समाचार आइतबार, चैत २३, २०७६

बन्दाबन्दीबाट चलचित्र प्राविधिकको बिचल्ली: विकास बोर्डले राहत नदिने, कलाकारहरूले सहयोग जुटाउँदै

नुनुता राई

बन्दाबन्दीबाट चलचित्र प्राविधिकको बिचल्ली: विकास बोर्डले राहत नदिने, कलाकारहरूले सहयोग जुटाउँदै

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण अरु क्षेत्र जस्तै मनोरञ्जन क्षेत्रमा पनि असर परेको छ। चलचित्र, म्युजिक भिडियो, विज्ञापनको छायांकन स्थगित हुँदा यसको प्रत्यक्ष मारमा दैनिक ज्यालादारी गर्ने चलचित्र प्राविधिकहरु परेका छन्।

बन्दाबन्दीका कारण दैनिक गुजारा चलाउन समस्या भोगिरहेका चलचित्र प्राविधिकहरुलाई कलाकार, निर्माता, निर्देशक तथा वितरकहरुले खाद्यान्न सहयोग गर्न थालेका छन्। केही कलाकारले सहयोग रकम र खाद्यान्न दिएका छन् भने केहीले सहयोगको घोषणा गरेका छन्।

संकलित सहयोग नेपाल चलचित्र प्राविधिक संघको संयोजकत्वमा लोकेशन नेपालको सहकार्यमा आर्थिक अवस्था कमजोेर भएका प्राविधिकहरुको बासस्थानसम्म पुर्‍याउने तयारी भइरहेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए। उनका अनुसार स्पट ब्वाई, लाइटमेन, किचन ब्वाई, मेकअप असिस्टेन्ट, ड्रेस असिस्टेन्ट, आर्ट असिस्टेन्ट लगायतलाई चामल, दाल, नून, तेल वितरण गर्न लागिएको हो।

लामा भन्छन् “कुनै पनि चलचित्र, म्युजिक भिडियो निर्माण गर्न पर्दा पछाडि हामी प्राविधिकको महत्वपूर्ण भूमिका हुन्छ, तर नियमित काम नपाउने र पाए पनि कमाइ नै थोरै हुन्छ। अहिले त झन् बन्दाबन्दीका कारण गुजारा चलाउनै समस्या परेकोले सहयोग जुटाइएको हो।”

चलचित्र जत्ति धेरै निर्माण भयो, प्राविधिकहरूले त्यति नै कामको अवसर पाउँछन्। तर, गएको वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत कम चलचित्र बनेको अध्यक्ष लामा बताउँछन्। “थोरै चलचित्र बनेपछि काम स्वतः कम पाउँदा जिविकोपार्जन गर्न गाह्रो भइरहेको थियो, त्यसमाथि यो बन्दाबन्दीले झनै समस्यामा पारेको छ।”

प्राविधिकलाई परेको समस्याबारे चलचित्र प्राविधिक संघले चलचित्र विकास बोर्डलाई गुहारेको छ। बोर्डका सदस्य–सचिव महेन्द्रप्रसाद शांखी, बोर्डका सदस्यहरु महेन्द्र महर्जन, दयाराम दाहालसँग कुरा राख्दा अहिले अध्यक्ष नहुँदा निर्णय लिन गाह्रो पर्ने भएकाले केही समय पर्खन भनिएको लामाले बताए। बोर्डका अध्यक्ष रहेका केशव भट्टराईको गएको २९ मंसीरमा निधन भएपछि सरकारले अध्यक्ष नियुक्त गरेको छैन।

विकास बोर्डले केही समय पर्खिन भनेपछि कलाकारहरुकै सहयोगमा नेपाल चलचित्र प्राविधिक संघ अन्तर्गत विपन्न व्यवस्थापन कोष निर्माण भएको हो। अहिले त्यही कोषमा राहत स्वरुप नगद तथा जिन्सी सहयोग जम्मा भइरहेको संघका अध्यक्ष तथा कोषका संयोजक लामाले बताए।

