रिपोर्ट शुक्रबार, वैशाख २६, २०७७

औषधी पत्ता नलागे पनि निको हुँदैछन् कोरोना संक्रमित, कसरी गरिंदैछ उपचार ?

रामु सापकोटा

औषधी पत्ता नलागे पनि निको हुँदैछन् कोरोना संक्रमित, कसरी गरिंदैछ उपचार ?

सयभन्दा बढी मुलुकमा महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को अहिलेसम्म औषधी पत्ता लाग्न सकेको छैन। २६ वैशाख मध्यरातिसम्म भाइरस संक्रमितको संख्या ३९ लाख ७९ हजार नाघेको छ भने तीमध्ये २ लाख ७४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

विश्वभरिका कोभिड–१९ संक्रमितहरूमध्ये १३ लाख ७२ हजार निको भएका छन्। नेपालमा हालसम्म १ सय २ जनामा संक्रमण भएकोमा तीमध्ये ३० जना निको भएका छन्। औषधी र खोप पत्ता नलागेको अवस्थामा संक्रमितहरू कसरी निको भइरहेका छन् त ? उपचारका लागि स्रोत–साधन र पूर्वाधार सीमित रहेको भनिएको नेपालमा संक्रमितको औषधोपचार कसरी गरिंदैछ, धेरैमा चासो लाग्नु स्वाभाविकै हो।

हे.लिंक (के बीसीजी खोपले गर्ला त कोभिड-१९ रोकथाम ?)

नेपालमा पहिलो पटक कोभिड–१९ संक्रमितहरूको उपचार गरेको काठमाडौं टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारी कोरोनाभाइरसका लक्षणलाई आधार मानेर औषधी उपचार गर्ने गरिएको बताउँछन्। “संसारभर नै लक्षणका आधारमा उपचार भइरहेको छ, त्यसैबाट बिरामीहरू निको भइरहेका छन्”, उनी भन्छन्।

विश्व स्वास्थ्य संघठनका अनुसार सुख्खा खोकी लाग्नु, ज्वरो आउनु, टाउको दुख्नु, सास फेर्न गाह्रो हुनु कोभिड–१९ का लक्षण हुन्।

"कोरोनाभाइरसका लक्षणलाई आधार मानेर औषधी उपचार गर्ने गरिएको छ। संसारभर नै लक्षणका आधारमा उपचार भइरहेको छ, त्यसैबाट बिरामीहरू निको पनि भइरहेका छन्।"

-  डा. सागरराज भण्डारी, निर्देशक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक

उसो त कोभिड–१९ का लक्षण नै नपाइएका व्यक्तिहरुमा पनि भाइरसको संक्रमण देखिएको छ। लक्षण नै नदेखिएका बिरामीहरूमा यो भाइरसको संक्रमणले सिकिस्त हुने सम्भावना कम हुन्छ। त्यसैले लक्षण देखिएका भन्दा नदेखिएका बिरामी कम जोखिममा पर्ने र उनीहरूमा रोग निको हुने दर पनि बढी हुन्छ।

डा. भण्डारी शुरूमा लक्षण नदेखिए पनि संक्रमित व्यक्तिले अस्पतालमा भर्ना भएको दुई/तीन दिनपछि रुघाखोकी लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखाउने बताउँछन्। “त्यसैका आधारमा हामीले औषधि चलाएर उपचार गर्दै आएका छौं”, उनी भन्छन्।

मुलुकमा हालसम्म २२ जना संक्रमणमुक्त भएकोमा तीमध्ये तीन जना शुक्रराज अस्पतालमा उपचारपछि निको भएका हुन्।

डा. भण्डारी कोरोनाको लक्षण देखाएका बिरामीहरुमा एन्टीबायोटिक र एन्टीफ्लूका औषधीहरू चलाइएको बताउँछन्। ज्वरो, रुघाखोकी जस्ता लक्षणका देखिएर लाग्ने मौसमी फ्लूका बिरामीलाई दिइने पारासिटामोल लगायत नै एन्टीफ्लूका औषधी हुन्। संक्रमित बिरामीहरूलाई नियमित तातोपानी पनि दिने गरिएको छ।

