रिपोर्ट विहीबार, वैशाख १८, २०७७

त्रिविको अनलाइन कक्षाः इन्टरनेटको पहुँच नहुँदा विद्यार्थी अन्याेलमा

नुनुता राई

त्रिविको अनलाइन कक्षाः इन्टरनेटको पहुँच नहुँदा विद्यार्थी अन्याेलमा

अनलाइन माध्यमबाट सबै क्याम्पस, विभाग र स्कूलमा अनिवार्य पठनपाठन गराउन त्रिभुवन विश्वविद्यालयले आचारसंहिता सहितको निर्देशिका जारी गरेपछि इन्टरनेट तथा प्रविधिको पहुँचमा नभएका विद्यार्थी अन्योलमा छन् ।

विद्युतीय माध्यम (अनलाइन) बाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७ को पहिलो नम्बरमा कक्षा संचालन गर्ने हरेक विभाग, स्कूल, क्याम्पसले गुणस्तरीय इन्टरनेट, ल्यापटप वा कम्प्युटर/फोन तथा वैकल्पिक बिजुलीको व्यवस्था गर्ने/गराउने उल्लेख छ । तर, उपत्यका बाहिर पुगेका कतिपय शिक्षक र प्राध्यापक नै कक्षामा सहभागी हुनसक्ने क्षमताको इन्टरनेट पहुँचमा छैनन् ।

विश्वविद्यालयले शिक्षक तथा विद्यार्थीहरुको मर्म विपरीत निर्देशिका जारी गरेको मानवशास्त्र विभाग प्रमुख डा.डम्बर चेम्जोङ बताउँछन् । उनी भन्छन्, “अधिकांश विद्यार्थी उपत्यका बाहिर छन् । सबैको फोरजी मोबाइल छैन, नेटवर्क राम्रो टिप्दैन ।” गाउँ पुगिसकेका कतिपय विद्यार्थी रिचार्ज कार्डको पहुँचमा समेत नभएको उनी बताउँछन् ।

“अधिकांश विद्यार्थी उपत्यका बाहिर छन् । सबैको फोरजी मोबाइल छैन, नेटवर्क राम्रो टिप्दैन ।”

डा.डम्बर चेम्जोङ, प्रमुख, मानवशास्त्र विभाग

मानवशास्त्र विभागमा अध्ययनरत एमए र एमफिलका सय विद्यार्थीमध्ये एकतिहाइ उपत्यका बाहिर छन् । आफ्ना विभागमा अध्ययनरत् विद्यार्थीसँग नियमित सम्पर्क गरेर रिचार्ज नपाएकालाई पठाइदिने गरेको डा. चेम्जोङ बताउँछन् ।

विभागका प्राध्यापकहरुले आफ्नै स्रोतसाधन प्रयोग गरेर अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । अनलाइन कक्षामा बस्न समस्या भएकालाई नोट पठाइदिने गरेको डा. जेम्जोङ बताउँछन् । तर, यस्तो सुविधा अन्य विभागमा छैन।

मनोज खतिवडा समाजशास्त्रमा स्नातकोत्तर दोस्रो सेमेस्टारका विद्यार्थी हुन् । उनी बन्दाबन्दीको अघिल्लो दिन आफ्नो घर ओखलढुङ्गास्थित हर्कपुर मुलुङ गाउँपालिका पुगेका छन् । विश्वविद्यालयले ल्याएको निर्देशिका अव्यवहारिक भएकाले आफूजस्ता गाउँमा भएका विद्यार्थीलाई कुनै फाइदा नहुने उनी बताउँछन् ।
विश्वविद्यालयले विना अध्ययन निर्देशिका ल्याएको उनको दाबी छ । “पानी पर्‍यो भने मेरो घरमा फोनको नेटवर्कले काम गर्दैन । नेटवर्क खोज्न डाँडातिर कुद्नुपर्छ । यस्तो अवस्थामा कसरी अनिवार्य अनलाइन कक्षामा सहभागी हुने ?”, उनी भन्छन् ।

