रिपोर्ट शुक्रबार, वैशाख २६, २०७७

बन्दाबन्दीका ४५ दिन: यात्रा रोकिएन, कोभिड–१९ परीक्षण अघि बढेन

दीपक खरेल

बन्दाबन्दीका ४५ दिन: यात्रा रोकिएन, कोभिड–१९ परीक्षण अघि बढेन

बन्दाबन्दीकै बीचमा ६१ हजार सवारी साधनमार्फत र पैदल नै काठमाडौं भित्रिने र बाहिरिनेहरु साढे दुई लाख भन्दा बढी थिए । र, यही अवधिमा कोरोनाभाइरस संक्रमण पत्ता लगाउन गरिने पीसीआर र आरडीटी जाँच ७० हजारमा मात्र भयो । यात्रा रोक्न नसके पनि जाँच बढाउने सूत्र प्रयोग नभएको बन्दाबन्दीको यो परिदृश्यले जोखिम हदैसम्म बढेको देखिन्छ ।

२६ वैशाख बिहानसम्ममा देशका १६ जिल्लामा १०१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यीमध्ये २२ जना उपचारपछि फर्किए पनि तीन जनामा पुनः संक्रमण देखिएको छ । तीनमध्ये एक जना काठमाडौंका हुन्, जो ११ वैशाखमा उपचारपछि घर फर्किएका थिए । यस्तै १४ वैशाखमा निको भएर घर फर्किएका रौतहट र वीरगञ्जका एक–एक जनाको पुनः उपचार शुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार २४ वैशाखसम्म १४ हजार ५०९ जनाको पीसीआर जाँच र ५४ हजार ९३ जनाको र्‍यापिड टेस्ट (आरडीटी) भएको छ ।

संक्रमित पुष्टि भएकामध्ये तीन जनाको उपचार आईसीयुमा भइरहेको छ । संक्रमणको आशंकामा हालसम्म एकहजार २१० जनालाई आइसोलेसनमा राखिएको छ, जसमध्ये हाल १६७ जना रहेका छन् ।
यस्तै संक्रमण संभाव्यता भएका करीब २० हजार ९६९ जना देशभरका विभिन्न क्वारेन्टिनमा बसेका छन् भने घरमै अलग्गै बस्नेको संख्या १८ हजार १७८ जना रहेको छ । क्वारेन्टिनमा बसेर फर्कनेको संख्या २३ हजार ५२३ रहेको छ । बाहिरबाट आएका र संक्रमितको उद्दारमा खटिएका ५८ प्रहरी अधिकारीहरु पनि यतिखेर क्वारेन्टिनमा छन् ।

४४ दिन पुरा भएकाे बन्दाबन्दी बाहेक कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा हामीकहाँ आजसम्म भएको प्रयास यही हो ।

बन्दाबन्दी मानिस–मानिस बीचको सम्पर्क रोक्नका लागि हो भने संक्रमण परीक्षण, पुष्टि भएका संक्रमित र उसको सम्पर्क सूत्र पहिचान, तिनको जाँच र उपचारका चरणहरु कोभिड–१९ नियन्त्रणमा अपनाइएका विश्वव्यापी सूत्र हुन् ।

तर, बन्दाबन्दी लागू हुननसकेको कहालीलाग्दो परिदृष्यसँगै परीक्षण, पहिचान र उपचारतर्फ कायम उदासीनता हेर्दा लाग्छ– हामीबाट थुप्रै सुधार्न नसकिने गल्तीहरु भइसकेका छन् ।

भारतमा काम गर्दै गरेका नेपाली कामदार गाउँपालिकाकाे पहलमा नेपाल फर्कंदै । तस्वीर: मनाेरञ्जन शर्मा

राजधानी भित्रिने ७६ हजार, छाड्ने एकलाख ९० हजार
नेपालमा पुष्टि भएका संक्रमित १०१ मध्ये १४ जना हवाई यात्रु छन् । विभिन्न ८ वटा अन्तर्राष्ट्रिय उडानमा आएका एकहजार २५९ यात्रुमध्ये १० जनामा संक्रमण पुष्टि भयो । यी उडानमा रहेका १६६ जना अझै सम्पर्कमा आउन सकेका छैनन् । यस्तै ३ आन्तरिक उडानका २०१ यात्रुमध्ये ४ जनामा संक्रमण भेटियो । यी उडानका ६४ जना अझै सम्पर्कमा छैनन् ।

११ चैतदेखि २३ वैशाख (४२ दिन) मा काठमाडौं उपत्यका प्रवेश गर्ने पाँच नाकाबाट २८ हजार ३५३ सवारी साधन भित्रिए । जसमा ७५ हजार ३९० यात्रु थिए । नागढुङगाबाट मात्रै १८ हजार १७ वटा सवारीसाधनमा ४१ हजार २२२ यात्रु प्रवेश गरेका थिए ।

नागढुंगा भएर पैदल यात्रु आउन नपाएको भए पनि यो अवधिमा उपत्यका प्रवेशका अन्य तीन नाका मुड्खु, फर्पिङ र जगातेबाट भने ७६० जना भित्रिएका थिए । त्यस्तै जगातेबाट ९ हजार २०१, काठमाडाैंको मुड्खुबाट ३४०, फर्पिङबाट ७७० र साँखुबाट २५ सवारी साधन उपत्यका प्रवेश गरेका थिए ।

यो अवधिमा जगाते भएर १४ हजार ८४३ जना, मुड्खु भएर ६९८, फर्पिङ भएर ५७४ जना र साँखु भएर १ हजार ६७९ जना गरी कुल १७ हजार ७९४ जनाले पैदलै उपत्यका छाडेका थिए ।

यही अवधिमा ३२ हजार ६९६ सवारीसाधनमार्फत् एकलाख ७३ हजार ३५८ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए । यी सवारी साधनमध्ये अत्यावश्यक वस्तु र इन्धन आपूर्ति गर्ने सवारी साधन १ हजारको हाराहारीमा थिए ।

यो तथ्यांक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा निकायले बुझाएका हुन् ।

भक्तपुरकाे जगातेबाट काठमाडाै‌ बाहिरिन बस चढ्दै । तस्वीर: बिक्रम राई

झुक्याउने रोग–नखुल्ने ‘ट्रेसिङ’
१० चैत २०७६ मा रूपैडिहा नाका भएर १३८ महिलासहित कुल ७५८ जना भारतबाट नेपालगञ्ज भित्रिए । सबैलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राख्ने र स्वास्थ्य जाँच पश्चात मात्र सुरक्षित रुपमा गन्तव्य पठाउनु अगावै आधाभन्दा बढी भागे ।

१९ वैशाखमा नेपालगञ्जमा ६० वर्षीय एक पुरुषमा संक्रमण भेटियो । उनको सम्पर्कमा आएका १५ जनालाई २१ वैशाखमा र ७ जनालाई २३ वैशाखमा संक्रमण पुष्टि भयो । यी ६० वर्षीय पुरुष १० चैतमा क्याम्पसबाट भाग्नेमध्येका एक हुनसक्ने प्रहरीको आशंका छ । यतिवेला प्रदेश–५, कर्णाली र सुदूरपश्चिमका विभिन्न गाउँमा पुगेका उनीसँगै भाग्ने अन्य साढे तीनसय जना सम्पर्क बाहिर छन् ।

अहिलेसम्म कोभिड–१९ संक्रमितमध्ये २८ जना उदयपुरमा, २४ जना पर्सामा र २३ जना नेपालगञ्जमा भेटिएका छन् । संक्रमण संख्याका आधारमा शीर्ष तीन जिल्लाका अधिकांश संक्रमितहरुको सम्पर्क सूत्र भारतसँग जोडिएको छ । पुसदेखि वैशाखबीचमा भारतबाट आएकाहरुको संख्या ज्यादा छ । संक्रमितमध्ये उदयपुर, पर्सा र नेपालगञ्जमा मुस्लिम धर्मगुरु ज्यादा छन् ।

नेपालगञ्जमा ६० वर्षीय पहिलो संक्रमित, उदयपुरका मस्जिदका मौलाना र पर्साका भारतीय नागरिक सबै धर्मगुरु थिए । संक्रमण कसरी फैलिएको हो भन्ने स्वास्थ्य अनुसन्धानबाट पुष्टि गर्न सकिएको छैन ।

भारतको नयाँदिल्लीमा सम्पन्न तबलिगी जमातको इज्तिमामा सहभागीहरुमा संक्रमण देखिएपछि त्यसलाई भारतीय संचारमाध्यमले जसरी अतिरञ्जित गरे र गरिरहेका छन्, त्यसको बाछिटा नेपालमा पनि परेको छ । तर नेपाल प्रहरीको तथ्यांकले भारतका सबै धार्मिक सभा–सम्मेलनमा सहभागी जमातीहरुमा संक्रमण भएको देखाउँदैन । प्रहरीको विशेष ब्यूरोले तयार पारेको प्रतिवेदनमा भारतका तीन स्थानमा भएका जमाती सम्मेलनमा सहभागी ९३ मध्ये २ जना सम्पर्क बाहिर छन् । नियमित सम्पर्कमा रहेका बाँकीलाई क्वारेन्टिनमा राखेर अहिले घर पठाइसकिएको छ।

प्रहरी तथ्यांक अनुसार अब नेपालमा भेटिएका संक्रमितहरुलाई भारतको नयाँदिल्लीको इज्तिमासँग जोडिने आधार भनेको एकजना संक्रमित बाहेक अन्यमा देखिएन । स्वास्थ्यविज्ञहरु अहिले पनि संक्रमितहरुमा कहाँबाट संक्रमण फैलियो भन्ने विषयको खोजमै छन् । नेपालमा भेटिएका संक्रमणका घटनामा पेरिसबाट आएकी युवती र उनको सम्पर्कमा पुगेका र अर्का हवाई यात्रुमा बाहेक अन्य कहाँबाट कसरी संक्रमित भए खुल्न सकेको छैन ।

नेपालगञ्ज लगायतका घटनामा समेत कोभिड–१९ को संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने शैलीको यकिन हुनसकेको छैन । यी घटनाहरुमा संक्रमितको नियमित सम्पर्कमा रहने व्यक्तिमा सरेको नदेखिंदा यसको सरुवा शैली रहस्यमै छ ।

कुन जिल्लामा कति संक्रमण !
कोभिड–१९ संक्रमित पुष्टि हुनेमा काठमाडौंमा ३, ललितपुर २, उदयपुर २८, पर्सा २४, चितवन २, बाग्लुङ २, कञ्चनपुर १, कैलाली ४, भोजपुर १, रौतहट ३, झापा २, सर्लाही १, बारा २, बाँके २३, रुपन्देही १, कपिलवस्तुमा २ जना छन् । यस्तै उपचारपछि काठमाडौंमा ३, बाग्लुङ २, कैलाली ३, कञ्चनपुर १, ललितपुर २, चितवन १, पर्सा ३ र रौतहटमा १ जना घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस