रिपोर्ट मंगलबार, वैशाख १६, २०७७

बन्दाबन्दीले ओइलायो फूल व्यवसायः दैनिक सवा करोड घाटा

नुनुता राई

बन्दाबन्दीले ओइलायो फूल व्यवसायः दैनिक सवा करोड घाटा

कोरोनाभाइरस महामारी नियन्त्रणका लागि एक महीनादेखि लगाइएको बन्दाबन्दीका कारण पुष्प व्यवसायीहरूको फूल बिक्री ठप्प भएको छ। बिक्री हुने मुख्य सिजनमै बजार चौपट हुँदा उनीहरुले लहलहाउँदा फूलहरु काटेर फाल्ने गरेका छन्।

कोरोनाभाइरस महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण अहिले सबै व्यवसाय ठप्प छ। एक महीनायता जारी बन्दाबन्दीको मारमा पुष्प व्यवसायीहरू पनि परेका छन्। बिक्री धेरै हुने सिजनमै महामारीका कारण व्यापार ठप्प भएपछि फूूल काटेर फाल्न बाध्य भएको व्यवसायीहरू बताउँछन्।

काठमाडौंको नागार्जुन नगरपालिका–७ रामकोटका पुष्प व्यवसायी उद्धवराज गिरी भन्छन्, “बेच्न तयार भएका फूलहरू काटेर गाई, बाख्रालाई दिने र फाल्ने गरिरहेका छौं।” कार्नेसन जातको फूल गाईभैंसी तथा खसीबाख्राले खाने र अन्य जातका फूलहरू फालिरहेको उनले बताए।

बिक्रीयोग्य फूल नबिकेपछि खसीबाख्रालाई खुवाइँदै ।

उद्धवराज र हरिशरण गिरी दाजुभाइ मिलेर १० वर्षअघि ‘ज्ञानेश्वर फ्लोरिस्ट’ स्थापना गरी पुष्प खेती शुरू गरेका थिए। अहिले करीब रु.६२ लाख बराबरका फूलहरु उनीहरूको खेतीमा फुलिरहेका छन्।

यसअघि २०७२ सालको भूकम्पले पनि उनीहरूको व्यवसायमा असर गरेको थियो। तर त्यस वेलाभन्दा अहिले ठूलो क्षति बेहोरिरहेको उद्धवराजले बताए। उनका अनुसार, पछिल्लो एक महीनामा मात्रै रु.१५ लाखको नोक्सान भइसकेको छ। “अहिलेसम्मको क्षतिबाट उठ्न पनि कम्तिमा दुई वर्ष लाग्छ, अझै थप कति क्षति बेहोर्नुपर्ने हो”, उनी पिरोलिन्छन्।

फूल बिक्री गरेर हातमा नोट खेलाउनुपर्ने समयमा धुलिखेलका व्यवसायीको दिनचर्या नै बनेको छ, हरेक साँझ चोक–चोकमा गएर खाद्यान्न र तरकारी किन्न आउने सर्वसाधारणलाई सित्तैमा फूल बाँड्नु।

गिरी दाजुभाइले फूल खेती गरेका ३२ रोपनीमा कार्नेसन, रोज, जलबेरा, स्टाटिक, जिसिफिला, मेरिगोल्ड लगायत प्रजातिका फूलहरु बिक्रीका लागि तयार भइरहेका छन्। अहिले नौ जना कामदारले ती फूलहरूमा औषधि छर्कने तथा बेच्न तयार भएका फूल काटेर फ्याँक्ने काम गरिरहेका छन्। रामकोटमा उनीहरूको आसपास व्यावसायिक फूल खेती गरिहेका अन्य चार व्यवसायीको हालत पनि उस्तै छ।

काभ्रेको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरमा होराइजन नर्सरी सञ्चालन गरिरहेका वीरेन्द्र श्रेष्ठले २० रोपनी क्षेत्रमा फूल खेती गरेका छन्। उनले ४० हजार कार्नेसन, ८ हजार गुलाफ, ४ हजार लिमुनियम, ६ सय जिप्सोफिल्ला लगाएका छन्। ती सबै बेच्न तयार भइसके पनि बन्दाबन्दीका कारण बिक्री गर्ने उपाय छैन।

