रिपोर्ट शुक्रबार, चैत २१, २०७६

गरीब देशहरुमा कोरोना भाइरस संक्रमण यसकारण कमजोर

मुकेश पोखरेल

गरीब देशहरुमा कोरोना भाइरस संक्रमण यसकारण कमजोर
नक्शामा संक्रमणकाे संख्या अनुसारकाे गाेलाकार ।

धनी र स्रोतसाधनले सम्पन्न देशहरु कोरोनाभाइरसको संक्रमणबाट अत्यधिक प्रभावित भइरहेका वेला गरीब र अतिकम विकसित देशहरुमा यसको संक्रमण कमजोर देखिएको छ।

गएको डिसेम्बरबाट चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभर फैलिएको छ। यो भाइरसबाट अमेरिकासँगै पश्चिम यूरोपका विकसित र शक्तिशाली देशहरु बढी आक्रान्त छन्। शुक्रबार अबेर (४:३० बेलुकी) सम्म अमेरिकामा मात्रै २ लाख ४५ हजारभन्दा बढी मानिस संक्रमित छन् भने मृतकको संख्या छ हजार नाघिसकेको छ।

अमेरिकापछि स्पेन, इटाली, बेलायत, फ्रान्स लगायत यूरोपेली देशहरू बढी प्रताडित छन्। शुक्रबार अबेर (४:३० बेलुकी) सम्म इटालीमा संक्रमित व्यक्ति १ लाख १५ हजारभन्दा बढी पुगिसक्दा मृतकको संख्या झण्डै १४ हजार पुगेको छ भने स्पेनमा १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। फ्रान्समा पनि संक्रिमतको संख्या ५९ हजार पुग्दा पाँचहजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

ती देशहरूमा संक्रमण दर तीव्र छ। कोरोनाभाइरसबाट बढी प्रभावित भएका यी देशहरु स्वास्थ्य सेवा र व्यक्तिगत जीवनशैलीका हिसाबमा निकै सुविधायुक्त मानिन्छन्।

यसको विपरीत संयुक्त राष्ट्रसंघको अति कम विकसित (एलडीसी) देशको सूचीमा रहेका मुलुकहरुमा भने संक्रमितहरुको संख्या कम देखिएको छ। उदाहरणका लागि नेपालमा अहिलेसम्म ६ जना मात्र संक्रमित भेटिएका छन्।

उनीहरू सबै अन्य देशबाट फर्किएका नागरिक हुन्। यस्तै, एलडीसीको सूचीमा रहको सार्क राष्ट्र भूटानमा अहिलेसम्म ५ जना मात्र संक्रमित देखिएका छन् भने ६१ जना संक्रमित रहेका बाङ्लादेशमा ६ जनाको मृत्यु भएको छ। अफगानिस्तानमा २७३ संक्रमित रहेकोमा ६ जनाको मात्र मृत्यु भएको छ।

एलडीसीको सूचीमा रहेका सुडान र चाडमा अहिलेसम्म ८/८ जना मात्र संक्रमित देखिएका छन्। त्यसैगरी अंगोलामा ८ जना संक्रमित र २ जनाकाे मृत्यु भएकाे छ भने बुरण्डीमा ३ जना मात्र संक्रमित व्यक्ति भेटिएका छन्। ती देशहरुमा कोरोनाभाइरसका कारण नेपालमा जस्तै मृत्युदर शून्य छ ।

अतिकम विकसित देशहरुको सूचीमा रहेका गरीब मुलुकमा कोरोना संक्रमित कम हुनुको कारण अहिलेसम्म किटान गर्न सकिएको छैन। यद्यपि यी देशहरुमा संक्रमित र मृतकको संख्या कम हुनुलाई फरक-फरक कोणबाट विश्लेषण गर्ने गरिएको छ। केही विश्लेषक ती देशहरुमा संक्रमित देशहरुबाट मानिसको आवतजावत पातलो भएका कारण संक्रमण र मृत्युदर कम भएको ठान्छन्।

इपिडमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक, डा.बाबुराम मरासिनीको भनाइमा मुख्यतः विकसित मुलुकको तुलनामा कोरोनाभाइरसको परीक्षण निक्कै कम हुनु र मानिसहरुको मुभमेन्ट पनि कम भएकाले पनि कम विकसित मुलुकमा यसको संक्रमणदर कम देखिइएको हुनसक्छ ।

