खेलकुद विहीबार, चैत १३, २०७६

रोलर तान्ने काँध

निरञ्जन राजवंशी

रोलर तान्ने काँध
दीपक गुरुङ । तस्वीरहरु: सुदर्शन रञ्जित

ट्र्याक शूट लगाएका एक मानिस काँधमा बाँस अड्याएर रोलर तानिरहेका छन् ।   यो तस्वीर १६ वर्षअघिको पोखरा रङ्गशालाको हो । र, रोलर तानिरहेका ती व्यक्ति हुन्, सहारा क्लबका तत्कालीन उपाध्यक्ष दीपक गुरुङ ।

पोखराको परिचय बनिसकेको आहा गोल्डकप फूटबल प्रतियोगितालाई सफल बनाउन त्यसका सदस्यहरूले गरेको दुःख तस्वीरमा पोखिएको छ । सहारा क्लब देशका अन्य क्लबभन्दा भिन्न भएको प्रमाण पनि हो, तस्वीर । दीपक सम्झिन्छन्, “भैंसी चर्ने मैदानमा खाल्डाखुल्डी धेरै थिए । अघिल्लो दिन गाडीले पानी छर्केको थियो । भोलिपल्ट सम्याउनका लागि रोलरको दुवै छेउमा नाइलनको डोरीले बाँधेर तानेका थियौं । दुःख थियो नि त्यतिवेला ।”

२०४० सालमा दोस्रो बृहत् राष्ट्रिय खेलकुद गरिएको उक्त रङ्गशालामा दुईतर्फी पारापिट मात्रै थियो । मैदान भने भैंसीको चरन क्षेत्र र गाडी सिक्ने ठाउँ बनेको थियो । २०५९ सालबाट फूटबल प्रतियोगिता गर्न थालेको सहारा क्लबलाई मैदान खेल्न योग्य बनाउनु नै पहिलो चुनौती थियो ।

सहारा क्लबका सदस्यहरू गोल्डकपको एक महीना अगाडिदेखि नै मैदान मिलाउन थाल्थे । काम गर्ने सबै स्वयंसेवक पदाधिकारी थिए । दूबो रोप्ने, तारबार लगाउने, पानी हाल्ने, सम्याउने । कसैले बजेट दिएको थिएन । खाजासमेत खल्तीकै पैसाले ।

मैदानमा पसिना बगाइरहेको दीपकको यो तस्वीर पत्रकार सुदर्शन रञ्जितले खिचेका थिए । उनी भन्छन्, “सहाराकै सदस्य काजी भाइको पेट्रोल बोक्ने गाडीले विजयपुर खोलाबाट पानी बोक्थ्यो । रोलर भलिबल कोर्टमा थियो । त्यहाँबाट झ्याइँकुटी गर्दै फूटबल मैदान ल्याएका थियौं ।” उक्त दिन मैदान सम्याउन रोलर तान्ने मान्छे नहुँदा दीपक आफैं तान्न अघि सरेपछि आफूले फोटो खिचेको उनी सम्झिन्छन् । रञ्जित पनि सहाराका स्वयंसेवक हुन् ।

पदाधिकारीले बगाएको यही पसिनाको प्रतिफल हो, आजको सहारा क्लब । दीपक भन्छन्, “सहारामा हरेक सदस्यले धेरै दुःख, निस्वार्थ काम गरेका छन् । त्यसैले अहिले सहारा चिनिएको छ ।” त्यतिवेला मैदान सम्याएर मात्र काम सकिंदैनथ्यो । काठ गाडेर काँडेतारले मैदान पनि तारबार गर्नुपथ्र्यो । क्लबका पूर्व अध्यक्ष विक्रम थकाली भन्छन्, “काँडेतार लगायो, काठ चोरी भइहाल्ने । हरेक वर्ष यो समस्या भएपछि गण्डकी कंक्रिट उद्योगसँग सिमेन्टको ब्लक मागेर तारजाली लगाएका थियौं ।”

वरिपरिको भाग खुला भएकाले बस्ने ठाउँ थिएन । दर्शक राख्न नसके प्रायोजकलाई चित्त बुझाउन नसकिने । थकाली भन्छन्, “थुप्रै वर्ष त बाँसको पारापिट बनायौं । पछि फलामको पारापिट हाल्यौं ।”

यस्तै उतारचढाव पार गरेर सहारा अहिले देशकै नमूना क्लब बनेको छ । आहा रारा गोल्डकपले भर्खरै १८औं संस्करण पूरा गर्‍यो । त्यही प्रतियोगिताबाट जोगिएको पैसाले दोबिल्लाको २६ रोपनी जग्गामा सहारा एकेडेमी निर्माण भएको छ । त्यहाँ झण्डै २४ अनाथ बालबालिका फूटबल खेलाडी बन्न मिहिनेत गरिरहेका छन् । एकेडेमीका लागि अक्षयकोष स्थापना हुँदैछ ।

सहारा फैलँदै गर्दा दीपक सन् २००७ मा हङकङ बसाइँ सरे । त्यो साल प्रतियोगिताको संयोजकको जिम्मेवारी पूरा गरे पनि उनले उपाध्यक्षको कार्यकाल पूरा गर्न पाएनन् ।

वास्तवमा त्यतिवेलासम्म सहाराको सफलताको कारण विदेश पुगेका सहाराकै पदाधिकारी पनि थिए । बेलायतमा नवीन गुरुङले सहारा युके गठन गरिसकेका थिए । क्लबका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ र त्यसपछिका कोषाध्यक्ष उमा गुरुङ (श्रीमान्–श्रीमती) पनि बेलायत पुगेपछि सहारा युकेमा जोडिए । सन् २०१२ मा त्यहाँका नेपालीलाई समेटेर सहारा हङकङ स्थापना गरे । स्थापनाकालदेखि नै उनी सहारा हङकङको अध्यक्ष छन् । उनी भन्छन्, “तीन कार्यकाल भइसक्यो, साथीहरूले छोड्नै दिंदैनन् !”

सहारा हङकङले हरेक वर्ष ‘सहारा नाइट’ कार्यक्रम गर्छ । पोखरेली प्रशिक्षक विल तामाङको अगुवाइमा त्यहाँका नेपालीलाई फूटबल प्रशिक्षण दिन्छ । यी सबै कार्यक्रमबाट बचेको पैसा सहारा पोखरालाई पठाउँछ । “हामी सहारा युके जति ठूलो हुनसकेका छैनौं । तर, अहिलेसम्म हामीले रु.६० लाखदेखि ७० लाख सहारा पोखरालाई दिइसकेका छौं”, दीपक भन्छन् ।

अहिले सहारा अष्ट्रेलिया पनि गठन भइसकेको छ । सहाराका सदस्यहरू हरेक वर्ष आहा गोल्डकपकै वेला पोखरा आउँछन् । यसपालिको १८औं संस्करणको आहा गोल्डकपमा पनि थुप्रै सहारा सदस्य पोखरा आए । त्यो भीडमा देखिएका दीपक भन्छन्, “१३औं सागले गर्दा रङ्गशाला ठूलो भएछ । काँडेतार नि नचाहिने । हामीले जसरी मैदान पेल्न नि नपर्ने । यो दृश्य हेर्न पाउनु जस्तो मज्जा अरुमा कहाँ छ र !”

प्रतिकृया दिनुहोस