१६ वर्षदेखि फूल व्यवसाय गरिरहेका श्रेष्ठ सुनाउँछन्, “व्यवसाय गरेयताकै ठूलो क्षति बेहोर्नुपरेको छ। चैतदेखि एक रुपैयाँको फूल पनि बेच्न पाएको छैन।” चैत दोस्रो सातादेखि वैशाखभर फूल फुल्ने मौसम हो, यही वेला बन्दाबन्दीका कारण फूल किसानको बिजोग भएको उनी गुनासो गर्छन्।

फूल बिक्री गरेर हातमा नोट खेलाउनुपर्ने समयमा उनको दिनचर्या नै बनेको छ, हरेक साँझ चोक–चोकमा गएर खाद्यान्न र तरकारी किन्न आउने सर्वसाधारणलाई सित्तैमा फूल बाँड्नु।

धुलिखेलका पुष्प व्यवसायी वीरेन्द्र श्रेष्ठ बेच्न तयार फूलको बीचमा, नबिकेका फूल चोकमा बाँड्दै ।

बन्दाबन्दीको कारण मारमा परेका आफू जस्ता फूल किसानको मनोबल उकास्न सरकारले केही सहयोग गर्नुपर्ने श्रेष्ठ बताउँछन्। बिक्री ठप्प भएपछि कामदारलाई तलब दिने अवस्था नभएको उनको भनाइ छ। काभ्रे जिल्लाको फ्लोरिकल्चर संघको अध्यक्ष समेत रहेका श्रेष्ठका अनुसार, जिल्लामा २५ जना व्यावसायिक फूल किसान छन्। अहिले दैनिक रु.३ लाखदेखि रु.४ लाखको फूल नष्ट गरिरहनुपरेको उनले बताए।

काठमाडौं छाउनीस्थित रोयल नर्सरीका संचालक दीपेन्द्र महर्जन पनि फूल नबिकेर फाल्नुपरिरहेको बताउँछन्। जिनिया, डालिया, मेरिगोल्ड जस्ता मौसमी फूलहरु बेच्न नपाउँदा घाटा बेहोरिरहेको उनको भनाइ छ।

दैनिक सवा एक करोड क्षति, ६ अर्ब लगानी जोखिममा

दुई दशकदेखि विभिन्न प्रजातिका फूलको विरुवा व्यावसायिक फूल किसानलाई आपूर्ति गर्दै आएको सियाम फ्लोरिटेक नेपाल प्रालिले काठमाडौं उपत्यकासहित काभ्रे, चितवन, कास्की लगायत ठाउँमा विरुवा बिक्री गर्दै आएको छ। गएको वर्ष कम्पनीले कार्नेसनको ४० हजार, जर्बेराको २० हजार, लिमोनियम र जिप्सोफिल्लाको ५ हजार विरुवा गरी रु.३५ लाख बराबरको विरुवा आपूर्ति गरेको निर्देशक मन्दिर श्रेष्ठले जानकारी दिए। ती विरुवाबाट मात्रै किसानले करीब रु.२ करोड बराबरको फूल उत्पादन गर्ने र बन्दाबन्दीले त्यो नोक्सान गरिरहेको श्रेष्ठ बताउँछन्।

"फूल उत्पादन तथा बिक्री हुने उत्तम समयमा बन्दाबन्दी भइदिंदा पुष्प व्यवसायीको साढे ६ अर्ब लगानी जोखिममा परेको छ।"

कुमार कसजु, अध्यक्ष, फ्लोरिकल्चर एसोसिएसन नेपाल 

विरुवा बिक्री नहुँदा आफ्नो कम्पनीले मात्र पछिल्लो एक महीनामा रु.२० लाख बराबरको क्षति बेहोर्नुपरेको श्रेष्ठले बताए। “मैले २० लाखको बिरुवा बेच्दा किसानले त्यसबाट रु.८० लाखको फूल उत्पादन गर्छन्, यो हिसाबले पछिल्लो समय मात्रै रु.१ करोडको क्षति भइसक्यो”, उनी भन्छन्।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजुका अनुसार, पुष्प व्यवसायीहरुले दैनिक रु.१ करोड २५ लाख बराबरको क्षति बेहोरिरहनुपरेको छ। पुष्प व्यवसायमा मुलुकभर कट फ्लावर र नर्सरी व्यवसाय गरिरहेका ७ सय तथा मौसमी फूल खेती गर्नेहरूसहित करीब एक हजार व्यवसायी संलग्न छन्। जसमा ४१ हजार मानिस प्रत्यक्ष रूपमा जोडिएको एसोसिएसनले जनाएको छ।

