रिपोर्ट सोमबार, वैशाख २९, २०७७

किन बनाइन्छ महिलालाई उडाउने ट्रोल ?

शुष्मा बराली

किन बनाइन्छ महिलालाई उडाउने ट्रोल ?

सामाजिक सञ्जालमा हाँसोको पात्र बनाउन महिलाको शारीरिक बनोट र प्राकृतिक व्यवहारलाई तोडमोड गरिन्छ । यो परम्परागत रुपमा भइरहेको महिलामाथिको विभेद र हिंसाकै नयाँ स्वरुप हो ।

“घरमा बसुँ श्रीमती, बाहिर जाउँ प्रहरी, पुरुषहीतका लागि जारी”
“कोरोना र गन्गने श्रीमतीको उपचार पत्ता लागेको छैन्, त्यसैले यी दुबैसँग डराउनु पर्छ, तर कराउनु हुँदैन है ।”

यसरी श्रीमतीलाई उडाएर बनाइएका ‘ट्रोल’ सामाजिक सञ्जालमा प्रशस्तै देख्न सकिन्छ । यति मात्र नभइ महिलालाई नै उडाएर पनि ट्रोल बनाइएका छन् । यस्ता धेरै ट्रोलले महिलामाथि विभेद गर्न प्रेरित गरेका छन् ।

केही दिनअघि फेसबुकमा अनुहार भरी रौं बनाइएका महिलाको तस्वीर राखेको ट्रोलमा लेखिएको थियो, “बन्दाबन्दीमा ब्युटिपार्लर जान नपाउँदाको रुप ।” अन्तरपुस्ता महिलावादी समुहकी प्रतिनिधि सरु जोशी पितृसत्ताको चेतले महिलालाई हासोको पात्र बनाउनु गैर जिम्मेवारीपन भएको बताउँछिन् ।

उनी भन्छिन्, “कसैको आत्मसम्मानमा ठेस पुग्ने खालको, हिनताबोध गराउने, महिला विभेदजन्य शब्द प्रयोग गर्ने जस्ता काम महिलालाई गरिने मानसिक हिंसा हुन् ।” महिलामाथि हुने हिंसाजनक शब्दको प्रयोग घट्न नसकेको उनको भनाइ छ । त्यहीकारण महिलालाई हासोको पात्र बनाइएका पोस्टर, जोक र टिका–टिप्पणी सामाजिक सञ्जालमा राखिने गरिएको छ ।

सोधकर्ता प्रणिका कोयू समाजले तय गरेको पितृसतात्मक संरचनाबाट निर्धारण भएको चेतनाकै कारण यस्ता ट्रोल बन्ने बताउँछिन् । उनी भन्छिन्, “महिला विरोधी शब्द र सामग्रीको विषयमा बोलियो, लेखियो भने जेसुकैमा पनि महिला अधिकार जोडेको आरोप आउँछ, यस्ता तर्कमा पनि हाम्रो समाजको दायरा देख्न सकिन्छ ।”

“चित्र, पोस्टरमा महिलालाई होच्याउने, हेप्ने खालका सामग्री पस्कनुले महिला हिसां नयाँ रुपमा आएको स्पष्ट हुन्छ । चरितार्थ गरेको छ । महिलाका विषयमा गरिएका ‘भद्दा मजाक’ लाई कानूनले पनि संवेदनशील तरिकाले लिनुपर्छ ।” 

– धनराज पण्डित, प्रमुख, पद्यमकन्या क्याम्पस

पुरुषले चिया पसलमा गरेको गफ राजनितीक विश्लेषण हुने तर, महिलाले गरे ‘गनगन्’ र ‘कुरा काटेको’ ठहरिने मानसिकता नै विभेदजन्य रहेको उनी बताउँछिन् । जुनै परिस्थितीमा महिलालाई हाँसोको पात्र बनाउन फुर्सदिला हुने पुरुष मानसिकतामा परिवर्तन आउन नसक्नु दुखद रहेको उनको भनाइ छ ।

Caption

हाँसोको पात्र बनाउन महिलाको शारीरिक बनोट र प्राकृतिक व्यवहारलाई तोडमोड गरिन्छ । बन्दाबन्दीमा शारीरिक हिंसासंगै मानसिक हिंसाको रुप बदलिएर सामाजिक संजालमा आउनु अत्यन्तै खेदजनक रहेको पद्यमकन्या क्याम्पसका प्रमुख धनराज पण्डित बताउँछन् । महिलामाथी हुने विभेदजन्य विषय सामाजिक सन्जालमा शून्य बनाउन नसके पनि नियन्त्रण गर्न सकिने उनी बताउँछन् ।

उनी भन्छन्, “चित्र, पोस्टरमा महिलालाई होच्याउने, हेप्ने खालका सामग्री पस्कनुले महिला हिसां नयाँ रुपमा आएको स्पष्ट हुन्छ । चरितार्थ गरेको छ ।” यस्ता खालका अपराधको न्युनीकरणका लागि सोचमै सुधार गर्नुपर्ने उनी बताउँछन् । महिलाका विषयमा गरिएका ‘भद्दा मजाक’ लाई कानूनले पनि संवेदनशील तरिकाले लिनुपर्ने उनको भनाइ छ ।

महिला खुलेर विरोध गर्दा नारीवादीको आरोप लगाउँने प्रचलन निकै पुरानो रहेको बताउँछिन्, समाजशात्री मिना उप्रेती । ट्रोलमा महिलाको विगतदेखि परिवारिक अवस्थासम्मलाई मजाक बनाइएको छ । कतिपयमा त चरित्रहत्यासम्मको प्रयास गरिएको उनी बताउँछिन् ।

महिलाका लागि प्रयोग गरिने शब्द नै विभेदजन्य रहेको उनको ठहर छ । उनी भन्छिन्, “चटक, नाटक, रुनाधुना, लाजको पसारो जस्ता शब्द जोडेर मानसिक हिंसाको प्रयास भइरहेको छ । ती ट्रोलमा सकारात्मक कमेन्ट गर्ने वा हाँस्नेले पनि हिंसालाई प्रश्रय दिएका छन् ।”

“महिलामाथी वर्षौँदेखि भएका अपमानित शब्दहरु अहिलेको नयाँ पुस्ताले ट्रोलको रुपमा आत्मसाथ गर्नु संवेदनाहीन हुनु हो । सचेत युवाले यस्ता विषयलाई नकार्नु पर्नेमा झन् हासोमा माध्यमका रुपमा स्वीकारेका छन् ।”

– सीमा आभास, कवि

कवि सीमा आभाष महिलाई हेप्नुपर्छ भन्ने चेतलाई संस्थागतसँगै सामान्यीकरण गर्दा यस्ता ट्रोल बन्ने गरेको बताउँछिन् । महिलालाई हेर्ने नजर, महिलाका लागि प्रयोग गरिने भाषा मानसिक रुपमा नै परिवर्तन नभएसम्म बिगतका उखान र टुक्काले स्वरुप परिवर्तन गरेर आइरहन्छ । उनी भन्छिन्, “महिलामाथी वर्षौँदेखि भएका अपमानित शब्दहरु अहिलेको नयाँ पुस्ताले ट्रोलको रुपमा आत्मसाथ गर्नु संवेदनाहीन हुनु हो । सचेत युवाले यस्ता विषयलाई नकार्नु पर्नेमा झन् हासोमा माध्यमका रुपमा स्वीकारेका छन् ।”

प्रतिकृया दिनुहोस