रिपोर्ट विहीबार, चैत १३, २०७६

संसद् सचिवालयमा ६० वर्षका विवरण

लक्ष्मी बस्नेत

संसद् सचिवालयमा ६० वर्षका विवरण
संघीय संसद् सचिवालयको पुस्तकालयमा कार्यरत कर्मचारी ।

नेपालको संसदीय इतिहासकै पहिलो निर्वाचित संसद्को पहिलो बैठक १६ असार २०१६ मा बसेको थियो । राजा महेन्द्रले प्रतिनिधिसभाको बैठक रातको ११:४५ बजेका लागि आह्वान गरेका थिए ।

संघीय संसद् सचिवालयको पुस्तकालयमा रहेको संसद्को कामकारबाही सम्बन्धी विवरण (भर्बेटियम) मा उल्लेख गरिए अनुसार, पहिलो दिनको बैठकमा सभामुख चयन नभएसम्मका लागि गिरिप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष तोक्ने पत्र पढेर सुनाइएको थियो ।

गुल्मी उत्तरपूर्व क्षेत्र नम्बर ८९ बाट निर्वाचित बुढाथोकीलाई प्रमुख सचिव हंसमान सिंहले शपथ ग्रहण गराएपछि उनले बैठकको अध्यक्षता गरेका थिए ।

त्यस दिनको संसद् बैठक १८ असारको दिउँसो ३ बजे सभामुखको निर्वाचन हुने गरी सम्पन्न भएको थियो । १८ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई पहिलो संसद्का सभामुख चयन भए ।

पहिलो संसद्देखि हालसम्मको ६० वर्षका यस्ता प्रायः सबै संसदीय अभिलेख संसद् सचिवालयसँग छ । पहिलो संसद्को संसदीय काम–कारबाहीको विवरण हेर्दा त्यो वेलाको र अहिलेको संसदमा उठाइने विषयहरू मिल्दोजुल्दो भए पनि कतिपय विषय भने रोचक लाग्छ ।

संसदमा लिखित भाषण पढ्न नपाइने, राष्ट्र भाषा नेपाली भएकाले हिन्दी बोल्न नपाइने र नेपाली भाषा नआउने भए सिक्नुपर्ने र सिकुञ्जेलका लागि भने बोल्न पाउने व्यवस्था गरिएको थियो ।

सांसद् जयबहादुर क्षेत्रीले मासिक रु.२०० तलब पाउने सरकारी कर्मचारीदेखि मन्त्री, सहायक मन्त्री तथा सभाका सदस्य सबैले कार्यालय तथा सभामा आउँदा स्वदेशमै उत्पादित कपडा लगाउनुपर्ने सङ्कल्प प्रस्ताव पेश गरेका थिए ।

१४ साउनको बैठकमा तुलसीलाल अमात्यले नारी समुदायलाई अग्रगति दिन सरकारको ध्यानाकर्षण गरेको देखिन्छ । उनले बोलेका छन्, “खेदको कुरा छ कि नारी समाजको उत्थानका लागि विशेष कामको व्यवस्था र विवाह, पाचुके आदि विचारणीय विषयमा कुनै कानून बनाउने आश्वासन सरकारले दिएको छैन ।”

संसद् सचिवालयको पुस्तकालयमा १६ असार २०१६ को संसद् बैठकको अभिलेख ।

संसद्को प्रश्नोत्तर कार्यक्रममा सांसद्हरूले उडुस मार्न सरकारको कार्यक्रम के छ, मन्त्रीहरूलाई कति भारी दाउरा दिने गरिएको छ भनेर सोधेको अभिलेखमा देखिन्छ ।

यसबाट त्यतिवेला उडुसले आतङ्क नै सिर्जना गरेको र मन्त्रीहरूलाई अहिले इन्धन सुविधा जस्तै त्यसवेला दाउरा दिने चलन रहेछ भन्ने थाहा हुन्छ । यस्तै, लमजुङका सांसद् श्रीकान्त अधिकारीले राजधानी काठमाडौंबाट पोखरामा सार्न संसद्मा प्रस्ताव गरेका थिए ।

१८ महीना चलेको पहिलो संसद्का कामकारबाहीलाई ठूल्ठूला फाइलमा राखिएको छ । तत्कालीन विपक्षी दलका नेता भरत शमशेरले बेलायत र भारतको संसद्का उच्चस्तरीय बहसका सङ्कलन ल्याएर संसदीय अभ्यास राम्रो बनाउन पहल गरेको पत्रकार जगत नेपालको पुस्तक पहिलो संसद् मा उल्लेख छ ।

अहिले पनि बेलायत र भारतको अनुसरण गर्दै संघीय संसद्को अभ्यास र अभिलेखलाई राम्रो बनाउने प्रयास गरिएको संसद् सचिवालयका कर्मचारीहरू बताउँछन् । संघीय संसद्का दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठकको प्रत्यक्ष श्रव्यदृश्य प्रसारण, भिडियो अभिलेखीकरण त्यही समयानुकूल परिवर्तन र व्यवस्थापन हो ।

