ब्लग शनिबार, वैशाख २०, २०७७

कम्युनिष्ट नेताहरूको हत्या रोक्ने त्यो समाचार

भैरव रिसाल

कम्युनिष्ट नेताहरूको हत्या रोक्ने त्यो समाचार

पञ्चायती सरकारले २०३२ सालमा केही कम्युनिष्ट नेता–कार्यकर्तालाई पक्राउ गरेर गुपचुप नै राखी हत्या गर्ने योजना बनाइरहँदा एउटा समाचारले उनीहरूको जीवन बचाएको थियो।

पञ्चायती शासन उग्र भएको समय थियो। सरकार संरक्षित सामन्तहरूमाथि सशस्त्र कारबाही र शासन विरोधी गतिविधि हुन थालेपछि कम्युनिष्ट युवाहरूलाई धमाधम पक्राउ गर्न थालिएको थियो। कतिलाई हत्या पनि गरिएको थियो।

२०२८ देखि २०३० सालसम्म झापामा युवा कम्युनिष्टहरूको नेतृत्वमा सशस्त्र आन्दोलन चलेको थियो, जसलाई झापा विद्रोह पनि भनिन्छ। त्यसपछि पञ्चायती सरकार आगो भई धरपकड र दमनमा उत्रेको थियो।

त्यसै क्रममा १६ माघ २०३२ मा झापाको चन्द्रगढीबाट सीपी मैनाली, गौरा प्रसाईं, तारानिधि भुर्तेल, गोविन्द न्यौपाने, लीला कुँवर लगायत पक्राउ परेछन्। उनीहरूलाई मार्ने योजना अनुसार मेची अञ्चल प्रशासन गृह पञ्चायत मन्त्रालयबाट गोप्य आदेश पर्खिरहेको थियो।

भैरव रिसाल

यस्ता कुरा राष्ट्रिय समाचार समिति (रासस) का झापा समाचारदाता रामचन्द्र पोख्रेल थाहा पाउँथे। किनकि, उनी तनहुँका नेपाली कांग्रेसका खाँटी नेता गोवर्द्धन पोख्रेलका जेठा छोरा थिए। रामचन्द्र राजनीति सुँघ्न सक्थे, तर राससमा छउञ्जेल कांग्रेसको राजनीति कहिल्यै मिसाएनन्। कम्युनिष्ट पार्टीको त्यत्रो रक्तपातपूर्ण आन्दोलन हुँदा समेत सरुवा पनि मागेनन्।

अञ्चल प्रशासनको चाल बुझेका रामचन्द्रले सीपीहरू पक्राउ परेको समाचार कसरी राससमा मेरो हात पर्ने गरी पठाउने भन्ने उपाय खोज्न लागेछन्। म राससको प्रमुख समाचारदाता थिएँ। हुलाकबाट चिठी पठाए वा आकाशवाणी टेलिफोनबाट पठाए सेन्सर हुन्थ्यो। तसर्थ हाते चिठी मात्र सुरक्षित हुने ठम्याएर हवाईजहाजबाट काठमाडौं जाने भरपर्दो मान्छे मार्फत पठाउनु उचित हुने ठानेछन्। त्यस्तो यात्री खोजी गर्दा उद्योगपति मोहनलाल अग्रवाललाई पत्ता लगाएछन् र उनै मार्फत मेरो नाममा पत्र पठाएछन्।

अग्रवालले गौचर हवाई अड्डाबाट सरासर आएर मलाई चिठी दिए। चिठीमा लेखिएको सीपी लगायत व्यक्तिहरू पक्राउ परेको समाचार पढें। प्रधानमन्त्री डा. तुलसी गिरी र गृह पञ्चायत मन्त्री भोजराज घिमिरे थिए। पक्राउको खबर पुष्टि गर्न गृहमन्त्रीलाई सोधें। उनले ‘होइन’ भनेर ढाँटे। म थोरै कड्किएँ, “यो समाचार भरे बीबीसीले प्रसार गर्छ, हाम्रो मुलुकको खबर विदेशी रेडियोबाट सुन्नुपर्ने, हामीले दिन चाहिं नहुने ?”

भोजराज सोझो प्रकृतिका थिए, १५ मिनेटपछि फोन गर्न भने। शायद उनले प्रधानमन्त्री वा दरबारमा सोध्न खोजे।

१५ मिनेटपछि फोन गर्दा भोजराजले पहिले झैं पन्छिने कुरा गरे। म फेरि कड्कनुपर्‍यो। तब उनले सरकारी स्रोत उल्लेख नगरी विश्वस्त सूत्रबाट भनी सानो दुई लाइनको समाचार दिन अनुमति दिए। अन्ततः सिपीहरू पक्राउ परेको समाचार २०३२ माघको अन्त्यमा प्रसार भयो। त्यो समाचार सार्वजनिक भइसकेपछि उनीहरूको हत्या गर्न सरकारको आँट भएन।

सामन्त भूमिपति विरुद्ध खनिंदा सरकार उग्र !

तत्कालीन समयमा झापा जिल्ला कम्युनिष्ट विचारधाराको प्रभावमा परेको थियो। यसको कारण थियो, त्यहाँ भूमिपतिहरूले किसानहरूको चरम शोषण गरिरहेका थिए। मरेको मान्छेको ल्याप्चे गराएर जग्गा हत्याउनेसम्मको किर्ते हुने रे ! त्यसै कारण मरेपछि जमीनमा गाड्ने चलन भएका किसानले बाबु मरेपछि हातका औंला चिरेर मात्र गाड्थे रे ! यो हदसम्मको शोषण विरुद्ध कम्युनिष्ट विचारधारा फक्रिंदै र आक्रामक हुँदै गएको थियो।

विभिन्न क्रियाकलाप हुँदै गर्दा २०२७ चैतमा राधाकृष्ण मैनालीको नेतृत्वमा क्रान्तिकारी समूह गठन गरिएछ।

१६ माघ २०३२ मा झापाको चन्द्रगढीबाट सीपी मैनाली, गौरा प्रसाईं, तारानिधि भुर्तेल, गोविन्द न्यौपाने, लीला कुँवर लगायत पक्राउ परेछन्। उनीहरूलाई मार्ने योजना अनुसार मेची अञ्चल प्रशासन गृह पञ्चायत मन्त्रालयबाट गोप्य आदेश पर्खिरहेको थियो।

मनमोहन अधिकारी नेतृत्वको तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको नरम संघर्षबाट त्यहाँका किसानले न्याय पाउन नसक्ने देखेर युवा कम्युनिष्टहरूले नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी को–अर्डिनेशन केन्द्र गठन गरेर काम गर्दै आएका थिए। राधाकृष्ण मैनाली, द्रोणप्रसाद आचार्य, रामनाथ दाहाल आदिले त्यो केन्द्र चलाउँथे। झापाको जग्गाधनी सामन्तहरूको चरम उत्पीडन चानचुने संघर्षबाट समाप्त नहुने टुङ्गोमा पुगी शोषक विरुद्ध कारबाहीमै जाने नीति लिएछ त्यो केन्द्रले।

२०२८ सालमा सशस्त्र कारबाही शरू गरिंदा पहिलो निशाना बने, कर्णबहादुर गौतम। उनी आफैं सामन्त नभई सामन्तका दाहिने हात रहेछन्। दोस्रोमा बुट्टाबारीका बुटन चौधरी, तेस्रोमा गरामनिका विष्णुप्रसाद विमली, चौथोमा गरामनिकै उद्रकान्त राजवंशी, पाँचौंमा शनिश्चरेका धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानी ढकाल लगायतका आधा दर्जनभन्दा बढी भूमिपतिहरू कारबाहीको भागीदार भएछन्।

राष्ट्रिय पञ्चायत सदस्य समेत भइसकेका धर्मप्रसाद र उनका छोराको कम्युनिष्ट युवाहरूबाट हत्या भएपछि भूमिपतिहरूले सरकारलाई दबाब दिन थाले। त्यसपछि सरकार अत्यन्त उग्र भयो र व्यापक दमनमा उत्रियो। सयौं युवा पक्राउ परे। चरम यातना दिई कायल गराउने रणनीति लियो सरकारले। विद्रोहीहरूलाई ज्यान सजाय दिने आँट गरेन, बरु गैरन्यायिक हत्याको नीति लियो।

पक्राउ परेका युवामध्ये झापा विद्रोहका पाँच क्रान्तिकारी नेत्र घिमिरे, रामनाथ दहाल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई झापा जेलबाट इलाम जेलमा सार्ने निहुँमा पञ्चायती सरकारले २१ फागुन २०२९ मा सुखानीको जङ्गलमा गोली हानी हत्या गर्‍यो। यसलाई सुखानी हत्याकाण्ड भनिन्छ।

सरकारी चर्को दमनपछि विद्रोहीहरू पनि सशस्त्र कारबाही गर्ने शक्तिमा रहेनन्।

समाचारले जोगायो ज्यान

राधाकृष्ण मैनालीको ‘नलेखिएको इतिहास’ पुस्तक अनुसार, झापा विद्रोहको डेढ वर्षपछि २०२९ कात्तिकमा क्रान्तिकारी समूहको नेतृत्व परिवर्तन भई केपी शर्मा ओली सचिव बने। तर, ओलीले नेतृत्व राम्रोसँग वहन नगरेपछि सीपी मैनालीले २०२९ फागुनदेखि २०३९ सालसम्म पार्टीको नेतृत्व गरे।

१६ माघ २०३२ मा सीपी, गौरा प्रसाईं लगायत चन्द्रगढीको देउनियाँ पुलनिर भीमबहादुर कुँवरको घरबाट पक्राउ परेका थिए। गस्तीमा आएको प्रहरीले राति १ बजे बत्ती बलेको देखेर खानतलास गर्दा उनीहरूलाई पक्राउ गरेको थियो।

केपी ओली र मोहनचन्द्र अधिकारी भने देहरादून आसपास उखु गोड्थे रे। यी दुवैले नेपाल आउन मन गरेछन् र वीरगञ्ज हुँदै रौतहटमा साथीकहाँ गएछन्। साथीले राख्न नचाहेपछि अन्यत्र जाने क्रममा २०३० कात्तिकमा पार्टीको पर्चासहित पक्राउ परेछन्।

सीपी मैनालीहरू पक्राउ परेको समाचार सार्वजनिक गर्न त्यति बुद्धि नलगाएको भए सुखानीमा नेत्र घिमिरेहरूको जस्तो नियति फेरि दोहोरिन सक्थ्यो। समाचारले जीवन बचायो। पक्राउ परेर नख्खु कारागारमा थुनिएका सीपी १२ चैत २०३३ मा जेलबाट सुरुङ खनेर भागेका थिए।

प्रतिकृया दिनुहोस