रिपोर्ट आइतबार, चैत १६, २०७६

महामारीको मारमा जात्रा, बिस्केटमा पूजा मात्र गरिने

शुष्मा बराली

महामारीको मारमा जात्रा, बिस्केटमा पूजा मात्र गरिने
फाइल तस्वीर

भक्तपुरको भैरवनाथका पुजारी नाइके कृष्णभक्त छुँका चैत महीना लागेपछि व्यस्त हुन्थे। बिस्केट जात्रा तयारीको चटारो हुन्थ्यो।

काठैकाठले तयार गरिएको प्यागोडाशैलीको कलात्मक तीन तले रथ बनाउनुपथ्र्यो। भैरवनाथ र बेताल देवता झकिझकाउ बनाउनुपथ्र्यो। अगाडी पछाडी तैनाथ हुने सिपाही जस्ता पूजारीका सामग्री तयार गर्नुपथ्र्यो।

यो वर्ष उनलाई कामको चाप छैन। कोरोना (कोभिड–१९) भाइरसको महामारीका कारण धमाधम जात्राहरु रोकिएका छन्। अत्यधिक भीड हुने र संक्रमण फैलनसक्ने जोखिमका कारण बिस्केट जात्रा पनि रोकिएको छुँका बताउँछन्। बिस्केट जात्रा हरेक वर्ष २७ चैतदेखि ५ वैशाखसम्म मनाइन्छ।

जात्रा रोकिएपछि भक्तजनलाई पूजाको सुविधा दिन मन्दिर खुल्ने समय भने बढाइएको छ। यसअघि साँझ ८ बजेसम्म खुल्ने मन्दिर अहिले राति १० बजेसम्म खोल्न थालिएको छ। अब जात्राको दिन तान्त्रिक विधिद्वारा भैरवको पूजा मात्र गरिने छुँका बताउँछन्।

गुठी संस्थान भक्तपुर शाखाका प्रमुख आनन्द कर्माचार्य बिस्केट जात्रामा यो वर्ष पूजापाठ मात्र गरिने बताउँछन्। संस्थानले बिस्केट जात्रा मनाउन आवश्यक सामग्री उपलब्ध गराउँछ। यो वर्ष पूजापाठका सामग्री मात्र उपलब्ध गराउने उनी बताउँछन्।

भाइरस संक्रमणको जोखिम बढ्ने हुनाले यो वर्ष जात्रा नगरी विधिवत् पूजा मात्र गरिने भक्तपूरका प्रमुख जिल्ला अधिकारी हुमकला पान्डे बताउँछिन्। उनी भन्छिन्, “अपर्झट आइपरेको संकटबाट बच्न र सांस्कृतिक परम्परालाई पनि बचाइराख्न जात्रा व्यवस्थापकहरुसँग सल्लाह गरेर विधिवत् पूजा मात्र गर्ने निर्णय भएको छ।”

भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापती सरकारले घोषणा गरेको बन्दाबन्दी पालना गर्न जात्रा रोकिएको बताउँछन्। उनी भन्छन्, “महामारीबाट बच्न नागरिक पनि सचेत र सतर्क हुनुपर्छ। जात्रा त अर्को वर्ष पनि मनाउन सकिन्छ।”

केही संकृतिविद्लाई भने लिच्छवीकालभन्दा अगाडिबाट सुरु भएको जात्रा सँधैलाई रोकिने हो कि भन्ने चिन्ता छ। महामारीको कारण औपचारीक पूजामा मात्र सिमित नराखी विकल्पका उपाय अपनाउनुपर्ने संस्कृतिविद् विनोद राज शर्मा बताउँछन्।

उनी भन्छन्, “सिमत व्यक्ति तोकेर भैरवनाथको देवतालाई मन्दिरबाट निकाल्नु पर्छ। सानो रथ बनाएर चार जनाले बोकी भीड नहुने गरी पनि जात्रा मनाउन सकिन्छ।” रथ अगाडी केही व्यक्ति मात्र मास्क लगाएर भजन गाउँदै हिँड्न सकिने उनी बताउँछन्। “आगामी दिनमा जात्रा न निकाले पनि हुन्छ, पूजा मात्र गरे पुग्छ भन्ने नजिर नबनोस्”, उनी भन्छन्।

अर्का संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ भने यो वर्ष रथ नतानी पूजापाठ मात्र गर्नु बुद्धिमानी हुने बताउँछन्। उनी भन्छन्, “जात्राको विशेषता भनेकै मान्छेको भीड हो। महामारीको वेला त्यस्तो भीड जम्मा गरेर रथ तानिनु हुँदैन।”

गुठी संस्थानले विभिन्न टोलका साना जात्रालाई पनि सहयोग गर्छ। तर, जात्रा पनि रोकिएको भक्तपुर शाखा प्रमुख कर्माचार्य बताउँछन्। भक्तपुरमा विभिन्न टोलले मनाउने तिप्वा, खः ल्वाकेगु, द्यो स्वगं वियगु, लगायत जात्रामा पनि पूजापाठ मात्र हुनेछ।

यो वर्ष काठमाडौँ र काठमाडौँबाहिरका सबै जात्रा पूजामा मात्र सीमित गरिने गुठी संस्थान काठमाडौँका प्रमुख हरी सुवेदी बताउँछन् । यो वर्षका घोडेजात्रा, सेतो मछिन्द्रनाथको जात्रा, असन र टुँडिखेलमा अजिमाहरुको खट जुधाउने लगायत जात्रा रोकिएको सुवेदी बताउँछन्। नेपाली सेनाले हरेक वर्ष मनाउँदै आएको घोडेजात्रा यो वर्ष अन्तिम समयमा आएर स्थगित गरेको थियो।

प्रतिकृया दिनुहोस