रिपोर्ट शनिबार, चैत २९, २०७६

बन्दाबन्दीमा कम्बाइन मेसिन चालक नहुँदा किसानलाई गहुँबाली उठाउनै सकस

मुकेश पोखरेल

बन्दाबन्दीमा कम्बाइन मेसिन चालक नहुँदा  किसानलाई गहुँबाली उठाउनै सकस

कपिलवस्तु महाराजगञ्जका अखिलेस यादव हरेक वर्ष यतिवेला १२ विघा खेतको गहुँबाली भित्राइसकेका हुन्थे । यो वर्ष खेतमै गहुँबाली सुकेर झरिसक्दा समेत अखिलेसले कटानको तयारी समेत गर्न सकिरहेका छैनन् ।

कोरोनाभाइरसको संक्रमण रोकथाम नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) लागू गरेपछि गहुँ कटान गर्ने कम्बाइन मेसिन चलाउने जनशक्तिको अभाव भएपछि अखिलेस जस्तै तराईं क्षेत्रका धेरै किसानले यो वर्षको गहुँबाली भित्राउन पाएका छैनन् ।

कपिलवस्तु मात्रै नभएर तराईंका अरू जिल्लामा पनि मेसिन चलाउने चालकहरू नभएपछि यो वर्ष किसानको गहुँ कटानको काम प्रभावित भएको छ ।
पहिले हातैले धान तथा गहुँ बाली काट्ने गरेको भएपनि पछिल्लो १० वर्षयता किसानहरूले कटानमा कम्बाइन मेसिनको प्रयोग गर्दै आइरहेका छन् ।
लामो समयदेखि हातले बाली काट्ने बानि छुटि सकेका किसानहरू आफैसँग मेसिन चलाउने सिप नहुँदा यो वर्ष तनावमा परेका छन् । किसानहरूले भारतीय जनशक्तिको प्रयोग गरेर कम्बाइन मेसिनमार्फत गहुँ काट्ने गरेका थिए ।

“कम्बाइन मेसिन चलाउने चालकहरू सबै भारतीय हुन् । लकडाउनका कारण उनीहरू आउन नसकेपछि काम हुन सकेको छैन,” अखिलेसले भने “मानिस लगाएर काट्ने हो भने पनि मान्छे पाउन गााह्रो छ ।” संक्रमण रोकथामका लागि मानिसहरू बीचको दूरी राख्नुपर्ने भनेपछि त्रासका कारण कोही पनि खेतमा सँगै काम गर्न नमानेको उनको गुनासो छ ।

अखिलेस जस्तै महाराजगञ्जका पिन्टु चौधरी, अनन्तराम पाण्डेलगायत किसानको अवस्था पनि खासै फरक छैन । पाण्डेले यसवर्ष ४ विघा खेतमा गहुँ लगाएका छन् ।

एक विघा भन्दा माथि खेत हुने किसानलाई गहुँ कटानमा समस्या भएको छ । “दुई चार कट्ठा भए घरकै परिवारका सदस्यले काटेर सकिन्थ्यो,” पाण्डेले भने “ज्यालामा मान्छे खोज्दा पनि पाइएन ।”

गहुँ काट्ने मेसिन स्थानिय किसानले चलाउन नसिक्दा समस्या भएको देखिन्छ । “मेसिन चलाउन सक्ने एक दुई जना मात्र छन् । तर, भारतीय चालकले जस्तो चलाउन उनीहरूले सक्दैनन् ।”

मेसिन नेपाली किसानहरू आफैसँग हुँदा पनि जनशक्ति नहुँदा समस्या भएको छ । अर्का किसान प्रदिप चौधरीको कम्बाइन मेसिन स्थानिय चालकले चलाएर ३ विघा खेतको गहुँ नकाट्दै बिग्रीएपछि मर्मत गर्नेे सामान नपाउँदा यत्तिकै थन्किएको छ ।

प्रदेश नम्बर ५ को कृषि निर्देशनालयका अनुसार यतिवेला ७० प्रतिशत गहुँ भित्राउने वेला हो । तर, अहिलेसम्म मुस्किलले २५ प्रतिशत किसानले मात्र गहुँ भित्राएका छन् ।

थोरै खेत हुने किसानले हातले काटेर गहुँ भित्राएका छन् भने धेरै खेत हुने किसान अन्योलमा छन् ।

रुपन्देहीको देवदह नगरपालिकाका लक्ष्मण न्यौपानेले एकहप्तासम्म कतै कम्बाइन मेसिन पाइन्छ कि भनेर खोजे । तर, जति ठाउँमा सम्पर्क गरे सबै ठाउँमा चालक नभएर मेसिन थन्किएको पाएपछि मानिस लगाएर १० कट्ठा खेतको गहुँ भित्राए ।

कम्बाइन मेसिनले १० कट्ठाको गहुँ २० मिनेटमा काट्नसक्छ भने मानिसले त्यही काम एक हप्तामा मात्रै गर्न सक्छन् । काट्दा, बोक्दा सबै गर्दा समय लाग्ने न्यौपानेको भनाइ छ ।

प्रदेश नम्बर ५ अन्र्तगत रुपन्देही, कपिलवस्तु र परासी जिल्लामा गहुँ तथा धान कटानको लागि कम्बाइनको प्रयोग गरिन्छ ।

मौसमको चिन्ता
कपिलवस्तुको मायादेवी गाउँपलिका १ पकडीका राधेश्याम बरईले लगाएको मसुरो र तोरी यस वर्ष भित्राउन पाएनन् । हिउँदे वर्षाले उनको मुसोरो र तोरी सखाप भयो । चार विघा खेतमा लगाएको गुहँ पाकिसकेको छ । गहुँ काट्ने मेसिन र ज्यामी नपाँउदा उनको गहुँ खेतमै अलपत्र अवस्थामा छ ।

उनलाई पानी र असिना आएर गहुँ सखाप पार्छ कि भन्ने पीरले सताउँछ । “मुसोरो र तोरी त एकदाना पनि भित्राउन पाएनौं, बर्षाले सबै नोक्सान भयो,” उनी भन्छन् “गहुँ त राम्रो छ, तर भित्राउनै नपाइ असिना पानीले बिगार्छ कि भन्ने डर छ । आकास गड्याङ्गगुडुङ्ग गर्दा पनि निद्रा लाग्दैन ।”
एकातिर आकासबाट आउने असिना पानीले खेतको गहुँ सखाप पार्ने हो कि भन्ने डर छ भने अर्कोतिर कसैले गहुँ खेतमा आगो लगाइदिने हो भन्ने पीर किसानलाई छ ।

सुकेको गहुँबालीमा आगो लाग्यो भने सबै सखाप हुन्छ । एकहप्ता अघि जिल्लाकै महाराजगञ्ज र कृष्णनगर नगरपालिकामा आगलागी हुँदा करिब नौं विघा खेतको गहुँ जलेको थियो । कृष्णनगरमा धरमपाल कुर्मी सहितका किसानको गहुँ खेतमा आगलागी भएको थियो ।

 

प्रतिकृया दिनुहोस