ब्लग सोमबार, वैशाख १, २०७७

वर्ष २०७७ः सादा जीवन, सानै विचार !

रविन गिरी

वर्ष २०७७ः सादा जीवन, सानै विचार !
सबै तस्बीरः हिमाल आर्काइभ/नेपाली टाइम्स

कोरोनाभाइरसको महामारीबाट संसारले के सिक्दैछ, थाहा पाउँदै जाउँला, तर नेपालीले सिक्ने कुरा भने ‘घाम जत्तिकै छर्लङ्ग’ छ ।

कोरोनाभाइरस (कोभिड–१९) महामारीबारे अहिले विश्वमा व्यापक बौद्धिक विमर्श भइरहेका छन्। कसैले यसलाई सभ्यताकै भयानक चुनौती ठानिरहेका छन्, कसैले दुर्लभ अवसर देखिरहेका छन्। कसैले पाठ सिकिरहेका छन्। कसैले शक्तिराष्ट्रहरूको अबको ‘वल्र्ड अर्डर’ को हिसाब गरिरहेका छन्।

महामारीले मानिसलाई वर्गविहीन बनाएको एक थरीको तर्क पनि छ, जुन २०७२ सालको भूकम्पको ताजा अनुभवबाट नै असफल सिद्ध भइसकेको छ। जस्तो कि, पशुपतिको आर्यघाटमा पुगेको मानिसले चिता जलिरहेको वेला नश्वर शरीर, लोभलालच र जीवनको क्षणिक अस्तित्वको बोध गर्छ, तर घर आइनपुग्दै ती सबै कुरा बिर्सेर फेरि उही पुरानै स्वभावमा फर्कन्छ।

बाँकी संसारले कोरोना महामारीबाट जे सिके पनि, जता ढल्के पनि, नेपालीले भने कोरोनासँग थुप्रै कुरा सिक्न सक्छन् । तर, यी कुरा राजनीति वा भूराजनीति होइनन्, कूटनीति, चाणक्य नीति वा मनुस्मृति होइनन् । रेल, पानीजहाजका कुरा पनि होइनन् । होर्डिङ बोर्डमा झुण्डिने समृद्धि अनि ‘देखिने र सुनिने’ सरकारका अढाई वर्षका उपलब्धि जति पनि होइनन्।

यी असाध्यै साना कुरा हुन्, जसलाई ठूला मान्छे बन्ने दौडमा, ठूल्ठूला कुरा सुन्ने धुनमा, हिंसा मार्फत साम्यवाद होस् या काल्पनिक ‘राष्ट्रवाद’को लोकरिझ्याइँमा महत्वहीन ठानिसकेका छौं ।

गौतम बुद्ध, महात्मा गान्धी त परै भए, हाम्रै महाकवि लक्ष्मीप्रसाद देवकोटा रचित मुनामदनका मदनको ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ स्वीकारोक्ति जत्तिको ‘उच्च विचार’ समेत दैलोमै छाडी आफ्नै परिभाषाका ठूला ठूला विचार पछ्याउने निहुँमा हामी ‘वैश्विक नागरिक’ बनिसकेका छौं । तर, कोरोनाभाइरसको संक्रमणले हामीलाई तिनै साना कुरामा केन्द्रित हुन अह्राएको छ, जसलाई हामीले जहिल्यै गौण ठानिरह्यौं।

के हुन् त ती साना कुरा ?

१. साबुनपानीले हात धुने, खोक्दा वा हाछ्यूँ गर्दा मुख छोप्ने ।
सन् २००८ देखि हरेक वर्षको अक्टोबर १५ मा विश्वव्यापी रुपमा ‘हात धुने दिवस’ मनाइने गरेको छ । जब केही महीना अघि मात्र नेपालमा यो दिवस मनाइएको तस्वीर सार्वजनिक भयो, हाम्रा सामाजिक सञ्जालमा सकारात्मक भन्दा नकारात्मक टिप्पणी सुनियो । ‘गैरसरकारी संस्थाहरुले डलर पचाउन नेपालीलाई जाबो हात धुन सिकाउँदैछन्’ भन्ने सम्मको तर्क चल्यो । यस्ता तर्क गर्ने धेरै आफू चाहिँ स्यानिटाइजरको पहुँचमा थिए, जसका लागि साबुनपानी कुनै ठूलो कुरा थिएन।

