ब्लग बुधबार, चैत १९, २०७६

चार शहीदको बागी चेतना

भैरव रिसाल

चार शहीदको बागी चेतना

राणा शासनको जगजगी विरुद्ध केही युवा सक्रिय भएर लागेका थिए। नेपाल प्रजा परिषद्मा आबद्ध भएका उनीहरू शासन विरोधी पर्चा छर्ने लगायतका काममा सक्रिय थिए। 

९ असार १९९७ मा पाटनको जावलाखेलमा मत्स्येन्द्रनाथको भोटो देखाउने दिन जुवा फुकुवा गरिएको थियो। कर्फ्यू नलाग्ने भएकाले पर्चा छन् त्यही रात छानिएको रहेछ। योजना अनुसार नेपाल प्रजा परिषद्‌बाट राणा शासन विरोधी पर्चा छरियो।

त्यसपछि राणा शासनले प्रजा परिषदका सदस्यहरूबारे सूचना दिनेलाई पाँच हजार चाँदीका सेता डबल दिने सूचना निकालेछ। त्यो लोभमा केही व्यक्तिले बागीहरूको सूची बुझाएछन्। त्यसै आधारमा घर घेरेर धेरैलाई पक्राउ गरियो। सिंहदरबारमा राणा शासकको भारदारी सभामा पक्राउ परेकाहरूसँग बयान लिएपछि ६ माघ १९९७ मा सजायको फैसला सुनाइएको थियो।

फैसला अनुसार शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई सर्वस्वसहित मृत्युदण्डको सजाय तोकिएको थियो। शुक्रराजलाई १० माघमा काठमाडौंको टेकू पचलीमा झुन्ड्याएर मारियो भने धर्मभक्तलाई १२ माघमा सिफलमा फाँसी दिइएको थियो। यस्तै, १५ माघ राति दशरथ चन्द र गंगालाललाई गोली हानेर मार्न काठमाडौंको शोभाभगवती भचाखुशीमा लगियो।

गंगालाललाई मार्नु अघि जर्नेल नरशमशेरले भनेछन्, “माफी मागिस् भने अझै पनि तैंले जीवनदान पाउने समय छ।” गंगालालले भनेछन्, “मैले माफी माग्नुपर्ने काम के नै गरेको छु र ! फेरि, तँ जस्तो कसाहीसँग माफी माग्नु ? बरु तैंले गरेको अत्याचारका लागि हामीसँग माफी माग।”

त्यसअघि नरशमशेरले नै दशरथ चन्दसँग पनि सोधेका रहेछन्, “अन्तिम इच्छा केही छ ?” दशरथ चन्दले कड्केर भनेछन्, “राणा शासन खत्तम भएको हेर्ने इच्छा छ, तैंले हाम्रो इच्छा पुर्‍याउन सक्छस् ?”

‘सक्छस् भने एकै गोलीले मार्’

गंगालाल र दशरथ चन्द अत्यन्त मिल्ने साथी थिए। उनीहरू सँगै मर्न चाहन्थे। राणा शासकहरूले उनीहरूको माग अनुसार एकै दिन एकै ठाउँमा गोली हानेर मृत्युदण्ड दिने भएछ। १५ माघ १९९७ को राति ११ बजेतिर सदर जेल जगन्नाथ देवलबाट शोभा भगवती भचाखुशी लगिंदै गर्दा गंगालालको प्याफलस्थित डेराको बाटो परेछ। डेरानेर पुगेपछि गंगालालले भर्खर सुत्केरी भएकी पत्नीलाई ‘हसिना’ भन्दै ठूलो स्वरले बोलाएछन्। तर त्यो आवाज उनको पत्नीसम्म पुगेन।

१०/१२ जना सैनिकको साथमा उनीहरूलाई मृत्युदण्ड दिने ठाउँमा पुर्‍याएपछि दुवैको आँखामा पट्टी बाँधियो। दह्रोसँग गाडिएका दुइटा बाँसमा हात पछिल्तिर लगेर बाँधियो। नरशमशेरले पहिले दशरथ चन्दलाई गोली हान्ने आदेश दिएछन्। दशरथ चन्दले भनेछन्, “पहिले गंगालाललाई गोली हान।” तुरुन्तै गंगालालले भनेछन्, “दाइ, तपाईंको कुरा मैले बुझें, तपाईंलाई पहिले गोली हाने पनि म तर्सिन्नँ।”

त्यसपछि गंगालाललाई नै पहिले गोली हानिएछ। तर छातीमा होइन, देब्रे तिघ्रामा। रगतको भल बग्यो। त्यतिवेला पनि नरशमशेर गंगालाललाई भन्दै थिए रे, “ज्यान बचाइदिन्छु, माफी माग् !” गंगालाल कुर्लिएछन्, “सक्छस् भने एक गोली हानेर मार्।” त्यसपछि छातीमा गोली हानिएछ।

फाँसीअघि बागमतीमा नुहाउने इच्छा

राणा शासन विरुद्ध एकथरी होइन, चार–चार थरी पर्चा छापिएर छ्यापछ्याप्ती भएपछि शासक थर्कमान हुन थाले। चश्मा लगाएर हिंड्ने, पशुपतिनाथको मेलामा स्वयंसेवा गर्नेहरू समेत प्रहरीको कब्जामा पर्न थाले। त्यसै क्रममा पर्चा छर्नेको सूचीका आधारमा चार शहीद पक्राउ परेका थिए।

६ माघ १९९७ मा राणा सरकारका भारदारहरूको सभा बस्यो। राणाहरूका गुरु–पुरोहित र पण्डितहरूले शास्त्र हेरे। पुरानो धर्मशास्त्र केलाउने राणाका गुरु थिए, हेमराज पाण्डे र पण्डित सोमनाथ। श्री ३ जुद्धशमशेर पक्राउ परेकाहरूलाई देखाउँदै कड्किएछन्, “यी हाम्रो तख्ता पल्टाउने रे, यिनलाई के सजाय दिने ?” एक भारदार प्रतापजंगले ‘मृत्युदण्ड’ भनेछन्।

हेमराजले भने धर्मशास्त्र अनुसार ज्यान सजाय दिनुपर्छ भनेछन्। यज्ञविक्रमले भनेछन्, “तरबार बक्सियोस् सरकार, म सबैलाई काटिदिन्छु।”
भारदारी सभामा शुक्रराज शास्त्रीले भनेछन्, “सभा भारदारी रे, एउटाले मात्र बोलिरहेको सुहाएन।” अर्को पल्ट दशरथ चन्दले पनि राणा शासकका एकोहोरो गन्थन सुनेर भने, “एक्लै कति आफू मात्र बोल्ने, अरुलाई बोल्न दिनुपर्दैन ?”

शुक्रराजलाई मृत्युदण्ड दिने दिन १० माघ तोकिएछ। त्यो राति ११ बजेतिर उनलाई फाँसी दिन पचली (टेकू) लगिएछ। शुक्रराजले बागमतीमा नुहाउन मन गरेछन्। बागमतीको किनारमा गई लुगा फुकालेर नुहाउन खोज्दा माघको ठिहीमा कक्रक्कै परेछन्। डुबुल्की लगाउने आँट नआएपछि तीन अँजुली पानी झिकेर जिउमा हालेछन्।

प्रतिकृया दिनुहोस