रिपोर्ट विहीबार, वैशाख २५, २०७७

रुपन्देहीका स्वास्थ्य संस्थामा बिरामी घटे, औषधि बिक्रीमा गिरावट

मुकेश पोखरेल

रुपन्देहीका स्वास्थ्य संस्थामा बिरामी घटे, औषधि बिक्रीमा गिरावट

कोरोनाभाइरस संक्रमणको जोखिम र बन्दाबन्दीका कारण अस्पतालमा बिरामीको संख्या घटेसँगै औषधि बिक्री ६ गुणाले कमी आएको छ।

बन्दाबन्दी अघि भैरहवास्थित यूनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालको बहिरङ्ग विभागमा स्वास्थ्य जाँचका लागि दैनिक ७ सय बिरामी आउँथे। अहिले दैनिक १ सय बिरामी आउने गरेका मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए।

उनका अनुसार, आकस्मिक कक्षमा पहिले ८० जनासम्म बिरामी आउने गरेकोमा अहिले यो संख्या ४० को हाराहारीमा छ।

बुटवलस्थित वुटवल अस्पताल प्रालिमा दैनिक ३ सय बिरामी आउने गरेकोमा अहिले यो संख्या १ सय मात्र छ। अस्पतालका प्रबन्ध निर्देशक मुक्ति पौडेलका अनुसार, ५० बेड क्षमताको अस्पतालमा अहिले २५ जना मात्र बिरामी छन्।

निजी स्वास्थ्य संस्था मात्र होइन, सरकारी अस्पताल आउने बिरामीको संख्या पनि घटेको छ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक ६ सय बिरामी आउने गरेकोमा अहिले यो संख्या १ सय ५० को हाराहारीमा रहेको अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए। “हामीले एक महीनासम्म बहिरङ्ग सेवा बन्द गरेका थियौं, आइतबारदेखि खुलाउने तयारी गरेका छौं”, उनले भने।

वरिष्ठ फिजिसियन डा. मनोहर जोशी बिरामीको संख्या घट्नुको कारण बन्दाबन्दी र यातायात बन्दलाई मान्छन्। उनका भनाइमा सरकारले नै अस्पतालका बहिरङ्ग सेवा बन्द गर्न दिएको निर्देशन, अत्यन्तै आवश्यक नपरी अस्पताल नआउन गरिएको आग्रहका कारण अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बिरामीको संख्या घटेको हो।

“अहिले यातायातका साधन नचलेको र आकस्मिक अवस्था बाहेकका सर्वसाधारणलाई अस्पताल नआउन गरिएको आग्रहका कारण संख्या घटेको हो”, जोशी भन्छन्, “इमर्जेन्सी परेका बिरामी आएका छन्, अरु सामान्य खालका बिरामी नआएका मात्र हुन्।”

घट्यो औषधि कारोबार

अस्पताल तथा निजी स्वास्थ्य संस्थाहरूमा बिरामी आउन छोडेपछि औषधिको बिक्री पनि घटेको छ।

नेपाल औषधि व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुरज भट्टराईका अनुसार, चैत महीनामा औषधिको कारोबार ६ गुणाले घटेको छ। उनले २०७५ चैतमा रुपन्देहीमा रु.६५ करोड बराबरका औषधिको कारोबार भएकोमा गएको चैतमा रु.१२ करोडको मात्र कारोबार भएको बताए। “वैशाख महीनामा रु.५ करोड पुग्न पनि मुश्किल छ”, उनी भन्छन्।

कोरोनाभाइरसको महामारीबाट उत्पन्न परिस्थितिका कारण औषधि बिक्रीमा परेको प्रभाव डेढ वर्षपछि देखिने औषधि उत्पादक तथा व्यवसायीहरू बताउँछन्।

नेपाल औषधि व्यवसायी संघ साविक लुम्बिनी अञ्चलका महासचिव लुकराज न्यौपाने बिक्री नभएको औषधिको म्याद गुज्रिने र उक्त औषधि उद्योगहरुले फिर्ता लिनुपर्ने अवस्था उत्पन्न हुने बताउँछन्। औषधि उत्पादक समेत रहेका भट्टराई भन्छन्, “नबिकेर म्याद गुज्रेका औषधि फिर्ता लिनुपर्दा उद्योगलाई घाटा हुन्छ। दुई वर्षपछि औषधि उद्योगले अर्बौंको घाटा व्यहोर्नुपर्ने अवस्था आउँछ।”

अघिल्लो वर्षको खपतका आधारमा उद्योगहरूले औषधि उत्पादन गर्ने गरेको र अहिले ठूलो परिमाणमा औषधि उद्योगमै थन्किएको न्यौपाने बताउँछन्।

विश्वव्यापी महामारीले औषधिमा मूल्यवृद्धि गराएको छ। नेपाल औषधि व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भट्टराई औषधिको कच्चा पदार्थमा ३ सयदेखि ४ सय प्रतिशत मूल्यवृद्धि भएका कारण अब बजारमा आउने औषधि सोही अनुपातमा महँगो हुने बताउँछन्।

नेपालमा औषधि उत्पादनको कच्चा पदार्थ भारतबाट आयात हुन्छ। भारतले चीनबाट आयात गर्छ। चीनबाटै बढेको मूल्यमा आयात गरिएको कच्चा पदार्थ भारतीय बिक्रेता हुँदै नेपाल भित्रिंदा थप मूल्यवृद्धि भएको औषधि उत्पादकहरू बताउँछन्।

रुपन्देहीमा १० वटा एलोपेथिक र चार वटा आयुर्वेदिक औषधि उद्योग छन्।

प्रतिकृया दिनुहोस