ब्लग बुधबार, वैशाख १०, २०७७

अस्पतालको शय्यामा पनि कृषिकै कुरा

मिलन बगाले

अस्पतालको शय्यामा पनि कृषिकै कुरा

झमझम पानी परेको बिहान रेडियोमा मधुरो आवाजमा भजन बजाउँदै पल्टिरहेको थिएँ । देशविदेशको खबर जान्न मोबाइल उठाएँ । फेसबुकको मेसेन्जरमा किरण ठूलोबा (किरणदत्त तेवारी) को लामो मेसेज देखें । पढ्न थालेपछि मन चिसो भयो । प्रयाग ठूलोबा (अग्रज कृषिविद् प्रयागदत्त तेवारी) को देहान्त भएको रहेछ।

मिलन बगाले

पछिल्लो १० वर्षदेखि उहाँ घर र नर्भिक ओहोरदोहोर गरिरहनुभएको थियो । शरीर कमजोर भए पनि आत्मबल असाध्यै दह्रो थियो । तर, यसपटक नर्भिक अस्पतालकै बेडबाट उहाँ सधैंका लागि बिदा हुनुभयो । बन्दाबन्दीले गर्दा अस्पताल र आर्यघाट जान सकिएन।

उहाँले पढाइ, पद, पैसा, मानसम्मान मात्र हैन, मलामी पनि मनग्गे कमाउनुभएको थियो । बन्दाबन्दीले धेरैलाई मलामी बन्न दिएन।

उहाँलाई मैले चिनेको १० वर्षअघि हो । नाताले त म भतिजो, मेरो बाकी ठूलीआमाको छोरा । तनहुँमा उहाँको गाउँ (च्यानडाँडा) र मेरो गाउँ (बर्लाची) पनि नजिकै पर्छ । तर, उहाँको नजिक पर्ने र भेट्ने मौका जुरेको थिएन।

शुरुमा उहाँका भाइ किरण ठूलोबासँग कुरा भयो । उहाँले अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको मेरो लेख पढेर इमेल लेख्नुभयो । मेरो लेख प्रयाग ठूलोबालाई पनि देखाउनुभएछ । बल्ल दुवै जना ठूलोबासँग भेट भयो।

प्रयाग बासँग घरमा भन्दा बढी भेट नर्भिकमा हुन्थ्यो । ‘लौ हस्पिटलमा आईसीयूमा हुनुहुन्छ’ भनेर भेट्न गयो, डिलक्स रुमको बेडभरि किताब र पत्रिका मात्रै । लेखहरु लेखिरहनुभएको हुन्थ्यो । कहिले अर्थमन्त्रीलाई बजेट भाषणमा खाद्य संकट टार्न स्थानीय उत्पादन र रोजगारीमा चासो दिन आग्रह गर्दै चिठी लेखिरहनुभएको हुन्थ्यो।

पछि मैले नै कुरा सुन्दै इमेल, चिठी लेखिदिंदै गर्दा कृषि कर्मसँग जोडिएका धेरै कहानी सुनें । उहाँका बारेमा पत्रिकामा पनि लेखें । तर, एउटा वा दुइटा लेखले मन भरिएन । किरण बासँगको सल्लाहपछि किताब नै लेख्ने विचार आयो । म प्रायःजसो बिहान २ घन्टा उहाँको घर जान थालें।

अस्पतालकाे शय्यामा प्रयागदत तेवारी ।

पार्किन्सन्सको बिरामी, धेरै कुरा भुलिसक्नुभएको । मसिनो आवाजमा सम्झी सम्झी आफ्ना कहानी सुनाइरहँदा कहिले उहाँका आँखाभरि आँसु हुन्थे, कहिले अनुहार ६० वाटको बल्ब बलेझैं हुन्थ्यो । मैले आवाज रेकर्ड गरिनँ । खुरुखुरु कापीमा टिपें र किताब तयार भयो । त्यति वेला मैले थाहा पाएको प्रयाग ठूलोबाको संघर्ष मेरा लागि अविस्मरणीय भयो।

पढ्नका लागि प्रयाग ठूलोबाले गर्नुभएको लगाव र भोग्नुभएको दुःख असामान्य छ । न्यायाधीशको छोरो, तर पिँधका नागरिकले जस्तै दुःख पाउनुभएको ! जागिरे बाको पछि लागेर काठमाडौं, सिन्धुली, बाग्लुङ हुँदै ८ कक्षासम्म पढेर फेरि परिबन्दले गाउँमै पुग्नुहुन्छ।

