व्यापारीहरूलाई फाइदा नै हुन्छ । अन्य क्षेत्रमा पनि साइकल चढ्न प्रोत्साहन गर्नुपर्छ । स्वास्थ्यलाई पनि फाइदा, वातावरणलाई पनि ।

खुला ठाउँलाई जोगाऔं । रैथाने वा फलफूलको बोट रोपौं । चराहरूले बिष्टामा यस्ता रैथाने रूखका बिउ यता उता फिँजाऊन् । त्यसैले घर वरिपरि यस्ता ? रुख उम्रिए छाडिदिऔं । किनभने यी रुख बढी टिकाउ हुन्छन्, सितिमिती रोग लागेर ढल्दैनन् । खाली जमिनलाई सिमेन्टीले नढाकौं । यसो गरे परेको पानी ढलमा बगेर बेपत्ता हुनुको सट्टा जमिनमुनि गएर सञ्चय हुन्छ । अनि इनार भरिन्छ, ढुङ्गेधारामा पानी फेरि बग्छ ।



यो बन्दाबन्दीको अर्को मुख्य सिकाइ भनेको ‘आप्mनो तरकारी आफै रोपौं’ भन्ने सोच हो । घर–घरमा तरकारी रोपौं । आफै अग्र्यानिक खेतीवाला बनौं । भान्छाको मिल्काउने र कुहिने बस्तुलाई कम्पोष्ट मलमा परिणत गरौं । चउर या लनलाई कि पूरै वा आधा भाग करेसाबारीमा परिणत गरौं । आफ्नो छोराछोरीलाई तरकारी उमार्ने सौखको रूपमा रमाउने मौका दिऔं । बारी नभएको घरमा छत, बार्दलीमा तरकारी उमारौं । आफ्नो हातले फलाएको तरकारीको स्वादै बेग्लै । पौष्टिकता नै बेग्लै । अनि बारीमा, छतमा मौरीलाई मन पर्ने फूलहरू रोप्न नबिर्सौं !

बन्दाबन्दी पछि नीलो हाँसेको आकाश ।

 

प्रतिकृया दिनुहोस