ब्लग शनिबार, वैशाख १३, २०७७

गाँस र बासको समस्याले सद्दे मान्छे अस्पताल भर्ना !

भैरव रिसाल

गाँस र बासको समस्याले सद्दे मान्छे अस्पताल भर्ना !

छात्र संघको संगठन विस्तार गर्न २०१० सालमा पूर्वी नेपाल जाँदा परिबन्दले सद्दे मानिस बिरामी हुनुपरेको थियो।

परिबन्दले मान्छेलाई अनेक थोक गर्नुपर्ने स्थितिमा पुर्‍याउँछ। बिरामी नै नभई अस्पताल भर्ना भएको अनुभव मसँग छ। कुरो हो, २०१० साल चैतको। म र साथी मणिराज पोखरेल संस्कृत छात्र संघको संगठन विस्तार गर्ने उद्देश्यले पूर्व ४ नम्बर भोजपुरको दिङ्ला पाठशाला जाँदै थियौं। धनकुटाको हिले कटेपछि मणिरामलाई ज्वरोले च्याप्यो। हनहनी ज्वरोले आलसतालस नै पार्‍यो।

बाटो छेउकै एउटा लिम्बू परिवारले पिँढीमा बास दिए। दुई रात कुर्दा पनि ज्वरो घटेन। गाउँलेहरूले अस्पताल लैजाने सल्लाह दिए। बिरामी बोक्न डोको दिए, र सहयोगी खोजेर अस्पताल पुर्‍याउने व्यवस्था गरिदिए।

भैरव रिसाल

धनकुटाको सरकारी अस्पताल गयौं। मणिरामलाई तत्काल भर्ना गरियो। त्यसपछि डाक्टरले मलाई बिरामी के नाता पर्छ, कहाँबाट आएको लगायतका कुरा सोधे। मैले हाम्रो थातथलो र यात्राको उद्देश्य बताउँदै काठमाडौं तीनधारा पाकशालामा बस्ने र संस्कृत वाल्मीकि विद्यापीठमा पढ्ने सुनाएँ।

सबै कुरा सुनेपछि डाक्टरले थप चासो दिएर सोधे– “धनकुटा बजारमा नातेदार, इष्टमित्र वा कोही साथी चिनेको छ त ? कहाँ बस्छौ ?”
मैले जवाफ दिएँ, “त्यस्तो कोही छैन। कहाँ बस्ने टुङ्गो छैन।”

उनले गम्भीर भएर भने, “तिमीलाई पनि अस्पताल भर्ना गरिदिन्छु। अस्पतालमै बस, यहीं खाऊ है।”

मैले असजिलो मानें। डाक्टरले सम्झाए। परिबन्द छँदै थियो, त्यसमा डाक्टरको सदाशयताले निर्णय गर्नुको विकल्पै थिएन। अन्ततः बिरामी नै नभएको म अस्पताल भर्ना भएँ।

म विद्यार्थी भएको र दुर्गम दिङ्लाको भ्रमणमा हिंडेको कुरा सुनेर होला, बंगाली डाक्टरको मन पग्लिएको। त्यसै कारण उनले नियम विनियमप्रति आँखा चिम्लिएर मेरो उद्धार गरेका हुन् जस्तो लाग्छ।

‘दाँती मिलेको घर’ मा दूध र घ्यू

२०१० सालको धनकुटा बजार, एक–दुइटा चिया पसल थिए होलान्। खाने/बस्ने होटल, रेष्टुरेन्ट, रिसोर्ट, अतिथिगृहको अवधारणा समेत आएको थिएन। गाउँमा चाहिं बेलुकाको पाहुना देउता सरह मानिएर जता गए पनि बास पाइने। तर, बजारमा यो सम्भव थिएन। त्यसैले परिबन्दवश म अस्पतालको शरणमा पुगेको थिएँ।

आजभन्दा ६६ वर्षअघि आज जस्तो थरीथरीका रोग–बिराम निस्केकै थिएन। मान्छेहरू बिरामी हुँदा पनि प्रायः अस्पताल जाने प्रचलन नै थिएन। यसै कारण अस्पतालका धेरै बेड खाली हुन्थे। धनकुटा अस्पतालमा पनि त्यस्तै अवस्था हुँदा मेरो बसाइ सम्भव भयो।

तिनताका अस्पतालहरूमा नर्सहरू हुँदैनथे। डाक्टर र त्यसपछिका कम्पाउण्डर हुन्थे। धनकुटा अस्पतालमा पनि एक जना बंगाली डाक्टर र एक कम्पाउण्डर थिए। भर्ना भएको मेरो लागि अस्पतालको कागजपत्रमा के बिरामी लेखे, कसरी श्रेस्ता मिलाए, थाहा भएन। मैले गाँस र बास पाएँ। नत्र मेरो के हालत हुन्थ्यो होला!