त्यहाँ गाई गोठालो बनेपछि आमाले राति १० बजे उहाँको हातमा एक थान लाल्टिन र केही पैसा हालिदिएर लखेट्नुहुन्छ । त्यसरी लखेटिएको छोरो पाल्पा, काठमाडौं, पुना हुँदै स्विट्जरल्याण्डसम्म पुग्छ । कस्सिएर धस्सिएर काम गर्छ । कृषि अधिकृत भएर जिरी जान्छ । बस्ने ठाउँको अत्तोपत्तो नभएपछि सुँगुर पाल्न बनाइएको छानो पनि नभएको खोरलाई डेरा बनाएर काम थाल्छ । कृषिको काम गर्न गएको मान्छे राति लाल्टिन बालेर गाउँका युवालाई पढाउँछ । अस्पतालदेखि स्कूलसम्म खोल्छ । ३२ वर्षमै सहसचिव बन्छ । कृषि सामग्री संस्थानको संस्थापक महाप्रबन्धक बन्छ।

पेशागत जीवनमा पखेटा हाल्ने रहरले १७ वर्ष खाएको जागिर छोडेर राष्ट्रसंघीय निकायमा पुग्छ । इटाली, भारत, थाइल्याण्ड, चीन आदि देशका कृषि विकाससँग सम्बन्धित परियोजनामा काम गर्छ । जता जान्छ, टन्न अन्न फलाउँछ । बजारमा लगेर बेच्ने अनेक उपाय निकाल्छ।

कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (इफाद) बाट रिटायर्ड भएर फर्केपछि खाद्य संकट, स्थानीय उत्पादन र बजारीकरणबारे चिन्तन गरिरहन्छ । यसकै लबिइङमा लाग्छ । प्रोजेक्ट चलाउँदैन, आफ्नै गोजीको पैसाले अध्ययन गराउँछ, छलफल चलाउँछ । देश चलाउनेलाई कृषिमा लगानी गर्न घच्घच्याउँछ । बजेटमा एक घर एक रोजगार कार्यक्रम हाल्न अर्थमन्त्रीलाई सुझाउँछ । शरीर थाक्दा पनि मनले वायुपङ्खी घोडा कुदाइरहन्छ।

कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (इफाद) काे एक सम्मेलनमा सहभागी हुँदै (सबंभन्दा दायाँ) ।

मैले सरसर्ती सम्झेको यही हो । प्रयागदत्त तेवारी असामान्य दुःख भोगेर व्यक्तिगत उपलब्धिको धेरै सिंढी चढ्न सफल, तर घमण्ड, अहंकार तिलको दानो जति पनि नभएको मानिस हुनुहुन्थ्यो। सामाजिक उत्तदायित्व मनभरि भएको, भुइँमान्छेलाई सधैं केन्द्रमा राखेर काम गर्ने, छलछामभन्दा धेरै पर हुनुहुन्थ्यो। उहाँले तनहुँको च्यानडाँडास्थित सबै पुर्ख्यौली सम्पत्ति स्वास्थ्य चौकी बनाउन दान दिनुभएको छ । पोखरामा आफ्नी आमाको नाममा कौशिला पुस्तकालय बनाउनुभएको छ।


प्रयाग बाले विगत १० वर्षदेखि आधा कचौरा भात र एक कचौरा औषधि खाएको देख्दा मलाई अत्यास लाग्थ्यो । सुगर, प्रेसर, अल्सर, पार्किन्सन्स, घुँडाको समस्या थियो । लुला हात किताब समाउन पनि नसक्ने भइसकेका थिए, तर गाडीभरि किताब ल्याएर धमिला आँखाले कष्टसाथ पढ्नुहुन्थ्यो । कहिलेकाहीँ म नै पढेर सुनाउँथें।

अरुलाई हत्पत्ती किताब नदिने । दिए पनि फिर्ता गर्नैपर्ने । म पनि कहिलेकाहीं माग्थें । नाम लेखेर मात्र दिनुहुन्थ्यो । त्यो बानी मलाई मनपर्छ।

धेरै काम गर्ने रहर भए पनि थलिन परेको उहाँको गुनासो थियो । २२ वर्षअघि अवकाश भएर फर्किएसँगै एकपछि अर्को रोगले च्याप्यो । “थला परेको शरीर र चङ्ख दिमाग हुनु बडो अप्ठेरो रहेछ”, मसँग भन्नुहुन्थ्यो।

उहाँको चट्ट लुगा लाउनुपर्ने, मिठोमिठो खानुपर्ने, घुम्नुपर्ने रहर । लेखपढ गर्ने रहर । ठूल्ठूला काम गर्ने रहर थियो । तर, शरीर गल्दै गएपछि घर–अस्पताल गरेरै बित्यो।

कृषिसेवी तेवारीको व्यावसायिक जीवनलाई सानो किताबमा केही हदसम्म भए पनि उतार्न सकेकोमा मलाई सन्तोष लागेको छ । उहाँको आत्मा सुखी रहोस्।

प्रतिकृया दिनुहोस