दीर्घरोगी र सिकिस्तलाई विशेष उपचार

संक्रमित बिरामी उच्च रक्तचाप, मधुमेह, दम जस्ता दीर्घरोगबाट पनि प्रभावित छन् भने विशेष हेरचाह चाहिन्छ।

कोभिड–१९ का सिकिस्त बिरामीलाई भेन्टिलेटर वा सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्नुपर्ने हुन्छ। नेपालमा भने हालसम्म यो भाइरसका सिकिस्त बिरामी छैनन्।

सास फेर्न गाह्रो हुने संक्रमितलाई भेन्टिलेटरमा कृत्रिम रूपमा अक्सिजन दिएर उपचार गरिन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ट्रपिकल मेडिसिनका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोला संक्रमित बिरामीको फोक्सोमा अक्सिजन कम भएर सास फेर्न गाह्रो हुने भएकाले अक्सिजन दिएर उपचार गर्नुपर्ने बताउँछन्।

हे.लिंक (कोभिड–१९ को उपचारमा प्लाज्मा थेरापी कति सहयोगी ?)

कोभिड–१९ संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिइरहेका डा. बाँस्तोलाका अनुसार, भाइरसले बिरामीको फोक्सोमा असर पुर्‍याएर निमोनिया गराउँछ। “कुन प्रकारको निमोनिया हो भन्ने आधारमा अस्पतालजन्य संक्रमण नहुने गरी आवश्यक मात्रामा अक्सिजन दिइन्छ”, उनी भन्छन्।

नेपालमा हालसम्म पहिलो संक्रमितलाई मात्र अक्सिजन दिएर उपचार गर्नुपरेको थियो। चीनको वुहान शहरबाट २४ पुसमा नेपाल फर्केका ३२ वर्षीय व्यक्तिमा पहिलो पटक भाइरसको संक्रमण देखिएको थियो। उनलाई सास फेर्न गाह्रो भएकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चारदेखि पाँच घण्टासम्म कृत्रिम रूपमा अक्सिजन दिइएको थियो। केही समयको उपचारपछि उनी निको भएका थिए।

अन्य संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य भएकाले लक्षणका आधारमा उपचार गरिंदै आएको छ।

संक्रमित व्यक्तिलाई कोरोनाभाइरस बाहेकका अन्य ब्याक्टेरियाको संक्रमण वा रोग भए त्यसै अनुसारको औषधी उपचार गरिंदै आएको डा. बाँस्तोला बताउँछन्।

अनुसन्धान र परीक्षणको सिलसिला

कोभिड–१९ को उपचारका लागि विभिन्न मुलुकमा औषधि र खोपबारे वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन्। शरीरमा भाइरसको वृद्धि विकास हुन नदिन यस विरुद्ध दिइने खोपबारे अध्ययन भइरहेको हो।

त्यस्ता खोप विकास गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ‘भ्याक्सिन ट्रायल’ का लागि अनुमति दिइसकेको छ।

अहिले भएकै कतिपय रोग विरुद्धका औषधी र खोप पनि कोभिड–१९ विरुद्ध प्रभावकारी हुन्छ कि भनेर पनि अनुसन्धान जारी छ। यस क्रममा लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया रोगको उपचारमा प्रयोग हुने औषधी, क्षयरोग विरुद्ध लगाइने खोप लगायतमाथि अनुसन्धान भइरहेको छ।

कोभिड–१९ संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि पनि उपयोगी हुनसक्ने आकलन गर्दै यसमाथि पनि अनुसन्धान भइरहेको छ।

"चार प्रकारका औषधीमाथि अन्तर्राष्ट्रिय प्रोटोकलको पालना गरेर मुुलुकभित्रै क्लिनिकल ट्रायलको काम शुरू भइसकेको छ । हाम्रो भूगोल र वातावरण अनुसार कोरोना संक्रमितको उपचारका लागि ती औषधी प्रभावकारी हुन सक्छन् वा सक्दैनन् भनेर अनुसन्धान गर्न लागिएको हो ।"

डा. मेघनाथ धिताल, अनुसन्धानकर्ता, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्

