समाचार शुक्रबार, वैशाख ५, २०७७

नमुना परिक्षणलाई तीव्रता दिँदै प्रदेश १ सरकार

नुनुता राई

प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूको नमूना परीक्षणलाई तिव्रता दिएको छ ।

द्रुत परीक्षण विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट शुक्रबारसम्म जम्मा १ हजार ९२ जनाको नमूना परीक्षण भईसकेको छ । १ हजार ९० जनाको रिर्पोट नेगेटिभ आएको छ भने दुई जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

त्यस्तै पीसीआर विधिबाट ३ सय ५५ जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । द्रुत परीक्षण विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) परिक्षणमा दुई जनाको रिर्पोट पोजेटिभ देखिएपनि पीसीआर टेस्टमा नेगेटिभ आएको छ ।

झापा हल्दीबारीका एक युवा र बुढीगंगा गाउँपालिका मोरङमा होम क्वारेन्टिनमा बसेकी महिलाको स्वाब पीसीआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८ पुरुषको नमूना परीक्षण भएको हो । जसमध्ये ५१ महिला र २ सय ४४ पुरुष गरी जम्मा २ सय ९५ जनाको नमूना नेगेटिभ आएको छ ।

प्रदेश १ मा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ । 

अहिले प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शुक्रबारसम्म कूल ५ सय ९५ जना छ । जसमा ६२ महिला र ५ सय ३३ पुरुष छन् । १३ महिला र ४९ पुरुष गरी जम्मा ६२ जना डिस्चार्ज भएका छन् ।

आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् । शुक्रबारसम्म आइसोलेसनमा जम्मा १० जना बसिरहेका छन् ।

होम क्वारेन्टाइनमा जम्मा ४ हजार १९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेमा महिला ६ सय ८१ र पुरुष ३ हजार ३ सय ३८ जना छन् ।

प्रतिकृया दिनुहोस