रिपोर्ट आइतबार, वैशाख २१, २०७७

बन्दाबन्दीपछिको देहातः समस्याका बीच सम्भावनाको खोजी

मुकेश पोखरेल

बन्दाबन्दीपछिको देहातः समस्याका बीच सम्भावनाको खोजी
सर्वसाधारणलाई साबुन पानीले हात धुन सिकाइँदै ।

तराई–मधेशको देहाती गाउँमा बन्दाबन्दीले विपन्न र किसानलाई संकटतर्फ धकेलेको छ, यद्यपि असहजताका बीच समाजको चालचलन र जीवन–संस्कृतिमा केही सकारात्मक परिवर्तन पनि देखिएका छन्।

कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि ४० दिनयता देशभर लगाइएको लकडाउन (बन्दाबन्दी) का कारण शहर–बजार मात्र होइन, मध्य तराईका जिल्लाका देहाती गाउँसम्म प्रभावित छ। नियमित कामधन्दा रोकिंदा जनजीविका बिथोलिएको छ।

विगत वर्षमा गहुँ भित्र्याउने काम सकिएपछि वैशाखदेखि देहाती गाउँ रित्ता हुन्थे। दुई–चार पैसा आर्जन गर्न कृषि मजदूरका रूपमा भारतको हरियाणा र पञ्जाव जानेको लस्करलाई यसपाली बन्दाबन्दीले रोक्यो। पत्रकार चन्द्रकिशोरका अनुसार, त्यसरी जानेहरूले वैशाखदेखि दुई महीना काम गरेर भारु २०\२५ हजार ल्याउँथे। “ल्याएको पैसाले उनीहरू अँधियामा खेत लिएर उत्पादनमा पैसा लगाउँथे, तर बन्दाबन्दीले गर्दा मानिसहरू गाउँमा बेरोजगार भएका छन्”, सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा रहेका उनले भने।

भारत जानेहरू विपन्न परिवारका हुन्। अहिले उनीहरुको घरमा अन्न सकिएको छ। स्थानीय तहले राहतस्वरूप अन्न त वितरण गरेका छन्, तर ठूलो परिवार हुनेका लागि पर्याप्त छैन। “१५ किलो अन्नले १० जनाको परिवारलाई कति दिन पुग्छ र”, चन्द्रकिशोर भन्छन्। अन्न हुनेले पनि मूल्यवृद्धि होला महँगो मूल्य गरौंला भनेर अहिले बिक्री गर्न नमान्दा देहातका विपन्न कष्टकर अवस्थामा रहेको उनी बताउँछन्।

तराईमा अहिले मकै र आँप उत्पादनको मुख्य सिजन हो। तर, अहिले डिजल अभावमा सिंचाइमा समस्या भएको छ। यस्तै, यो वेला फूल खेल्दै गरेको आँपको बोटलाई रोग किराबाट बचाउन छर्किनुपर्ने विषादी पनि सहज रुपमा उपलब्ध छैन।

यसबाहेक किसानले भर्खरै आलु भित्र्याए। तर, कोल्डस्टोरसम्म लैजान नसकेर आलु घरमै थन्किएको छ।

सप्तरी घर भएका पूर्व राजनीतिज्ञ जयप्रकाश गुप्ता मोरङको कटहरी गाउँपालिकाको थलरा गाउँ गएको वेला बन्दाबन्दीका कारण उतै रोकिए। विराटनगरदेखि १६ किलोमिटर उत्तर–पूर्वमा पर्ने थलरामा उनको कृषि फार्म छ। उनले त्यहाँ रहँदा बन्दाबन्दीका बीच हाटबजारमा मानिसहरूको भीड देखिरहेका छन्, जसलाई उनी कृषिसँग दूरी राख्ने स्थानीयको प्रवृत्तिसँग जोडेर व्याख्या गर्छन्।

गुप्ता भन्छन्, “देहातमा दुई–चार कठ्ठा खेत हुनेले पनि तरकारी र फलफूल रोप्दैनन्, आफ्नो खेत भएर पनि तरकारी नलगाउँदा धेरै जना बजारसँग आश्रित छन् र उनीहरु हाट खोज्दै गाउँगाउँ डुल्छन्।”

