ब्लग शनिबार, वैशाख २७, २०७७

भारतीय सेना बोलाएर यसरी मारिएछ भीमदत्त पन्तलाई

भैरव रिसाल

भारतीय सेना बोलाएर यसरी मारिएछ भीमदत्त पन्तलाई

सार्वभौम देशमा क्रान्तिकारी किसान नेताको हत्या गर्न छिमेकी देशबाट सेना भित्र्याइएको थियो। २००७ सालको प्रजातन्त्र प्राप्तिको केही वर्षपछि भएको हाम्रै देशको घटना हो यो। आन्तरिक शान्ति सुरक्षा कायम गर्ने नाममा भारतीय सेना बोलाउँदा सामाजिक जागरणका सेतु तथा किसान क्रान्तिका नेता भीमदत्त पन्त शहीद बने।

भैरव रिसाल

डडेल्धुरा जिल्लाको सदरमुकाम खलङ्गा पश्चिम कारी गाउँमा १० मंसीर १९८३ मा सामान्य किसान परिवारमा जन्मेका हुन्, भीमदत्त। राणा शासन विरुद्ध २००७ सालको आन्दोलनमा उनी सक्रिय थिए। उनी नेपाली कांग्रेसको सदस्य पनि भइसकेका थिए। देशमा सशस्त्र क्रान्ति हुँदै गर्दा राजा त्रिभुवन सपरिवार भारतको नयाँ दिल्ली गएर आश्रय लिइरहेका थिए।

भारत सरकारको मध्यस्थतामा सम्झौता भएपछि २००७ सालको क्रान्ति समापन भयो। श्री ३ मोहन शमशेर राणाकै प्रधानमन्त्रीत्वमा राणा र कांग्रेसको संयुक्त सरकार गठन गर्ने र दुवै पक्षबाट पाँच–पाँच जना रहने सम्झौतामा उल्लेख गियो।

यो सम्झौताप्रति असन्तुष्ट कतिपय मुक्तियोद्धाहरूले हतियार बिसाएनन्। भैरहवाको मर्चवार क्षेत्रमा जनयुद्ध चलिरह्यो। भीमदत्त पनि दिल्ली सम्झौताको विपक्षमा थिए। संयुक्त सरकारले उनलाई महाकाली क्षेत्रको गभर्नर नियुक्त गरेको। तर, भैरहवामा क्रान्ति नथामिएपछि  तत्कालीन सरकारले आन्तरिक शान्ति कायम गर्ने नाममा भारतीय सेनालाई भित्र्यायो। यसप्रति असन्तुष्टि प्रकट गर्दै भीमदत्तले गभर्नर पद अस्वीकार मात्र गरेनन्, नेपाली कांग्रेसबाट राजीनामा नै दिए।

राणाविरोधी आन्दोलनका क्रममा भैरहवामा केआई सिंहको नेतृत्वमा मुक्तियोद्धाहरु लडिरहेका थिए। सिंहलाई उनको टोलीसहित भारतीय फौजले पक्राउ गरी २००८ भदौमा काठमाडौं ल्याएर सिंहदरबारमा थुनियो।

भीमदत्त शोषण विरोधी सामाजिक आन्दोलनमा सक्रिय हुन थाले। नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पलाल श्रेष्ठहरूको सम्पर्कमा पुगे। त्यसपछि उनी बैतडी, बझाङ, बाजुरा, कञ्चनपुर, कैलाली जस्ता ठाउँमा क्रियाशील भए। दिल्ली सम्झौताको विरोध गर्ने उनी अब गरीब किसानका पक्षमा आवाज उठाउन थाले। फलस्वरूप विभिन्न ठाउँका किसानहरूले संगठित रूपमा आन्दोलन गर्न लागे।