प्रविधिको प्रयोग प्रभावकारी

कर्णालीको दैलेखबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद् पार्वती विशुन्के संसद्मा आफूले बोलेका कुराको भिडियो बैठक सकिएपछि फेसबूकमा राख्छिन् ।

संसद्ले बैठकको प्रत्यक्ष प्रसारण गर्ने र त्यसको भिडियो पनि राख्ने भएकाले जिल्लाका समस्याबारे बोलेन, काम गरेन भन्ने गुनासो कम भएको उनको अनुभव छ । “बोलेका विषयमा संघ, प्रदेश र स्थानीय सरकारले चासो देखाएर काम गरेका उदाहरण थुप्रै छन्”, उनी भन्छिन् ।

सुदूरपश्चिमको बझङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाकी सांसद् आशाकुमारी विकसँग पनि विशुन्केकै जस्तो अनुभव छ । उनले जिल्लाका समस्याबारे संसदमा उठाए लगत्तै भिडियोका आधारमा स्थानीय सञ्चारमाध्यमले समाचार बनाउँछन् । यसले गर्दा सांसद्हरूले आफूहरूको विषय उठाइरहेका छन् भनेर आम जनताले जान्न पाएको उनको भनाइ छ ।

सांसद्हरूले संसद् बैठकमा बोलेका भिडियो वेबसाइटमा राखिदिने गरेकाले विशुन्के र विक लगायतका धेरै सांसद्लाई सजिलो भएको छ । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक शुरू भएदेखि नै दुवैको बैठक यूट्यूबबाट प्रत्यक्ष प्रसारण गर्ने गरेको छ भने त्यसको भिडियो वेबसाइटमा पनि राख्ने गरेको छ ।

वेबसाइटको ‘भिडियो संग्रह’ मा बैठक बसेको मिति अनुसार सांसद्हरूको छुट्टाछुट्टै तथा अन्य गतिविधिको पनि भिडियो राख्ने गरिएको छ । यस्तै, बैठक बसेको दिनको संसद् गतिविधि ‘सूचनापत्र’ मा पढ्न पाइन्छ ।

वेबसाइटमा बैठकको गतिविधि छोटकरीमा हुन्छ । विस्तृत रूपमा अध्ययन गर्न भने सिंहदरबारस्थित संसद् सचिवालयको पुस्तकालयमा जानुपर्छ । बैठकका हरेक गतिविधिबारे टाइप गरेर पुस्तकालयमा राख्ने गरिएको संघीय संसद् सचिवालयका सहायक–प्रवक्ता दशरथ धमला बताउँछन् ।

“संसद्को गतिविधि जनतालाई जस्ताको त्यस्तै जानकारी होस् भनेर प्रत्यक्ष प्रसारण गर्नेदेखि भिडियो संग्रह गर्ने र त्यसलाई अक्षरमा उतारेर पुस्तकालयमा राख्ने गरिएको छ”, उनी भन्छन् ।

सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार, राष्ट्रिय सभाको बैठकको गतिविधि एक–दुई दिनमै टाइप हुन्छ भने प्रतिनिधिसभा ठूलो भएकाले अर्को अधिवेशन शुरू हुँदासम्ममा अघिल्लो अधिवेशनको सक्ने गरिएको छ ।

राष्ट्रिय सभाले आफ्नो वेबसाइटमा बैठकको भिडियो त्यसै दिन राखे पनि प्रतिनिधिसभामा भने सांसद् संख्या धेरै भएकाले कहिलेकाहीं बैठकको भोलिपल्ट राख्ने गरिएको छ । माथिल्लो सदन राष्ट्रिय सभामा ५९ सांसद् छन् भने प्रतिनिधिसभामा २७४ सांसद् ।

राष्ट्रिय सभाले त बैठकमा उपस्थित सांसद्हरूको हाजिरी (उपस्थिति विवरण) पनि बैठककै दिन वेबसाइटमा राख्ने गरेको छ । प्रतिनिधिसभाले पनि सांसद्हरूको उपस्थिति विवरण वेबसाइटमा राख्ने तयारी गरिरहेको संसद् सचिवालयले जनाएको छ ।

पहिलो संसद पुस्तकका लेखक एवं पत्रकार नेपाल संसदीय काम–कारबाहीको अभिलेखमा अनुसन्धानकर्ता, विश्वविद्यालयका विद्यार्थी लगायत सबैको पहुँच हुनुपर्ने बताउँछन् । मदन पुरस्कार पुस्तकालयका निर्देशक राजीवरञ्जन सिंह पनि ऐतिहासिक दस्तावेजलाई सुरक्षित गर्नु र सार्वजनिक गर्न मिल्ने दस्तावेज सजिलै हेर्न सकिने गरी सबैको पहुँचमा पुर्‍याउन सके राम्रो हुने बताउँछन् ।

