रिपोर्ट शनिबार, वैशाख १३, २०७७

कति सम्भव छ बन्दाबन्दीमा अनलाइन कक्षा ?

नुनुता राई

कति सम्भव छ बन्दाबन्दीमा अनलाइन कक्षा ?

बन्दाबन्दी लम्बिंदै जाँदा शिक्षण संस्था खुल्ने अनिश्चितता बढेसँगै कतिपय विद्यालयहरूले इन्टरनेटको प्रयोग गरेर विद्यार्थीलाई पढाउन थालेका छन्।

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउन (बन्दाबन्दी) का कारण अन्य क्षेत्र जस्तै शिक्षण संस्थाहरू पनि ठप्प छन्। विद्यार्थीको पठनपाठन कसरी अघि बढाउने भन्ने पिरलोमा शैक्षिक क्षेत्र र अभिभावक छन्।

गएको ११ चैतदेखिको बन्दाबन्दीको अवधि बढाउँदै १५ वैशाखसम्म पुर्‍याइएको छ र कोरोना संक्रमितको संख्या बढेसँगै यो थप लम्बिने सम्भावना देखिएको छ। बन्दाबन्दी तत्कालै खुले पनि शिक्षण संस्था खुलेर पठनपाठन हुने अवस्था छैन।

सामान्य समयमा वैशाख पहिलो साता भर्ना खुल्ने निजी तथा सामुदायिक विद्यालयहरुले गएको वर्षको परीक्षाफल समेत प्रकाशित गरेका छैनन्। यो स्थितिमा परीक्षाफल कसरी प्रकाशन गर्ने र नयाँ शैक्षिक सत्र कसरी चलाउने भन्ने अन्योलमा विद्यालयहरू छन्।

अंग्रेजी कक्षाा ।

मुलुकभर २९ हजार सामुदायिक विद्यालयसहित ३५ हजार हाराहारीमा विद्यालय छन्। बाँकी प्याब्सन र एन–प्याब्सनसँग आबद्ध विद्यालय छन्। विद्यालय स्तरमा माध्यमिक शिक्षा परीक्षा (एसईई), कक्षा ११ र १२ को र केही जिल्लामा कक्षा ८ को आधारभूत परीक्षा बाहेक सबै परीक्षा सम्पन्न भइसकेका छन्।

कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको परीक्षाफल तत्काल प्रकाशन नगर्न शिक्षा मन्त्रालयले निर्देशन दिएकाले रोकिएको निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) का अध्यक्ष टीका पुरीले बताए। “बन्दाबन्दी बढेसँगै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बृहत् छलफल शुरु गरेका छौं”, उनले भने।

मन्त्रालयसँग अनलाइनबाट परीक्षाफल प्रकाशन गर्न र नयाँ शैक्षिक सत्र सञ्चालन गर्न अनुमति मागेको अध्यक्ष पुरीले बताए। उनका अनुसार, १५ वैशाखसम्म बन्दाबन्दी खुले पनि नखुले पनि अनलाइनबाट भर्चुअल कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने विद्यालयमा परीक्षाफल प्रकाशन गर्न रोक लगाए पनि इन्टरनेट, इमेल वा फोनबाट रिजल्ट दिन अनुमति दिएको बताए। उनले भने, “अहिलेको अवस्थामा विद्यालय खोलेर परीक्षाफल प्रकाशन गर्न सम्भव छैन। तर, इन्टरनेटबाट परीक्षाफल प्रकाशन गर्न सक्ने अवस्था भए त्यसमा मन्त्रालयले रोक लगाएको छैन।”

सामान्य समयमा वैशाखको दोस्रो सातादेखि पठनपाठनमा सहभागी हुने विद्यार्थीमा अहिले अन्योल छाएको छ। लामो समयसम्म विद्यार्थीलाई पठनपाठनमा सहभागी नगराउँदा समस्या हुनसक्ने भन्दै कतिपय विद्यालयहरुले इन्टरनेटको माध्यमबाट भर्चुअल कक्षा सञ्चालन गर्न थालेका छन्।

गणित कक्षा ।

अनलाइन कक्षा शुरू

लामो बन्दाबन्दीका कारण रोकिएको पठनपाठन अघि बढाउन सरकारले पनि तयारी गरिरहेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गर्दै टेलिभिजनबाट दूरशिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ। केन्द्रले एन टीभी प्लस च्यानलबाट बिहानको ११ बजेदेखि दिउँसोको तीन बजेसम्म कक्षा ९ र १० को पठन सामग्री प्रस्तुत गरिरहेको शिक्षा मन्त्रालयका प्रवक्ता शर्माले जानकारी दिए।