साबुनपानीले हात धुने कुरा स्वास्थ्यका लागि सामान्य सुझाव थियो, जीवाणु सबैभन्दा सजिलो गरी हाम्रो हात हुँदै मुख, नाक, आँखाबाट सहजै शरीरभित्र प्रवेश गर्छ र यसले संक्रमित तुल्याउँछ । त्यसैले बाहिरी वातावरण वा व्यक्तिको सम्पर्कमा आउनेवित्तिकै साबुनपानीले हात धोऔं।

बाटोघाटोमा मुख नछोपी खोक्दै हिंड्नु, जथाभावी खकार फ्याँक्नुलाई कतिपयले आफ्नो स्वतन्त्रतासँग जोडेर हेर्ने गरेका छन्। बाटोमा फोहोर गर्नेलाई सम्झाउँदा ‘यो बाटो, यो सार्वजनिक स्थल तिम्रो व्यक्तिगत सम्पत्ति हो र’ भन्नेसम्मको खप्की बेहोर्नुपर्छ । तर, यसरी खोक्दा, हाछ्यूँ गर्दा संक्रमण अर्कोलाई सर्न सक्छ भन्ने कुरा सामान्यजन मात्र होइन, कतिपय सरकारी हैसियत बनाएकाहरूका लागि पनि अति सानो कुरामै पर्छ।

२.कृषिकर्मका कुरा

बन्दाबन्दीकै समयमा के गर्ने ? अर्थमन्त्री डा.युवराज खतिवडाले भनेछन्, गाउँ जाने, बारीमा बालीनाली लगाउने, खेत जोत्ने । भलै खतिवडाको यो बोली सल्लाह भन्दा पनि आदेशप्रेरित किन नहोस्, यसमा सत्यताको अंश भने छ । आयातमा निर्भर हाम्रो अर्थतन्त्र यदि आत्मनिर्भर बन्ने हो भने त्यसका लागि पाइला चाल्नैपर्छ।

गान्धीवादी जर्मन मूलका बेलायती अर्थशास्त्री अर्नेष्ट फ्रेडरिक सुमाकरले सन् १९७३ मा लेखेको पुस्तक ‘स्मल इज ब्युटिफूल’ मा ग्रामीणमुखी अर्थतन्त्रमा जोड दिएका थिए । विश्वव्यापीकरण र उदार अर्थतन्त्र हावी नभइसकेको वेला उनको यो गाउँ फर्क अर्थतन्त्रले परनिर्भर हुनबाट जोगाउने ध्येय राखेको थियो, जसलाई त्यस वेला बौद्ध अर्थतन्त्र समेत भनिएको थियो।

भारतीय नाकाबन्दीमा पेट्रोलियम पदार्थका साथै अनेकन् वस्तु अभाव हुँदा आत्मनिर्भर बन्नतर्फ खुलेका हाम्रा आँखा नाकाबन्दी सकिएलगत्तै पुनः बन्द भए । आत्मनिर्भर बन्नु हाम्रो सन्दर्भमा कुनै उच्च विचार होइन । यो त वर्षौंवर्षदेखिका हाम्रा आर्थिक योजनाकै अंश होइनन् र ?

तर, समस्या चाहिँ स्वयं सरकार नै हो, देशमा रोजगारी सिर्जना गर्न नसक्ने, युवा जनशक्ति विदेशिन प्रोत्साहन गर्ने, रेमिटेन्सका आडमा देश चलाउने अनि बचेका केटाकेटी, महिला, ज्येष्ठ नागरिकलाई बाँझो जमीन खन्न निर्देशन दिने कथित राष्ट्रवादी प्रवृत्ति नै हो।

