रिपोर्ट शनिबार, वैशाख २०, २०७७

अनलाइन कक्षामा त्रिविकाे नियम: अनिवार्य हाजिर र औपचारिक पोशाक !

नुनुता राई

अनलाइन कक्षामा त्रिविकाे नियम: अनिवार्य हाजिर र औपचारिक पोशाक !

त्रिविले अनलाइन कक्षामा पनि अनिवार्य औपचारिक पोशाक र हाजिरीको व्यवस्था गरेपछि धेरै विद्यार्थी र शिक्षक नै आश्चर्यमा परेका छन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को समाजशास्त्र विभागमा स्नातकोत्तर दोस्रो सेमेष्टरमा अध्ययनरत मनोज खतिवडा यति वेला ओखलढुंगाको हर्कपुरमा छन् । विभागले अनलाइन कक्षा शुरु गरेको छ । तर, त्यो कक्षामा सामेल हुन उनले औपचारिक पोशाक लगाएर बस्नुपर्नेछ ।

त्रिविले जारी गरेको ‘विद्युतीय माध्यम (अनलाइन) बाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७’ मा अनलाइन कक्षामा भाग लिने शिक्षक र विद्यार्थीले अनिवार्य औपचारिक पोशाक लगाउनुपर्ने व्यवस्था छ । त्यस्तै विद्यार्थीको अनिवार्य हाजिर गर्नुपर्ने व्यवस्था पनि छ ।

यस्तो व्यवस्था अनौठो भएको समाजशास्त्रका विद्यार्थी खतिवडा बताउँछन् । उनी भन्छन्, “त्रिविको केन्द्रीय क्याम्पसमा औपचारिक पोशाक अनिवार्य छैन, तर विश्वविद्यालयले घरबाट अनलाइन कक्षामा सहभागी हुँदा लाउनुपर्ने नियमले आश्चर्य बनाएको छ ।”

काठमाडौंको रत्नराज्य क्याम्पस प्रदर्शनीमार्गमा अंग्रेजीमा स्नातकोत्तर पहिलो सेमेस्टर अध्ययनरत मन्जु टेलर पनि अनिवार्य औपचारिक पोशाकको निर्णयले आश्चर्यमा पारेको बताउँछिन् । औपचारिक पोशाक भनेको तोकिएको निश्चित पोशाक हो वा होइन भन्नेमा पनि विद्यार्थी द्विविधामा छन् । टेलर भन्छिन्, “कलेज जाँदा अनिवार्य नगरेको औपचारिक पोशाक अनलाइन कक्षामा अनिवार्य गरेको देख्दा हाँसो लाग्यो । पोशाकभन्दा सहभागी र प्रस्तुतिलाई महत्व दिनुपर्ने हो ।”

उनी शिक्षककै संयोजनमा भइरहेको अनलाइन कक्षामा सहभागी भइरहेकी छिन् । त्रिविले गरेको अनिवार्य हाजिरीलाई भने उनी स्वाभाविक मान्छिन् । उनी भन्छिन्, “सेमेष्टरमा पढ्ने विद्यार्थीका लागि कलेजमा पनि नियमित हाजिरी अनिवार्य छ । अनलाइन कक्षामा पनि नियमित हाजिरी इन्टरनेटमा पहुँच भएकालाई ठीकै हो । तर, पहुँच नहुने विद्यार्थीलाई पनि कलेजले व्यवस्थापन गर्नुपर्छ ।”

पद्मकन्या क्याम्पसमा स्नातक अध्ययनरत विद्यार्थी करुणा बुढा अनलाइन कक्षामा अनिवार्य हाजिरीको व्यवस्थाले चिन्तित बनाएको बताउँछिन् । उनी भन्छिन्, “मेरा केही साथीहरु लकडाउनअघि घर गएका छन् । उनीहरुको घरमा फोन पनि भनेको बेला लाग्दैन । त्यस्तो ठाउँबाट कसरी अनलाइन कक्षामा आउन सक्छन् । पछि त्यही निहुँमा परीक्षा दिन नपाउने हुन् कि भनेर डर छ ।”