यति मात्र होइन, शिक्षण संस्था खुल्ने अनिश्चयका बीच केन्द्रले कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई अनलाइन मार्फत शिक्षण सामग्री उपलब्ध गराउने तयारी गरिरहेको छ। त्यसका लागि ‘अनलाइन एजुकेसन पोर्टल’ तयार पारिरहेको र १५ वैशाखबाट अनलाइनबाट शिक्षण थाल्ने योजना छ।

मन्त्रालयका प्रवक्ता शर्माले दूरशिक्षाको अवधारणा अनुसार केही स्थानीय तहहरुले पनि सामुदायिक रेडियोबाट पठन सामग्री प्रशारण गर्ने तयारी गरिरहेको बताए।

“प्राविधिक सीमाका कारण भर्चुअल कक्षामा सहभागी हुन नसक्ने विद्यार्थीका लागि टीभी वा एफएम रेडियोबाट पठन सामग्री प्रशारण गर्ने विषयमा छलफल गरिरहेका छौं ।”

प्याब्सन अध्यक्ष टीका पुरीका अनुसार, केही निजी विद्यालयले पनि अनलाइन माध्यमबाट कक्षा चलाउन शुरु गरेका छन्। तर, सबै विद्यार्थी अनलाइनमा जोडिन सक्ने अवस्था नरहेकाले विकल्पबारे छलफल भइरहेको उनले बताए। “प्राविधिक सीमाका कारण भर्चुअल कक्षामा सहभागी हुन नसक्ने विद्यार्थीका लागि टीभी वा एफएम रेडियोबाट पठन सामग्री प्रशारण गर्ने विषयमा छलफल गरिरहेका छौं”, उनले भने।

बन्दाबन्दी लम्बिएसँगै कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई भर्चुअल शिक्षा दिन प्याब्सनले सफ्टवेयरको व्यवस्थापन गरिरहेको अध्यक्ष पुरीले बताए। “भर्चुअल कक्षाको लागि विद्यार्थीमैत्री सफ्टवेयर तयार गर्न मिरास, कारखाना, लर्निङ ट्रि जस्ता सफ्टवेयर उत्पादक कम्पनीसँग कुरा भइरहेको छ”, उनले भने।

एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले विगत वर्षमा वैशाखको दोस्रो सातादेखि धमाधम पढाइ शुरू हुने गरेकोमा बन्दाबन्दीले समस्या पारेकोले विकल्पबारे छलफल गरिरहेको बताए। इन्टरनेटको माध्यमबाट सबै विद्यार्थी समेट्न सम्भव नहुने भएकाले पठनपाठक अघि बढाउने विषयमा विद्यार्थी र अभिभावकहरूसँग छलफल गरिरहेको उनको भनाइ छ। “सीमित बालबालिकाको घरमा मात्रै इन्टरनेट सुविधा भएका कारण अहिले संस्थागत रुपमा अनलाइनबाट पठनपाठन शुरु गर्ने पक्षमा छैनौं”, उनले भने।

अहिले काठमाडौं उपत्यका र बाहिरका केही विद्यालयहरूले भर्चुअल कक्षा संचालन गरिरहेका छन्। उपत्यकामा रहेका लिटिल एन्जल्स, सेन्ट मेरिज, पाणिनी, अक्षरा लगायत विद्यालयहरूले इन्टरनेटबाट विद्यार्थीलाई सिर्जनात्मक अभ्यास गराइरहेका छन्। पाणिनीले जूम तथा गुगल क्लास फ्रि एपको प्रयोग गरेर पढाउने तथा सिर्जनात्मक कार्य गराइरहेको संस्थापक तथा प्रिन्सिपल कर्णबहादुर शाहीले जानकारी दिए।

शाहीको अनुभवमा कक्षा ७ देखि माथिका विद्यार्थीलाई इन्टरनेटबाट पढाउन सकिए पनि साना कक्षाका बालबालिकालाई पाठ्य सामग्री अध्यापन गराउन सम्भव हुँदैन। त्यसैले अहिले विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक पढाउने बाहेक व्यावहारिक शिक्षा, भाषा, लेखनशिल्प आदि सिकाइरहेको उनले बताए।

“अहिलेको अवस्था हेर्दा जेठ अन्तिमसम्म पनि विद्यालय खोल्न सकिने देखिंदैन”, उनले भने, “त्यति लामो समय पढाइ नहुँदा बालबालिकाको बानी पनि बिग्रने भएकाले भर्चुअल कक्षा चलाउन थालेका हौं।”

