समाचार आइतबार, चैत १६, २०७६

बन्दाबन्दीमा सडकमा निस्किनेलाई ‘प्रहरी सनासो’ को फन्दा (भिडियाेसहित)

मनिष पाैडेल

बन्दाबन्दीमा सडकमा निस्किनेलाई ‘प्रहरी सनासो’ को फन्दा (भिडियाेसहित)
प्रहरीले शनिबार काठमाडाैंकाे चावहिल क्षेत्रमा सर्वसाधारणलाइ नियन्त्रणमा लिंदै। तस्वीरहरु: मनिष पाैडेल

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीको छैटौं दिन आइतबार बिहान साढे ७ बजेसम्ममा ६ सय १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै, १ सय ३ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिएका सर्वसाधारणलाई प्रहरीले सोही स्थानमा दुई घण्टासम्म रोकेर कोभिड–१९ बारे जानकारी गराएर छोड्ने गरेको छ।

महानगरीय प्रहरी कार्यालय मातहतका इकाईहरुलाई १५ थान बहुउपयोगी उपकरण दिइएको छ, जसबाट सडकमा निस्किएका सर्वसाधारणलाई सुरक्षितसाथ नियन्त्रणमा लिन उपयोग गरिएको छ। केही मिटरको दूरीबाट मानिसलाई नियन्त्रणमा लिनसक्ने यो उपकरण घरेलु प्रयोजनमा प्रयोग हुने सनासो जस्तो छ। प्रहरीले विभिन्न समयमा प्राप्त गरे पनि यी उपकरण यसअघि थन्क्याएर राखिएको थियो।

बन्दाबन्दी पालना गराउने जिम्मेवारी पाएको महानगरीय प्रहरीले कोभिड–१९ को संक्रमणबाट जोगिएर सरकारको निर्णय पालना गराउन प्रयास गरिरहे पनि सर्वसाधारण बाहिर निस्कने क्रम रोकिएको छैन। 

उनीहरुलाई नियन्त्रणमा लिंदा प्रहरीलाई संक्रमणको जोखिम हुनसक्ने भएकाले डिभाइसको सहायताले नियन्त्रणमा लिन लागिएको महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए।

उनले प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई आइतबार दुई घण्टा, सोमबारदेखि तीन घण्टा र मंगलबार चार घण्टा नियन्त्रणमा राख्ने रणनीति बनाएको बताए।

प्रहरीले बन्दाबन्दी लागू भएयता काठमाडौं उपत्यकाका तीन जिल्लाबाट ७ सय ५६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ। यस्तै, १ हजार ७ सय ७१ सवारीसाधन नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस