हाललाई छुन मनाही छ !
साँच्चै, भेटेरै एक प्रेमिल अँगालो मार्न चाहन्छौं भने, सधैं यो हृदयको धड्कन चाल पाइरहन चाहन्छौं भने अनि सधैं छोइरहन चाहन्छौं भने भन्नु छ— हाललाई, छुन मनाही छ !
सविना देवकोटा
आँँखैअगाडि रोइरहेको बच्चालाई फकाउन हामी के गर्छौं ?
वर्षौंदेखि भेट नभएको साथीलाई हामी कसरी हार्दिकता व्यक्त गर्छौं ?
आँसुले अनुहार धोइरहेका बेला हामी कसरी एकअर्कालाई सम्झाउने गर्छौं ?
हामी स्पर्श नगरी रहन सक्दैनौं ।
किनभने, स्पर्शले नै हामीलाई जोडिदिएको छ।
थाहा छैन, मानव जातिको कुन प्रजातिले पहिलोपटक आलिंगन गर्यो होला ? सेपियन्स या नियान्थ्रेडल ? महिला या पुरुष ? कसलाई देख्दा उसले डरको कुनै अंश मनमा नराखी स्पर्श गर्ने हिम्मत जुटायो ? सम्भवतः सबैभन्दा पहिले उसले हात छोयो होला । अनि आफूलाई केही गर्दैन भन्ने बोध भएसँगै उसको मन आल्हादित भयो होला । र, निर्धक्क, निसङ्कोच, छोयो होला !
पाठेघरको न्यानोपन खोसिएको नवजात शिशु रुँदै यस धरतीमा अवतरण गर्दा उसलाई एकसाथ सञ्चो र सुरक्षित महसुस कसैले गराउँछ भने, त्यो स्पर्श नै हो।
भर्खरै जन्मदै गर्दा बच्चालाई सुडेनी या डाक्टरले गर्ने स्पर्श, दूध खुवाउँदाको स्पर्श, नुहाइदिँदाको स्पर्श, ज्वरो आउँदा तातो निधारमा आमाको शीतल हातको स्पर्श, दुःखी भइरहँदा ढाडस दिन दिइने स्पर्श, पीडाले आकुलव्याकुल हुँदा हात बेस्सरी समाएर गरिने स्पर्श, बाले आशीर्वाद दिँदा शिरमा राखेको प्रेमिल हातको स्पर्श, आमाले गालामा लागेको गाजल मेटाउँदै गाला मुसार्दै गरेको स्पर्श, रतिरागको मौसम/बेमौसममा प्रेमीले गर्ने कामुक स्पर्श, छुवाइ अनि स्पर्शको अन्तिम विन्दुमा पुग्दै गरेका छालाले छालासँगै गरेको स्पर्श...!
थाहा छैन, कति प्रकारका छुवाइहरु व्याप्त होलान् ! ती अनगिन्ती स्पर्शले मानव मस्तिष्कका कतिऔं स्नायुहरु सक्रिय होलान् ?
तर स्पर्श एक त्यस्तो भाव हो जुन मानिसले जन्मिएपछि सबैभन्दा पहिले पाउने गर्दछ र मृत्युअघि अन्तिमपटक गुमाउने गर्दछ । अंग्रेजीमा भनाइ नै छ– ‘टच इज द फस्ट सेन्स वी एक्सपेरियन्स इन द वोम्ब एन्ड द लास्ट वान् वी लुज विफोर डेथ ।’

स्पर्शः एक वैश्विक भाषा
जीवशास्त्री, चर्मरोग विशेषज्ञहरुले पत्ता लगाउनुभन्दा अगावै हामीले पत्ता लगाइसकेका थियौं कि छुँदा वा भनौं स्पर्श गर्दा अपार आनन्द आउँछ । किनकि छुवाइ नै भाव अभिव्यक्तिको सर्वोत्तम माध्यम हो।
कयौंकयौं शब्द/वाक्य/बिम्बहरुले अभिव्यक्त गर्न नसकेको कुरा एक स्पर्शले गर्न सक्छ । म तिमीलाई माया गर्छु भन्नु र यसै लगावका साथ निधारमा प्रेमिकालाई चुम्बन गर्नुमा शायद ओठले निधारमा गर्ने स्पर्शले नै बढी अंक पाउँछ, मनको मार्कसिटमा।
जब शब्दविहीन हुन्छौं, हामी स्पर्शद्वारा बोल्छौं । हुन त भाषाको आविष्कार हुनुअघि हामीले भावभंगीले नै कुराकानी गर्ने गर्दथ्यौं ।