दमकको झापा मोडल स्कूलले विभिन्न विद्यालय र ब्रिटिश काउन्सिलको सहयोगमा शिक्षकहरूलाई तालिम दिएर ७ वैशाखदेखि इन्टरनेटबाट कक्षा संचालन गरिरहेको प्रिन्सिपल सागर श्रेष्ठले बताए। “अहिलेको अवस्था हेर्दा जेठ अन्तिमसम्म पनि विद्यालय खोल्न सकिने देखिंदैन”, उनले भने, “त्यति लामो समय पढाइ नहुँदा बालबालिकाको बानी पनि बिग्रने भएकाले भर्चुअल कक्षा चलाउन थालेका हौं।”

२८ चैतमा फोनबाटै विद्यार्थीको रिजल्ट दिएको झापा मोडलले विद्यार्थीको इन्टरनेटमा पहुँचबारे बुझेर कक्षा सञ्चालनको तयारी गरेको थियो। अधिकांश विद्यार्थी बजार क्षेत्रमा रहेको र अभिभावकहरूले इन्टरनेटको व्यवस्था मिलाएर बालबालिकालाई अनलाइन कक्षामा सहभागी गराउन चाहेको कारण सहज भएको प्रिन्सिपल श्रेष्ठले बताए। जूम र गुगल क्लासरुमको प्रयोग गरेर कक्षा चलाइरहेको उनले जानकारी दिए।

बुटवलको सगरमाथा स्कुल बुटवलले पनि कक्षा १० का विद्यार्थीलाई आन्तरिक रूपमै एप बनाएर पढाइरहेको प्रिन्सिपल कृष्ण पौडेलले जानकारी दिए। बाँकी कक्षालाई के गर्ने भनेर छलफल गरिरहेको बताउने उनी सबैलाई अनलाइनबाट पढाउन सम्भव देख्दैनन्। उनी भन्छन् “हाम्रो विद्यालयमा पढ्ने सबै विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन्, विकल्पमा के गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं।”

यो समय अधिकांश अभिभावक घरमा नै भएकाले वैकल्पिक व्यवस्था नहुन्जेल बालबालिकालाई पढाउन आग्रह गरिरहेको प्रिन्सिपल पौडेलले बताए।

मनोविज्ञान अनुसारको सिकाइ

बन्दाबन्दीमा घरभित्रै बस्नुपर्दा विद्यार्थीमा दिक्दारी बढ्न सक्ने भन्दै विद्यालय सम्बद्ध संस्थाहरुले भर्चुअल कक्षा मार्फत मनोवैज्ञानिक समस्या सम्बोधन गर्ने कार्यक्रम पनि सञ्चालन गर्नेबारे छलफल गरिरहेको बताएका छन्।

एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा अहिलेसम्मको बन्दाबन्दीले परिवारका सदस्यहरुसँग सामीप्यता बढाए पनि अब थपिए समस्या हुनसक्ने बताउँछन्। “घरभित्रै एकोहोरो बसिरहनुपर्दा किशोरकिशोरीमा दिक्दारी र निराशा बढ्न सक्छ, तिनको मनोविज्ञान बुझेर उपयुक्त कार्यक्रम आवश्यक हुन्छ”, उनी भन्छन्।

“बन्दाबन्दीका कारण लामो बिदामा रहेका विद्यार्थीको यो समयलाई कसरी उपलब्धिमूलक बनाउने भनेर विद्यार्थी, अभिभावक तथा शिक्षकबीच छलफल गरिरहेका छौं ।”

उनी अभिभावकले घरमा बालबालिकालाई घरायसी तथा सिर्जनात्मक काममा सहभागिताका लागि प्रोत्साहन गर्नुपर्ने सुझाव दिन्छन्। “बन्दाबन्दीका कारण लामो बिदामा रहेका विद्यार्थीको यो समयलाई कसरी उपलब्धिमूलक बनाउने भनेर विद्यार्थी, अभिभावक तथा शिक्षकबीच छलफल गरिरहेका छौं”, उनले भने।

प्याब्सनका अध्यक्ष टीका पुरी स्वतःस्फुर्त रूपमा सिर्जनात्मक क्रियाकलापमा सहभागी हुने विद्यार्थीको संख्या कम भएकाले सबै विद्यार्थी समेट्ने कार्यक्रम गर्न छलफल भइरहेको बताउँछन्। “पठनपाठन कसरी अघि बढाउने भन्ने विषयसँगै किशोर तथा बालमनोविज्ञान सम्बन्धी सामग्रीहरु प्रसारण गर्ने विषयमा पनि छलफल गरिरहेका छौं”, उनले भने।

प्रतिकृया दिनुहोस