पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेमध्ये सत्तामा भूमिका नपाउने छविलाल विश्वकर्मा एक मात्र स्थायी कमिटी सदस्य हुन् अनि दलित समुदायका पार्टीकै वरिष्ठ नेता ।
कुनै समय भलिबल राष्ट्रिय टीमका महत्वपूर्ण सदस्य थिए, छविलाल विश्वकर्मा । देशका लागि भलिबल खेलाडीका रुपमा लगाएको जर्सी छाडेपछि भने उनी राजनीतिमा लागे ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भारत प्रवास संगठन हुँदै विश्वकर्मा राष्ट्रिय राजनीतिमा अघि बढे । अहिले, विश्वकर्मा सत्तारुढ नेकपाको स्थायी कमिटी सदस्य जस्तो उच्च पदमा पुगेका छन् ।
संयोग, पार्टीमा उनले पटकपटक साथ दिएका नेता केपी शर्मा ओली नै अहिले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै छन् ।
यति बेला नेकपाको स्थायी कमिटी राष्ट्रिय राजनीतिको केन्द्रमा छ । अध्यादेश पछाडि स्थायी कमिटी बोलाउनुपर्ने माग चर्को गरी उठेकाले राष्ट्रिय राजनीतिको ध्यान त्यही बैठकतर्फ तानिएको छ ।
तर, विश्वकर्मा भने रुपन्देहीमा छन् । टेलिफोन सम्पर्कमा उनले भने, “अहिले राष्ट्रिय राजनीतिबारे खासै बुझ्न पाएको छैन, आफ्नै निर्वाचन क्षेत्रमा छु । अहिले मेरा लागि निर्वाचन क्षेत्रका जनतालाई महामारीबाट जोगाउनुपर्ने दायित्व बढी छ ।”
रुपन्देहीमै भए पनि उनलाई राष्ट्रिय राजनीति बारे प्रश्न सोध्नेहरुको संख्या बाक्लो छ । यसको प्रमुख कारण प्रधानमन्त्री ओलीलाई साथ दिनेमध्येका उनी एक महत्वपूर्ण नेता हुन् ।
तर, रोचक चाहिँ के भने विश्वकर्मा मात्रै नेकपामा ओली खेमा भनिने गुटका यस्ता एकमात्र स्थायी कमिटी सदस्य हुन्, जो सरकारको कुनै पनि लाभको पदमा छैनन् । जबकि प्रधानमन्त्री निकट सबै उच्च तहका नेताहरू अहिले विभिन्न राजकीय भूमिकामा छन् ।
यसका लागि स्थायी समिति सदस्य र पदको फेहरिस्त नै हेरौं ।
२०७१ सालमा सम्पन्न एमालेको नवौं महाधिवेशन यता प्रधानमन्त्री ओलीको टीममा रहेका स्थायी कमिटी सदस्यहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, रघुवीर महासेठ, सत्यनारायण मण्डल, सुवास नेम्वाङ, शंकर पोखरेल र विष्णुप्रसाद रिमालले पटकपटक सत्तामा महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।
गएको ५ मंसीरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट महासेठको बहिर्गमन भए पनि बाँकी स्थायी कमिटी नेताहरु संघ र प्रदेशको महत्वपूर्ण भूमिकामा छन् । ईश्वर पोखरेल उपप्रधान तथा रक्षामन्त्री छन् भने प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री । पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेल मुख्यमन्त्री छन् भने विष्णु रिमाल प्रधानमन्त्रीकै प्रमुख राजनीतिक सल्लाहकार । सत्यनारायण मण्डल प्रदेश–२ मा संसदीय दलका नेता हुन् ।
२०६३ यता लगातार सभामुख रहेका नेम्वाङ प्रतिनिधिसभाको संसदीय दलका उपनेता हुन् । ओलीलाई साथ दिएकी विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति छन् ।
अध्यक्ष ओलीको सदिच्छाकै कारण वामदेव गौतम पार्टी उपाध्यक्ष छन् । ओली खेमाकै मानिने विष्णु पौडेल पार्टी महासचिवको कार्यकारी भूमिकामा छन् ।
पछिल्लो अध्यादेश प्रकरणपछि भने गौतम र पौडेल ओली नभई अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालतर्फ नजिक देखिएका छन् ।
तर, यी नेताहरुसँग एउटै (स्थायी कमिटी) कमिटीमा रहेर पनि सत्ताको सुविधा र शक्तिबाट छविलाल विश्वकर्मा निकै टाढा देखिन्छन् । “मुलुक महामारी विरुद्ध लडिरहेका बेला सत्ताको भन्दा जनप्रतिनिधिको भूमिका मलाई महत्वपूर्ण बनेको छ”, उनी भन्छन् ।
विश्वकर्मा रुपन्देही–१ बाट निर्वाचित सांसद हुन् ।
अध्यादेश प्रकरणमा सरकार र पार्टीलाई धक्का लागेका कारण स्थायी कमिटी बैठकको माग गर्दै अहिले स्थायी कमिटी सदस्य विश्वकर्मा जस्तै राजकीय भूमिकामा नरहेका २० जनाले हस्ताक्षर संकलन गरी पार्टीलाई बुझाएका छन् । हस्ताक्षर संकलन गर्ने सबै अध्यक्ष ओली इतर गुटका हुन् । दाहाल–नेपाल निकटका केही स्थायी कमिटी सदस्य भने ओली मन्त्रिपरिषद्का सदस्य भएकाले यसमा हस्ताक्षर गरेका छैनन् ।
लामो समय वरिष्ठ नेता नेपालसँग नजिक विश्वकर्मा दोस्रो जनआन्दोलनपछिको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा कृषि मन्त्री समेत बने । तर, एमालेको आठौं महाधिवेशनपछि भने उनले ओलीलाई साथ दिदै आएका छन् ।
तर, पनि सत्ताको भूमिका नपाउने ओली टीमका उनी एक्लो स्थायी कमिटी सदस्य हुन् । जबकि दलित समुदायबाटै नेकपाको उच्च तहमा रहेका एउटै नेता हुन्, विश्वकर्मा ।