कोषमा हालसम्म लाइन प्रोड्युसर गौतम धिमालले रु.२ लाख २५ हजार बराबरको र अभिनेत्री वर्षा राउतले रु.५१ हजार बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएका छन् भने नेपाल उद्योग वाणिज्य महासंघले १० किलो चामलको ५५ प्याकेट र ५५ किलो दाल सहयोग गरेको छ।

सहयोग रकमको घोषणा गर्ने कलाकार र फिल्म क्षेत्रसँग सम्बन्धित अन्य व्यक्तिहरूको संख्या भने बढ्दो छ। अभिनेत्री पूजा शर्माले रु.२ लाख, कलाकार पल शाहले रु.५ लाख एक हजार, निर्माता तथा निर्देशक कृष्ण चापागाईंले रु.१ लाख २५ हजार, निर्माता तथा कलाकार दीपकराज गिरीले रु.१ लाख २० हजार, फिल्म सोसाइटी नेपालले रु.३० हजार, कलाकार पुष्कर राउतले रु.१५ हजार, वितरक गोपालकाजी कायस्थले रु.११ हजार, रिवाज फाउन्डेसनका प्रमुख दुर्गा बिसुरालले रु.२० हजार, चलचित्र छायांकार अर्जुन तिवारीले रु.२० हजार सहयोग गर्ने घोषणा गरेका छन्।

सहयोग रकमबाट खाद्यान्न किनेर प्राविधिकहरूको घरघरमै पुर्‍याउने ढुवानी खर्च लोकेशन नेपालले व्यहोर्ने संयोजक लामाले जानकारी दिए।

चलचित्र विकास बोर्डले राहतको व्यवस्था गर्दैन: सदस्य-सचिव शांखी

चलचित्र विकास बोर्डका सदस्य–सचिव महेन्द्रप्रसाद शांखी पनि बोर्डले सहयोग दिने योजना केही नरहेको बताउँछन्। कलाकारहरुले व्यक्तिगत तथा संस्थागत सहयोग गरिरहे पनि चलचित्र विकास बोर्डले छुट्टै राहत व्यवस्था नगर्ने उनको भनाइ छ।

बोर्डले राहत दिनुपर्‍यो भने पनि सरकारसँगै माग्नुपर्ने भन्दै उनले सरकारले अहिले स्थानीय तहबाट राहत उपलब्ध गराइरहेका कारण बोर्डले छुट्टै नदिने बताए।

“सरकारले दैनिक ज्यालादारी गर्ने सबैलाई स्थानीय तहबाट राहत उपलब्ध गराइरहेको छ। चलचित्र प्राविधिक साथीहरु पनि सम्बन्धित वडामा गएर राहत लिनसक्नुहुन्छ।”

चलचित्रकर्मी कल्याणकारी कोषबाट राहत दिन सक्ने अवस्था छैनः संयोजक भुषाल

चलचित्र विकास बोर्डमा चलचित्रकर्मी कल्याणकारी कोष छ। चलचित्रकर्मीहरुको सहयोगका लागि १८ वर्ष अघि स्थापना गरिएको कोषमा हाल करीब रु.४ करोड छ। तर, कोषकी संयोजक बसुन्धरा भुषाल कोषबाट तत्काल सहयोग गर्न सकिने अवस्था नरहेको बताउँछिन्।

यो वर्ष निधन भएका केही चलचित्रकर्मीको सम्पूर्ण काजकिरिया खर्च कोषले व्यहोर्नुपरेको र कतिपयलाई नियमित भत्ता पनि दिइरहेको बताउँदै भुषाल भन्छिन्, “त्यसैले यो अप्ठ्यारो समयमा चाहेर पनि प्राविधिक मित्रहरुलाई सहयोग गर्ने अवस्था छैन।”

प्रतिकृया दिनुहोस