उनी भन्छन्, "काममा जाँदा रेल चढ्दा होस् या २०/३० तले भवनमा लिफ्टबाट ओहोरदोहोर गर्दा- निक्कै भिडभाड हुन्छ ।  त्यो कारणले पनि संक्रमण बढेको हुनसक्छ।"

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अन्तर्गत क्लिनिकल रिसर्च यूनिटका संयोजक डा.शेरबहादुर पुन भने संक्रमण बढी फैलिएका देशबाट मानिसको कम आवतजावतकै कारण संक्रमण दर कम भएको मान्दैनन्। उनी भन्छन् “बन्दाबन्दी घोषणा हुनु अघि संक्रमण तीव्र फैलिएका देशबाट हजारौं मानिस नेपाल आएका थिए।”

 

 "न्यून परीक्षण र मानिसहरुको मुभमेन्ट कम भएकाले हामीकहाँ कोरोनाभाइरसको संक्रमणदर कम देखिएको हुनसक्छ"

- डा.बाबुराम मरासिनी

डा.बाबुराम मरासिनी

नेपाललगायत अतिकम विकसित मुलुकमा कोरोनाभाइरसको संक्रमण दर कम हुनुको कारणबारे विभिन्न कुराहरु आएका छन्, तर ती सबै आकलनमै सीमित छन् । विकसित मुलुकको तुलनामा कोरोनाभाइरसको कम परीक्षण हुनु मुख्य कारण हो ।

अर्को कारण चाहिँ मानिसहरुको मुभमेन्ट हुनसक्छ । विकसित देशहरुमा जस्तो हामीकहाँ पूर्वाधार सुविधा छैन। जस्तो विकसित मुलकमा भूमिगत रेलहरु छन्। धेरै मानिस रेलमा कोचाकोच गरेर हिंड्छन्। एकजना संक्रमितले एकठाउँमा समात्दा धेरै मानिसलाई त्यहीँबाट सर्छ। २०/३० तले भवनमा एकैपटक १५/२० जना मानिस लिफ्टबाट ओहोरदोहोर गर्छन् । त्यो कारणले पनि संक्रमण दर ठूलो भएको हुनसक्छ।

मानिस र सूर्यको प्रकाशबीचको संसर्गमा हुने कमबेसी पनि अर्को कारण हो कि ! जति पनि विकसित देशहरुमा अहिले कोरोनाको महामारी द्रुतगतिमा फैलिरहेको छ, त्यहाँका मानिसमा सूर्यको प्रकाश पाउन एउटा अवसरनै हुनुपर्ने हुन्छ । अन्यथा दैनिक जीवनमा घरमा, कार्यालयमा, रेलमा जहाँ पनि तिनका लागि सूर्यको प्रकाश दुर्लभ हुन्छ ।

अहिले अष्ट्रेलिया लगायत विभिन्न देशका वैज्ञानिकहरूले क्षयरोग (ट्यूबरकोलोसिस्- टीबी) विरुद्ध बीसीजी खोपको प्रयोग गरेका कारण पनि अविकसित देशमा कोरोनाभाइरस संक्रमण दर न्यून भएको हो कि भनेर अनुसन्धान गरिरहेका छन् ।

क्षयरोग विरुद्ध प्रतिरोध क्षमता बढाउन सन् १९६० देखि बीसीजी खोप लगाउन शुरु गरिएको हो। यो खोपले रगतको ह्वाइट ब्लड सेलमा ‘किलरसेल’ लाई बलियो बनाउँछ। यसैले हाम्रो शरीर भित्र प्रवेश गर्ने भाइरस मारेको हो कि ? विकसित देशमध्ये कतिले काम गरेन भनेर यो खोपनै लगाएनन् भने कतिले त्यत्तिकै छोडे ।

जापानले २० वर्ष अघिनै खोप बन्द गर्‍यो। धेरै देशले सन् १९८० देखिनै बन्द गरेका हुन्। अनुसन्धानकर्ताहरु यो खोपले बीसीजी खोपलाई टीबी भन्दा पनि अन्य रोगको लागि काम गरेको बताइरहेका छन्।

 

"हामीकहाँ संक्रमणदर कम हुनुमा आनीबानी, परम्पराको प्रभाव हुनसक्छ"

- डा. शेरबहादुर पुन

डा. शेरबहादुर पुन

मैले पहिल्यैदेखि कोरोनाभाइरसलाई कमजोर भाइरस भन्दै आएको छु। तर, धेरै साथीहरु पत्याउँदैनन्। सत्य अहिलेसम्म कसैले नियालेको छैन।

