व्यक्तित्व शनिबार, चैत १५, २०७६

बालविवाहविरुद्ध विद्रोह: चारवर्षसम्म बुबाआमाले समेत बोलाएनन्

लक्ष्मी बस्नेत

बालविवाहविरुद्ध विद्रोह: चारवर्षसम्म बुबाआमाले समेत बोलाएनन्

२३ चैत २०७२ वीरगञ्ज, छपकैयाँकी रिङ्कु ठाकुर आफ्नै घरमा बन्धक बनिन् । बन्धक बनाउनेमा थिए– आफ्नै आमा र ठूलोबुवा । १२ कक्षामा पढिरहेकी १७ वर्षीया रिङ्कु रेडियो तराई मा समाचार वाचन पनि गर्थिन् । त्यो दिन पनि उनी कलेज सकेर रेडियो जाने तयारीमा थिइन् ।
 
त्यसो त कक्षा ८ मा पढिरहेदेखि नै आमा र ठूलोबुवाले रिङ्कुलाई बिहेको कुरा ल्याउँथे । उनी अझै पढ्नु छ भन्दै अस्वीकार गर्थिन् । बाबुको समर्थनले उनलाई ठूलो हिम्मत दिन्थ्यो । त्यस दिन उनलाई माग्न भारतीय युवा आएका थिए । रिङ्कुको अपेक्षा विपरीत बाबु समेत निरीह देखिए । 


रिङ्कुलाई आमा र ठूलोबुवाले जबर्जस्ती विवाह गर्देलान् भन्ने चिसो पहिल्यै थियो । त्यसैले उनले रेडियोका स्टेशन मेनेजर राजेन्द्र सिंह, पत्रकार माधुरी महतो र पर्साका तत्कालीन प्रहरी प्रमुख एसपी डा.राजबाबु श्रेष्ठलाई यसबारे जानकारी गराइसकेकी थिइन् । 

त्यो दिन समाचार वाचनका लागि समयमै रिङ्कु नआइपुगेपछि स्टेशन मेनेजर सिंहले घरमा फोन गरे । रिङ्कुकी आमाले उठाइन् ‘बिरामी भएकीले अस्पताल गएकी छ’ भनिन् । शङ्का लागेपछि सिंहले एसपी श्रेष्ठलाई तुरुन्त जानकारी गराए । 

रिङ्कुको खोजीमा एसपी श्रेष्ठ आफैं खटिए । अस्पतालमा नभेट्टाएपछि घरै पुगेको प्रहरीले रिङ्कुको उद्धार गर्‍यो । स्थानीयसँगको सल्लाहमा उनलाई वीरगञ्जमै रहेको माइती नेपाल को सुरक्षित आवास गृह पठाइयो । 

‘उमेर नपुगी बिहे नगरिदिने’ भन्दै घर लैजालिन् भन्दै रिङ्कुले एक महीनासम्म आमाबुवाको बाटो हेरिन् । तर कोही आएनन्, न सोधखोज नै गरे । परिवार बिरानो भयो । त्यही वेला कक्षा १२ को नतिजा आयो । उनी उत्तीर्ण भइन् । तर, उनले यो खुशी परिवारसँग बाँड्न पाइनन् । मन अमिलो भयो ।

अब स्नातक पढ्नुपर्ने थियो । अधिकारकर्मीहरूको सल्लाहमा उनी काठमाडौं आइन् । बिहान कलेज र दिउँसो माइती नेपाल मै काम गर्न थालिन् । घर छाडेको चार वर्ष बितिसकेको थियो । तर, घरले उनलाई कहिल्यै सोधेन । उनलाई अब आफूले यत्तिकै चूप बस्नुहुन्न भन्ने लाग्यो । किनभने गल्ती उनको थिएन । 

गएको दशैंमा आफैं घर गइन् । “१५ दिन बसें । बिहे गर भन्ने आँट कसैले गरेन । बरु काठमाडौंमा पढ्दै जागिर खाएको भनेर छिमेकीले प्रशंसा गरे”, उनी भन्छिन् । यी चार वर्षमा समाज परिवर्तन हुँदै गएको उनलाई आभास भयो । 

दशैंपछि फर्किएपछि रिङ्कुसँग बुवा मात्र होइन, आमासँग पनि कुरा हुन थालेको छ । अचेल आमाले बिहेको कुरा गर्दिनन् । घरमा दुई बहिनी र एक भाइ छन् । ठूली बहिनी पनि १७ वर्षकी भइन् । जागिर खान थालिन् तर नागरिकता छैन । उनलाई अहिले बहिनीको नागरिकता बनाइदिने चटारो छ । 

रिङ्कु अहिले माइती नेपाल का पीडित महिलाहरूलाई मनोवैज्ञानिक परामर्श दिन्छिन् । अरू महिलाका पीडा भुलाउने काम गर्दागर्दै उनलाई पनि विगत बिर्सनुपर्छ भन्ने लागेको छ । रेडियोमा काम गर्ने रहर मरेको छैन । 

अब त विवाह गर्ने कानूनी उमेर पनि पुगिसकेको छ । तर, रिङ्कुलाई विवाहको हतारो छैन । “कम्तीमा स्नातकोत्तरसम्मको पढाइ सक्छु, त्यसपछि आफ्नै खुट्टामा उभिएर मात्र बिहे गर्छु”, २१ वर्षीया उनी भन्छिन् । 

प्रतिकृया दिनुहोस