नेपालमा पनि कोभिड–१९ संक्रमितको उपचार गर्न विभिन्न निर्देशिका बनाउने र उपचार विधिबारे अध्ययन भइरहेको छ। यसैबीच, संक्रमितको उपचारका लागि औषधी तथा खोपको क्लिनिकल ट्रायल हुने भएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले इबोलाका बिरामीमा परीक्षण भइरहेको एन्टीभाइरल रेमडिसिभीर सहितका चार प्रकारका औषधी कोभिड–१९ संक्रमितको उपचारका लागि प्रभावकारी हुने/नहुने पत्ता लगाउन परीक्षणको प्रारम्भिक प्रक्रिया शुरू गरेको छ। उक्त ट्रायललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सैद्धान्तिक स्वीकृति भने दिइसकेको छैन।

परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिताल चार प्रकारका औषधीमाथि अन्तर्राष्ट्रिय प्रोटोकलको पालना गरेर मुुलुकभित्रै क्लिनिकल ट्रायलको काम शुरू भइसकेको बताउँछन्। “हाम्रो भूगोल र वातावरण अनुसार कोरोना संक्रमितको उपचारका लागि ती औषधी प्रभावकारी हुन सक्छन् वा सक्दैनन् भनेर अनुसन्धान गर्न लागिएको हो”, उनी भन्छन्।

हे.लिंक (संक्रमितको उपचार गर्न भेन्टिलेटर र आईसीयू अपर्याप्त)

डा. धिमाल अन्य मुलुकमा संक्रमितलाई प्रभावकारी हुने औषधी नेपालमा काम गर्छ नै भन्ने यकिन नहुने भएकाले स्थानीय परिवेश अनुसार प्रभाव मापनका लागि अनुसन्धान गर्नुपरेको बताउँछन्। उनका अनुसार, क्लिनिकल ट्रायल सफल भएमा देशभर सस्तोमा औषधी वितरण गर्न सकिनेछ।

नेपालमा ‘भिटामिन ए’ कार्यक्रम शुरू गर्नुअघि पनि क्लिनिकल ट्रायल गरिएको थियो। सर्लाही जिल्लामा गरिएको परीक्षण सफल भएको यसलाई देशव्यापी लागू गरिएको थियो।

विभिन्न रोग विरुद्धका औषधि तथा उपचार विधि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण हुँदै आएको छ। पाटनमा केही समयअघि क्षयरोग विरुद्धको औषधीको सफल क्लिनिकल ट्रायल भएको थियो।

रेमडिसिभीर औषधीमाथि चीन, अमेरिका र इटालीमा पनि क्लिनिकल ट्रायल भइरहेको छ। यस्तै, कोभिड–१९ मा जापानिज इन्फ्लुएन्जा ड्रग फाभिपिरोेविय कति उपयोगी हुन्छ भनेर चीनको वुहान र सेन्जेनमा तीन सयभन्दा बढी बिरामीमाथि क्लिनिकल ट्रायल शुरू भइसकेको छ। त्यहाँ एचआईभीका औषधीहरुमाथि पनि अनुसन्धान भइरहेको छ।

वैज्ञानिकहरुले कोरोना संक्रमितको उपचारमा प्रभावकारी हुनसक्ने भन्दै मलेरिया विरुद्धको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरिक्वीन औषधीमाथि पनि क्लिनिकल ट्रायल गरिरहेका छन्।

चिकित्सकहरुका अनुसार, भ्याक्सिनभन्दा औषधीको क्लिनिकल ट्रायल गरेर छिटो नतिजा निकाल्न सकिन्छ। तर, औषधीको तुलनामा भ्याक्सिनबाट गरिने उपचार प्रभावकारी मानिन्छ। किनकि, औषधीले तत्कालका लागि संक्रमण हटाउन काम गरे पनि भ्याक्सिनले दीर्घकालसम्म शरीरमा भाइरस विरुद्ध लड्ने रोग प्रतिरोधी क्षमता विकास गर्छ।

त्यसैले विश्वभर कोरोनाभाइरस विरुद्ध लड्न भ्याक्सिनको क्लिनिकल ट्रायललाई बढी महत्व दिइएको छ।

प्रतिकृया दिनुहोस