यूरोप र अमेरिका सबैभन्दा बढी प्रभावित हुँदा नेपालसहित अफ्रिका र दक्षिण अमेरिकी देशहरुमा कोरोनाभाइरसको संक्रमण एकदमै कम छ। स्वास्थ्य सेवासहित सबै हिसाबले सुविधा सम्पन्न भनिएका देशहरु जसरी कोरोनाका कारण आच्छुआच्छु भएका छन्, त्यसका आधारमा अति कम विकसित मुलुकहरुमा यसको प्रभाव झन् बढी हुनुपर्ने हो, त्यो भएको छैन।

हामीले सरसफाइका बारेमा जतिसुकै कुरा गरे पनि हामीले भन्दा बढी त विकसित देशहरुका मानिसले नै गर्छन् । हाम्रो नजिकैको उदाहरण हेरौं, बाङ्लादेश, भारत र अफ्रिकी मुलुकहरुमा स्वास्थ्य र सरसफाइको स्थिति नाजुक छ। मानिसहरुको भिडभाड उस्तै छ। तर, चीन, अमेरिका र यूरोपेली मुलुकमा जसरी दैनिक हजारौं नयाँ संक्रमित भएका थिए, त्यो अवस्था त यी देशहरुमा भएको छैन।

नेपालका लागि कोरोनाभाइरस नयाँ होइन। अहिले देखिएको नयाँ कोरोनाभाइरस त्यो प्रजातिको सबैभन्दा कान्छो भाइरस हो। कोरोना प्रजातिका भाइरस यसअघि ६ वटा देखिएकोमा यो सातौं भाइरस हो।

एक अनुसन्धानले नेपालमा श्वासप्रश्वासका कारण अस्पतालमा भर्ना भएका ६ महीनाभन्दा कम उमेरका बालबालिकामध्ये ८ प्रतिशतमा ‘ह्यूमन कोरोनाभाइरस’ रहेको देखाएको थियो। कोरोनाभाइरसका अन्य प्रजातिहरुबाट एक पटक संक्रमित भएपछि त्यसले विकसित गर्ने रोग प्रतिरोधी क्षमताका कारण पनि नयाँ कोरोनाभाइरस संक्रमण नभएको हुनसक्छ। यो मेरो अनुमान मात्र हो।

अर्को कुरा, संक्रमण नहुनुमा हाम्रो आनीबानी, परम्पराले पनि प्रभाव पारेको हुनसक्छ। यही कारण विकसित देशमा जस्तो संक्रमण फैलिने देखिंदैन। जस्तो, हामी खाना खानुअघि हात धुन्छौं। भाँडा माझ्दा, कपडा धुँदा हातकै प्रयोग गर्छौं। तर, पश्चिमा र विकसित देशहरुमा यस्तो धेरै कम हुन्छ। खाना खाँदा काँटा–चम्चाको प्रयोग, कपडा धुँदा मेशिनको प्रयोग, शौचालयमा ट्वाइलेट पेपरको प्रयोग गरिन्छ। खाना पनि अलि काँचो मन पराउँछन्। यी कारणले ती ठाउँमा संक्रमण दर उच्च रहेको हुनसक्छ। कतै जलवायुको पनि प्रभाव पनि हुनसक्छ।

जसरी चीन, अमेरिका, इटाली लगायत विकसित देशले भयावह स्थितिको सामना गरे, मेरो मनले हामीकहाँ संक्रमितको संख्या एक/दुई सय पुगे पनि त्यस्तो अवस्था नआउने ठान्छ। अन्य मुलुकमा एक व्यक्तिबाट अर्को व्यक्तिमा तीव्र रुपमा कोरोनाभाइरस फैलियो, हामीकहाँ त्यो अवस्था आउने देख्दिनँ। यो साम्य हुँदै जान्छ भन्ने लाग्छ।

अर्को सुखद पक्ष के छ भने, अहिलेसम्म हामीकहाँ जति संक्रमित देखिएका छन्, उनीहरु नेपाल बाहिरबाट आएका हुन्। पहिलो संक्रमित व्यक्ति त थाहा नपाईकन कहाँ–कहाँ पुगे। तर, उनीबाट एकजना पनि संक्रमित भएको पाइएन। अरु देशमा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण तीव्र मात्रामा फैलिए जसरी उनीबाट संक्रमित हुनेहरुको संख्या ह्वात्तै बढ्नुपर्ने थियो, तर त्यस्तो भएन। हाम्रा लागि धेरै राम्रो भयो ।

प्रतिकृया दिनुहोस