उनी भन्छन्, “संघीय र प्रदेश संसद्हरूले आफ्ना गतिविधिलाई अहिलेदेखि नै अडियो, भिडियो, फोटो र टेक्स्टमा छुट्टाछुट्टै बनाएर सुरक्षित हुने गरी राख्नुपर्छ ।” संसद् सचिवालयसँग पहिलो संसद्देखिकै धेरैजसो दस्तावेज सुरक्षित रहे पनि पुराना तस्वीरहरू भने खासै छैनन् । पुनस्र्थापित संसद् २०६३ साल यताका तस्वीरहरू मात्र सङ्कलित गरिएका छन् ।

प्रतिनिधिसभाको फेसबूक पेजमा १४०६ जनाले मात्र लाइक गरेका छन् । पछिल्लो पटक १३ मे २०१९ मा अपडेट भएको सो पेजमा पनि प्रि–बजेट छलफलकै सूचना राखिएको छ । प्रतिनिधिसभाको ट्वीटर खाता पनि २७ मार्च २०१९ पछि चलाइएको छैन । यसका फलोअर्स १७७ मात्र छन् ।

अनलाइन मार्फत संसदीय अभिलेख सबैको पहुँचमा पुर्‍याउनकै लागि संसद्को कामकारबाही सम्बन्धी विवरणलाई डिजिटाइज्ड गर्ने योजना रहेको संघीय संसद्की पुस्तकालय अधिकृत कमलादेवी शर्मा बताउँछिन् । “पुराना संसद्का कामकारबाही अनलाइनमा हेर्न सकिने गरी बनाइएको छैन, नयाँ संसद् भवन बनेपछि अभिलेख प्रणाली र पुस्तकालय व्यवस्थित हुनेछ”, उनी भन्छिन् ।

परिचयात्मक भिडियो

संघीय संसद्का दुवै सदनका ३३३ सांसदमध्ये ३३० जनाको परिचयात्मक भिडियो पनि वेबसाइटमा राखिएको छ । मुलुकको संसदीय इतिहासमा परिचयात्मक भिडियोको अभ्यास संसद् सचिवालयले पहिलो पटक गरेको हो । तीनदेखि पाँच मिनेटसम्मको भिडियोमा सांसद्हरूले आफ्नो बारेमा आफैंले बताएका छन् ।

प्रतिनिधिसभाका तीन सांसद् प्रदीप गिरि, कर्मा घले र उमाशंकर चौधरीको भिडियो भने छैन । संसद् सचिवालयका एक कर्मचारीका अनुसार, पटक–पटक आग्रह गर्दा पनि नआएपछि उनीहरूको भिडियो बन्न नसकेको हो ।

यसअघि पहिलो र दोस्रो संविधानसभाका सदस्यहरूको संक्षिप्त परिचय समेटेर पुस्तक प्रकाशन गरिएको थियो । तर, सांसद्हरूसँगको कुराकानीका आधारमा निकालिएको पुस्तकमा कतिपय गल्ती भएको र फोटो समेत फरक पर्ने समस्या भएकाले भिडियो प्रोफाइल बनाइएको प्रतिनिधिसभाकी निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे बताउँछिन् ।

सांसद्हरूको परिचयात्मक भिडियोका साथै नाम, फोटो, जिल्ला, पार्टी, फोन नम्बर र इमेलसहित विवरणको सूची पनि वेबसाइटमा राखिएको छ । साथै, पुस्तिकाको रूपमा ‘टेलिफोन डाइरेक्ट्री’ पनि प्रकाशन हुँदै आएको छ ।

सामाजिक सञ्जालमा निष्क्रिय

अभिलेखमा राम्रो मानिए पनि संघीय संसद्का दुवै सदन सामाजिक सञ्जालमा भने निष्क्रिय छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको फेसबूक र ट्वीटर खाता १० महीनादेखि अद्यावधिक गरिएको छैन ।

जम्मा १०३६ लाइक रहेको राष्ट्रिय सभाको फेसबूक पेजमा १३ मे २०१९ मा ‘२०७६ वैशाख ३० को राष्ट्रिय सभाको प्रि–बजेट छलफल’ को सूचना राखिए यता कुनै पोस्ट गरिएको छैन । त्यस्तै, २०१८ फेबु्रअरीदेखि शुरु गरिएको राष्ट्रिय सभाको ट्वीटर खाता २७ मार्च २०१९ पछि सक्रिय छैन । यसको खातालाई ६० जनाले मात्र पछ्याएका छन् ।

प्रतिनिधिसभाको फेसबूक पेजमा १४०६ जनाले मात्र लाइक गरेका छन् । पछिल्लो पटक १३ मे २०१९ मा अपडेट भएको सो पेजमा पनि प्रि–बजेट छलफलकै सूचना राखिएको छ । प्रतिनिधिसभाको ट्वीटर खाता पनि २७ मार्च २०१९ पछि चलाइएको छैन । यसका फलोअर्स १७७ मात्र छन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस