रिपोर्ट बुधबार, वैशाख २४, २०७७

बन्दाबन्दीमा परिवार नियोजनका साधनको अभाव, जोखिममा महिला

लक्ष्मी बस्नेत

बन्दाबन्दीमा परिवार नियोजनका साधनको अभाव, जोखिममा महिला
इनडटयुगभडटकम

बन्दाबन्दीमा लामो समय श्रीमान श्रीमती सँगै बस्ने समय मिलेकाे र परिवार नियोजनका साधनमा पहुँच भने घट्न गएकाे कारण अनिच्छित गर्भ बस्ने खतरासँगै असुरक्षित गर्भपतनले महिलाको ज्यानै जोखिममा पर्ने खतरा बढेको छ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यलाई वैशाख दोस्रो सातादेखि स्थानीय महिलाहरुले फोन गरेर एकै खालको समस्या सुनाउन थालेका छन्। बाहिर भएका श्रीमान् घरमा लामो समय बस्दा अनिच्छित गर्भ बस्न सक्ने उनीहरुको चिन्ता थियो। 

उपाध्यक्ष आचार्य भन्छिन्, “स्वास्थ्य चौकी टाढा भएका कारण जान नसक्दा परिवार नियोजनका साधन सकिएको छ । अनिच्छित गर्भ बस्न सक्ने गुनासो गरेर दैनिकजसो फोन आउन थालेको छ।” बन्दाबन्दीले श्रीमान् श्रीमती नै घरमा हुँदा धेरैसँग यस्ता साधन सकिएको छ।

घर बाहिर बसेकाहरु एक्कासी घर फर्किँदा पनि मौजाद नभएकाहरु समस्यामा परेका हुन् । नियमित प्रयोगकर्तासमेत साधन लिन स्वास्थ्य संस्था जान सकेका छैनन् । माग बढी भएकाले कतिपय स्वास्थ्य चौकीमा मौजाद सकिँदै गएको छ।

स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले बन्दाबन्दी शुरु हुनुअघि नै परिवार नियोजनका साधन प्रयोग गर्दै आएकालाई कम्तीमा तीन महिनाको मौज्दात राख्न सचेत गराएको थियो । प्रदेश र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पनि तीन महीनाका लागि मौज्दात राख्न पहिले नै भनिएको महाशाखा अन्तर्गत परिवार नियोजन तथा स्वास्थ्य प्रजनन शाखा प्रमुख कविता अर्यालले जानकारी दिइन्।

परिवार नियोजनका साधन माग करीब २० प्रतिशतसम्म बढेको पाइयाे । यो धेरैले ध्यान नदिएको विषय रहेछ । तर, यसलाई अत्यावश्यक सेवाभित्र राख्नुपर्ने रहेछ।”

मकवानपुरको बकैया गाउँपालिकाले परिवार नियोजनका साधन माग गरिसकेको तर, आइनसकेको उपाध्यक्ष सरला बोलखेले जानकारी दिइन् । स्वास्थ्य चौकीहरुसँग कुरा गर्दा परिवार नियोजनाको साधनको माग करीब २० प्रतिशतसम्म बढेको पाइएको उनले बताइन् । तर, गाउँपालिकामा अहिलेसम्म अभाव नभएको उनको भनाइ छ । बालखे भन्छिन्, “यो धेरैले ध्यान नदिएको विषय रहेछ । तर, यसलाई अत्यावश्यक सेवाभित्र राख्नुपर्ने रहेछ।”

स्याङजाको पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले फागुन अन्तिमतिरै परिवार नियोजनका साधनका साथै निःशुल्क वितरण गरिने औषधि समेत मौज्जात राखिसकेको बताइन् । उनले भनिन्, “नगरपालिकाका स्वास्थ्य चौकीमा पनि काम गर्ने महिला स्वास्थ्यकर्मी धेरै छन्, यस्ता कुरा उहाँहरुकै सुझावमा समयमा नै व्यवस्थापन गर्न सजिलो भयो । असारसम्म कुनै पनि साधन अभाव हुँदैन।”

महिला अधिकारकर्मी एवं प्रजनन अधिकारका क्षेत्रमा काम गर्दै आएकी डा. रेणु अधिकारीले विभिन्न प्रदेशका एक दर्जनभन्दा बढी स्थानीय तह उपप्रमुख महिलाहरुसँगको ‘भर्चुअल’ बैठकमा प्रजनन् अधिकारबारे सुझाव दिएको बताइन् । उनले भनिन्, “कतिपयले यो विषय पहिचान गरेर काम गर्न थालिसक्नु भएको रहेछ, तर हाम्रोमा जहिले पनि दाल, चामल र नुनतेलको बहस मात्रै हुन्छ, भोको पेटसँगै त्यतिकै महत्वपूर्ण अरु समस्याको पहिचान ढिला हुन्छ ।”

श्रीमान श्रीमतीबीचको शारीरिक सम्बन्धलाई पनि सुरक्षित नबनाउँदा मानसिक र शारीरिक मारमा महिलाहरु नै पर्ने उनी बताउँछिन् । स्त्री तथा प्रसुति रोग विशेषज्ञसमेत रहेकी डा. अधिकारी भन्छिन्, “कोरोनाको महामारी तत्काल अन्त्य हुने अवस्था छैन । यदि हवाइ उडान खुल्यो भने त विदेशमा भएकाहरु लाखौं घर फर्किने भएकाले संघ, प्रदेश र स्थानीय सरकार चनाखो हुनुपर्छ ।”

तर कतिपय पुरुषहरुले परिवार नियोजनको साधन प्रयोग गर्न आफू पनि नमान्ने र सल्लाह गर्दा समेत वास्ता नगर्ने गुनासो महिलाहरुले जनप्रतिनिधिहरुसँग गरेका छन् । एक गाउँपालिका उपाध्यक्षले भनिन्, “पढेलेखेकै श्रीमानले समेत भोलि मरिन्छ कि बाँचिन्छ भनेर गैरजिम्मेवारी कुरा गर्ने गरेको महिलाहरुले फोनमा भन्नुभयो, श्रीमानले भोलि पर्ने समस्याबारे वास्तै नगर्दा त्यही विषयमा श्रीमान श्रीमतीबीच झैझगडा पनि हुने गरेको पाइयो।”

परिवार नियोजनको अस्थायी साधनमा पुरुषले गरी पाँच प्रकारका साधन प्रयोग हुन्छ । पुरुषले प्रयोग गर्ने कण्डम मात्र हो । परिवार कल्याण महाशाखाका अनुसार २०२० को चार महिनाको तथ्यांक हेर्दा अस्थायी साधनमध्ये कण्डम बढी खपत हुन्छ । यो मासिक करिब १५ लाख ६० हजार खपत हुन्छ।

महिलाले प्रयोग गर्नेमा डिपो (प्रत्येक ३ महिनामा लगाइने सुई) मासिक करीब एकलाख दुईहजार, पिल्स एकलाख ३१ हजार, आइयुसिडी (१२ वर्षसम्म काम गर्ने) दुई हजार र इम्प्लान्ट (पाखुरामा राख्ने) ६ हजारका दरले खपत हुन्छ । महिलाले गर्ने मिनिल्याब र पुरुषले गर्ने भ्यासेक्टोमी स्थायी परिवार नियोजनका विधि हुन्।

तस्वीर: सटरस्टक

विश्वव्यापी चिन्ता
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले सामान्य स्वास्थ्य सेवामा अवरोध, बन्दाबन्दी र सामग्री आपूर्तिमा हुने बाधाले महिला र किशोरीहरुको प्रजनन अधिकार कटौति हुने जनाएको छ । यूएनएफपीएले ६ महिना बन्दाबन्दी भए कम तथा मध्यम आयस्रोत भएका ११४ देशमा ४७ मिलियन महिलाले गर्भ निरोधक साधनको पहुँच गुमाउनेछन् । सात मिलियनको इच्छा विपरित गर्भधारण हुने प्रक्षेपण छ।

विश्व स्वास्थ्य संगठनका साथै परिवार नियोजन तथा प्रजनन अधिकारका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुले पनि तीन महिना बन्दाबन्दी भए विश्वभर एककरोड ३० लाखभन्दा बढी महिला गर्भनिरोधक (परिवार नियोजन) का साधनबाट वञ्चित हुने जनाएका छन् । परिवार नियोजनको साधन प्रयोगमा असर पर्दा विश्वभर नै अनिच्छित गर्भाधान हुने र त्यसपछि असुरक्षित गर्भपतन गर्दा ज्यानै जोखिममा भएर महिलाको मृत्यु हुन सक्ने खतरा हुने विज्ञहरुले बताएका छन् ।


“क्वारेन्टिनबाट फर्किनेलाई परिवार नियोजनका साधन दिनुपर्छ”
– कविता अर्याल, प्रमुख, परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य शाखा, स्वास्थ्य मन्त्रालय्

महामारीका बेला विश्वव्यापीरुपमै असामान्य अवस्था हुँदा परिवार नियोजनको साधनको प्रयोगमा असर पर्छ । यसैलाई मध्यनजर गर्दै हामीले तीन महीनाका लागि मौजाद राख्न फागुन अन्तिम सातादेखि नै प्रदेश र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई भनिसकेका छौं।

प्रदेश र स्थानीय सरकारमा पनि स्वास्थ्य क्षेत्र हेर्ने छुट्टै संरचना र कर्मचारी हुने भएकाले उहाँहरुबीच समन्वय र समस्या परे समाधानका लागि छलफ हुनुपर्छ । योबारे हामीसम्मै भने कुनै समस्या आइसकेको छैन । अरु सामान्य अवस्थामा, जस्तै चाडबाड, खेतीपातीको समयमा मान्छेहरु घर फर्किने हुँदा त्यति बेला यस्ता साधनको माग बढ्ने कुरामा ध्यान दिने गरेका छौं।

अहिले बन्दाबन्दीकै कारण स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने अवस्था हुन सक्छ, यसको व्यवस्थापन स्थानीय सरकारले गर्छ होला । तर, साधनको अभाव भने तत्कालै भइहाल्दैन । बरु क्वारेन्टिनमा बसेर घर जानेहरुलाई आवश्यकता अनुसार दिने व्यवस्था गर्नुपर्छ । एक त विदेश वा अन्यत्र भएकाहरु घर फर्किने र अर्को घरमै पनि फुर्सदमा हुँदा सम्बन्ध बढ्ने नै हुन्छ।

यसमा श्रीमानश्रीमती दुवैले छलफल गर्नुपर्छ । बन्दाबन्दी खुलेपछि घर जाने संख्या झन् बढ्छ र माग अझै बढ्छ । त्यसैले यो विषय श्रीमतीको मात्र चिन्ताको विषय हुने अवस्था आउन नदिन श्रीमानहरुले पनि ध्यान दिनुपर्छ।

प्रतिकृया दिनुहोस