म तिमीलाई माया गर्छु भन्नु र यसै लगावका साथ निधारमा प्रेमिकालाई चुम्बन गर्नुमा शायद ओठले निधारमा गर्ने स्पर्शले नै बढी अंक पाउँछ, मनको मार्कसिटमा।
‘स्पर्श सम्भवतः मानिसले थाहै नपाई सिकेको पहिलो वैश्विक भाषा हो । र, गहिरो पनि,’ टच रिसर्च अफ द युनिभर्सिटी अफ मियामी स्कूल अफ मेडिसिनकी डिरेक्टर टिफानी फिल्डले भनेकी छन् । उनी भन्छिन्– स्पर्श शारीरिक प्रक्रिया हो तर यसको प्रभाव भावनात्मक हुन्छ किनभने छुँदा जैविक रसायन परिवर्तन मात्रै हुँदैन, यसले सम्पूर्ण स्नायु प्रणालीलाई नै आनन्दित तुल्याउँछ ।
छालाको तल्लो तह, डर्मिसमा व्याप्त स्नायुहरुले हरपल संसर्गमा आएका स्पर्शको जानकारी मस्तिष्कसम्म पठाउँछन् । ती स्नायुहरुले हाम्रो स्पाइनल कर्डमा जानकारी बोकेर मस्तिष्कमा सन्देश प्रवाह गर्छन् । अनि मात्रै हामी थाहा पाउँछौं, यो त्यही प्रेमिल छुवाइ हो भन्ने ।
स्पर्शको सूचना छाला, स्नायु हुँदै मस्तिष्कसम्मको बाटो हिँड्छन् । छालामा रहेका स्नायुहरुले यति विघ्न काम गरिसक्दा बल्ल हामी छुवाइको नाम, थर अनि गोत्र थाहा पाउँछौं । अर्थात्– नरम, कडा, कठोर, न्यानो... आदि, इत्यादि।
हामीले पत्तो पाएको कयौं वर्षपछि नै हो, विशेषज्ञहरुले पत्ता लगाएका, आमाले अँगालो मार्दा/स्पर्श गर्दा शरीरमा प्राकृतिक पेन किलर हर्मोन इन्डोर्फिन उत्पादन हुन्छ र हामीलाई आनन्द आउँछ भन्ने तथ्य।
सम्भवतः छुवाइ यति विघ्न प्रगाढ हुने भएरै होला छालाको आयतन पनि शिरदेखि पाउसम्मै फैलिएको छ । सम्भवतः छुवाइ यति विघ्न संवेदनशील हुने भएरै होला, औंलाको टुप्पोमा स्पर्शलाई महसुस गर्नकै लागि मात्र ३ हजार टच रिसेप्टरर्सहरु व्याप्त छन्।
आस्ले मन्टागुले आफ्नो पुस्तक ‘टचिङ: द ह्युमन सिग्निफिकान्स अफ स्किन’ मा स्पर्शलाई ‘मदर अफ अल सेन्सेस’ अर्थात् सम्पूर्ण भावनाहरुको जननी भनी उल्लेख गरेका छन् ।
यस्तो लाग्छ, हामी छुवाइ नै छुवाइले घेरिएका छौं । त्यो स्पर्श नै हो जसले यति धेरै भावनाहरुलाई मनको रंगमञ्चमा नचाउने गर्दछन् । शायद त्यसैले आस्ले मन्टागुले आफ्नो पुस्तक ‘टचिङ: द ह्युमन सिग्निफिकान्स अफ स्किन’ मा स्पर्शलाई ‘मदर अफ अल सेन्सेस’ अर्थात् सम्पूर्ण भावनाहरुको जननी भनी उल्लेख गरेका छन् ।
यो महामारी सकिएपछि...
त्यसो त हामी सामाजिक प्राणी हौं । हामी निकट नभइरहनै सक्दैनौं ।
तर, आज हाम्रो यही निकटताको फाइदा उठाउँदै वा भनौं यही सामीप्यमा आँखा लगाउँदै कोभिड १९ कोरोनाले हामीलाई अलग्याइदिएको छ।
अब हामीले केही समय आफ्नाहरुबाटै टाढिनु परेको छ ।
त्यसो त यो कोरोनाभाइरसले अरुलाई मात्रै होइन, आफैले आफूलाई पनि छुन मनाही गरिदिएको छ । हामीले केही समय आफ्नै हातका औंलाहरुलाई अनुशासनको लगाम लगाउँदै अनुहारसम्म पुग्ने बाटो बन्द गर्नुपर्ने भएको छ।
आफूले आफूलाई छुनु र अरुले आफूलाई छुनु बीचको फरक शायदै विशेषज्ञहरुले बताउन सक्लान् !
