समाचार शुक्रबार, वैशाख १९, २०७७

बन्दाबन्दीयता चोरी शिकारका १५ घटना (तस्वीरहरू)

मुकेश पोखरेल

बन्दाबन्दीयता चोरी शिकारका १५ घटना (तस्वीरहरू)
कपिलवस्तुको कृष्णनगर नगरलिका-२ लोहरौलामा शिकारीद्वारा मारिएको निलगाई र घटनास्थलबाट बरामद गरिएका मोटरसाइकल ।

पर्सा राष्ट्रिय निकुञ्जमा गएको १४ चैतमा वन्यजन्तु शिकारीसँग सेनाको भिडन्त भयो। भिडन्तका क्रममा मकवानपुरको पदमपोखरीका मोहनसिंह दोङ पक्राउ परे।

काठमाडौंमा मजदूरी गर्ने उनी बन्दाबन्दी भएपछि घर गएर अन्य व्यक्तिहरूको साथमा वन्यजन्तुको शिकारका लागि पर्सा राष्ट्रिय निकुञ्ज पुगेका थिए। शिकारका लागि आएका व्यक्तिहरूले प्रयोग गरेका हतियार र बन्दोबस्तीका सामान हेर्दा उनीहरू पेशेवर जस्ता देखिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले बताए।

यीसहित पछिल्लो एक महीनायताका घटनाले बन्दाबन्दी शुरू भएपछि राष्ट्रिय निकुञ्ज तथा सामुदायिक र सरकार संरक्षित वनमा वन्यजन्तुको शिकार गर्ने क्रम बढेको देखाउँछन्। मोरङ, सर्लाही, रौतहट, बारा, कपिलवस्तु, कैलाली, कञ्चनपुर जिल्लाका सम्बन्धित वन कार्यालयहरूको तथ्यांक अनुसार बन्दाबन्दी अवधिमा वन्यजन्तु शिकारका जम्मा १५ वटा घटना भएका छन्।

कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ लोहरौलामा शिकारीद्वारा मारिएको निलगाई ।

डिभिजनल वन कार्यालय कपिलवस्तुले बन्दाबन्दी शुरू भएयता चोरी शिकार गर्ने तीन जनालाई पक्राउ गरेको छ। डिभिजनल वन कार्यालय कपिलवस्तुका अनुसार, पक्राउ परेका सबै जना घर निर्माण क्षेत्रमा काम गर्ने मजदूर हुन्। बन्दाबन्दी भएपछि उनीहरू शिकार गर्नेहरुको संगतमा लागेर वन्यजन्तुको शिकारका लागि गएको डिभिजनल वन कार्यालयका डिभिजन वन अधिकृत ईश्वरी पौडेलले बताए।

१८ वैशाखमा कपिलवस्तुको मायादेवी साझेदारी वन क्षेत्रमा पासो थापेर मारेको खरायो र शिकारका लागि प्रयोग गरिएका जाल ।

१५ वैशाखमा सगरमाथा राष्ट्रिय निकुञ्जमा ६ वटा कस्तूरी मृत भेटिए। तस्करले कस्तूरीको बिना निकालेर लगेका थिए। निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय अहिलेसम्म घटनामा संलग्न कोही पनि पक्राउ नपरेको र यसबारे अनुसन्धान भइरहेको बताए।

३ वैशाखमा कपिलवस्तुको तिलौराकोट साझेदारी वन क्षेत्रबाट पक्राउ परेका दुई शिकारी ।

 

कपिलवस्तुको मायादेवी साझेदारी वन क्षेत्रमा बन्दुकसहित पक्राउ परेका शिकारी ।

 

शिकारका लागि प्रयोग गरेको भरुवा बन्दुक ।

चोरी शिकार बाहेक निकुञ्जमा अवैध रुपमा प्रवेश गर्नेहरुले पनि समस्या पारिरहेका छन्। 

अवैध रुपमा निकुञ्जमा प्रवेश गरेका ५ सय ८ जनालाई कारबाही गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। बर्दिया राष्ट्रिय निकुञ्जले ३ सय जनालाई कारबाही गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अननाथ बरालले जानकारी दिए।

प्रतिकृया दिनुहोस