कृषिकर्म गर्दा भूगोल अनुसारका हाम्रा रैथाने अन्नबालीमा जोड दिनु आवश्यक छ। अहिले सर्वत्र पकड जमाइरहेको जङ्कफूडले पोषण र स्वास्थ्यलाई नै चुनौती दिइरहेको छ। यो चुनौतीलाई हाम्रै स्थानीय अन्नबालीको उत्पादन र उपभोगबाट परास्त गर्न सकिने विषयमा हामी पक्कै पनि बेखबर छैनौं, केवल ‘नजिकको तीर्थ हेला’ झैं महत्वहीन ठानिरहेका हौं। अहिलेसम्म हाम्रो खेती प्रणाली निर्वाहमुखी रहेकोमा यसलाई व्यावसायिक नबनाई कृषिमा जोड दिने नीति र निर्देशन फोस्रो अर्ती मात्र भइरहनेछ। 

३.भ्रष्टाचारका कुरा
यदि पृथ्वीनारायण शाहको दिव्योपदेश सत्य हो भने उनले ‘घुस दिने र लिने दुवै राज्यका शत्रु हुन्’ भनेका थिए । जुन कम्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसका अवसरमा प्रत्येक वर्ष सरकार प्रमुखले दोहो¥याउँछन् ।

तर, जब महामारी विरुद्ध स्वास्थ्य सामग्री खरीदमा सरकारी तहकै संलग्नताको आरोप लाग्छ, जब अवैतनिक दूतले ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरिरहेका भेटिन्छन्, तब लाग्छ, हाम्रो देशमा वास्तविक महामारी कोरोना होइन, भष्ट्राचार हो । कोरोना त समयक्रममा मत्थर होला तर भ्रष्ट्राचार ?

के घुस नखानु ठूलो कुरा हो ? पक्कै होइन । यो त अर्कालाई नढाँट्नु, झूटो नबोल्नु, हानि नपु¥याउनु, हिंसा नगर्नु जस्ता सामान्य कुरा होइनन् र? इमान्दार हुनु कुनै अतिरिक्त वा असाधारण गुण होइन । यो बुद्धको पञ्चशील सिद्धान्तजति कठिन पनि होइन, सानो कुरा नै हो।

४.प्रकृति प्रेमका कुरा

वैज्ञानिकहरुका अनुसार, महामारीको एउटा प्रमुख कारण वातावरणीय विनाश हो । प्राकृतिक सम्पदाको दोहनबाट वनजंगलका जीवजन्तु विस्थापित हुन्छन् । विस्थापित ठाउँमा बाँच्न यीमध्ये कतिपय जीवले आफ्नो आनुवंशिक गुणमै परिवर्तन ल्याउँछन्, जसबाट विज्ञान समेत अनभिज्ञ हुन्छ । अहिले भइरहेकै त्यही हो । र, पछिल्लो समयका अधिकांश महामारीमा यही तथ्य भेटिन्छ।

त्यसो त मानिस पनि बसाइँ सर्छ । बसाइँ सरेको मानिसले समुदाय अनुसार आफ्नो व्यवहार परिवर्तन गर्छ, तर आनुवंशिक गुण परिवर्तन हुन धेरै समय लाग्छ।

विश्व स्वास्थ्य संगठनले जलवायु परिवर्तनलाई पनि महामारीको प्रमुख कारक मानेको छ । कुरा सामान्य छः प्रकृतिको पारिस्थितिकीय प्रणाली बिथोलिए प्रकृति मात्र होइन, मानिसलाई समेत संकट पर्छ । वर्षेनि बाढी, पहिरो, आगलागी जस्ता प्रकोप सहेका भुक्तभोगी हामीलाई यसबारे थाहा नहुने कुरै भएन । तर, पनि हामी वन मासेरै सही, विमानस्थल बनाएरै छाड्ने जिद्दी कस्छौं, खोला मासेर बस्ती बसाउँछौं।

चीनको वुहान शहरबाट फैलिएको महामारीलाई पनि कतिपयले जलवायु परिवर्तन र प्राकृतिक विनाशसँगै जोडेका छन् । भोलि यस्तो नहोस् कि महामारी हामीबाटै फैलियोस्।

५.अन्धविश्वासका कुरा
आजभन्दा तीन सय वर्षअघि १७७२ सालदेखि पाँच वर्ष १७७९ भदौसम्म कान्तिपुरमा चलेको ‘प्लेग’ को महामारीबाट राजा महीन्द्रसिंहदेव (भाष्कर मल्ल) सहित १८ हजार ७१४ को मृत्यु भएको थियो । शाहकालमा राजा रणबहादुर शाहकी रानी त्रिपुरासुन्दरी, राजा गीर्वाणयुद्ध विक्रम शाहले भने बिफर महामारीका कारण मृत्युवरण गर्नुपरेको थियो।

आश्चर्य, अहिले कोरोनाकालमा पनि अन्धविश्वास कायम रहेको पाइयो । अहिले पनि मानिस कोरोनाबाट पशुपतिनाथ भगवानले रक्षा गर्ने जस्ता तर्क गरिरहेका भेटिन्छन् । यस्तो तर्क गर्नेसँग २०७२ सालको भूकम्पमा चाहिँ पशुपतिनाथले किन बचाएनन् त भन्ने सामान्य प्रतिप्रश्न पनि अनावश्यक बन्छ।

हैजाले नेपालमा सन् १८०० को शताब्दीभरि नेपालीलाई निकै दुःख दियो । सन् १८८५ को हैजामा काठमाडौंको कहरलाई तत्कालीन ब्रिटिश रेजिडेन्सीमा कार्यरत सर्जन डा.जी एच गिम्लेटले मन छुने गरी वर्णन गरेका छन् । द ब्रिटिश मेडिकल जर्नलमा सन् १८८६ मा छापिएको उनको ‘रिपोर्ट अन् द कोलेरा इपिडेमिक अफ १८८५ इन् काठमाडौं’ शीर्षकको लेखमा उनले शहरको फोहोर र दुर्गन्धको बयान गर्दै प्रकोपबाट करीब ९ हजारको ज्यान गएको सरकारी तथ्यांक पनि उद्धरण गरेका छन्।

तर, उनी प्रकोपप्रति नेपालीहरूमा रहेका अन्धविश्वासप्रति चिन्तित थिए, प्रकोपको दोष कहिले महामाईलाई दिने त कहिले शनि ग्रहको अशुभ दिनमा राजाको १८ औं जन्मदिन पर्नुलाई दिने गरेको उनले लेखेका छन्।

भाष्कर मल्लकै पालामा पनि ‘मलमास परेको समयमा राजाकै जिद्दीमा कान्तिपुरले दशैं मनाएका कारण जगदम्बा रिसाएकाले यस्तो भएको’ भनी अन्धविश्वासले घर गरेको इतिहासकारहरुले लेखेका छन्।

आश्चर्य, अहिले कोरोनाकालमा पनि अन्धविश्वास कायम रहेको पाइयो । अहिले पनि मानिस कोरोनाबाट पशुपतिनाथ भगवानले रक्षा गर्ने जस्ता तर्क गरिरहेका भेटिन्छन् । यस्तो तर्क गर्नेसँग २०७२ सालको भूकम्पमा चाहिँ पशुपतिनाथले किन बचाएनन् त भन्ने सामान्य प्रतिप्रश्न पनि अनावश्यक बन्छ।

हाम्रा प्राज्ञ, अर्बपतिहरुलाई कसले सम्झाइदेला कि यो महामारीबाट बच्न यज्ञ, होम र पूजा आदिको भीड होइन, स्वयं संगरोध, एकान्तवास, बन्दाबन्दीका विकल्प मात्र छन्।

लाग्दैन, इतिहासका विभिन्न कालखण्डमा बेहोरेका यस्ता दुसाध्यबाट पाठ सिक्न हाम्रो सामूहिक चेत, चिन्तन प्रक्रिया र शासकीय क्षमतामा उल्लेखनीय परिवर्तन आएको छ । राजनीतिक व्यवस्था बदल्न ठूला ठूला ‘क्रान्ति’ गरेका हामी स्वयंमा निहित धार्मिक, परम्परावादी, वर्गीय, जातीय, लैंगिक विभेदका सोच जस्ता स—साना कुरामा प्रगतिशील हुन किन सक्दैनौं ?

त्यसैले कोरोना कहरको यो प्रतिकूलतामा आफ्ना अनुकूलताका ‘उच्च विचार’ छाडौं, ‘सादा जीवन, सानै विचार’ मा ध्यान दिऊँ !

नयाँ वर्ष २०७७ को शुभकामना !

प्रतिकृया दिनुहोस