छोइनु र छुनु बीचको फरक के होला ? छुँदा छोइने मान्छेलाई बढी आनन्द आउँछ या छुने मान्छेलाई ? यस्ता प्रश्न अनुत्तरित नै हुनसक्छन्।
तर, आज स्पर्शले थेरापीको रुप लिएको छ । कारण यसले मस्तिष्कमा सेरोटोनिनको मात्रा बढाउनुका साथै डोपामाइन हर्मोनको तह पनि मिलाउँछ जसले हामीलाई खुशी बनाउन मद्दत गर्दछ।
सम्भवतः त्यसैले पनि होला सञ्चार अध्येताहरु छोएर गरिने अभिव्यक्तिलाई ‘नन भर्वल कम्युनिकेसन’को उच्चतम विन्दु मान्ने गर्दछन् । सञ्चार अध्येता मात्रै होइनन्, न्यूरो वैज्ञानिक एडमन्ड रोल्स पनि यसमा सोही मत राख्छन् । भन्छन्— स्पर्श गर्दा मस्तिष्कको ओर्विटोफ्रन्टल कर्टेक्स सक्रिय हुन्छ जसले आनन्दको भाव मौलाउँछ । त्यसैले स्पर्श हाम्रा लागि शारीरिक मात्रै होइन, भावनात्मक आहारा पनि हो।
तर, यो महामारीमा हाम्रो बलियो निकटता र सामाजिकताबाट हामी केही अनिश्चित समयका लागि टाढा हुनुपर्ने भएको छ।
नजरबन्द कैदी/बन्दीझैं हामी केही समय एकअर्कालाई छुन पाउने छैनौं । हामी केही प्राविधिक हुनुपर्ने भएको छ । केही समय भर्चुअल स्पर्शद्वारा एकअर्काको सूचना र सन्देश आदानप्रदान गरेर।
कोभिड १९ कोरोनालाई जितेर घर फर्किएकी प्रसिद्धि श्रेष्ठ फ्रान्सबाट फर्किएको एक महीना बितिसक्दा पनि आमालाई अँगालो मार्न नपाएकोमा व्याकुल छिन् । सञ्चो भएर घर आइपुग्दा पनि उनले पुनः १४ दिन आइसोलेसनमा बस्नुपरेको छ । प्रसिद्धिको एउटै कामना छ, सञ्चो भएर सबैभन्दा पहिले आमालाई अँगालो मार्ने !
कहिलेकाहीँ हारेर पनि जितिन्छ भनेजस्तै कोरोनाले हामीलाई सिकाइदिएको छ कि, कहिलेकाहीँ टाढा भएर वा भनौं टाढा रहेर पनि हामी अरुलाई नजिक बनाउन सक्छौं ।
राजा मिडासले छुनेबित्तिकै जडवत सुन हुने कथा जस्तै भएका छौं, यतिबेला हामी ।
दुई महीनाअघि आमा बिरामी हुँदा जहाजबाट केही घण्टामै आइहाल्छु नि भनेर सान्त्वना दिएका एक फिलिपिनो नेपाली आमा बित्दा पनि नेपाल आउन पाएनन् । कोरोनाले गर्दा बन्द भएका जहाजसँगै उनका पाइलाहरु पनि रोकिए । फोनमा उनले साथी निस्प्रभ सजीसँग रुँदै भनेका थिए– “आमालाई अन्तिमपटक मैले स्पर्श गर्न पाइनँ !”
छुँदा वा भनौं स्पर्श गर्दा अपार आनन्द आउँछ । किनकि छुवाइ नै भाव अभिव्यक्तिको सर्वोत्तम माध्यम हो।
निस्प्रभ आफ्नो फेसबुक स्टेटसमा लेख्छन्– ‘... अब स्पर्श गर्न मात्र सम्झनाहरु बाँकी छन् । मलाई आज उसलाई सम्झाउन आएन ।’
त्यसो त आमा बित्दा दार्चुलाका वासुदेव भट्ट सीमापारि भारतको क्वारेन्टिनमै पाँच दिनसम्म किरिया बस्न बाध्य थिए । छैटौं दिन बल्ल उनले आफ्नो देशको माटो स्पर्श गर्न पाए र बाँकी प्रक्रिया पुर्याए।
हो, हामीले केही समय स्पर्श बार्नुपर्ने भएको छ ।
‘यो कोरोना भाइरसमाथि मानव जातिले विजय प्राप्त गरेपछि पहिलोपटक भेट हुँदा सबैलाई प्रेमपूर्वक अँगालो मार्न मन छ’– बन्दाबन्दीको १७औँ दिनमा गनी अन्सारीले पनि यस्तो ट्वीट गरेका थिए।
साँच्चै, भेटेरै एक प्रेमिल अँगालो मार्न चाहन्छौं भने, सधैं यो हृदयको धड्कन चाल पाइरहन चाहन्छौं भने अनि सधैं छोइरहन चाहन्छौं भने भन्नु छ— हाललाई, छुन मनाही छ !