काठमाडौंको नागार्जुन नगरपालिका-७ रामकोटमा व्यवसायी उद्धवराज गिरीको खेर गएका फूल ।

अहिलेको क्षतिले पुष्प व्यवसायमा दीर्घकालीन असर पुर्‍याउने र यस क्षेत्रमा टिक्न मुश्किल हुने अध्यक्ष कसजु बताउँछन्। “बन्दाबन्दी खुलेपछि सामान्य समयमा जस्तो फूल बिक्री वितरण हुने हो भने हामी केही वर्षमै अहिलेको क्षतिबाट पार हुन्थ्यौं, तर त्यस्तो हुने सम्भावना देखिंदैन”, उनी भन्छन्। फूल आधारभूत आवश्यकतामा नपर्ने हुनाले किसान र व्यवसायीहरू मारमा पर्ने उनको बुझाइ छ।

उनी फूल उत्पादन तथा बिक्री हुने उत्तम समयमा बन्दाबन्दी भइदिंदा पुष्प व्यवसायीको साढे ६ अर्ब लगानी जोखिममा परेको बताउँछन्।

पुष्प व्यवसायको आधा बजार पर्यटन क्षेत्रसँग सम्बन्धित छ। पर्यटकको स्वागत, पर्यटकीय स्थल, होटल, रेष्टुरेन्ट, पर्यटकीय कार्यक्रम लगायतमा अत्यधिक फूलको प्रयोग हुन्छ। “त्यसैले आगामी दिनमा पर्यटन व्यवसाय कुन रूपमा गति लिन्छ भन्ने विषयले पनि पुष्प व्यवसायको भविष्य निर्भर हुन्छ”, एसोसिएसनका अध्यक्ष कसजु भन्छन्।

घट्दो निर्यात, ठूलो आयात

नेपालमा कट फ्लावर बढी उत्पादन हुने समय चैतदेखि असारसम्म हो। यो सिजनमा यहाँ उत्पादित कट फ्लावर खाडी मुलुकहरु कतार, साउदी अरब र दुबईमा समेत निर्यात हुने गरेको छ। यस्तै, असारदेखि भदौसम्म भने भारतमा पनि निर्यात हुन्छ। गएको वर्ष रु.३ करोडको फूल निर्यात भएको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजुले जानकारी दिए।

त्यसभन्दा अघिल्ला वर्षमा यसभन्दा पनि बढी रकमको फूल निर्यात भएको थियो। कसजुका अनुसार, काठमाडौंको सुन्दरीजलस्थित एभरेस्ट फ्लोरिकल्चर रोज फार्म संचालन हुँदा केही वर्ष निर्यात दर बढेको थियो। तर, आन्तरिक समस्याका कारण उक्त फार्म बन्द भएपछि निर्यात घटेको छ।

एसोसिएसनले यो वर्ष कट फ्लावर बाङ्लादेश निर्यात गर्न पहल गरिरहेको थियो। तर, बन्दाबन्दीले बिथोलेको छ। नेपालले केही फूलका बल्ब (गाना) यूरोपमा निर्यात गर्ने गरेको छ।

गर्मी सिजनमा आन्तरिक उत्पादनले धाने पनि अन्य समयमा विदेशबाट फूल आयात गर्नुपर्ने अवस्था छ। विवाहको लगन परेर फूलको माग अत्यधिक हुने मंसीरदेखि नै फूल आयात हुन्छ। जाडो मौसममा नेपालमा कट फ्लावर उत्पादन नहुने भएकाले बढी हुने मंसीरदेखि फागुनसम्म आयात हुने गरेको कसजु बताउँछन्। उनका अनुसार, गत वर्ष कट फ्लावर तथा नर्सरी फूलहरु (बोट फूल) गरी रु.११ करोडको आयात भएको थियो।

चैत ११ देखि १७ गतेसम्म हुने तय भएको २३ औं फ्लोरा एक्स्पो २०७६ बन्दाबन्दीकै कारण स्थगित भयो। एक्स्पोमा रु.१ करोडभन्दा बढीको फूल व्यापार हुने गरेको थियो।

प्रतिकृया दिनुहोस