समाजशास्त्र विभाग प्रमुख डा.टीकाराम गौतम भने विश्वविद्यालयले निर्देशिका ल्याउनुअघि नै अनलाइन कक्षा शुरु भइसकेकाले वैधानिकता मात्र दिइएको बताउँछन् । उनी भन्छन्, “अहिलेको निर्देशिकाले अनलाइनबाट पढाइरहेकालाई वैधानिकता दिएको छ । अब नीतिगत व्यवस्थाका लागि पनि बाटो खुलेको छ ।”

“अनलाइन कक्षा संचालन विद्यार्थीको आर्थिक, प्राविधिक, भौतिक पहुँचसँग जोडिएको छ । त्यसैले पहिलो शर्त भनेको सबै विद्यार्थीलाई अनलाइनको पहुँचमा ल्याउनु नै हो ।”

डा.टीकाराम गौतम, प्रमुख, समाजशास्त्र विभाग


निर्देशिकाले भने जस्तो अनिवार्य अनलाइन कक्षा संचालन गर्न शैक्षिक, भौतिक पूर्वाधारको निर्माण तथा इन्टरनेटमा विद्यार्थीहरुको सहज पहुँच नभएसम्म सम्भव नहुने डा. गौतम बताउँछन् । विद्यार्थीको समस्या कसरी हल गर्ने भन्ने विषय निर्देशिकामा नहुँदा समस्या भएको उनी बताउँछन् । उनी भन्छन्, “अनलाइन कक्षा संचालन विद्यार्थीको आर्थिक, प्राविधिक, भौतिक पहुँचसँग जोडिएको छ । त्यसैले पहिलो शर्त भनेको सबै विद्यार्थीलाई अनलाइनको पहुँचमा ल्याउनु नै हो ।”

विश्वविद्यालयले अनलाइन माध्यमलाई मात्रै विकल्प खोज्नु गलत भएको शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउँछन् । उनी भन्छन्, “अहिलेको निर्देशिकाले अनलाइन माध्यमलाई मात्रै विकल्प रोजेको छ । पहुँच नभएकाहरुलाई कसरी समेट्ने नभनेकाले यो उपयुक्त छैन ।” सबैलाई समेट्नका लागि विभिन्न तहमा ‘नेटवर्किङ डिजाइन’ गरेर काम गर्नुपर्ने उनी बताउँछन् ।

अनलाइनसँगै अफलाइनतर्फ प्रिन्ट, सीडी, डीभीडी, टेलिफोन, पेनड्राइभ, रेडियो, टेलिभिजनबाट पाठ्यसामग्री उपलब्ध गराउने व्यवस्था हुनुपर्छ । यी कुनै पनि माध्यमको पहुँच नभएकाहरुका लागि प्रत्येक टोलमा एक शिक्षक राखेर सामाजिक दूरी कायम गर्दै, हातमा पन्जा र मुखमा मास्क लगाएर अध्यापन गराउन सम्भव हुने उनी बताउँछन् ।

स्थानीय सरकारले स्कूललाई ‘क्लियरिङ हाउस’ बनाएर शैक्षिक सामग्रीको व्यवस्था गर्नुपर्छ । ती सामग्री आवश्यकता अनुसार प्रयोग गरेर पुनः राख्न मिल्ने ठाउँ बनाउनुपर्छ । ७५३ वटै स्थानीय तहमा यस्तो व्यवस्था भएपछि मात्र दूरशिक्षा प्रभावकारी हुने डा. कोइरालाको भनाइ छ ।

शिक्षाशास्त्र संकायका डीन डा. कृष्ण गौतम अहिलेको निर्देशिका अनुसार सबै ठाउँमा एक रुपमा कक्षा संचालन गर्न तत्काल सम्भव नभएको बताउँछन् । उनी भन्छन्, “अहिले सबै विषय, सबै ठाउँमा सबैलाई अनलाइन कक्षा दिन संभव छैन । तर, नेपालले कुनै पनि बेला अनलाइनमा जानुपर्ने छ । त्यसैले अहिलेको यो संकटबाट नै शुरु गरौं न त भनेर त्रिविले आँट गरेको हो ।”