समाजका शोषणा र अन्याय विरुद्धको जागरण र गतिविधि तत्कालीन सत्तालाई पाच्य भएन। कारण, दुष्ट जमिन्दारहरूको पक्षमा फैसला गर्ने भ्रष्ट हाकिमहरू विरुद्ध पनि किसान आन्दोलन अगाडि बढेको थियो। अब परिस्थिति उनी विरुद्ध मोडिन लाग्यो। अन्ततः २००९ माघमा भीमदत्तलाई सरकारले पक्राउ गर्‍यो र कञ्चनपुरको बेलौरी कारागारमा थुन्यो।

काटिएको टाउको प्रदर्शन

भीमदत्त केही समयमा जेलमुक्त भएछन्। त्यसपछि उनी विभेद र सामाजिक असमानताको विरुद्ध अझ सक्रिय भएर लागे। उनी झनै सरकारको टाउको दुःखाइको कारण बन्न पुगे। उनले पश्चिम नेपालमा अशान्ति फैलाएको, लुटपिट गरेको सरकारको आरोप थियो।

उनलाई पक्रन सेना समेतलाई खटाइयो। २०१० सालमा तत्कालीन प्रधान सेनापति किरणशमशेरले उनलाई जिउँदो वा मरेको अवस्थामा ल्याउने व्यक्तिलाई रु.५ हजार पुरस्कार दिने घोषणा गरेको 'मानव अधिकार डायरी २०५७/५८' मा उल्लेख छ।

भीमदत्त जनतामाझ प्रिय थिए। यसैले उनको बारेमा कसैले सुराक दिने कुरै भएन। सरकारले पक्राउ गर्न सकेन। दोस्रो पटक भारतीय सेना नेपाल बोलाइयो। यो तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालामा गरिएको निर्णय थियो। २०१० असारताका आएको भारतीय सेना र नेपाली सुरक्षा निकायको संयुक्त फौजले पश्चिम नेपालमा कारबाही चलाएछ।

अन्ततः भीमदत्त डडेल्धुराको एउटा गाउँको मगरको घरबाट १७ साउन २०१० मा पक्राउ परे। भारतीय सैनिक टोलीसँग गिरफ्तारीको प्रतिवाद गरेपछि तत्कालै उनको टाउको काटेर हत्या गरियो।

मानव अधिकार डायरीका अनुसार, काटिएको टाउको भोलिपल्ट डडेल्धुरा खलङ्गा पुर्‍याई बाँसको लिङ्गोमा उनेर केही दिनसम्म बीच बजारमा प्रदर्शन गरिएको थियो भन्ने भनाइ छ।

साउन १७ कि १० ?

भीमदत्त हत्याकाण्ड विषयमा ग्रीष्मबहादुर देवकोटाको नेपालको राजनीतिक दर्पण पुस्तकको पहिलो ठेलीमा फरक मत छ।

२०१० सालमा डडेल्धुरा जिल्लामा भीमदत्त विरुद्ध नेपाल–भारत संयुक्त सैनिक कारबाही गराइयो। भारतीय फौजले दुई नेपालीलाई मार्‍यो, ५० जनालाई घाइते बनायो भने २ सय ७२ जनालाई पक्राउ गर्‍यो। तर, भीमदत्तलाई पक्राउ गर्न सकेनन्। भारतको बरेलीमा बसेका नेपालका प्रधान सेनापति जनरल किरणशमशेर राणाले भीमदत्तलाई जिउँदै पक्रेर वा मारेर ल्याउनेलाई १० हजार रुपियाँ पुरस्कार दिने घोषणा गरेको देवकोटाको पुस्तकमा लेखिएको छ।

देवकोटाको सोही दर्पणमा ‘२०१० साउन १० गते डडेल्धुराको जङ्गलमा सरकारका तर्फबाट खटिएका दमनकारी सैनिकहरूबीच गोली हानाहान हुँदा भीमदत्त पन्त मारियो’ भनिएको छ। उद्धरणभित्र राखिएकाले यो कथन तत्कालीन सरकारको हुनुपर्छ। कारबाहीपछि भारतको उत्तर प्रदेशका सैनिकहरू पश्चिम नेपालबाट २७ साउन २०१० मा फर्केको देवकोटाले पुस्तकमा उल्लेख गरेका छन्।

प्रतिकृया दिनुहोस