रत्नराज्य क्याम्पसका अंग्रेजीका उपप्राध्यापक यादव अधिकारी अनलाइन कक्षामा सहभागी हुन नपाएका विद्यार्थीका लागि अनिवार्य हाजिरले समस्या गर्ने आशंका गर्छन् । उनी भन्छन्, “विभिन्न कारणले अनलाइन कक्षामा सहभागी हुन नसकेका अथवा नियमित हुन नसकेका विद्यार्थीको पढाइ त छुट्छ नै, हाजिर नपुगेकै कारण परीक्षामा समस्या हुने हो कि भन्ने डर पनि छ । यसका लागि त्रिविले तुरुन्तै विकल्प दिनुपर्छ ।” सेमेष्टर प्रणालीमा अध्ययनरत विद्यार्थीलाई ८० प्रतिशत हाजिरी अनिवार्य गरिएको छ ।

मानवशास्त्र विभाग प्रमुख डा.डम्बर चेम्जोङ त्रिविले अनलाइन कक्षामा अनिवार्य हाजिर गर्नु गलत भएको बताउँछन् । उनी भन्छन्, “अधिकांश विद्यार्थी चाहेर पनि अनलाइन कक्षा लिनसक्ने अवस्थामा छ्रैनन् । यस्तो अवस्थामा अनिवार्य हाजिर गर भन्नु संसारकै लाजमर्दो कुरा हो ।”

त्रिविले इन्टरनेटको पहुँचमा नभएका र कमजोर नेटवर्क भएर अनलाइन कक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई परीक्षाबाट वञ्चित गराउन खोजेको उनको आरोप छ । उनी भन्छन्, “अनिवार्य हाजिर भन्नुको अर्थ इन्टरनेटको पहुँचमा नभएका र कमजोर नेटवर्क भएर अनलाइन कक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई परीक्षाबाट वञ्चित गराउने कुरा हो ।” डा. चेम्जोङ अनलाइन कक्षामा औपचारिक पोशाक प्रयोग अनिवार्य गर्नु पनि हास्यास्पद भएको बताउँछन् ।

शिक्षाविद् डा. विद्यानाथ कोइराला विश्वविद्यालयले जारी गरेको निर्देशिकामा भने जस्तो अनिवार्य अनलाइन हाजिर गर्नुपर्ने, औपचारिक पोशाक लगाउनुपर्ने नियम अव्यावहारिक भएको बताउँछन् । उनी भन्छन्, “हामीले त विद्यार्थीको उपलब्धि, क्षमता खोज्ने हो, हाजिर खोज्ने होइन । झनै अनिवार्य औपचारिक पोशाकको कुरा सुन्दा पनि लाजमर्दो छ ।”

“घरबाटै अनलाइन कक्षा त हो भनेर जे पायो त्यही लगाएर आउन पनि सक्छन् । अनलाइन कक्षामा पनि गन्जी लगाएर बस्न त भएन नि । त्यही भएर औपचारिक पोशाक तोकिएको हो ।”

शिवलाल भुसाल, शिक्षाध्यक्ष, त्रिवि

त्रिवि शिक्षाध्यक्ष शिवलाल भुसाल कुन शिक्षकले कति विद्यार्थीलाई पढाए भन्ने प्रमाणका लागि अनलाइन कक्षामा अनिवार्य हाजिरी गर्न लगाएको बताउँछन् । घरबाट अनलाइन कक्षामा सहभागी हुँदा जुनसुकै कपडा लगाएर आउने समस्यालाई समाधान गर्न औपचारिक पोशाकको व्यवस्था गरिएको उनको भनाइ छ ।

उनी भन्छन्, “घरबाटै अनलाइन कक्षा त हो भनेर जे पायो त्यही लगाएर आउन पनि सक्छन् । अनलाइन कक्षामा पनि गन्जी लगाएर बस्न त भएन नि । त्यही भएर औपचारिक पोशाक तोकिएको हो ।”

प्रतिकृया दिनुहोस