समाचार बुधबार, चैत १९, २०७६

बन्दाबन्दीमा घरेलु हिंसाका उजुरी शून्य

नुनुता राई

बन्दाबन्दीमा घरेलु हिंसाका उजुरी शून्य

सरकारले बन्दाबन्दीे घोषणा गरेपछि काठमाडौँ उपत्यकामा हुने अपराधमा पनि कमी आएको प्रहरीले जनाएको छ। बन्दाबन्दीमा घरेलु हिंसाका कुनै पनि उजुरी परेका छैनन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले घरेलु हिंसा शून्य भएको बताउँछन्। बन्दाबन्दी हुनुअघि हरेक दिन काठमाडौंमा ३५ देखि ५० वटासम्म घरेलु हिंसाका उजुरी आउने गरेको थियो। तर, बन्दाबन्दीमा घरेलु हिंसाका उजुरी शून्य भएको उनी बताउँछन्।

कोभिड १९ संक्रमण फैलने त्रासले पनि सामाजमा फरक अवस्था सिर्जना भएको उनको भनाइ छ । “कोरोना संक्रमण हुने डर, खाद्यन्न जुटाउने चिन्ता, समय कटाउन गरिने रमाइलो लगायत कारण पारिवारिक माहोल फरक छ, त्यसैले हिंसा घटेको हुनसक्छ”, उनी भन्छन्।

बन्दाबन्दीले गर्दा प्रहरी कार्यालयसम्म पुग्न नसके पनि सडकमा खटिने प्रहरीलाई उजुरी गर्न सकिने उनी बताउँछन्। सुवेदी भन्छन्, “अत्यावश्यक किनमेल गर्न निस्कने अधिकांश महिला हुनुहुन्छ। यदि हिंसा भएको भए सडकमा भएको प्रहरीलाई अथवा फोनमा उजुरी आउँथ्यो।”

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेक प्रसाद राई पनि बन्दाबन्दीमा एउटा पनि घरेलु हिंसाका उजुरी नआएको बताउँछन्। सामान्य समयमा हप्तामा १० वटासम्म उजुरी आउने गरेको उनले जानकारी दिए। उनी भन्छन्, “अहिलेको समाज छिमेकीमा हल्ला, झगडा भएको सहेर बस्ने अथवा चुप लागेर बस्ने खालको छैन। पीडित आफैले उजुरी गर्न नसके पनि छिमेकीले गर्ने अवस्था छ। त्यसै हिंसा नै नभएको हो भन्ने मेरो बुझाई हो।”

नेपाल प्रहरीका सह–प्रवक्ता जोशी देशैभर सबै किसिमको अपराध घटेको बताउँछन्। बन्दाबन्दीमा घरेलु हिंसालगायत अपराध बढेको चर्चा चले पनि त्यो झूटो भएको उनको भनाइ छ।

घरेलु हिंसा नभएकै कारण उजुरी पनि नपरेको सह–प्रवक्ता जोशी बताउँछन्। उनी भन्छन्, “अधिकांश मानिस घरभित्रै छन्। प्रहरीको सकृयता पनि बढेको छ। यस्तो अवस्थामा चोरी डकैती हुने सम्भावना छैन। घरेलु हिंसा पनि छैन। नभएर उजुरी नआएको हो।”

बरु हरेक घरमा पारिवारिक सौहार्दता बढेको उनको जिकिर छ। महामारीको त्रास पनि भएकाले परिवारमा माया बढेको उनी बताउँछन्। घरेलु वा अरुले नदेख्ने प्रकारका यौन हिंसा भइरहेको भए प्रहरीको हटलाइन १०० मा फोन गर्न उनी आग्रह गर्छन्।

प्रतिकृया दिनुहोस