विगतमा नहरको किनारमा लाग्ने हाटबजारहरू अहिले बन्दाबन्दीका कारण गाउँको बाँसझ्याङ छेउछाउमा लाग्छन्। जहाँ बाक्लो भीडभाड हुन्छ। यसले संक्रमणको जोखिम बढेको गुप्ता बताउँछन्। मानिसहरूमा विराटनगर, इनरुवा लगायत ठूलो बजारमा जान नहुने तर गाउँघरमा जति हिंडडुल गरे पनि केही फरक पर्दैन भन्ने सोच रहेको उनको बुझाइ छ।

रुपन्देहीको रोहिणी गाउँपालिका धकधईमा फूल लागेको आँपको बोट ।

यस्तो मनोविज्ञान तराईका हरेकजसो जिल्लाका देहातमा पाइन्छ। महोत्तरीको जलेश्वरका बजरंग नेपाली बन्दाबन्दी केको लागि गरिएको सबैले बुझ्न नसकेको बताउँछन्।

मध्य र पूर्वी तराईका गाउँमा भन्दा पश्चिम तराईको देहातमा बन्दाबन्दीबारेको बुझाइ केही राम्रो रहेको कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–६ बुटनियाका रामप्रसाद यादव बताउँछन्। “यद्यपि एक महीनाभन्दा बढी समयको बन्दाबन्दीले आर्थिक समस्या बढ्दै गएपछि काम खोज्न लुकिछिपी बजार जानेहरूको संख्या बढ्न थालेको छ”, उनी भन्छन्।

बन्दाबन्दी लम्बिएपछि किसानहरुलाई धानको बीउ र रसायनिक मल कसरी जुटाउने भन्ने पिरलो भएको छ। तराईमा किसानले भर्खर गहुँ भित्र्याएका छन्। अब केही दिनमा धानको ब्याड राख्ने समय शुरू हुन्छ। तर, त्यसका लागि धानको बीउ र मल जुटाउने समस्या रहेको रुपन्देहीको रोहिणहवा गाउँपालिका धकधईका सञ्जय गुप्ता बताउँछन्।

देहाती गाउँका बासिन्दाका लागि नुन–तेलदेखि बीउ र मलसम्म किनमेलको प्रमुख स्रोत भारतीय सीमावर्ती बजार हुन्। तर बन्दाबन्दीका कारण मल ल्याउन नसक्दा यस वर्ष खेती चौपट हुने चिन्तामा किसानहरू रहेको गुप्ता बताउँछन्। “सीमा पूर्णरूपमा बन्द छ, अब कसरी धानको ब्याड राख्ने हो”, उनको अन्योल छ।

संकटले ल्याएको परिवर्तन

कोरोनाभाइरस महामारी र बन्दाबन्दीले देहातका विपन्न र किसानलाई समस्या मात्र थोपरेको छैन, देहातका गाउँमा अवसर र सम्भावना पनि देखाएको छ। कतिपय परम्परा ब्यूँतिंदै छन्, कतिपय नयाँ आशाको बीज रोपिएको छ।

पत्रकार चन्द्रकिशोर बन्दाबन्दीमा गाउँगाउँ डुलेर तरकारी, माछा बिक्री गर्ने चलन शुरू भएको बताउँछन्। जसलाई उनी सकारात्मक मान्छन्। मध्यतराईको सर्लाहीमा जस्तै पश्चिम तराईको परासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लाको देहातका गाउँबाट साइकलमा तरकारी बिक्री गर्न बजार आउने किसानको संख्या पनि बढेको छ। यसलाई सकारात्मक शुरूआत मान्छन्, चन्द्रकिशोर।

महामारीले गाउँका मानिसलाई आफ्नो स्वास्थ्य र सरसफाइप्रति पहिलेभन्दा सचेत बनाएको छ। हात धोएर खाना खाने चलन पनि बढेको छ। यस्तै, देहातका चोक र चौतारामा भेला भएर एक जनाले माडेको खैनी अन्य सबैले खाने चलन थियो। तर, अहिले मानिसहरू त्यसो गर्दैनन्।

देहातका गाउँमा देखिन थालेको अर्को राम्रो संकेत हो, गाउँलेहरूमा अब व्यवस्थित र विस्तारित हिसाबले खेती गर्नुपर्छ भन्ने सोच बढेको छ। जलेश्वरका बजरंगी नेपाली भन्छन् “देहातबाट वैदेशिक रोजगारीमा गएका युवाहरू फर्केपछि तिनलाई उत्पादनमा लगाउनुपर्छ भन्ने सोच विकास भएको छ। २० वर्षदेखि बढेको खेती नगर्ने प्रचलनमा सुधार आउने संकेत देखिंदैछ।”

प्रतिकृया दिनुहोस