चार दिन जतिमा मणिरामलाई सञ्चो भयो। तर उनी निकै गलेका थिए। हामी अब दिङ्ला जाने कार्यक्रम रद्द गरी काठमाडौं फर्कने भयौं। अस्पतालले अपरान्ह्न डिस्चार्ज गर्‍यो। धनकुटाबाट विराटनगरसम्म पैदलै आउनुपथ्र्यो। कहाँ बास बस्ने समस्या भयो।

मणिराम म भन्दा उमेरमा कान्छा भए पनि बढी परिपक्व थिए। उनले भने, “दाँती मिलेको घरमा बास बस्नुपर्छ।” दाँती मिलेको घर भनेको सम्पन्नको घर रहेछ, जहाँ दूध, घ्यू टुट्दैछ। त्यसै क्रममा बास खोज्दै एउटा घरमा गयौं। पण्डितको घर रहेछ। दूध, मोही खान दिए। ज्वरोका बिरामीले घ्यू पनि खाए।

भोलिपल्ट बिहान धरान झर्न ओरालो लाग्यौं। धनकुटा–धरान सडक होइन, घोडा हिंड्ने बाटो थियो। मौका परे विराटनगर आउन धरानमा लहरी पाइने, नत्र पैदलको विकल्प थिएन। विराटनगरमा मणिरामले चिनेका मानिसको घरमा बास बस्यौं।

धनकुटामै मामा भएको पत्तै भएन !

म थिएँ काठमाडौं खाल्डोमा सानो पोखरीमा भ्यागुतो जस्तै हुर्केको मान्छे। भोजपुरको दिङ्ला जाने भएपछि यति उत्साहित र फुरुंग भएछु, आफन्त कहाँ कहाँ छन् भन्ने पनि याद भएनछ। मेरो आफ्नै माइलो मामा बलराम ढुङ्गाना विराटनगर मोरङ हाइड्रो इलेक्ट्रिक कम्पनीका जागिरे र कान्छो मामा शिवप्रसाद धनकुटाको नेपाली सेनाको ब्यारेकमा सैनिक हुनुहुन्छ भन्ने समेत भुसुक्कै बिर्सेछु। जबकि हामीबीच वेलावेलामा चिठी आदानप्रदान हुन्थ्यो।

धनकुटाको अस्पतालमा भर्ना भएर बसुन्जेल त्यसबारे होश नै भएन। अस्पतालको भात खायो, दिनभरि धनकुटाको ठाडो बजार, कोप्चे बजार घुमेर दिन कटाउँथें। त्यसै क्रममा बाटोमा अकस्मात् कान्छो मामासँग भेट भयो। हामी दुवै यो जम्काभेटबाट चकित ! मामाले विराटनगरमा माइलो मामालाई भेटेको हो भनेर सोध्नुभयो। त्यसपछि म अझै झल्यास्स भएँ। हो त, त्यहाँ पनि अर्को मामा हुनुहुन्छ।

धनकुटाबाट विराटनगर पुगेरपछि माइलो मामालाई पनि भेटें। दुवै मामाले लुगा किनिदिनुभयो र बाटो खर्च पनि दिनुभयो।

हामीसँग पैसा मनग्गे भयो। हवाईजहाज चढ्न मन लाग्यो। त्यसवेला विराटनगर–काठमाडौंको हवाई भाडा ३३ रुपैयाँ थियो। बिहानै विमानस्थल गएर टिकट किन्यौं। हामी दुवै डकोटा प्लेनमा काठमाडौं ओर्लियौं। त्यो नै हाम्रो पहिलो हवाई यात्रा थियो।

प्रतिकृया दिनुहोस