अहिले नै अनलाइन पाठ्यसामग्री, नेटवर्क, प्रविधिमा विद्यार्थीको पहुँच पनि नभएको उनी बताउँछन् । कतिपय प्राध्यापकहरु नै प्रविधिमैत्री छैनन् । डा. गौतमका अनुसार विगत चार वर्षदेखि शिक्षा संकायमा गणित, अंग्रेजी र स्वास्थ्य शिक्षा विषयका अनलाइन पाठ्यक्रम बनाएर पढाइ भइरहेको छ । अनलाइन कक्षामा सहभागी नभएकालाई परीक्षाबाट वञ्चित गर्ने अवस्था नभएको उनी बताउँछन् ।

“अनलाइन कक्षा संचालनका लागि विविध समस्या छन्, बत्ती नियमित छैन, नेटवर्क टिप्दैन, प्रविधिसँग पहुँच नभएका विद्यार्थी र प्राध्यापक छन्। तर, यी समस्याहरुको बाबजुद जति गर्न सकिन्छ, त्यति गर्ने भनेर लागेका छौं ।”

– प्रा. शिवलाल भुसाल, शिक्षाध्यक्ष, त्रिवि 

त्रिवि शिक्षाध्यक्ष शिवलाल भुसाल प्राध्यापक र विद्यार्थीलाई सहज बनाउन अनलाइन कक्षा निर्देशिका जारी गरेको बताउँछन् । उनी भन्छन्, “अनलाइन कक्षा संचालनका लागि विविध समस्या छन्, बत्ती नियमित छैन, नेटवर्क टिप्दैन, प्रविधिसँग पहुँच नभएका विद्यार्थी र प्राध्यापक छन् । तर, यी समस्याहरुको बाबजुद जति गर्न सकिन्छ, त्यति गर्ने भनेर लागेका छौं ।” अनलाइन कक्षामा सहभागी हुन नसकेका विद्यार्थीहरुका लागि आवाजको रेकर्ड र नोट उपलब्ध गराउने तयारीका साथ काम गरिरहेको उनले बताए ।

कतिपय प्राध्यापक र विद्यार्थीले इन्टरनेट र आवश्यक स्मार्ट फोन, ल्यापटप र कम्प्युटर नहुँदा अनलाइन कक्षामा सहभागी हुन नसक्ने गुनासो गरेपछि सहुलियतमा इन्टरनेट उपलब्ध गराउन सेवा प्रदायकहरुसँग छलफल चलिरहेको शिक्षाध्यक्ष भुसाल बताउँछन् । विश्वविद्यालयले स्कूल, कलेज र विभागका लागि प्राविधिक सहयोग समेत उपलब्ध गराउने योजना बनाएको छ ।

अनलाइन कक्षासँग सम्बन्धित शैक्षिक सामग्री, भिडियो आदिको प्रतिलिपि अधिकार सम्बन्धित प्राध्यापक र निकायमा निहित हुनेछ । सबै शिक्षक, कर्मचारी, विद्यार्थीहरुले प्रतिलिपि अधिकारको रक्षा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकामा आचारसंहिता र कारबाहीको प्रावधान समेत राखिएको छ । विद्यार्थी, प्राध्यापक र कर्मचारीले आचारसंहिता उल्लंघन गरेमा विश्वविद्यालयले कारबाही गर्ने भनिएको छ । निर्देशिकाले त्रिविका स्कूल, विभाग र क्याम्पसबाहेक पूर्णकालीन शिक्षकलाई अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुन रोक लगाएको छ । आमन्त्रित विशेषज्ञको हैसियतमा भने अनलाइन कक्षामा सहभागी हुन पाइने निर्देशिकामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस